Monday, February 06, 2023

नागरिकता प्रतिलिपि लिने बढे


सुनिल श्रेष्ठ

विदुर । नुवाकोटमा नागरिकताको प्रतिलिपि लिनेको संख्यामा तेब्बरले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको त्रैमासिक स्वतः प्रकाशनअनुसार गत कात्तिकदेखि पुष महिनासम्ममा २ हजार ५८९ जनाले नागरिकता प्रतिलिपि लिएका छन् ।

तथ्यङ्कअनुसार दोस्रो त्रैमासिकको कार्तिकमा ८९९, मङ्सिरमा ८१९ र पुषमा ८७१ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । आव २०७९/०८० को पहिलो त्रैमासिक साउनदेखि असोज महिनासम्ममा ८०२ जनाले नागरिकता प्रतिलिपि लिएका थिए । प्रमुख जिल्ला अधिकारी किरण थापाले राष्ट्रिय परिचयपत्र, राहदानी, बसाँईसराई, सामाजिक सुरक्षा भत्ता, सम्बन्धविच्छेद, जन्मदर्ता अनुसार शैक्षिक संस्थाको अभिलेखिकरण लगायतका विषयले गर्दा नागरिकता प्रतिलिपि लिनेको संख्या वृद्धि भएको बताए । वैदेशिक रोजगार, विदेशमा रहेका सन्तानले आफ्ना आमाबुबालाई विदेश लाने प्रयोजनको लागि राहदानी बनाउँदा, सामाजिक सुरक्षा भत्ताको लिने प्रक्रियागत क्रममा पहिलेनै लिएका नागरिकता पुरानो हुने, फोटो नचिने, अक्षर अस्पष्ट लगायतका कारणले प्रतिलिपि लिनेको संख्या बढेको उनले बताएका छन् ।

सेवाग्राहीले नागरिकताको जतन नगरेको एकातिर छ भने अर्कोतिर नयाँ नागरिकता लिई हाले तापनि कार्यालयबाट प्रिन्ट गरिएको नागरिकताको प्रमाणपत्र प्लास्टिकको खोलमा राख्दा प्राविधिक समस्या आउने गरेको बताए । यो समस्या नुवाकोटमा मात्र नभई देशभरकै प्रशासन र नागरिकता प्रदान गर्ने इलाका कार्यालयमा रहेको बताए ।

कार्यालयका प्रशासकीय अधिकृत सुरेश खतिवडाले राष्ट्रिय परिचयपत्रमा नागरिकता सक्कलनै स्क्यान गर्नुपर्ने प्रावधान रहेकोले पुराना, झुत्रो, केरमेट भएको, अक्षर अस्पष्ट, नागरिकता जारी मिति नबुझिने नागरिकता राखेर स्क्यान गर्न नमिल्ने हुनाले दिनहुँ नयाँ प्रतिलिपि लिनेको संख्यामा वृद्धि भएको बताए । उनी थप्छन्, ‘नागरिकताको गुणस्तरको प्राविधिक पक्षमा सुधारको एक पक्ष त छँदैछ, तर नागरिकले पनि नागरिकता बनाउनको लागि खिचिएको फोटो उच्च गुणस्तरको छपाई नहुने र नागरिकता सुरक्षित राख्न नसक्नाले प्रतिलिपि लिने बढेको हो ।’

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनुसूची फारममा पूरा विवरण भरी गाउँपालिका/नगरपालिकाका वडाको सिफारिसमा नागरिकता प्रमाणपत्र नम्बर वा जारी मिति खुलेको भएमा हालसालै खिचिएको दुवै कान देखिने अटो साइजको फोटो २ प्रति नागरिकताको प्रतिलिपि लिने पाईने व्यवस्था छ । 

यस्तै, बसाईंसराईं गरी आएका अन्य जिल्लाहरूबाट नागरिकता प्रमाणपत्र लिएका व्यक्तिका हकमा बसाईंसराईं दर्ताको प्रमाणपत्र, विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाणपत्र र विवाहदर्ता प्रमाणपत्र र पति वा एकाघरको ससुरा वा सासू वा जेठाजु वा देवरको नाता खुल्ने प्रमाण सहित सनाखत, दलितहरूको थर परिवर्तन गर्न‘ परेमा राष्ट्रिय दलित आयोगबाट प्रकाशित थर सूचीमा रहेको थर बमोजिम हुनेगरी वडा कार्यालयको यकीन सिफारिसको आधारमा नागरिकताको प्रतिलिपि लिने व्यवस्था छ ।

दैनिक ५०/५० जनाको हाराहारीमा नयाँ नागरिकता लिने र प्रतिलिपि लिने रहने नागरिकता फाँटका कम्प्युटर अपरेटर सरस्वती थापाले जानकारी दिईन् । आमाबुबाको विवरण संशोधन, विवाहितको हकमा पतिको नाम र सम्बन्धविच्छेदको हकमा पतिको नाम हटाउने लगायतका समस्या लिएर नागरिकताको प्रतिलिपि लिनेको संख्या बढेको उनले बताइन् ।

दुप्चेश्वर गाउँपालिका–२ का श्यामबहादुर तामाङले आफ्नो नागरिकताको नम्बर केरमेट र अक्षर अस्पष्ट भएकोले नागरिकता प्रतिलिपि लिन आएको बताए । ‘राष्ट्रिय परिचयपत्र बनाउन आईतबार आएको थिएँ, तर नागरिकता पुरानो र केरमेट भएकोले स्क्यान गर्न मानेन, अनि नयाँ नागरिकता बनाउन आज फेरी सदरमुकाम आएको हुँ ।’ 

यस्तै, कार्यालयको प्रविवेदनअनुसार जिल्लामा वंशजको आधारमा नयाँ नागरिकता लिनेमा २ हजार १४७ जना रहेका भने ४ हजार ३५९ जनाले राहदानीको लागि आवेदन दिएकोमा ३ हजार २६६ जनालाई राहदानी वितरण गरिएको जनाएको छ ।

भलिबलको उपाधी म्यागङलाई


खरानीटार । नुवाकोटको तादी गाउँपालिकाले आयोजना गरेको अन्तरपालिकास्तरिय तादी अध्यक्ष भलिबल कप प्रतियोगितामा म्यागङ गाउँपालिका विजयी भएको छ । प्रतियोगिताको अन्तिम खेल शनिवार सम्पन्न भएको हो । 

अमरज्योति माध्यामिक विद्यालयको खेलमैदान खरानीटारमा भएको फाईनल खेलमा म्यागङ गाउँपालिकाले आयोजक तादी गाउँपालिकाई २५–२१, १५–२५, २५–२३ र २५–२३ सेटको अंकले जितेको हो । प्रतियोगितामा पञ्चकन्या गाउँपालिकाको टिम तेस्रो र दुप्चेश्वर ‘बी’ समुह सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम १ लाख ५० हजार, द्वितीयले १ लाख रुपैयाँ र तृतीयले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै, दुप्चेश्वर ‘बी’ ले २० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजयी टिमहरूलाई प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले पुरस्कार प्रदान गरेका थिए । ‘खेल मार्फत विकास, अनुशासन र गतिशिलता’ मूलनाराका साथ आयोजना गरिएको प्रतियोगितालाई नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए । 

जनआन्दोलन घाइतेको निःशुल्क उपचार

विदुर । त्रिशुली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्ने भएको छ । 

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो । उनका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोलनका घाइते’का लागि अस्पतालबाट उपलब्ध रहेको सेवा प्रवाह गर्न प्राप्त कार्यदेशानुसार त्रिशुली अस्पतालले उक्त कार्यक्रम सञ्चालन गरेको छ ।

‘जनआन्दोलका क्रममा घाइते भएका व्यक्तिका लागि सरकारले उपलब्ध गराएको परिचयपत्रका आधारमा अस्पतालबाट उपलब्ध सेवा निःशुल्क गर्न थालिएको छ’ मेसु डा. पाण्डेले भने, ‘घाइते भएकाहरूको बल्झिएको व्यथामात्र होइन, उनीहरूको स्वास्थ्यमा देखिएका समस्या अस्पतालबाट उपलब्ध सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।’ 

त्रिशुली अस्पतालमा यसअघिदेखि नै ज्येष्ठ नागरिक र आर्थिकरूपमा विपन्न भएकालाई सामाजिक सेवा एकाइको सिफारिसमा निःशुल्क उपचार पु-याउँदै आइरहेको छ । ‘अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्ड’मा देशभरकै पहिलो बनेको उक्त अस्पतालमा उच्चस्तरीय प्रविधिका सहयोगमा विशेषज्ञसहितको सेवा उपलब्ध छ ।

स्कुलमा परम्परागत पोशाक


जगदीश खनाल

म्यागङ । मौलिक पहिरनको संरक्षण गर्ने अभियानमा नुवाकोटको म्यागङ गाउँपालिका जुटेको छ । 

बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै हप्तामा एक दिन मौलिक पहिरनमा नै विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो । 

विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक, शिक्षिका, विद्यार्थी सबैले हरेक हप्ताको बुधबार आ–आफ्नो जातअनुसारको पहिरन लगाउनैपर्ने गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताए । ‘जातीय पहिचानका रूपमा विशेषगरी पहिरनलार्ई लिने गरिन्छ । चाडपर्व, मेला, महोत्सव, घुमफिरमा जाँदा आधुनिक पोशाक लगाउने बानी बसिसकेको अवस्था छ । विद्यालय आउँदा विद्यालयको पोशाक अनिवार्य गरिएको छ । आफ्नो मौलिक पहिरनका बारेमा बालबालिका अनभिज्ञ हुने भएकाले पालिकाले यस्तो निर्णय गरिएको हो’, अध्यक्ष तामाङले भने, ‘मौलिक पहिरनका बारेमा बालबालिकालाई जानकारी दिन, जातीय÷सांस्कृतिक पहिरनको संरक्षण गर्न यो अभियान सुरु गरिएको हो । जसले गर्दा बालबालिकालाई एकअर्का बीचको जातीय पहिरनका बारेमा पनि जान्ने अवसर सिर्जना हुने अपेक्षा गरेको छु ।’

गाउँपालिकाको शिक्षा ऐन, २०७८ बमोजिम सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन गर्न थालिएको हो । पालिकामा २२ वटा सामुदायिक विद्यालय र दुईवटा निजी विद्यालय रहेका छन् । शिक्षा ऐनअनुसार आंशिकरूपमा भए पनि हरेक हप्ताको बुधबार सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन हुने गरेको शिक्षा अधिकृत शेरसिंह रावतले बताए । ‘चालु शैक्षिक सत्रको सुरुआतदेखि नै हरेक हप्ताको बुधबार मौलिक पहिरनमा विद्यालय सञ्चालन गर्ने भन्ने शिक्षा ऐन लागू भएको हो । हालसम्म शतप्रतिशतमा लागू भइसकेको अवस्था भने होइन । यस अभियानलाई शतप्रतिशत पु¥याउन निरन्तर विद्यालयहरूलाई झक्झकाइरहेका छौँ’, रावतले भने, ‘प्रायः निजी विद्यालयहरूले हप्तामा एक दिन बाहिरी पोशाकमा विद्यालय सञ्चालन गरिरहेको हुन्छन् । त्यसलाई अनुसरण गर्दै बाहिरी पोशाकमा पनि मौलिकता झल्कने पोशाकमा जोड दिन सकियो भने परम्परागत संस्कृतिको जगेर्ना हुन्छ भनेर यो शिक्षा ऐन ल्याएका हौँ । विद्यार्थीहरू पनि फरक पहिरनमा खुसी हुन्छन् ।’

पाठ्यपुस्तकमा परम्परागत जातीय पहिरन, संस्कार, संस्कृतिका बारेमा प्रशस्त उल्लेख गरिएको हुन्छ । विद्यार्थीहरूले सैद्धान्तिकरूपमा त्यस विषयको ज्ञान लिइरहेको हुन्छ । हप्तामा एक दिन मौलिक पहिरनमा विद्यालय सञ्चालन हँुदा व्यावहारिक ज्ञान विद्यार्थीहरूले प्राप्त गरिरहेको म्यागङ गाउँपालिका–२ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतिखर अधिकारीको बुझाइ छ । 

‘भदौ महिनादेखि विद्यार्थीहरूलाई मौलिक पहिरनमा नै पढाउन थाल्यौँ । त्यस समयमा सबै विद्यार्थीसँग आफ्नो जातअनुसारको पहिरन उपलब्ध थिएन । दसँैपछि भने सबै विद्यार्थीले उत्साहका साथ मौलिक पहिरन लगाएर आउने गरेका छन्’ प्रधानाध्यापक अधिकारीले भने, ‘हाम्रो विद्यालयमा विशेषगरी तामाङ, ब्राह्मण, क्षेत्री र दलित समुदायका विद्यार्थी पढ्न आउँछन् । उनीहरूमा पहिरनको विविधता हुँदा एकअर्काबीच नै सिकाइ भइरहेको हुन्छ । व्यावहारिक शिक्षाका रूपमा पनि यसलाई लिने गरेको छु । अभिभावकबाट पनि सकरात्मक प्रतिक्रियाहरू आइरहेको हुन्छ ।’

कित्ताकाट नहुँदा राजस्वमा असर

रसुवा । गत असारदेखि बन्द कित्ताकाटसम्बन्धी कार्य छिटो खुला गरिदिन यहाँका नागरिकले सरकारसामु आग्रह गरेका छन् । जग्गा जमिनको कित्ताकाट बन्द हुँदा सानोतिनो घडेरी जग्गा खरिदबिक्री, घरखर्च मिलाउन आफूसँग भएका दुई÷चार आना जग्गा बिक्री वितरण गर्न, कित्ताकाट गरेर पैतृक सम्पत्ति अंशबण्डामार्फत आफ्नो स्वामित्वमा ल्याउन नपाउँदा मर्का परेका कारण छिटो खुलाइदिन स्थानीय बासिन्दाले अनुरोध गरेका हुन् ।

भूउपयोग नीति लागू गराउन स्थानीय निकायलाई सरकारले दिएको आदेश समयमै कार्यान्वयन हुन नसकी आवादी, कृषि क्षेत्रका जग्गा जमिनको वर्गीकरण नहुँदा कित्ताकाटका सम्पूर्ण काम रोकिँदा एकातिर किसानलाई समस्या र अर्काेतर्फ मालपोतको राजस्व असुलीमा समेत गिरावट आएको छ । जग्गा जमिन भूउपयोग ऐन २०७६ र सोसम्बन्धी बनेको नियमावली २०७९ बमोजिमका मापदण्ड कार्यान्वयन गर्न गराउन तालुक मन्त्रालय तथा विभागले दिएको निर्देशनबाट कित्ताकाट रोकिएको र वर्गीकरणका लागि स्थानीय निकायले छिटो निकास दियोस भन्ने अपेक्षा गरिएको मालपोत कार्यालयका कर्मचारी बताउँछन् ।

