Monday, January 30, 2012

नेपालमा निरङ्कुशता र लोकतन्त्रको लडाई जारी ः नेता पौडेल

नुवाकोट, १६ माघ । नेपाली काँग्रेसका उप सभापति एवं संसदिय दलका नेता रामचन्द्र पौडेलले नेपालमा अझै पनि निरङ्कुशता र लोकतन्त्रबीच लडाई जारी रहेको बताएका छन् ।
राजा महेन्द्रदेखि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसम्मको कित्ता एउटै भएको र त्यसका बिरुद्ध काँग्रेस लडिरहेको उनले बताए । आज सोमवार नेपाली काँग्रेस नुवाकोटको दोश्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उप सभापति पौडेलले माओवादीले जर्वजस्ती कब्जा गरेको सम्पत्तीलाई सरकारको तर्फबाट बैधानिकता दिने र सूचनाको हकलाई कुण्ठित पारेर अधिनायकवाद लाध्न खोज्ने पुर्व आभाष भएको बताए ।
माओवादीले सत्ता कब्जा गरेपछि प्रेस स्वतन्त्रता र नागरिककको मौलिक अधिकार कुण्ठित पार्ने लक्षण देखाइसकेको उनको भनाई रहेको छ । सूचनाको हक कुण्ठित गर्ने सरकारी निर्णयका विरोधमा नेपाली काँग्रेसले सदनमा कडा प्रतिरोघ गर्ने चेतावनी समेत उनले दिए । उक्त सूचनाको हक विरोधी निर्णयबाट वर्तमान सरकार र प्रधानमन्त्री बाबुराम भट्टराईकोको चरित्र उदाङ्गो भएको पौडेलले बताए । राष्ट्रबादको आर्दश कुरा गरेर राष्ट्रको सामाजिक एकतामा खलल पुग्ने गरी माओवादी र उक्त पार्टीका नेताहरुले प्रस्तुत गर्ने अभिव्यक्तिहरु विरोधाभाषपूर्ण भएको उनको भनाई छ ।
 

कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले बर्तमान सरकारले सूचनाको हकमा बन्देज लगाएर सबै भन्दा ठूलो लोकतन्त्र विरोधी कार्य गरेको बताए । जनसत्ताका नाममा कब्जा गरिएका सम्पत्तीलाई बैधानिकता दिने, सूचनाको हक कुण्ठित पार्नेजस्ता क्रियाकलाप शान्ति र संविधानको विरुद्ध भएको बताउँदै उनले माओवादी नेतृत्वको सरकारको औचित्य समाप्त भएको बताए । केसीले राष्ट्रिय सहमतीको वातावरण सृजना गरेर काँग्रेसले अब नयाँ मोर्चा तयार गर्ने बताए । माओवादी सर्वसत्तावाद तर्फ उन्मुख भएको आरोप लगाउँदै केसीले काँग्रेसले त्यसलाई निस्तेज पार्न लाग्ने बताए ।
 




नेपाली काँग्रेसका अर्का केन्द्रिय सदस्य डा. रामशरण महतले नेपालले छ भन्दा बढी प्रान्त थेग्न नसक्ने बताए । राज्य पुर्नसंरचनाको विषयलाई बहुमतको आधारमा टुङ्गो लगाउने चर्चा चलिरहेको उल्लेख गर्दै सहमतीको आधारमा नभई बहुमतका आधारमा राज्य पुर्नसंरचना गरिए काँग्रेसले त्यसलाई सिधै अस्विकार गर्ने बताए । शान्ति र संविधानको मुख्य बाधक एकीकृत माओवादी मात्रै रहेको उनको आरोप छ ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु चन्द्र भण्डारी, मिन विश्वकर्मा, सभासद् लक्ष्मी परियार, सभासद् तथा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, महासमिति सदस्यहरु ध्रुव अधिकारी, बहादुरसिंह लामा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य शिव देवकोटालगायतकाले मन्तब्य राखेका थिए ।
कार्यक्रममा कलाकारहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा मिस नुवाकोट कामना श्रेष्ठ, मिस्टर नुवाकोट सुमन थापा, नेपाली काँग्रेस गाउँखर्क, बेलकोट गाउँ इकाईलाई कार्य सम्पादनमा राम्रो भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा जिल्लाका काँग्रेस कार्यकर्ताहरुलाई केन्द्रिय नेताहरुले प्रशिक्षण समेत दिनुभएको थियो ।  

No comments:

Post a Comment