कपिलदेव खनाल
नुवाकोट
तारुकाको बाहुन बाजा बजाउनको लागी पालो नपाएर दिक्क भएकाहरूलाई खुसीको खवर ! नुवाकोट जिल्लामा अर्को बाहुन समुदाय पनि हातमा नरसिंगा ठढ्याउँदै पञ्चेबजा बजाउन थालेका छन् ।
छैन जातपातको पर्खाल भनेर पछिल्लोपाली नमूना कार्यको उहाहरण पेश गरेका छन्– गोस्र्याङ्ग गाविसका बाहुनहरूले । विवाह, व्रतवन्ध जस्ता शुभकार्यहरूमा पञ्चेबाजा बजाउनेहरू पाउन छाडेपछि नुवाकोट जिल्लाको गोस्र्याङ्ग गाविसका बाहुन क्षेत्री समुदाय आफै पञ्चे बाजा बजाउन लागिपरेका हुन् । आफ्नै अभाव टार्नको लागी नरसिंहा, सहनाई र दमाई बजाउने उक्त समुदायले अरुलाई समेत सघाउँदै शुभ कार्यमा बाहुन बाजाका रुपमा प्रस्तुत हुने भएका छन् ।
पुस्तौ देखि पञ्चे बाजा बजाउने दमाई समुदायले बाजा बजाउन छाडेपछि उक्त बाहुन क्षेत्रीहरू आफै कम्मर कसेर लागेका हुन् । गाउँघरमा हुने शुभकार्यको लागी बाजा बजाउने समुुहको खोजि नै झण्झटिलो बनेपछि गोस्र्याङ्ग गाविस वडा नं. ४ कल्लेरीडाँडाका बाहुनहरू पञ्चेबाजाका सामाग्री खरिद गरेर सँस्कृती र परम्परा थाम्न लागेका छन् । उनीहरूले आफ्नो पञ्चेबाजा समुहको नाम ‘नवज्योती नौमती पञ्चेबाजा समुह’ राखेका छन् । समुहका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार त्यस समुहमा पञ्चे बाजा बजाउनका लागी लागिपरेको सम्पूर्ण सदस्यहरू ब्राम्हण समुदायका छन् । ‘आफ्नो परम्परा थाम्न पनि मन गर्ने, अनि जातभातको कुरा गर्दा विरोधाभास हुँदोरहेछ, हामी आफै गर्नसक्छौँ भनेर लाग्यौ’ घिमिरेले सुनाए । गाविस भरी नै बाज बजाउने दमाईहरू पाउन छाडेको र विवाहका लागी जिल्ला बाहिर या टाढाबाट ठूलै बजेट खर्चेर बाजाको जोहो गर्नुपर्ने भएपछि जातको पर्खाल भत्काएर आफुहरू होमिएका समितिका सचिव रामकुमार अधिकारी बताउँछन् । पञ्चेबाजा समितिमा अध्यक्ष शिवप्रसाद घिमिरे, सचिव अधिकारी तथा सदस्यहरू सिताराम अधिकारी,
राममणि घिमिरे, शिवमणि घिमिरे, रविन्द्र घिमिरे, रामबाबु अधिकारी, गजेन्द्रमणि अधिकारी, रमेश घिमिरे, केशव घिमिरे, माधवप्रसाद अधिकारीलगायतका छन् ।
सामान्यतया दलितहरूको कामको रुपमा ब्याख्या गरिदै आएको बाजा बजाउने काम बाहुनले सम्हाल्दा जानेबुझेकाहरू र छिमेकी गाउँहरूमा चर्चाको विषय बन्न थालेको छ । ठट्टा गरेर या अरुले मननपराएर ‘दमाई बाजेहरू’ भनिने उनीहरूले समुह नै खडा गरेका हुन् । नवज्योती नौमती पञ्चेबाजा समुह नाममा गाविसका २६ जना बाहुनहरू आवद्ध छन् । यस वर्षबाट सुरु भएको बाहुन बाजालाई गोस्र्याङ्ग गाउँ विकास समितिको कार्यालयले उदाहरणिय भन्दै ३६ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ । सुरुका दिनमा गाउँमा मासिक ५० रुपैयाँ सङ्कलन गरेर बाजाको सामग्री खरिदको मेसो मिलाएका यिनीहरूले गाविसको उक्त सहयोगबाट बाजाको सामाग्रीहरू थपेको सदस्य रविन्द्र घिमिरेले जानकारी गराए ।
भर्खरै सुरु भएको बाहुनहरूको पञ्चे बाजा बजाउने यो अभियानले विस्तारै व्यवसायीक रुप लिन थालेको छ । जातभातको वास्ता नगरी समुदायका प्रतिनिधि पात्रहरूले सुरु गरेको यो प्रशंसायोग्य कार्यलाई सहयोग गर्दै स्थानीय स्तरमा हुने शुभकार्यमा यिनीहरूलाई नै सहभागी गराउन थालिएको छ । आफ्नो कार्य दक्षताका लागी यिनीहरू पनि बाजा बजाउन सिक्न र दक्ष बन्नका लागी जानकारहरूकोमा धाउने गरेका छन् ।
आठ वर्ष अघि नुवाकोट र धादिङ्ग जिल्लाका केही उत्साही ब्राम्हण क्षेत्री युवाहरूले सुरु गरेको पञ्चेबाजा समुहको सामाजिक परिवर्तन र आर्थिक आम्दानी राम्रो गरिरहेको उदाहरणले नै गोस्र्याङ्गका ती बाहुन जातीहरू दलितले गर्ने काम भनेर छाडिएको पेशामा आकर्षित भएका हुन् । बाहुन बाजाको रुपमा ख्याती कमाइसकेको पुरानो समुह नुवाकोट, धादिङ्ग, रसुवाका साथै काठमाडौँ, चितवनमा लोकप्रिय रहेका छन् । आफुजस्तै उपल्लो जातीले पञ्चे बाजा बजाएरै कमाएको नाम र दामका कारण उनीहरू धादिङ्ग र नुवाकोटको युवाहरूको संयुक्त बाहुन बाजा समुहमा पुगेर आजभोली बाजा बजाउन सिकिरहेका छन् ।
असल कामको सुरुवातसंगै उनीहरूलाई समाजको परम्परागत सोचले समस्या सृजना गरेको छ । बाजा बजाउन थालेपछि गाउँमा ‘अछुतहरू आयो’ भन्दै खिल्लि उडाएको पिडा उनीहरूसंग छ ।
No comments:
Post a Comment