कित्ताकाट सम्बन्धी काम पुनः सञ्चालन गराउन स्थानीय निकायका पदाधिकारी सम्मिलित जमिनको वर्गीकरण व्यवस्थापन समितिको निर्णयप्रति प्रतीक्षारत रहेको नापी कार्यालयले जनाएको छ । रसुवा जिल्लामा पाँच गाउँपालिका रहेको र हालसम्म कुनै पनि गाउँपालिले भूउपयोगसम्बन्धी निर्णय दिन नसक्दा नापी तथा मालपोतको काम प्रभावित बन्दै गएको र राजस्वमा समेत गिरावट आएको बताइएको छ ।

मालपोत कार्यालय रसुवाका अनुसार चालु आर्थिक वर्षको गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा एक सय ४४ थान बैंक तथा वित्तीय संस्थाको धितोसम्बन्धी लिखत र एक सय १३ थान जग्गा जमिन खरिद बिक्रीको राजीनामा पारित भएको छ । जग्गाधनी प्रमाण पुर्जाबाट पूरा कित्तानै हक हस्तान्तरण गरेका जग्गाको मात्र रजिष्टे«शन पास हुने गरेका कारण गत वर्षको तुलनामा यो वर्ष साउनदेखि पुससम्मको छ महिनामा ७४ लाख ८२ हजार राजस्व गिरावट भएको छ । 

गत आर्थिक वर्षको यस अवधिमा ७९१ थान लिखत पारित भई कूल ९९ लाख ३८ हजार २८२ राजस्व असुली भएकोमा यस वर्ष साउनदेखि पुस मसान्तसम्म २४ लाख ५६ हजार १५१ मात्र राजस्व संकलन भएको मालपोतका राजस्व अभिलेखकर्ता (कर्मचारी) छेक्याल तामाङले जानकारी दिए । कित्ताकाट गरी आफ्ना स्वामित्वको जग्गा जमिन बिक्री वितरण गर्न नपाउँदा रसुवाली नागरिकलाई घर व्यवहार चलाउन अप्ठयारो पर्दै गएकाले छिटोभन्दा छिटो कानुनी अड्चन फुकाइदिन सरोकारवाला निकायसँग आग्रह गरिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

लि–निङको पाँचौं शोरुम त्रिशुलीमा


त्रिशुली । खेलकुद सामग्री उत्पादन चाइनिज कम्पनी लि–निङको पाँचौ शोरुम नुवाकोटको त्रिशुलीमा सञ्चालनमा आएको छ ।

खेल र खेलाडीको लागि चाहिने सम्पूर्ण सामग्री पाइने शोरुमको तेक्वान्दोकी ओलम्पियन तथा राष्ट्रिय प्रशिक्षक संगीना वैद्य र कम्पनीका कार्यकारी निर्देशक राजन महर्जनद्वयले संयुक्तरुपमा शाखाको उदटन गरेका छन् । त्रिशुली शाखाका अनु इन्टरप्राइजेजका सञ्चालक विप्लप अमात्यले बास्केटबल, ब्याडमिन्टन, ज्याम्यास्टिक, रनिङलगायतका खेलहरूको सम्पूर्ण सामग्री पाइने बताए । नुवाकोट र रसुवाका खेलाडीहरू आफूले चाहिने सामग्री किन्न अब काठमाडौँ धाउनु नपर्ने उनले बताए । ग्राहकले शोरुमबाट २५ प्रतिशत छुटको सुविधा लिन सकिने उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक समेत रहेका वैद्यले नेपालको खेल क्षेत्रमा सहयात्रीको रुपमा रहेको उक्त कम्पनीका सामग्रीहरू खेलाडीलाई सहजको साथै सुहाउँदो रहेकी बताईन् । आफ्नै जन्मथलोमै उक्त कम्पनीको शोरुम सञ्चालनमा आउँदा उनले खुशी व्यक्त गरिन् ।

ललितपुर जावलाखेलमा मुख्य कार्यालय रहेको कम्पनीको काठमाडौंलगायत देशका मुख्यमुख्य शहरमा शोरुम तथा आउटलेट रहेको कम्पनीका निर्देशक महर्जनले जानकारी दिए ।

लिनिङ चाइना ट्रेड लिंकको ब्राण्ड हो । १९८२ मा ज्याम्यास्टिकमा विश्व च्याम्पियन बनेका खेलाडीको नामबाट १९९० मा लिनिङ ब्राण्डको स्थापना गरिएको हो ।

तस्बिर समाचार

गएको हप्ता नुवाकोटको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न आइपुगेका किरण थापा कार्यकक्षामा नुवाकोटका पत्रकाहरूसंग कुराकानी गर्ने क्रममा । तस्बिर : इमेज

तस्बिर समाचार

नेकपा माओवादी केन्द्रका नेता किरणकुमार रिजाललाई रालुका माविको तर्फबाट सम्मान पत्र प्रदान गर्दै संघीय सांसद हितबहादुर तामाङ, साथमा बागमती प्रदेश सांसद राधिका तामाङ । रिजालले तादी गाउँपालिका वडा नं. २ स्थित रालुका माविका २५० जना विद्यार्थीलाई एक/एक सेट न्यानो कपडा वितरण गरेका थिए । तस्बिर : प्रदिप शर्मा


भण्डारी नुवाकोट जेसीज अध्यक्ष


एक महिना अघि जिल्ला अधिवशेन उद्घाटन भएर विवादका कारण अड्किएको नुवाकोट जेसीजको सन् २०२३ का लागि नयाँ कार्य समिति गएको सोमवार चयन भएको छ । 

सुमन भण्डारी नुवाकोट जेसीज बर्ष २०२३ को अध्यक्ष निर्वरोध निर्वाचित भएका छन् । उनीहरूको मंगलवार पदस्थापन भएको छ ।  नुवाकोट जेसीजको कानुनी सल्लाहकारमा अरुणराज पाठक चयन भएका छन् । 

आइपिपीमा नमराज सुबेदी, कार्यकारिणी उपाध्यक्षहरूमा किशोर अर्याल, हिमन रिमाल, उपाध्यक्षहरूमा जीबन तमाङ, नारायण प्याकुरेल, सनिष अधिकारी र राजेन्द्र पनेरु चयन भएका छन् ।

पाठक क्यानको कार्यवाहक सचिव


विदुर । नेपाल क्रिकेट संघ (क्यान)को कार्यवाहक सचिवको जिम्मा दुर्गाराज पाठकले पाएका छन् । पाठक नुवाकोटका हुन् । कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्लले पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा पदबाट राजिनामा दिएपछि केन्द्रीय सदस्य पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी तोकिएको हो ।

पछिल्लो समय नेपाल टी २० लिग लगाएतका विभिन्न विषयमा क्यानभित्रै विवाद बढेपछि मल्लले पदबाट राजिनामा दिएको बुझिएको छ । आउँदो असोजसम्म कार्यसमितिको कार्यकाल रहेकोमा मल्लले कार्यवाहक सचिवबाट राजिनामा दिएपछि पाठकले यो बाँकी कार्यकालमा कार्यवाहक सचिवको रुपमा काम गर्ने छन् । तर, क्यानको निर्वाचन आउँदो जेठमा हुने लगभग तय भएको बुझिएको छ । यस्तो अवस्थामा पाठकले पाँच महिना यो जिम्मेवारी सम्हाल्ने छन् । पाठक क्यानको पाँच सदस्यीय कार्य सम्पादन समितिको सदस्य पनि छन् । 

२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए । नेपाल टी–२० लिगमा प्रक्रियासंगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरूले मंगलबार अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए ।

स्कुल बस चेकजाँचमा कडाई


विदुर । शैक्षिक संस्थाका बसहरू मापदण्ड विपरित सञ्चालनमा हुदैं आएको र जोखिम मोलेर आफ्नो बालबालिकालाई विद्यालय बसमा चढाउनुपरेको गुनासो अभिभावकबाट आएपछि जिल्लामा सञ्चालित विद्यालय तथा क्याम्पसका बसको जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँच अभियान थालेको छ ।

सदरमुकाम विदुर, बट्टार, त्रिशुली, कोलनी, तारुका, ढिकुरे, छहरेलगायत जिल्लाका मुख्य बजार क्षेत्र हुँदै गुड्ने विद्यालय तथा क्याम्पस बस र भाडामा चलाईएका विद्यालयका बसको बुधबारदेखि अभियानको रुपमा चेकजाँच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मिलनकुमार सिंहले बताए । विद्यालय बस चेकजाँचका क्रममा सवारीचालक अनुमतिपत्रलगायत आवश्यक कागजपत्र साथमा नभएको, सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने गरेको, तीव्र गतिमा लापरवाही तरिकाले सवारीसाधन गुडाउने, कतिपय बसमा नम्बर प्लेट नै नरहेको पाईएको उनले बताए ।

ट्राफिक नियम विपरित सञ्चालित विद्यालय तथा क्याम्पसका बस चालकलाई सम्झाई बुझाइ पहिलोपटकमा छोडिएको उनले बताए । सडक सुरक्षाको साथै विद्यार्थीको यात्रा सुरक्षित राख्न र दुर्घटनामा न्यूनीकरण गर्न यस किमिसको अभियान थालिएको उनले बताए ।

ट्राफिक नियमको पालना गरी विद्यार्थीहरूलाई बस पूर्ण रुपमा रोकि सकेपछि मात्र चढ्न र ओर्लन दिन, विद्यार्थीहरू राम्रोसँग सिटमा बसिसकेपछि मात्र सवारी साधन गुडाउन, विद्यार्थीहरूको कुनै पनि शारिरीक अंगहरू बसबाहिर निकाल्न नदिन, हतारमा र बढि गतिमा सवारी साधन नचलाउन अनुरोध गरिएको उनले बताए ।

अभियानपछि पनि ट्राफिक नियम विपरित असुरक्षित तरिकाले शैक्षिक संस्थाका सवारीसाधन गुडाईएको पाईएमा कडा कारबाही गरिने चेतावनी समेत उनले दिए ।

चालकको स्वास्थ्य परीक्षण


विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सवारी दुर्घटना न्यूनीकरण गर्न लागी चालक र सहचालकको स्वास्थ्य परीक्षण थालेको छ । 

गएको आइतवारबाट जिल्ला ट्राफिक प्रहरी कार्यालयले नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालेको हो । उक्त अभियान अन्र्तगत विदुरको सडक हुँदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित औषधि उपलब्ध गराइएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मिलनकुमार सिंहले जानकारी दिएका छन् । उनका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न लागी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर चिकित्सकको पुर्जीअनुसार उनीहरूलाई अत्यावश्यक औषधि निःशुल्क वितरण थालिएको हो । ‘सवारी दुर्घटनाको कारणमध्ये चालकको लापर्बाहीमा उसको स्वास्थ्य अवस्था प्रमुख समस्या पाइएपछि शिविर सञ्चालनमा ल्याइएको हो ।’ उनले भने, ‘परीक्षणमा सम्लग्न स्वास्थ्यकर्मीले चालक–सहचालको आँखा, ब्लडप्रेसरलगायतको अवस्थालाई प्राथमिकता दिएर परीक्षण गरिएको छ ।’

ट्राफिक प्रहरीले यसअघि ‘चालकसँग दुई मिनेट’ कार्यक्रममार्फत यात्रामा रहेका चालकलाई रोकेर ट्राफिक नियम तथा जनचेतना जगाउँदै आइरहेको थियो । उक्त कार्यक्रम प्रभावकारी भए पनि चालकले गाडी रोकर बस्न बाध्य बनाएकोजस्तो प्रतिक्रिया देखाएपछि उक्त अभियानलाई समेत सहयोग पु-याउने उद्देश्यले परिस्कृत स्वरुपमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो । यात्रुबाहक सवारी साधनको चालक र सहचालकले यात्रुलाई सेवा पु-याउने क्रममा आफ्नो घरमा समेत पुग्न नसक्ने, स्वास्थ्य जाँच गराउन समय दिन नसक्ने तथा स्वास्थ्य समस्या देखिएपनि गाडी चलाएर आउजाउ गर्दा बाँसस्थान परिवर्तनले नियमित औषधि सेवन गर्न नपाएको समस्यालाई समेत शिविरबाट लाभ पुग्ने प्रहरीले जनाएको छ ।

पछिल्लो एक महिनादेखि सबै किसिमका सवारी साधनको पाटपुर्जाको अवस्था जाँच सुरु गरेको ट्राफिक प्रहरीले गएको आइतबारदेखि सुरु गरेको चालकको स्वास्थ्य परीक्षण शिविरलाई नियमितरुपमा अघि बढाउदै लैजाने जनाएको छ । 

स्वास्थ्य परीक्षणको लागि सापकोटा मेडिकल हल तथा पोलिक्लिनिक बट्टारले स्वास्थ्यकर्मी र आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको छ । शिविरमार्फत चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित उनीहरूलाई ट्राफिक नियमसम्बन्धीको जानकारी गराउने र सोही समयमा सवारी साधनको पाटपुर्जासमेत जाँच गरिने ट्राफिक प्रहरी प्रमुख सिंहले बताए । 

ट्राफिक सचेतना कार्यक्रम


त्रिशुली । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय युवा संघ नेपाल नुवाकोट र नुवाकोट ट्राफिक प्रहरीको आयोजनामा जनचेतनामुलक कार्यक्रम भएको छ ।

युवाको लागि ट्राफिक प्रहरी मेरो साथी भन्ने नाराको साथ भएको उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मिलनकुमार सिंहले ट्राफिक नियम चिह्न तथा संकेतहरू, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कता, सवारीसाधनको सुरक्षा र चेकजाँच लगायतका सडक दुर्घटना पुर्व सुरक्षित रहन अपनाउनुपर्ने उपाय बारेमा जानकारी दिए ।

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूलाई जोखिम नियन्त्रण तथा दुर्घटना कम गर्न ट्राफिक नियम सम्बन्धि जानकारी दिन उक्त कार्यक्रम गरिएको संघका अध्यक्ष प्रज्वल सापकोटाले जानकारी दिए । युवामाझ ट्राफिक नियम सम्बन्धि कम ज्ञान हुने र सवारी दुर्घटना हुनबाट पुर्वसचेत रहनको लागि एक दिने कार्यक्रम गरिएको उनले बताएका छन् । 

कार्यक्रम विद्यालयको व्यवस्थापन समिति, आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र जिल्ला प्रहरी कार्यालयको सहयोगमा भएको उनले जानकारी दिए ।

प्रेस सेन्टरको १९ औँ स्थापना दिवस


विदुर । गएको आइतवार प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा नुवाकोटमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछानेले स्थापना कालदेखि नै प्रेस सेन्टरले पछाडि पारिएका वर्ग र श्रमजीवि पत्रकारको मुद्दालाई सदैव प्रमुखताका साथ उठाउँदै आएको बताएका छन् । निकै चुनौतीपूर्ण समयमा संगठन स्थापना भएको उल्लेख गर्दै उनले एक हातमा वम र एक हातमा कलम लिएर जानुपर्ने अवस्थामा पनि क्रान्तिकारी पत्रकारहरूले शोषित पीडित जनताको मुद्दालाई सदैव प्रधानताका साथ अगाडि बढाएको बताए । 

शाहीकालमा मूलधारका भनिएका मिडियाहरू राज्यसत्ताको प्रत्यक्ष नियन्त्रणमा सञ्चालन हुनुपर्ने अवस्थामा क्रान्तिकारी पत्रकारहरूले जनताको आवाज बुलन्द बनाएको लामिछानेले स्मरण गरे । वर्गसंघर्षको रूप फेरिएको उल्लेख गदै उनले अहिलेको अवस्थामा झन् चनाखो बन्नुपर्ने आवश्यकता औँल्याएका छन् । परिवेश र संघर्षको स्वरुप बदलिएको उल्लेख गर्दै उनले क्रान्तिकारी पत्रकारहरूको लक्ष्य भने नबदलिएको बताए । क्रान्तिकारी पत्रकारहरूले जनतासंग जोडिने, आलोचनात्मक र रचनात्मक चेतका साथ जनतातर्फ फर्केर कलम चलाइरहनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुबकुमार रावलले संगठन स्थापना हुँदाको लक्ष्य अहिले हेर्दा पनि नछाडेको उल्लेख गर्दै हिजोको तुलनामा आज अझ भूमिका बढाउनुपर्ने स्थिति आएको बताएका छन् । बदलिएको परिस्थितिमा पनि शोषित पीडित जनताको पक्षमा निरन्तर उभिन प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूलाई उनले सुझाव दिएका छन् । त्यस्तै, श्रमजीवि पत्रकारको समस्या बढेको भन्दै साना लगानीका मिडिया र श्रमजीविको समस्या समाधानमा थप सशक्त बन्न समेत उनले आग्रह गरे । 

प्रेस सेन्टरका केन्द्रीय सदस्य बद्री प्याकुरेलले संगठनको स्थापनाको १९ वर्षमै संगठन हस्तक्षेपकारी भूमिकामा पुगेको उल्लेख गर्दै आगामी दिनमा थप सक्रिय हुनुपर्ने बताएका छन् । सामान्य रुपमा स्थापना भएको संगठन अहिले निकै विशाल भएको उल्लेख गर्दै उनले सोही अनुसार चुनौती पनि बढेको उल्लेख गरे । तर, आफूहरू अविचलित रूपमा आफ्नो लक्ष्यमा अडिग रहने उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले प्रेस सेन्टरले श्रमजीवीको पक्षमा आफूलाई सतिसाल जस्तै उभ्याइरहेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरे । उनले प्रेस सेन्टरले छोटो समयमा ठूलो उपलब्धी हासिल गरेको भन्दै यसमा योगदान दिनेहरूलाई बधाई दिएका छन् । प्रेस सेन्टरको बागमती प्रदेश उपाध्यक्ष समेत रहेका खनालले संस्थाको स्थापनाको १९ औँ वर्षमा संगठन सुदृढ भएको र थप सुदृढ बनाउनुपर्ने विचार व्यक्त गरे । संगठनले उठाएका मुद्दा थप मजबुत बनाउन लागिरहनुपर्ने उनको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा प्रेस युनियन नुवाकोट शाखा अध्यक्ष नवराज सुवेदीले जनपक्षिय पत्रकारहरूको छाता संस्था प्रेस सेन्टरले नागरिकको पक्षमा अझ सक्रियताका साथ पत्रकारिता गर्नुपर्ने बताएका छन् । उनले नुवाकोटमै पनि प्रेस सेन्टरले संगठनात्मक रुपमा आफुलाई गरेको विकासले सकारात्मक र गुणात्मक पत्रकारिता हुनेमा विश्वास व्यक्त गरेका छन् । 

प्रेस चौतारी नेपाल नुवाकोट अध्यक्ष नवदीप श्रेष्ठले युद्धकालिन बेलामा स्थापना भएको प्रेस सेन्टर अहिलेको अवस्थासम्म आइपुग्दाको आरोह अवरोह साच्चिकै लोभ लाग्दो रहेको बताए । पत्रकारहरूलाई पेशामै टिकाइराख्न, पेशालाई थप मर्यादित पार्नका लागि प्रेस सेन्टरले नुवाकोटमा खास भुमिका खेल्न सक्ने उल्लेख गर्दै सहकार्य र समन्वयको पक्षबाट प्रेस सेन्टरले नेतृत्वदायी भुमिका खेल्ने उनले विश्वास ब्यक्त गरेका छन् । 

प्रेस सेन्टर नेपाल नुवाकोटका अध्यक्ष रामहरि गजुरेलले संगठनको १९औँ स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे । कृष्ण सेन ’इच्छुक’लगायत महान शहीद र मिलन नेपालीलगायत बेपत्ता योद्धाहरूले देखाएको बाटोमा आफूहरू अविचलित रूपमा लागिरहने दृढता उनले व्यक्त गरे । उनले माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएका प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज त्रिभुवन पौडेल र पोखरा महानगर कमिटी सदस्य अनिल शाहीलाई स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका छन् ।

छ महिनामा ट्राफिक जरिवाना ७० लाख

विदुर । नुवाकोटमा सडक विस्तार र सवारीसाधनको संख्या वृद्धिसँगै ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा वृद्धि भएको छ । 

जिल्लामा चालू आवको छ महिनामा ट्राफिक प्रहरीको सक्रियता बढिरहेको छ । ट्राफिक कार्यालय नुवाकोटको सक्रियता वृद्धिसँगै चालू आवको छ महिनामा ट्राफिक कारबाहीमा पर्नेको संख्या, जरिवाना र राजस्व बढेको छ । यो अवधिमा सवारी कसुर बमोजिमको कारबाहीबाट ७० लाख १५ हजार राजस्व संकलन भएको छ ।

ट्राफिक कार्यालय नुवाकोटले न्यून जनशक्तिको बाबजुद पनि सचेतनाको कार्यक्रम र आकस्मिक चेकजाँचलाई भने निरन्तरता दिइरहेको छ । जिल्लाको १३ वटा विद्यालयका आठ सय २५ जना विद्यार्थीलाई ट्राफिक नियमबारे कक्षा सञ्चालन चालू आवको छ महिनामा दिइसकेको छ । 

नयाँ चालक एक हजार २२५ जनालाई जिल्लाको २५ स्थानमा ट्राफिक नियमको कक्षा, ४९५ जना यातायात व्यवसायी र चालकलाई प्रशिक्षण, ६ सयभन्दा बढी सर्वसाधारणलाई ट्राफिक सचेतनाको कक्षा सञ्चालन कार्यालयले गरेको थियो । 

कार्यालयले जिल्लाको विभिन्न स्थानमा त्रिशूली बचत तथा ऋण सहकारी संस्था त्रिशूलीबजारको सहयोगमा ट्राफिक सचेतनामूलक होर्डिङबोर्ड राखिसकेको छ । ट्राफिक जनचेतनाका लागि पर्चा पम्प्लेट र सवारीचालकको स्वास्थ्य चेकजाँच तथा सवारीसाधनको प्राविधिक परीक्षण सडकमै गरिरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक एवं जिल्ला ट्राफिक प्रमुख मिलन सिंहले बताए । 

कार्यालयले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर दैनिक मापसे चेकिङलाई कडाइका साथ विभिन्न स्थानमा गरिरहेको समेत उहाँले जानकारी दिए । चालू आवको ६ महिनामा जिल्लामा मापसे गर्नेको संख्या २७६ छ । सबैभन्दा कम साउनमा ३२ जना र पुसमा बढी ८३ जना मापसे कारबाहीमा परे । यो अवधिमा २७ हजार ६ सय मापसे जरिवाना उठेको छ । छतमा यात्रु राख्ने १५ साधनबाट १५ हजार, ओभरलोड बोक्ने १६ सय ८८ वटाबाट १४ लाख ६७ हजार पाँच सय राजस्व संकलन भएको हो । 

सिटबेल्ट र हेलमेट नलगाउने सवारीसाधनका ६९८ चालकबाट चार लाख २८ हजार पाँच सय, कागजपत्र साथमा नबोक्ने सवारीचालक तीन हजार ५५२ बाट २४ लाख ३८ हजार पाँच सय, सवारीचालक अनुमतिपत्र नभएका एक हजार २०५ बाट ११ लाख ९५ हजार, बत्तीको अवस्था ठीक नभएको २८९ सवारीसाधनबाट १९ हजार, रूट परमिट नभएका ४६५ सवारीसाधनबाट चार लाख ६२ हजार ५०० राजश्व संकलन भएको छ । 

प्रयोजनविपरीत लगेज लोड बोक्ने १३८ सवारीसाधनबाट एक लाख ३८ हजार, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तीन सय ५० सवारीसाधनबाट तीन लाख १७ हजार पाँच सय र १७४ अन्य कारबाहीबाट ८७ हजार कसुरबमोजिमको राजस्व उठेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेको संख्या घटाउने अभियानमा कार्यालय रहे पनि जनशक्तिको अभावमा सफल हुन सकेको छैन ।

दाङसिङमा सोनाम ल्होछार


तारकेश्वर । यस गाँउपालिकामा २८५९ औं सोनाम ल्होछार मंगलवार भव्य रुपमा मनाईएको छ । 

गाँउपालिकाको वडा नम्बर १ दाङसिङमा फँलाटे युवा परिवारले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका सांसद राधिका तामाङले लोप हुदै गएको तामाङ जातीको कला, संस्कृति र भेषभुषा जगेर्नाका लागि स्थानीयस्तरबाटै पहल गर्नुपर्ने औल्याएकी छिन् । 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका तामाङले विभिन्न जातजातीको आ–आफ्नै कला संस्कृति, भेषभुषा र रहनसहन भएकाले सबैले आफ्नो क्षेत्रबाट जगेर्नाको पहल गर्नुपर्ने बताइन् । 

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीले नेपालीहरूले मनाउने चाडपर्वहरू भड्किलो रुपमा मनाउने परम्परा बस्दै गएकाले आफ्नो क्षमता अनुसार मनाउँदै कला संस्कृति र नेपालीपन झल्काउन सल्लाह दिए । यस्तै, नेपाली काँग्रेसमा महाधिबेशन प्रतिनिधी एवं चिकित्सक संघका पुर्व अध्यक्ष डा. केदारनरसिंह केसीले तामाङ र गुरुङ जातीले मनाउदै आएको ल्होछार पर्वको छुट्टै महत्व रहेको बताउँदै नेपालमा विभिन्न जातजातीको कला संस्कृति, रहनसहन, भेषभुषा र रीतिरिवाज छुट्टाछुट्टै रहेकाले सबैको संरक्षणको लागि राज्यले बिशेष पहल गर्न‘पर्ने बताए ।

कार्यक्रममा तारकेश्वर गाँउपालिका अध्यक्ष शिव अधिकारीले आफ्नो पालिकामा सबै जातजातिको आआफ्नै महत्व रहेकाले गाँउपालिकाले गर्ने हरेक कार्यहरू बराबरी रुपमा गर्दै आएको बताए । साथै तामाङ समुदायका लागि गाँउपालिकाले बिशेष रुपमा हेर्दै आएको उनले बताएका छन् । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सचिव जयमान वाईवाले तामाङ समुदायले मनाउने पर्वहरूको छुट्टै पहिचान रहेको बताए । सचिव वाईवाले तामाङ समुदायहरूले मनाउने विभिन्न चाड पर्वलगायत, कला संस्कृति, रहनसहन, भेषभुषानै नेपालको पर्यटन क्षेत्रको प्रमुख आधार रहेको बताए । तामाङ समुदायहरूको कला संस्कृति, पहिरन र रहनसहनमा विदेशीहरूको मोह रहेकोले संरक्षणमा जोड दिनुपर्ने उनको भनाई छ । 

गाँउपालिकाका उपाध्यक्ष हरिप्रसाद रिमाल, विभिन्न वडाका वडा अध्यक्षहरू, नेकपा माओवादी केन्द्र तारकेश्वरका अध्यक्ष सोमबहादुर तामाङलगायते तारकेश्वर गाँउपालिकाको समग्र विकासको लागि सबै पक्षसंग जोडदार माग गरेका छन् । कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम सहित तामाङ नाच, तामाङ पहिरनलगायत तामाङ जातिको पहिचान प्रस्तुत गरिएको थियो ।   

रसुवागढी नाका खुल्यो

चिनियाँ नयाँ वर्षका कारण बन्द गरिएको रसुवागढी नाका बुधबारदेखि खुला गरिएको छ । ल्होसार पर्व अर्थात् चिनियाँ वर्षका कारण माघ ६ गतेदेखि रसुवागढी नाकाबाट सामान आयात तथा निर्यात रोकिएको थियो ।

चिनियाँ नयाँ वर्षका कारण रोकिएको सामान बुधबार बिहानदेखि आउन थालेको भन्सार कार्यालयले जनाएको छ । बुधबार बिहान ७ वटा र साँझ ७ वटा गरी १४ वटा चिनियाँ कन्टेनर सामान आयात गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । ल्होसार पर्व अर्थात् चिनियाँ नयाँ वर्षका कारण १२ दिनदेखि आयात रोकिएको थियो । शुक्रबार बिहान तयारी कपडा, रबर, प्लाष्टिकका जुत्ता चप्पल विद्युतीय जिप, जलविद्युत् आयोजनाका सामग्री लगायत वस्तु नाकाबाट आयात गरिएको हो ।

अहिले नाकाबाट दैनिक रुपमा १४ कन्टेनर मात्र सामान आयात भइरहेको छ । यस्तै नेपाली सामान पनि चीनतर्फ निर्यात हुन थालेको एक महिना पूरा भइसकेको छ । तीन वर्षपछि गत पुस १२ गतेदेखि मात्रै चीनतर्फ सामान निर्यात हुन थालेको थियो ।

निर्यात खुलेपछि अहिलेसम्म नेपालबाट ५१ कन्टेनर सामान चीनतर्फ निर्यात भइसकेको बताइएको छ । रसुवागढी नाकाबाट अहिलेसम्म करिब ७ करोड मूल्य बराबरको ५१ कन्टेनर सामान चीनतर्फ निर्यात भएको रसुवा भन्सारले बताएको छ । नाकाबाट सामान आयात–निर्यात गरिए पनि मानिसको आवतजावत भने अझै खुलेको छैन । कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात–निर्यात प्रभावित भएको तीन वर्ष पूरा भइसकेको छ ।

२०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित भएको थियो । पछिल्लो समय आयात–निर्यात खुलाइए पनि कोरोना महामारी सुरु हुनुभन्दा पहिलेको अवस्थामा अझै नपुगेको बताइएको छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात–निर्यात बन्द भएको थियो भने पछि कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात थप प्रभावित भएको हो । साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । २०७७ असार २२ गतेबाट पुन सामान आयात सुरु भए पनि निर्यात ठप्प थियो । साथै आयात पनि कोरोना, पहिरो र हिमपातले नियमित हुने गरेको छैन ।

झिल्टुङ, अर्चलेकोट : नेपाल उपत्यका आक्रमणको आधार शिविर !

नारायण नेपाल

नुवाकोटको दक्षिण पश्चिममा पर्ने एक अग्लो थुक्कालाई कोटथुम्का भनिन्छ । त्रिशुली नदीले उत्तर पश्चिम घुमेर बगेको यो गाउँको प्राचीन नाम झिल्टुङ हो । कतिपयले त्यो थुम्को झिल्टुङकोट हो भनेर भन्ने गरेका छन् भने कतिपयले कोटको नामै एकीन हुन नसकेको तर्क गरिरहेका छन् । इतिहासको अध्ययन पर्गेल्दै केही तथ्यबारे यसलेखमा विमर्श गरिएको छ ।

लिच्छवीकालीन बस्तीमा खस मल्लको नजर

मध्यकालीन नेपाल सैन्य हिसाबमा कमजोर राज्यको रूपमा थियो । लिच्छवीकालीन बस्तीमा खस मल्ल शासकको नजर परेको पाइन्छ । खसहरूको आक्रमण र राज्यविस्तारको अभियानले पश्चिम कर्णाली प्रदेशमा नयाँ शक्तिशाली खस राज्यको उदयपछि तिनीहरूले पूर्वतिर आफ्नो प्रभाव फैलाउँदै लगेका तथ्य मध्यकालीन इतिहासमा पाइन्छ । हाल धादिङको थाक्रे गाउँपालिका साविक केवलपुर गाउँको लामीडाँडा क्षेत्रको बसाहडाँडामा फेला परेको लिच्छवीकालीन धु्रवदेव जिष्णु गुप्तको अभिलेख एक महत्वपूर्ण तथ्य हो । यो शिलालेखले त्रिशुली पूर्वको यो भूगोलमा भएको लिच्छवीकालीन आवाद वस्तीलाई प्रमाणित गरेको छ ।

लिच्छवीकालीन ‘नुप्पुन्न’ निक्कै पुरानो बस्ती भएको इतिहासमा उल्लेख छ । लिच्छवीकालीन इतिहासमा राजा वसुराजको नाम उल्लेख छ । उनीपछिको श्रीमहिदेवले यस क्षेत्रमा सुविधा उपलब्ध गराएको प्रसङ्गसमेत अभिलेखमा उल्लेख छ । लिच्छवीकालीन इतिहासमा राजा वसुराजको अस्तित्व रहेको प्रमाणित हुनु र त्यो शिलालेखमा वसुराजको प्रसङ्ग उल्लेख हुनुले इतिहासको तथ्य प्रमाणित गर्दछ भने त्यही वसुराजको दरबार वा भवन भएको डाँडा अपभ्रंश भएर कालान्तरमा बसाहडाँडा नामकरण भएको हुन सक्छ । अथवा त्यो शिलालेखमाथि रहेको बसाहचित्रले यो स्थानको नाम रहेको हुन सक्छ । ध्रुवदेव जिष्णुगुप्तको अभिलेख स्रोत योगी नरहरिनाथ, सन्धिपत्र संग्र्रह भाग १ र लिच्छवीकालीन अभिलेख संग्र्रह ः पुरातत्व विभाग पृ. ४१४–१८ मा उल्लेख छ ।

आजको काठमाडौंलाई नेपाल भन्ने बूढापाका अझै भेटिन्छन् । इतिहासको बारेमा उतिबेला नेपाल जाने पश्चिमी मूलबाटो स्वयम्भू, सीतापाइला रामकोट, भीमढुंगा देउराली हुँदै जाने बाटो नै प्रमुख थियो । त्यो बेलाको बाटोमा रहेका चिनोहरू आजसम्म उस्तै छ । यो खस सेनाका मार्गमा रहेका देउराली चौतारी, फाँटको पौवा, फेदीको पौवा, ढुंगे धारो, गढीको थुम्को, थपिन्थुम्को अहिले पनि इतिहासका चिनो हुन् ।

खस राज्य र त्यसको पूर्वी सिमानाबारे कहिले स्वतन्त्र र कहिले नेपाल उपत्यकाको अधिनमा रहेको यो क्षेत्रबारे केही भ्रम वा विवादास्पद तथ्य हुन सक्छ । तर पश्चिममा प्रभाव विस्तार गरेको खसराज्यको सिमानाबारे इतिहासकार डा.सूर्यमणि अधिकारीले लेख्नुभएको छ । उहाँका अनुसार, ‘खस राज्यको सिमानाबारे पूर्वमा त्रिशुली नदी रहेको थियो ।’ (अधिकारी, २०६०ः १५) । मल्लकालीन नेपालमा यो क्षेत्र नेपाल उपत्यकाको अधिनमा रहेको क्षेत्र हो भन्ने तथ्य मल्लकालीन इतिहासका तथ्य उजेल्ने लेखकहरूले उल्लेख गरेका छन् । इतिहासकार श्रीकृष्ण आचार्य लेख्नुहुन्छ, ‘बेलकोटगढीमा रहेको गढी किल्लाको पतन भएपछि तादी नदीभन्दा पारितर्फका नुवाकोट इलाकाका दक्षिण पश्चिम भेगमा रहेको लामीडाँडा इलाकासम्म कान्तिपुर राज्यका सम्पूर्ण भू–भागहरू गोरखा राज्यकै नियन्त्रणमा पर्न पुगे ।’ (नेपालका पछिल्ला मल्ल राजाहरूको अन्तकलह खण्ड एक ः श्रीकृष्ण आचार्य पृ. ११८ ।) लामीडाँडा क्षेत्र हाल केवलपुरमा फेला परेको लिच्छवीकालीन शिलालेख अंशुवर्मा र नुवाकोटको ठकुरी वंशको शासनसँगै रहेको तथ्य मात्रै होइन, नुवाकोटतिर भेटिएको लिच्छवीकालीन संरचना र इतिहासको क ख नजानेका बुढापाकाको जनश्रुति किन मिल्छ होला ? त्यो खोज अनुसन्धानको विषय हो ।

खस मल्लद्वारा नेपाल उपत्यकामा आक्रमण

पश्चिमका खस मल्ल शासकहरूद्वारा नेपाल उपत्यकामा बारम्बार आक्रमण गरेका तथ्य इतिहासमा उल्लेख छ । गोपाल वंशावलीको पत्र उल्लेख गर्दै वि.सं. १३४४ देखि १३९१ सम्म सात पटक खस सम्राटहरूले उपत्यका आक्रमण गरेका थिए । इतिहास अध्येता डा.सूर्यमणि अधिकारीका अनुसार खस मल्ल राजा जितारी मल्लका पालादेखि नेपाल उपत्यका आक्रमण गर्न थाले (अधिकारी, २०६०ः ११) । त्यसबेला खस सेनाहरू पश्चिमबाट वि.सं. १३४४ मा पहिलोपल्ट नेपाल उपत्यका पसेका थिए । त्योबेला आठ सय सेनालाई स्वयम्भूमा सिध्याएर सबै वन पसेपछि खस सेना फर्किएका थिए । त्यसपछि एक बर्षपछि उनै खस सम्राट जितारीको सेनाले गाउँमा आगो लगाएर उपत्यका कब्जा गरेर वि.सं. १३४७ मा आफ्नो देश फर्किएको तथ्य नुवाकोटको ऐतिहासिक रूपरेखा पुस्तकमा उल्लेख छ । पश्चात्ख शियाववः । राजा जयतारि प्रथम प्रबिष्ट ः सम्वच्छर चारी सय आठ पौषमासे साह्यगुस्थाने खशिया अबुठ शय पातयित्वा, राष्ट्र सर्व वने सेवितम् तेन पालियतम् लोक स्वस्थेत स्वस्थानस्थितम् । तस्य सम्वच्छर प्रवर्तते फाल्गुन मास शुल्क त्रयोदशी । पुनःद्वितीय जयतारी प्रविष्टः । ग्रामादि अग्निदाह कारेति स्येगुचेत प्रस्थयति  (बज्राचार्य र श्रेष्ठः २०३१, २७) ।

यो आक्रमणपछि खस राजा रिपु मल्लको अल्पअवधिको शासन चलेको थियो । त्यसपछि जितारी मल्लको छोरा आदित्य मल्ल सिञ्जाको राजगद्धीमा बसेको इतिहासमा उल्लेख छ । उनले नेपाल आक्रमण गरेको तथ्य इतिहासमा फेला परेको छ, आदित्य मल्लको पालामा खस सेनाले दुईपटक नेपाल उपत्यका आक्रमण गरेका थिए । (अधिकारी, २०६०ः १३) । वि.सं. १३७७ र वि.सं. १३८५ मा खस राजा आदित्य मल्लले नेपाल उपत्यका आक्रमण गरेका थिए भन्ने अधिकारीले उल्लेख गरेका छन् । त्यस अतिरिक्त पुण्य मल्लको पालामा वि.सं. १३९१ सम्म नेपाल उपत्यका आक्रमण भएको पाइन्छ ।

एक वर्षपछि लगत्तै आक्रमण गर्ने जितारीका सेनाहरूले शक्ति सञ्चय गर्न सिञ्जा पुगे होलान् कि नजिकै कुनै स्थानमा किल्ला खडा गरेर बसे होलान् ? त्यो खस मल्लकाल सँगको साइनो जोडिएको त छैन अचलैकोटको मौलोमा ? यो ऐतिहासिक खोजीको पक्ष हो । त्यतिबेला राजा र उनका सेनाहरूले कुन बाटोबाट उपत्यका प्रवेश गरे होलान् ? कहाँ कहाँ बसेर युद्धको तयारी गरे होलान् ? इतिहासमा खस साम्राज्यको विस्तारमा नेपाल उपत्यकाको आक्रमण पूर्वतयारीको किल्ला कुन कुन थियो होला ? कतै इतिहासको यी गुमनाम तथ्यहरू यही नुवाकोटको माटोमा त बिलाएको छैन ? खोज उत्खनन जरुरी छ ।

आजको काठमाडौंलाई नेपाल भन्ने बूढापाका अझै भेटिन्छन् । इतिहासको बारेमा उतिबेला नेपाल जाने पश्चिमी मूलबाटो स्वयम्भू, सीतापाइला रामकोट, भीमढुंगा देउराली हुँदै जाने बाटो नै प्रमुख थियो । त्यो बेलाको बाटोमा रहेका चिनोहरू आजसम्म उस्तै छ । यो खस सेनाका मार्गमा रहेका देउराली चौतारी, फाँटको पौवा, फेदीको पौवा, ढुंगे धारो, गढीको थुम्को, थपिन्थुम्को अहिले पनि इतिहासका चिनो हुन् ।

इतिहासको अध्ययनमा फेला परेका तथ्यहरूसँग मिल्दाजुल्दा भग्नावशेष र जनश्रुतिहरू झिल्टुङको बस्तीमा रहेको पाइन्छ । त्यो लडाईंको आहान राजा–रानी भागेर लुकेको राजओडार रानीओडारसँगै त्यो लडाईंको मिथक ती ओडारको परिचयमा जोडिएको पाइन्छ ।

खस मल्लद्वारा नुवाकोट आक्रमण

मध्यकालीन नेपालको इतिहास अध्ययन गर्दा खसिया राजाहरूले गोर्खासम्म आफ्नो हातमा पारेका थिए भन्ने प्रष्ट तथ्य पाइन्छ । त्यतिबेला नुवाकोट भने नेपाल उपत्यका राज्यअन्तर्गत रहेको थियो । गोपाल वंशावलीमा नुवाकोटको चर्चा कर्णाली प्रदेशका खस राजा जितारी मल्लले नुवाकोट कब्जा गरेको प्रसङ्गमा आएको पाइन्छ । (बज्राचार्य र श्रेष्ठः २०३१, २७) । खसराजा जितारी मल्लले वि.सं. १३४४ तिर नेपाल उपत्यका आक्रमण गरे । 

यसपछि रुद्र मल्लले वि.सं. १३७४ मा नुवाकोट कब्जा गरेको इतिहासमा उल्लेख छ । मित्रताको नातामा नेपाल भ्रमण गर्न आएका खस राजा रिपु मल्लको यात्रासँगै खसहरूको नुवाकोट राज्यमा दृष्टि गढेको सुइँको पाएका रुद्र मल्लले नुवाकोटलाई राम्रोसँग कज्याएको प्रसङ्ग गोपाल वंशावलीमा उल्लेख भएको इतिहास अध्येता बज्राचार्यको ठहर छ । समस्त नेपाल श्री जयरुद्र मल्ल इवनुवकोट भुङ्तीप्रजंत राज कृतंम् । 

(बज्राचार्य र श्रेष्ठः २०३१ः ३३) । रुद्र मल्लको शासनकालमा नुवाकोट केन्द्र सम्मिलित थियो । र, त्यसपछि आदित्य मल्लको आक्रमणपछि नुवाकोट खस राज्यको मातहत भएको तथ्य पाइन्छ । खस राजा आदित्य मल्लले वि.सं. १३८४ को फागुनमा नेपाल उपत्यका आक्रमण गरेको र त्यो आक्रमणको पहिलो मार नुवाकोटमा परेको प्रसङ्ग इतिहासमा उल्लेख भएको छ । नुवाकोटको ऐतिहासिक रूपरेखा पुस्तककाअनुसार : उनको आक्रमणको पहिलो मार नुवाकोटमा पर्यो, केन्द्रले नुवाकोट थेग्न सकेन । यसो हुनाले सजिलोसँग नुवाकोटमा आदित्य मल्लको अधिकार जम्यो  (बज्राचार्य र श्रेष्ठः २०३१ः ३४) ।

इतिहासको अध्ययनमा फेला परेका तथ्यहरूसँग मिल्दाजुल्दा भग्नावशेष र जनश्रुतिहरू झिल्टुङको बस्तीमा रहेको पाइन्छ । त्यो लडाईंको आहान राजा–रानी भागेर लुकेको राजओडार रानीओडारसँगै त्यो लडाईंको मिथक ती ओडारको परिचयमा जोडिएको पाइन्छ । वयोवृद्ध समाजसेवी तथा पूर्वप्रधानपञ्च छविलाल श्रेष्ठ भन्नुहुन्छ, ‘त्यो कोटघर भन्दा तल एक खावा थियो, अहिले मासियो ।’ यहाँको कोट जात्रापर्व संस्कृति राजा शिशु मल्लको पालादेखि चलिआएको चलन हो भन्ने प्रचलन छ ।

लाखेजात्रा र कोट कटुवालले उल्लेख गर्दै आएको त्यो शिशु मल्लबारे इतिहासमा कुनै तथ्य फेला परेको छैन । तर कौशिकादि सन्तती पुस्तकमा पूर्णप्रकाश नेपालले लेख्नुभएको छ,  ‘पहिलोपल्ट मण्डन प्रवेश गर्दा सगोत्रबान्धव बसुदाखर बरालका हितमा कौमुदी र वसुपाध्याले सिन्धुकोटका राजा शिशु मल्लका रोहबरमा कोल्पुटार र बेत्रावती बिर्ता, मण्डन र पाचखालसँग सटापटा गरेका हुन् भन्ने जनश्रुति छ  (नेपालयात्री, २०४५ः १७८) । को हुन् शिशु मल्ल ? कहाँका राजा थिए ? कसरी कोल्पुटार बेत्रावती र सिपामण्डन बिर्ता सट्टापट्टा गरिदिए उनले ? भन्ने प्रश्न पनि उठ्न सक्छ । सिन्धुकोटका राजा सम्भवतः शिव मल्ल हुन सक्ने अनुमान सत्यको नजिक भएको तर्क छ पुर्णप्रकाश नेपालको (नेपालयात्री, २०४५ः १७८) । रिपु मल्ल भन्दा भन्दै शिशु भयो कि शिव मल्ल हुन् ? त्यो अन्योल नै रहेको छ । तर रोचक तथ्य के छ भने उनी को हुन् ? कहाँका राजा हुन् ? त्यो तथ्य इतिहासकारले उजेल्न सकेका छैनन् । तर उनै शिशु मल्लको आदेशमा चलेको चलन भन्दै अहिलेसम्म यो झिल्टुङको समाज र सभ्यतामा सांस्कृतिक सभ्यताको जीवितता उनै शिशु मल्लको आदेश हो भन्ने भेट्न सकिन्छ ।

खस मल्लद्वारा नेपाललाई झिल्टुङ बिर्ता

झिल्टुङ, अर्चलेकोट यही स्थानमा रहेको थियो भन्ने प्रमाणित एकीन पहिचान भएको छैन । झिल्टुङभित्र भएको विभिन्न स्थानको नामकरणलाई लिएर हेर्ने हो भने एक अर्चले भन्ने स्थान रहेको पाइन्छ । नेपालको अंशवण्डा हुने बेलाको जनश्रुतिको श्लोकमा समेत अर्चलेबारी अंशबण्डाको प्रसङ्ग उल्लेख छ ।

अर्चलेबारी, तितेपातीघारी, बेसी दाहालटारी, नेपालटारी ।

भालु खोलापारी दाहाल भान्जालाई पूर्णसारी

कान्तु र कुन्तुलाई आधा आधा पारी ।

नेपाल वंशावली खोज तथा पुनर्लेखन यात्रा दशकौँ देखिका अविराम यात्री रामप्रसाद नेपाल भन्नुहुन्छ, ‘त्यही अर्चलेबारीमा रहेको महादेव मन्दिर र धामीले गाडेको ढुङ्गो भएको क्षेत्रमा नै अर्चलेकोट रहेको हुन सक्छ ।) खस राजा जितारी मल्लका राजपुरेत विद्वान भास्कर पण्डितका सन्तानलाई राजा आदित्य मल्लले झिल्टुङमा बिर्ता दिएका थिए । त्यतिबेला धैवुपाध्य नेपाललाई खस राजा आदित्य मल्लले विर्ता दिएको इतिहासका तथ्यहरूमा स्पष्ट उल्लेख छ । 

खस सम्राट आदित्यमल्लद्वारा धैवुपाध्य नेपाललाई त्रिशुली र बेत्रावतिबीचको भूभाग झिल्टुङ, बरितुङ्ग आदि गाउँहरू बिर्ता दिए । त्यस भेगमा भृतसेनाका तैनाथवाला बनाएकाले धैवुका खलकहरू त्यस भेगमा फैलिएका (नेपालयात्री, २०४५ः १७८) ।

नेपालले बिर्ता पाएको यो स्थान र इतिहासमा खस सम्राटले नेपाल उपत्यकामा आक्रमण गरेको तथ्यलाई तुृलना गरेर हेर्दा वि.सं. १३७७ देखि वि.सं. १३८५ सम्म नेपाल आक्रमण गरेको खस राजा आदित्य मल्ल रहेको पाइन्छ । त्यो क्षेत्रमा रहेको युद्ध अवशेषहरू त्यही खस साम्रज्यकालीन नहोला भन्न सकिन्न ।

नुवाकोट भैरवीको धामीको अर्चलेकोट यात्रा

खस राजा रिपु मल्ल धार्मिक राजा भएको पाइन्छ । संस्कृति नै राज्यको मेरुदण्ड मान्ने खस राज्यको मान्यता थियो । रिपु मल्लले घण्ट चढाएको प्रमाण नुवाकोटमा रहेको घण्ट र शिलालेखले दिएको छ । 

श्रीरिपु मल्ल देवेन । 

सद्भक्तद्या दीपिका निदितयामि ।। 

प्रदत्ता पुण्यभावेज कुशलानि हि मे  सदा राज्यलक्ष्मीष्ठिरनश्चंवप्राप्त सिद्धि । 

नुवाकोट दरबारमा रहेको नारायण मन्दिरको अभिलेखबारे इतिहासकारको दाबी छ । 

ने.सं. ५६१ वि.सं. १४९८ मा भाद्रशुक्ल सप्तमी बुधवारका दिन दीपिका पानस चढाइएको उल्लेख छ । (बज्राचार्य र श्रेष्ठ, २०३१ः ४) । रिपु मल्ल १३६९–७० खस राज्यको राजा भएको देखिन्छ भने उनको नेपाल आगमन ने.सं. ४३३ वि.सं. १३६९ मा भएको तथ्य इतिहास अध्येता डा.अधिकारीले उल्लेख गरेका छन् (अधिकारी, २०६०ः १२) ।

झिल्टुङ अर्चलेका स्थानीय प्रेमबहादुर तामाङ भन्छन्, ‘मेरो हजुरबुवा पुर्णबहादुर तामाङले मलाई भन्नु भएअनुसार त्यो अर्चलेटारमा रहेको घण्ट धामीले चढाएको हो र त्यहाँ गाडेको ढुङ्गा धामीले गाडेको हो । यहाँको जात्रामा धामी आउने गरेको थियो ।’ झिल्टुङको अर्चलेटारमा लाग्ने मेला पर्वको चिनो रहेको छ टारको महादेव मन्दिर, देवीथान र धामीले गाडेको ढुङ्गा । विगतमा जस्तो मेलाजात्रा विस्तारै लोप हुँदै गएको छ । हिजो आज लगभग चहलपहल शुन्य छ यो टारतिर ।

उमेरले ९० वर्ष पुगेका पुर्णबहादुरकी बहिनी धनकुमारी तामाङलाई सम्झना भएअनुसार यो अर्चलेटारमा आउने धामी लिन उहाँका दाजु पुर्णबहादुर केही पर रहेको धामी रुम्टोसम्म जाने गरेका थिए । नुवाकोट भैरवीबाट देवीघाटमा आएको धामी धामीरुम्टोमा आइपुगेर नुहाएर कपडा फेरेपछि बाटोमा कपडा बिछ्याउँदै अर्चलेटारसम्म लैजाने गरेका थिए । भैरवी र अर्चलेकोटको यो सम्बन्धको पाटो के थियो र कसरी पूर्णविराम लाग्यो ? खोजीको अर्को सवाल हो ।

नामकरण र सांस्कृतिकरण

नुवाकोटमा रहेको भौतिक र अभौतिक प्रमाणको रूपमा यो नामकरणको सवाललाई लिन सकिन्छ । अर्चले, मालिकाथान, कामरु, देउराली, गढीको थुम्को, फाँटको पौवा इतिहासका अवशेषका केही प्रतीकमात्रै हुन् । राज्यशासनको जग नै संस्कृति हो भन्ने मानेर महत्व दिएका थिए खस राजाहरूले । त्यही आधार यो क्षेत्रमा रहेको अभौतिक सम्पदा, संस्कृतिलाई लिन सकिन्छ ।

७ सय झिल्टुङको आहान

प्राचीन कालमा राज्यहरूको बारेमा विभिन्न आहान बन्ने गरेका छन् । त्यस्तै ७ सय झिल्टुङको आहान त छैन तर कसैले ७ सय गाउँको राज्य हो भन्ने गरेका छन् भने कतिले ७ सय मुरी माटो । कति हो झिल्टुङ र कहाँसम्म थियो सिमाना ? भन्ने प्रष्ट सवालसमेत छैन भने सिन्धुकोटको राजाले बेत्रावती र कोल्पुटारसँग पाँचखाल र मण्डन साटफेर गर्ने ल्याकत राख्न सक्ने हो भने त्यो राज्य उपत्यका बाहेकमा उही सुनकोशी, बेत्रावती र लामीडाँडासम्म त थिएन ? भारतको छत्तिस लाख गाउँको, कान्यकुञ्ज देश, नेपाल एक लाख गाउँको देश भएको तथ्य छ भने ७ सय गाउँको झिल्टुङ राज्य हुन पनि त सक्छ । यो ७ सय झिल्टुङ भन्ने आहान कतै मिल्न पनि त सक्छ । भारतमा काव्यकुञ्ज देशको निर्माण गर्न छत्तिस लाख गाउँहरूको सहयोग थियो । यस्तो किटान पद्यपुराण एवं स्कन्द पुराणमा लेखिएको छ :

एकोलक्षन्तु नेपाले ग्रामत्तत्र प्रवर्तते ।

षड्स्त्रिंसल्लक्षमानन्तु कान्यकुब्जे प्रतिष्ठित ।।

पद्यपुराण पाताल खण्ड ४१ अध्याय २०१ पद्य, तत्कालीन नेपालको निर्माणमा एक लाख गाउँहरूको सहयोग थियो । यस्तो किटान पद्यपुराण एवं स्कन्दपुराणमा लेखिएको छ ,

एकोलाक्षश्च नेपाले ग्रामाणां परिकीतितः ।

षड्स्त्रिंसल्लक्षमानन्तु कान्यकुब्जे प्रर्कीतितम् ।।

(नेपालयात्री, २०४५ः १६६) ।

नेपालको इतिहासमा त्रिशुली नदी सभ्यताको र खस राज्यको इतिहासको बारेमा मिल्दोजुल्दो तथ्य धेरै रहेको पाइन्छ । कतै यो झिल्टुङको सभ्यताले पनि त्यही आदिम इतिहास त बोकेको छैन ? प्रमाणित इतिहासका तथ्यहरूलाई केलाएर विमर्श गर्न जरुरी छ ।

चिनियाँ रेशमी मार्गको इतिहासको त्यान्द्रो हाम्रो कुन भू–सतहमा थियो होला ? के नेपाल पक्षले यसको ऐतिहासिकताको अध्ययन गर्न सकेको छ ? दक्षिण चितवनको सोमेश्वरगढी र उत्तर रसुवाको रसुवागढीको किल्लाले सङ्केत गर्ने छिमेक सम्बन्ध र भू–राजनीतिक सम्बन्धको आयामका बारेमा यो माटोमा इतिहासका केही तथ्य रहेका हुन सक्छन् । 

समाजशास्त्रीय कोणबाट खोज जरुरी छ । विडम्वना, अनेक व्यवस्था फेरिए पनि हालसम्म झिल्टुङ गाउँको प्राचीन संस्कृति र इतिहासको तथ्यबारे एकीन अध्ययन, अनुसन्धान र प्रमाणिक अन्वेषण कार्य हुन सकेको छैन ।

न्दर्भ सामग्री : १. अधिकारी, सूर्यमणि । २०६० । बाइसे राज्यको इतिहास । २. नेपालयात्री, पुर्णप्रकाश । २०४५ । कौशिकादि सन्तति । काठमाडौंः नेपाल वंशज परिषद । ३. बज्राचार्य, धनबज्र र श्रेष्ठ, टेकबहादुर । २०३१ । नुवाकोटको ऐतिहासिक रूपरेखा ।  कीर्तिपुरः एसियाली अध्ययन संस्थान त्रिवि ।


२०७९ साल माघ २३ गतेको सम्पादकीय

खेलकुदमा स्थानीय सरकार

गएको हप्ता नुवाकोटको तीन वटा स्थानीय सरकारले बेग्लोग्लै खेलकुदका कार्यक्रम तथा प्रतियोगिताहरूको आयोजना गर्यो । तीन वटा पालिका, तादी, सुर्यगढी र शिवपुरीले खेलकुदका लागि गरेको खर्चकै मात्रै हिसाव पनि एकमुष्ठ रुपमा एक करोड हुन आउँछन् । स्थानीय सरकार विशेष गरी विकास निर्माणमा बढी जोडिनुपर्ने अपेक्षा नागरिहरूसंग रहने गरेको छ । उसोभए यसरी खेलकुदमा हुने खर्चलाई फजुल खर्च भन्न सकिएला त ? पक्कै पनि खेलकुदको महत्व र आवश्यकता फरक छ । तर त्यसलाई स्थानीय सरकारले प्रभावकारी रधारिलो रुपमा प्रस्तुत गर्नसक्नु पर्दछ । हामीले अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरूलाई हेर्ने केलाउने हो भने पनि खेलकुल अब राष्ट्र, समुदाय अनि गाउँको इज्जतसंग जोडिएको पाउन सक्छौं । त्यसबाहेक खेलकुद र देश जोडिएको अर्को विषय हो– देश विकास । सुन्दा अलिकति अनौठो सुनिएला, तर खेलकुद र देश विकासमा समानुपातिक सम्बन्ध छ । केही अपवादलाई छाड्ने हो भने संसारका धेरैजसो खेलकुदमा राम्रो गर्ने देशहरू सबैजसो विकसित देशहरू नै हुन्छन् । विकसित देशमा सरकारले खेलकुदमा राम्रो लगानी गरेको हुन्छ, त्यहाँका सबै जनता खेलकुदको फाइदाप्रति सचेत हुन्छन् । त्यसैले सानैदेखि उनीहरूमा खेलकुदप्रति रुची हुन्छ र पदक पाउनका लागि भन्दा पनि आफ्नो स्वास्थ्य राम्रो राख्नका लागि सबैले सानातिना भए पनि खेलकुदमा भाग लिइराखेका हुन्छन् । खेलकुदमा भाग लिँदा शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुने नै भयो, जनता सामाजिक हुने भए । स्वस्थ र सामाजिक जनताको उत्पादकत्व अस्वस्थहरूको भन्दा बढी हुने नै भयो । अनि, उत्पादकत्व बढी भएमा देश विकास छिटो हुने नै भयो । त्यसको अतिरिक्त जुनसुकै खेलकुदमा पनि दुवै पक्षलाई मान्य हुने गरी नियमहरू बनाइएका हुन्छन् । त्यसैले खेलकुदमा भाग लिने मान्छेहरू नियम र अनुशासनले बाँधिएका हुन्छन् । उनीहरूलाई कानुनको सर्वोच्चता थाहा हुन्छ । उनीहरूले नियम मिच्ने काम गर्दैनन् । त्यसैले नियम मान्ने मान्छेहरूबाट स्वतः रुपमा कानुनको राज्य स्थापना गर्न सजिलो हुन्छ र कानुनी राज्य स्थापना भएमा देश विकासमा टेवा पुग्छ ।

त्यस्तै, हरेक खेलकुदमा अवसर अवसर छोप्न नसके परास्त भइन्छ । जो चनाखो हुन्छ र आएको राम्रो अवसरलाई खेर जान दिँदैन, उसैले खेलमा विजय हासिल गर्छ । खेलकुदमा भाग लिएका मान्छेहरूलाई जीवनमा त्यो पाठ लागु गर्न सजिलो पर्छ अनि जीवनमा आएका हरेक राम्रा अवसरहरूलाई उनीहरूले खेर जान दिँदैनन् । ती हरेक राम्रा अवसरहरूलाई पुरापूर उपयोग गर्ने व्यक्तिहरूले आफ्नो व्यक्तिगत र पारिवारिक विकाससँगै देशको विकासमा पनि टेवा पु-याएका हुन्छन् । देश विकास मात्र होइन, खेलकुदले राष्ट्रियता सुदृढ बनाउन पनि मद्दत गर्छ । हामीले देखेकै छौँ क्रिकेट या फुटबलको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन थाल्यो भने हिमालदेखि तराईसम्मका र पूर्वदेखि पश्चिमसम्मका युवायुवतीहरू गालामा नेपालको झन्डा टाँसेर नेपाली ‘टिम’लाई समर्थन गर्न र उनीहरूको हौसला बढाउन स्वतःस्फूर्त रुपमा निस्केका हुन्छन् । सागको फुटबल फाइनलमा नेपालको समर्थनमा दाशरथ रंगशाला उर्लेको भिडले त्यो कुरो पुष्टि गर्छ । ती युवायुवतीहरूलाई देख्दा थाहा हुन्छ, खेलकुदले राष्ट्रियता र राष्ट्रिय एकताका लागि पनि निकै महत्व पूर्ण योगदान दिएको हुन्छ । 

तर, नेपालमा अझैं पनि सरकार र जनताको तर्फबाट पनि खेलकुदको क्षेत्रमा गम्भीरतापूर्वक ध्यान दिएको पाइँदैन । जब प-यो राति, अनि बुढी ताती भनेझैँ जब–जब खेलकुदका आयोजना शुरु हुन थाल्छन्, अनि मात्र सरकार तात्छ र रङ्गशाला मर्मत गर्न थाल्छ, त्यो पनि विदेशीको सहयोगमा । तर, धेरै ढिलो भइसकेको छैन । यदि जनतालाई अनुशाशित तथा स्वस्थ राख्न अनि जनताको उत्पादकत्व बढाउनुछ भने सरकारले खेलकुदमा अहिले नै ठूलै लगानी गर्नुपर्छ । सागले हामीलाई खेलकुदप्रति सचेतना जगाएको छ, यही मौका छोपेर खेलाडीहरूलाई आकर्षिक गर्ने योजना ल्याउनु जरुरी छ । अहिले खेलकुदमा गरेको लगानीले कालान्तरमा देशलाई र जनतालाई निकै फाइदा पु-याउनेछ भन्नेमा दुई मत छैन । सरकारले अहिले नै खेलकुदका व्यवसायिक पाठशालाहरू खोल्ने, हरेक स्थानीय तहमा कम्तिमा पनि एउटा रंगशाला या कभर्ड हल खोल्ने, खेलकुदका सामग्रीहरू सुलभ बनाउने, व्यवसायिक खेलाडीहरूलाई समाजका अन्य सम्मानित र उच्च पारिश्रमिक पेशाजत्तिकै पारिश्रमिक दिने, अन्तरराष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई राज्यस्तरबाटै सम्मान प्रदान गर्ने, स्कुल देखि नै शारीरिक शिक्षालाई खालि देखाउन लागि मात्रको नभई व्यावहारिक रुपमा कडाइका साथ लागुगर्ने काम शुरु गर्नुपर्छ । 

२०७९ साल माघ २३ गते । वर्ष:१६ अंक:१७

 

Monday, January 30, 2023

एक घण्टाका लागि फेरिए गाउँपालिका अध्यक्ष

पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा १७ वर्षिया सफल ढकाललाई एक घण्टाका लागि पदभार ग्रहण गराउँदै पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबबहादुर तामाङ । तस्बिर : जगदीश खनाल

घलेभञ्याङ । हुन त बैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएको हो, तर नुवाकोटको पञ्चकन्या गाँउपालिकामा शुक्रवार स्थानीय तहमा नयाँ सरकार बनेको छ । 

निर्वाचन मार्फत् नै नयाँ अध्यक्ष र उपाध्यक्ष चुनिएका हुन् । अध्यक्षमा १७ बर्षिय सफल ढकाल र उपाध्यक्षमा निशा तामाङ बिजयी भएका छन् । अध्यक्षमा ४ जना उम्मेदवारी परेकोमा सबैभन्दा धैरै मत ल्याई ढकाल बिजयी भए भने उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेकोमा धेरै मत ल्याई निशा तामाङ बिजयी भएका  छन् । 

तर यो चुनाव नमूना चुनाव हो र निर्वाचित भएका जनप्रतिनिधि पनि नमूना पात्र मात्रै हुन् । पञ्चकन्या गाँउकार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित ४ दिने नमूना युवा सांसद अभ्यास कार्यक्रममार्फत गाँउपालिकाको युवा गाँउसभा अध्यक्ष र उपाध्यक्षमा मतदान भएको थियो । गाँउपालिकाको ५ वटै वडाबाट प्रतिनिधित्व गरेका २३ जना बिद्यार्थीहरूले सहभागिता जनाएको प्रशिक्षण कार्यक्रममा पालिकाले गर्ने सम्पुर्ण कार्यहरूको बारेमा जानकारी गराउनुका साथै युवाहरूको क्षेत्रमा स्थानीय तहले निभाउनुपर्ने भुमिकाको बारेमा प्रशिक्षण दिईएको थियो । 

निर्बाचित अध्यक्षलाई शुक्रबार गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’ले आफ्नै कुर्र्चीमा एक घण्टा नमूना पदभार ग्रहण समेत गराए । अध्यक्ष तामाङले अध्यक्षको कुर्चीमा बसेर गर्नुपर्ने कार्यहरूको बारेमा नमूना अभ्यास समेत गराएका छन् । प्रशिक्षण कार्यक्रम समापनमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीले १६/१७ बर्षे युवा उमेरमै स्थानीय तहको काम कर्तव्य र सुन्दर अनि सक्षम आफ्नो गाँउ निर्माणमा युवाहरूले खेल्नुपर्ने भुभिकाको बारेमा युवापुस्ताले ध्यान दिनुपर्ने औल्याएका छन् । साथै स्थानीय तहले गर्ने हरेक कार्यमा युवा पुस्तालाई समेटेर सल्लाह सुझावमा साथ सबै स्थानीय तहहरू अगाडी बढ्नुपर्ने उनको भनाई रहेको छ । 

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आगामी हरेका गाँउसभामा युवाहरूको प्रतिनिधित्व हुनेगरी गाँउपालिकास्तरिय गठन भएको युवा सञ्जाललाई सहभागी गराउने घोषणा गरेका छन् । युवाहरूबाट आएको माग र सल्लाह सुझावलाई आत्मसाथ गर्दै आगामी बजेटहरू तयार गरिने अध्यक्ष तामाङले बताए । खेलकुद लगायतका युवाको क्षेत्रमा प्रतिनिधित्व गर्ने हरेक कार्यमा पहिलो प्रथामिकता दिदै आएका अध्यक्ष तामाङले आगामी दिनमा बजेट निर्माणलगायत पालिकाको नीति निर्माणमा युवा सञ्जाललाई समेटेर लैजाने भनी गरेको घोषणालाई युवापुस्ताले स्वागत गरेका छन् । 

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष महानन्द ढकाल, वडा नम्बर २ का अध्यक्ष रामशरण श्रेष्ठ, माओवादी केन्द्र पञ्चकन्याका गाउँ समितिका अध्यक्ष मणिनाथ लामिछानेलगायतले नमूनायोग्य विकास निर्माण लगायत नीति नियम निर्माणमा युवापुस्ताले अहम भुमिका निर्बाह गर्नुपर्नेमा विशेष जोड दिएका छन् । 

प्रशिक्षण पश्चात कक्षा ११ मा अध्ययनरत राजेश सुनारको अध्यक्षतामा ११ सदस्यिय पञ्चकन्या गाँउपालिका स्तरिय युवासञ्जाल गठन गरिएको छ । उपाध्यक्षमा शिरिषा तामाङ, सचिवमा आकृती बोगटी र कोषाध्यक्षमा प्रजिना खतिवडा चुनिएका छन् । 

तलव खुवाउन सामूहिक व्रतबन्ध

देविघाट । नुवाकोटको देवीघाटमा रहेको शहीद जगतप्रकाशजंग शाह संस्कृत माविका शिक्षकहरूलाइ तलव खुवाउने लगायतका अन्य खर्चको जोहो गर्नका लागि यसपालि पनि विद्यलायले सामूहिक व्रतबन्ध गरेको छ । 

विद्यालयले विदुर नगरपालिका–५ देवीघाटस्थित शिवधाममा श्रीपञ्चमीको दिन (माघ १२ गते) आदिवासी जनजातीलगायत सबै समुदायका बटुकहरूको सामूहिक व्रतवन्ध गरेको हो । विद्यालयले २०५५ सालदेखि बटुकहरूको सामूहिक व्रतबन्ध गराउँदै आएको छ ।  शिवधाम परिसरमा मुख्य पुरोहित हरिप्रसाद सापकोटाले एकै दिन ९१ जना बटुकहरूलाई सामूहिक रूपमा मन्त्रदान गराएका हुन् । विद्यालयले एक जना बटुकबाट व्रतबन्ध गराए वापत पाँच हजार रुपैयाँ शुल्क लिएको विद्यालयका प्रधानाध्यपाक मञ्जु चित्रकारले जानकारी दिइन् । 

शहीद जगतप्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयले श्रीपञ्चमीमा हरेक वर्ष बटुकहरूको सामूहिक ब्रतबन्ध गराउँदै आएको छ । विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्नका लागि विद्यालयले सामूहिक ब्रतबन्ध गराउँदै आएको हो । ‘प्रत्येक बटुकबाट विद्यालयले ५ हजार रुपैयाँ लिएको छ । पूर्बाङ्ग, ब्रतबन्ध गराउँदा हुने खर्च, बटुकसँगै आएका अभिभावकको लागि समेत खानाको व्यवस्था विद्यालयले नै गर्दै आएको छ । बटुकले लगाउने पोषाक धोती, टोपी र गन्जी विद्यालयले नै उपलव्ध गराउछ,’ प्रध्यानाध्यापक चित्रकारले भनिन् ‘आर्थिक स्थिति कमजोर भएका परिवारले चलन अनुसार सन्तानहरूको कर्म चलाउन सकिरहेको हुँदैन । उनीहरूलाई नै मध्यनजर राखेर सामूहिक ब्रतबन्ध गराउँदै आएका छौं ।’

यो वर्ष बटुकहरूसँग लिएको शुल्कबाट ४ लाख ५५ हजार रुपैयाँ संकलन भएको छ । अघिल्लो वर्ष विद्यालयले सामूहिक व्रतबन्धबाट ५ लाख ७० हजार रुपैयाँ संकलन गरेको थियो । शुल्कसँगै भेटीबाट संकलन भएको रकम खर्च कटाएर विद्यालय सञ्चालनका लागि खर्च गरिने प्रधानाध्यापक चित्रकारले बताइन् । ‘विद्यालयले आयस्रोत बढाउन सुरु गरेको सामुहिक ब्रतबन्ध अभियानलाई हामीले एक पर्वको रुपमा लिएका छौँ । आर्थिक श्रोत जुटाउने यो बैकल्पिक खोजी पनि हो । समाजमा बढ्दै गएको तडक–भडक नियन्त्रण र हिन्दु परम्पराको रक्षा गर्न समेत सहयोग पुग्दै आएको छ, चित्रकारले भनिन्, ‘जिल्लामा एक मात्र संस्कृत पाठ्यक्रम पढाई हुने विद्यालय हो यो । विद्यार्थीलाई धर्म र संस्कृतिका पाठहरू सिकाइन्छ ।’ 

उनले थपिन् ‘सैद्धान्तिक रुपमा मात्र नभई व्यावहारिक शिक्षा दिनको लागि पनि सामूहिक ब्रतबन्धले सहयोग गरेको छ । यसमा सबै पक्षको उत्तिकै साथ छ ।’

विद्यालयले सामूहिक रुपमा आयोजना गरेको ब्रतवन्धले अभिभावहरूलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हटेको बटुकका अभिभावकले बताएका छन् । 

घरमा गर्दा खर्च धेरै लाग्ने र अनेकथरीको बन्दोबस्ती गर्नुपर्ने भएकाले सहज तरिकाले सामूहिक ब्रतबन्धमा सामेल भएको एक अभिभावकले बताए । ‘तत्कालको लागि छोराको ब्रतवन्ध घरमा नै गर्नलाई साइत नजुरेको कारण सामूहिक ब्रतवन्धमा सहभागी भएका हौँ,’ उनले भने । २०५५ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १० सम्म पढाइ हुँदै आएको छ । यस विद्यलायमा संस्कृत भाषामा पठनपाठन हुँदै आएको छ । 

रसुवागढी–काठमाडौं रेल ७२ किमि, ९८ प्रतिशत पहाडभित्र


विदुर । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोली पहिलो चरणको आफ्नो काम सकेर चीन फर्किएको छ । 

तीन साता नेपाल बसेर सम्भाव्यता अध्ययन कसरी गर्ने, भौगोलिक अवस्था के–कस्तो छ आदि विषयमा टोलीले रेल विभागका इन्जिनियरसँग जानकारी लिएको थियो । गत पुस २५ र २६ मा रसुवा पुगी अध्ययन गर्ने ठाउँसमेत हेरेर टोली फर्किएको छ । अध्ययनका लागि आएको प्राविधिक टोली चिनियाँ नयाँ वर्ष मनाउन तीन दिनअघि बेइजिङतर्फ गएको विभागका महानिर्देशक रोहित बिसुरालले जनाए । ‘प्राविधिक टोली नआउँदासम्म अन्योल नै थियो । तर अब अन्योल छैन, अध्ययनको काम सुरु भएको छ,’ उनले भने, ‘प्राविधिक टोलीले अध्ययन गर्ने ठाउँ हेरेर फर्किएको छ । चिनियाँ नयाँ वर्ष मनाएर आएपछि अध्ययनको काम अघि बढ्छ ।’ प्राविधिक टोली फागुन दोस्रो सातातिर नेपाल फर्किनेछ । ‘अहिले ठाउँ हेर्ने काम मात्र भयो, दुई दिन लगाएर आयोजना क्षेत्रको सामान्य जानकारी लिने काम पनि भएको छ,’ उनले भने, ‘जसका लागि प्राविधिक स्याफ्रुबेंसी, धुन्चे र रसुवागढीसम्म पुगेको थियो ।’

चीनबाट आएको टोलीसँग रेल विभागका महानिर्देशक बिसुरालसहित विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारलगायत अधिकारी रसुवा पुगेका थिए । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि गत पुस १२ मा चिनियाँ प्राविधिक टोली काठमाडौं आइपुगेको थियो । 

दुई देशबीचमा रेलमार्ग निर्माणको आर्थिक मोडालिटीबारे टुंगो नलागे पनि सम्भाव्यता अध्ययनको सम्पूर्ण खर्च भने चीन सरकारले बेहोर्ने प्रतिबद्धता गरेको छ । चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका ६ जना प्राविधिक अध्ययनका लागि आएका थिए । उक्त रेलमार्गको चर्चा निकै पहिलादेखि भए पनि यसमा थप प्रगति हुन सकेको छैन । प्रारम्भिक अध्ययनअनुसार सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्नेछ । 

दुई वर्षअघिदेखि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि कोभिडका कारण चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएका र अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, सुरुङ, लागत, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने जनाइएको छ । गत ०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियोर । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यसमा दुई देशका उच्च अधिकारी सहमत थिए । तर त्यसपछि अध्ययनका लागि चिनियाँ टोली आएनन्र । उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन ०७५ मंसिरमै भएको थियो ।

०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार थिएर । ‘प्राविधिक टोली आएर अध्ययन गर्ने ठाउँमै पुगिसकेकाले अब अध्ययनको कामले गति लिनेछ,’ बिसुरालले भने । 

प्रारम्भिक अध्ययनअनुसार रसुवागढी देखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ । नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले गत वैशाखमा पत्रकार सम्मेलनका क्रममा नेपाल र चीनबीचको रेलको सम्भाव्यता अध्ययन गर्न ५ देखि ६ वर्ष लाग्न सक्ने बताएकी थिइन् । गत वैशाख पहिलो साता चिनियाँ सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ लाई अन्तर्वार्ता दिने क्रममा यान्छीले प्रारम्भिक अध्ययनअनुसार प्रतिकिमि सुरुङ निर्माण गर्न अनुमानित ३ अर्ब ७० करोड लाग्ने जनाएकी थिइन् । यसअनुसार उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ अनुमान छ । तर अहिलेसम्म निर्माणमा खर्च, समय कति लाग्ने भन्नेबारे केही आएको छैन ।

‘पहिला प्रारम्भिक अध्ययन मात्र भएकाले धेरै कुरा आउन सकेन,’ उनले भने, ‘सम्भाव्यता अध्ययनपछि यी सबै कुरा आउँछन् ।’ केरुङ–काठमाडौंसँगै चर्चामा रहेको रक्सौल–काठमाडौं रेलमार्गको भने फाइनल सर्भे गत असोजमा सकिएको छ । पाँच महिनाभित्र यसको प्रतिवेदन तयार पारिने रेल विभागले जनाएको छ । सर्भेअनुसार उक्त रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्ने बताइएको छ ।

चीनले गर्यो एक पक्षीय रुपमा नाका बन्द

चीनले बन्द गरेको रसुवागढी नाका

विदुर । नेपाललाई कुनै सूचना नदिई चिनियाँ पक्षले एक पक्षीय रूपमा रसुवागढी नाका बन्द गरेको छ । 

रसुवासंगै सिन्धुपाल्चोक नाका समेत बन्द गराएको खबर प्राप्त भएको छ । चीनतर्फ नयाँ वर्षसँगै अन्य चाडपर्व सुरु भएको बहाना बनाउँदै केरुङ र तातोपानी नाका बन्द गरिएको हो । नेपाललाई नाका बन्द भएको औपचारिक जानकारी आएको छैन । अनौपचारिकरुपमा प्राप्त जानकारी अनुसार रसुवागढी नाका माघ २१ गतेसम्म बन्द रहने बताइएको छ । 

माघ ६ गते रसुवा भन्सार कार्यालयका र्कचारीहरू नाकामा जाँदा बन्द भएको देखेका थिए । त्यसबेलादेखि बन्द हरेको नाका २१ गतेसम्म बन्द हुने अनौपचारिक जानकारी उनीहरूले पाएका हुन् । २१ गते नाका सञ्चालनमा आएमा चीनले एकपक्षिय रुपमा नाका बन्द गरेको १६ दिन हुने छ । अन्तर्राष्ट्रिय व्यापारमा नाका बन्द गर्दा सम्बन्धित पक्षलाई पूर्वजानकारी दिनुपर्ने मान्यता छ । तर चिनियाँ अधिकारीले नेपाली पक्षलाई औपचारिक रूपमा कुनै जानकारी नदिई केरुङ र तातोपानी नाकाबाट आयात–निर्यात रोकेको हो । नाका बन्द भएपछि त्यहाँबाट हुने आयात–निर्यात ठप्प भएको छ ।

केरुङ नाका बन्द गरेको अनौपचारिक माध्यमबाट जानकारी मिलेको रसुवागढी भन्सारका प्रमुख नारायणप्रसाद भण्डारीले बताए । ‘नाका बन्द गर्ने औपचारिक कुनै जानकारी छैन,’ भण्डारीले भने, ‘शुक्रबार सामान आएको होला भनेर जाँदा ढोका बन्द थियो ।’ केरुङ नाका माघ २१ गतेसम्म बन्द हुने जनाइएको छ । अहिले केरुङ नाकाबाट दैनिक एक दर्जन कन्टेनरमा सामान आयात हुने गरेको थियो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएलगत्तै पुसको पहिलो साता रसुवागढी नाकाबाट सामान निर्यात सुरु भएको थियो । कोभिड १९ सुरु भएपछि ३० महिनाअघि चीनले आयात–निर्यातमा रोक लगाएको भए पनि कोभिड घटेपछि आयात खुकुलो पारेर नेपालबाट हुने निर्यात रोकेको थियो। दाहाल प्रधानमन्त्री भएलगत्तै आयात–निर्यात सुरु भए पनि फेरि नाका बन्द गरेको भन्दै व्यापारी चिन्तित भएका छन् । चिनियाँ अधिकारीले विगतमा पनि यसैगरी नै एक पक्षीय रूपमा नाका बन्द गर्ने गरेका थिए ।

चीनले कोभिडको बहाना बनाउँदै रसुवागढी र तातोपानी नाका पटकपटक बन्द गरी दुःख दिएको भन्दै व्यापारीले गुनासो गर्दै आएका थिए । पुसको पहिलो साताबाट निर्यात सुरु भएकोमा अहिले फेरि बन्द गरेपछि सामान आयात–निर्यात ठप्प हुँदा व्यापारी मर्कामा परेका छन् । लामो समयदेखि चीनसँगका दुई नाका रसुवागढी र तातोपानीबाट सहज रूपमा नियमित सामान आयात–निर्यात हुन सकेको छैन । व्यवसायी र स्थानीयले नाका निरन्तर सुचारु गर्न माग गर्दै आए पनि चिनियाँ पक्षले आफूअनुकूल गर्दै आएको छ ।

नेपाली बजारमा चिनियाँ सामानको वर्चस्व छ । तातोपानी र केरुङबाट सामान आयात गर्दा १८–२० दिनमै आइपुग्ने भएकाले नेपाली व्यापारी यी दुई नाकाबाट सामान ल्याउन चाहन्छन् । भारतको कोलकाताबाट कन्टेनरमा नेपालसम्म सामान आइपुग्न करिब ४०–४२ दिन लाग्छ । तातोपानी र केरुङ हुँदै आयात गर्दा आधा समय कम लाग्ने भएकाले कम खर्चिलो पनि हुन्छ । 

तर चिनियाँ पक्षले नेपाली व्यवसायीको समस्यालाई सम्बोधन गरेको छैन । नेपाली व्यवसायी र सरकारले नाका बिनाअवरोध निरन्तर सुचारु गर्न माग गर्दै आए पनि चिनियाँ अधिकारीले बेवास्ता गर्दै आफूखुसी नाका खोल्ने र बन्द गर्ने गरेका छन् ।

नुवाकोटका सिडिओ फेरिए

प्रजिअ थापा

विदुर । नुवाकोटको प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । नुवाकोटमा प्रमुख जिल्ला अधिकारीका रुपमा कैलालीमा प्रमुख जिल्ला अधिकारी किरण थापा आएका छन् । उनी कैलालीमा २०७८ साल असोज ३१ गते प्रजिअका रुपमा सरुवा भएका थिए । उनी त्यस अघि सुदुरपश्चिम प्रदेश मुख्य मन्त्री कार्यालयका सचिवका रुपमा कार्यरत थिए । २७ वर्षदेखि सरकारी सेवामा रहेको प्रजिअ थापा कानूनका विद्यार्थी हुन् । 

त्यस्तै डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी नुवाकोटको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवामा आएका छन् । उनी २०७८ साल असोज ३१ गते कारागार व्यवस्थापन विभागको निर्देशकबाट डोल्पामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका थिए । 

सहायक प्रजिअ अधिकारी
नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल गृह मन्त्रालयमा र नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा काज सरुवा भएका छन् । 

नुवाकोटमा कार्यरत प्रजिअ रिसाल १ वर्ष अघि नुवाकोट आएका थिए । त्यस्तै, सहायक प्रजिअ दुई वर्ष अघि नुवाकोट आएका थिए । तीनै तहको दुई वटा निर्वाचनलाई सम्पन्न गराएको र एक वर्षमा गृह मन्त्रालय अन्र्तगतका कर्मचारीहरूको सरुवा हुने कार्यविधिका कारण प्रमुख जिल्ला अधिकारी र सहायक प्रजिअको सरुवा भएको हो । 

स्थानीय सरकारको घुम्ती शिविर

परिचय पत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सुमन तामाङ । तस्बिर : पुण्यप्रभा ढुङ्गाना/इमेज

रानीपौवा । नुवाकोटको एक स्थानीय सरकारले गाउँगाउँमै पुगेर नागरिकहरूलाई सेवा दिन थालेको छ । सिंहदरवारको अधिकरा गाउँ गाउँमा पु-याउने अभियान अन्र्तगत ककनी गाउँपालिकाले आफ्नो सेवालाई घुम्ती शिविर मार्फत् फैलाएको हो । 

ककनी गाउँपालिकाद्वारा आयोजित एकदिने एकीकृत घुम्ती शिविरबाट सयौं नागरिकहरूले सेवा लिएका छन् । गाँउपालिकाको वडा नम्बर २ शिवालय सहकारी भवन, बिरुवामा आयोजना गरिएको शिविरबाट गाँउपालिकाको कार्यालयले दिने सम्पुर्ण सेवाहरू दिईएको थियो । 

गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम बमोजिम सञ्चालन गरिएको घुम्ती शिविरमा गाउँपालिका अध्यक्ष सुमन तामाङ सज्जनबाट जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरि कार्यक्रमको सुरुवात गरिएको थियो । पालिका तथा वडाहरूबाट प्रदान गरिने सेवाहरूलाइ गाउँ गाउँमानै पुगेर सहजीकरण गर्ने उद्देश्यले गाँउपालिकाको सामाजिक विकाश शाखावाट ८० जनाको जेष्ठ नागरिक परिचय पत्र वितरण, ३ जना अपाङता परिचयको लागि निवेदन आएको र १८ जनाको घटना दर्ता र सिफारिस गरिएको प्रमुख प्रसासकिय अधिकृत गिताकुमारी शर्माले बताइन् । 

कृषि विकाश शाखावाट ६५ जनालाई रोग किरा सम्वन्धी औषधी वितरण गरिनुका साथै कृषकहरूलाई रोग सम्बन्धी परामर्श दिइएको, पशुसेवा शाखावाट १२७ जना किसानको २२० वटा गाई भैसिको गोवर परिक्षण, कृतिम गर्वाधान तथा २१० वटा पशुलाई पुग्ने नाम्ले जुकाको निःशुल्क औषधि वितरण गरिएको गाँउपालिकाले जनाएको छ । 

योजना शाखाबाट प्रक्रिया पूरा भएका योजनाहरूको सम्झौता गरिएको र स्वास्थ्य शाखावाट १२१ जनालाई निशुल्क सुगर तथा रगत परिक्षण र सोहि परिणाममा औषधी वितरण गरी अशक्त बिरामिहरूका घरमै पुगि स्वास्थ्य परिक्षण गरिएको छ । 

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सुमन तामाङले आर्थिक स्थिती कमजोर भई उपचार गराउन नसकेका आफ्नो पालिकाका असक्त बिरामिलाइ गाउँपालिकाको तर्फबाट सहयोगको ब्यबस्था गरिने बताए । साथै नागरिकहरूको सेवाको लागी गाँउपालिकाले गर्नसक्ने सहयोगको कुनै कसुर बाँकी नराख्ने अध्यक्ष तामाङले बताएका छन् । 

उक्त घुम्ती शिविर कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत गिताकुमारी शर्माले नागरिकहरूको सेवामा सहजिकरणका लागि सधै तत्पर रहने र आफ्नो काम र कर्तव्यबाट पछि नहट्ने बताइन् । 

नेपाली क्रिकेटमाथि घात


विदुर । क्रिकेट संघका पदाधिकारीमाथि नै भ्रष्टाचारको मुद्दा लागेपछि सुरु भएको संकटले नेपाल क्रिकेट संघमाथि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले प्रतिबन्ध लगाएको थियो । विधान संशोधन लगायतका शर्तहरू पुरा गरेपछि २०७६ असोजमा आईसीसीले सशर्त निलम्बन फुकुवा गरेको थियो । तर अझै पनि यो प्रक्रिया पूरा भइसकेको छैन । 

त्यही बेला क्रिकेट संघले आफैंले गरेको प्रतियोगितामा स्पट फिक्सिङ पुष्टि भएपछि उदीयमान शक्तिका रुपमा आएको नेपाली क्रिकेटले ठूलो धक्का लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले अहिलेसम्म केही बोलेको छैन । तर नेपाली क्रिकेट ठूलो दुर्घटनामा पर्ने खतरा रहेको क्रिकेट संघका एक पदाधिकारी बताउँछन् ।

उनका अनुसार यो घटनासँगै क्रिकेट संघले अन्तर्राष्ट्रिय स्तरमै आफ्नो विश्वसनीयता गुमाएको छ । ‘हिजो क्रिकेट संघलाई भ्रष्टाचारहरूको समूह भनिन्थ्यो । अदालतको सफाइ र आईसीसीको निलम्बन फुकुवापछि नेतृत्वमा आएकाहरूले क्रिकेट संघलाई एउटा विश्वसनीय संस्था बनाउनुपर्ने थियो’ एक सदस्य भन्छन्, ‘तर यो घटनाले संघको शाख थप गिरेको छ ।’ उनका अनुसार अब क्रिकेट संघ आफैंले ठूलो फ्रेन्चाइज लिग गर्नु त धेरै परको कुरा, आईसीसी वा एसीसी मातहतका प्रतियोगिता आयोजनाको जिम्मा पाउन समेत मुश्किल छ ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा कीर्तिमानी क्रिकेटर महबुब आलमसहित तीन जना पक्राउ परे । पक्राउ परेका आदिल अन्सारी नयाँ प्रतिभा हुन् भने तेस्रो व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन । स्पट फिक्सिङबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार फिक्सिङमा चार नेपाली र ६ जना विदेशी छन् । फिक्सिङबारेसीआईबी प्रमुखलाई अनुसन्धान समितिले प्रतिवेदन बुझाउदै छ । 

यो प्रतिवेदनले फिक्सिङबारे थप खुलाउनेछ । तर नेपाल क्रिकेट संघ (क्यान) आयोजक रहेको पहिलो आधिकारिक फ्रेन्चाइज प्रतियोगितामै फिक्सिङ पुष्टि र महबुब आलमसमेत पक्राउले नेपाली क्रिकेटलाई ठूलो धक्का लागेको छ ।

नेपाल टी–२० लिगका खेलहरू पुस ९ देखि पुस २७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो । क्रिकेट संघले यो प्रतियोगिताका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस क्यानको व्यापारिक र रणनीतिक साझेदार बनाएको थियो । सीआईबीका अनुसार स्पट फिक्सिङका योजनाकार कम्पनीका मालिक जतिन अहुवालिया नै हुन् ।

प्रतियोगिता सुरु हुनु एक दिनअघि मात्र बेटिङ गराउने कम्पनी वान एक्स ब्याटलाई मुख्य प्रायोजकका रुपमा सार्वजनिक गरिएको थियो । खेलको प्रत्यक्ष प्रशारणमा समेत वेटिङका लागि अफर गरिएको कोड उपलब्ध गराइएको थियो । ‘यति ठूलो रकम बुझाउनुपर्ने कम्पनीले विज्ञापनबाट पैसा उठाउनुपर्ने हो तर, खेल मैदानमा हेर्न‘भयो भने वान एक्स ब्याटबाहेक अरु विज्ञापन छैन । दर्शक पनि उल्लेख्य छैनन्’, अधिकृतहरू भन्छन्, ‘त्यसैले खेल आयोजनाको जिम्मा लिएर फिक्सिङ र बेटिङबाट पैसा कमाउने उद्देश्य राखिएको देखिएको छ ।’

जतिनले खेलाडीहरूलाई फिक्सिङमा सहभागी गराउन नेपालका पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमलाई प्रयोग गरेको पाइएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकै खेलमा १० विकेट लिएको कीर्तिमान छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पनि महबुबमार्फत स्पट फिक्सिङमा जोडिएको पाइएको  छ । अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए ।

प्रहरीले पूर्व क्रिकेटर आलमको मोबाइल फोनलाई डिजिटल फरेन्सिक ल्याबमा लगेर विस्तृत परीक्षण गरिरहेको छ । प्रारम्भिक जाँचमा उनले खेलाडीहरूसँग गरेका शंकास्पद कुराकानीका विवरण प्रहरीले फेला पारेको छ ।

प्रहरीका अनुसार सुरुको केही खेलमा स्पट फिक्सिङ भएको देखिन्छ । तर फिक्सिङका लागि आफ्ना खेलाडीहरूलाई अफर आएको भन्दै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराए । प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि उजुरी गरे । दुबैले फिक्सिङको विषयलाई सार्वजनिक सञ्चार माध्यममा पनि ल्याए ।

लगत्तै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिए। सीआईबीले डीएसपी सुन्दर तिवारी नेतृत्वमा ५ सदस्यीय छानबिन समिति नै बनायो । सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीका अनुसार फिक्सिङको आशंका भएदेखि नै ब्यूरोले अनुसन्धान गरिरहेको थियो । गृह मन्त्रालयबाट स्पष्ट निर्देशन आएपछि सीआईबीले छुट्टै समिति बनाएर सुक्ष्म अनुसन्धान गरिएको सुवेदीले बताए । 

‘एन्टी करप्सन युनिट’मा परेको उजुरीकै आधारमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एन्टी करप्सन युनिट (एसीयू) का अधिकारीहरू समेत काठमाडौं आएर सोधपुछ परे । आईसीसीले उपलब्ध गराएको तथ्यलाई समेत आधार मानेर सीआईबीले गरेको अनुसन्धानमा फिक्सिङ भएको प्रष्ट देखिएको बताइएको छ ।

अहिले आरोपीमध्ये जतिनसहित ६ जना विदेशी नागरिक आ–आफ्नो मुलुक पुगिसकेका छन् । मुद्दा प्रक्रिया अघि बढेपछि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को समेत सहयोग लिने प्रहरी अधिकृतहरू बताउँछन् । साथै पक्राउ परेका व्यक्तिहरूमाथि सोधपुछ र बयानका क्रममा थप व्यक्तिहरूको संलग्नता खुले उनीहरू पनि अनुसन्धानको दायरामा आउने अधिकृतहरू बताउँछन् ।

यसै बीच, नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङमा चार फ्रेन्चाइज टिमका व्यवस्थापनकै सम्लग्नता देखिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार फिक्सिङमा जम्मा १० जनाको सम्लग्नता देखिएको छ । जसमा चार टिम काठमाडौं नाइट्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै सम्लग्नता देखिएको छ । 

मेरो सम्लग्नता छैनः दुर्गाराज पाठक

विदुर । सेभेन थ्री स्पोर्टसले ८ वर्षका लागि ३३ करोड रुपैयाँ बुझाउने गरी नेपाल टी–२० लिग गर्ने सम्झौता गरेको थियो । जसमध्ये ३ करोड ९० लाख रुपैयाँ पहिलो वर्ष भुक्तानी हुनुपर्ने सम्झौता थियो । यो रकम सेभेन थ्री स्पोर्ट्सले प्रतियोगिता सुरु हुनु एक दिनअघिसम्म क्यानको खातामा जम्मा गरिसक्नुपथ्र्यो । तर सम्झौताको ३० प्रतिशत रकम अर्थात् १ करोड २० लाख मात्र खातामा आएको थियो ।

क्यान स्रोतका अनुसार सचिव प्रशान्तबिक्रम मल्लमार्फत कम्पनीका मालिक जतिन अहुवालिया क्यानसम्म पुगेका थिए । विवादास्पद कम्पनीलाई लिग आयोजना गर्न दिन लागेको भन्दै विरोध भएपछि सम्झौता रद्द गर्ने निर्णय पनि भएको थियो ।

तर फागुन २०७८ मा भएको बैठकमार्फत फेरि जतिनकै कम्पनी सेभेन थ्री स्पोर्टसलाई लिग गर्ने जिम्मा दिइएको थियो । यसमा क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव मल्ल, सदस्य दुर्गाराज पाठकले मुख्य भूमिका खेलेको क्रिकेट संघकै सदस्यहरू बताउँछन् । केन्द्रीय सदस्य तथा कार्य सम्पादन समितिका सदस्य पाठक नुवाकोटका हुन् । 

नेपाल क्रिकेट संघको पाँच सदस्यीय कार्यसम्पादन समिति छ । अध्यक्ष चन्द, कार्यबाहक सचिव मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंह र सदस्यहरू पाठक र पदम खड्का छन् । नेपाल टी–२० लिगको महत्वपूर्ण निर्णयमा उनीहरूको सम्लग्नता रहन्छ । महत्वपूर्ण कागजातमा चन्द, मल्ल र पाठकको हस्ताक्षर हुने गरेको पाइएको छ । 

केन्द्रीय सदस्य पाठकले भने यसमा आफ्नो कुनै सम्लग्नता नरहेको बताएका छन् । उनले मंगलवार प्रतिक्रृया दिँदै आफु जानुभन्दा पहिला नै उक्त कम्पनीलाई दिने निर्णय भईसकेको बताए । उनले आफु सन् २०१९ मा सदस्य बनेको र सम्झौता २०१८ मा भइसकेकोले आफ्नो सम्लग्नता पुष्टि नहुने बताए । पाठकले प्रतियोगिताको मिति स्विकृतिको लागि भएको कार्य सम्पादन समितिको बैठकको निर्णयमा मात्रै आफ्नो हस्ताक्षर रहेको पाठकले दावी गरेका छन् ।   

क्यानका पदाधिकारीहरूकै साथ पाएपछि जतिनले यो प्रतियोगितालाई स्पट फिक्सिङको अखडा बनाए । कतिसम्म भने उनले फ्रेन्चाइज टिमहरू समेत पारदर्शी रुपमा सार्वजनिक गरेनन् । नेपाल टी–२० लिगका खेलहरू पुस ९ देखि पुस २७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको प्रतियोगितामा पोखरा एभेन्जर्स र लुम्बिनी अलस्टार्सबाहेक अन्य चार फ्रेन्चाइज टिमको स्वामित्व विदेशीको थियो । 

चारवटै टिमको प्रमुख लगानीकर्ताबारे कहिल्यै पारदर्शी गरिएन । राखेपको सहमतिविना कम्पनीहरूलाई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरिएको पाइएको थियो ।

नेपाल टी–२० लिगको पाँचौं दिनसम्म क्यानले पनि दस्तुर नपाएको र खेलाडीले पारिश्रमिक नपाएको गुनासो सुरु भइसकेका बेला सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई सुटुक्क दिल्ली पुगेका थिए । भारतीय पक्षले त्यसको दुई दिनपछि ९६ लाख रुपैयाँ क्यानको खातामा पठाइदिएको थियो ।

सीआईबी स्रोतका अनुसार महबुबले तिनै जतिनको सम्पर्कमा रहेर नेपाली खेलाडीलाई प्रस्ताव गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । स्पट फिक्सिङ गरिएको अवस्थामा सट्टेबाजको निर्देशनमा बलरहरूले विशेष गरी इनिङ्सको पहिलो र अन्तिम ओभरमा वाइड र नोबल फाल्ने गर्छन् । ब्याटरले धेरै बल खेलेर थोरै रन बनाउँछन् । 

आफ्नो इसाराअनुरूप खेलाडीले खेल्न लागेपछि सट्टेबाजले लाइभ बेटिङमा ठूलो रकममा पैसा लगाएर मालामाल हुने र त्यसको केही अंश स्पट फिक्सिङ गरेका खेलाडीलाई दिने गर्छन् । 

स्पट फिक्सिङमा गरिने नोबल अधिकांश ‘ओभर स्टेप’ को हुन्छ । आदिलले एक खेलमा ओभर स्टेपमा क्रिजभन्दा निकै बाहिर गएर नोबल गरेका थिए । त्यसपछि उनी शंकाको घेरामा परेका थिए । स्पट फिक्सिङको आरोपपछि एसीयू टोलीले विराटनगर सुपर किंग्सका विदेशी कप्तान र भारतीय व्यवस्थापकलाई टोलीबाट हटाएको थियो । लुम्बिनी अल स्टार्ससँगको क्वालिफायर्स १ खेलमा जनकपुरका कप्तान वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथले ७ वाइड बल फालेका थिए ।