Monday, March 12, 2012

पासाङल्हामु राजमार्गको यात्रा जोखिमपुर्ण बन्दै

प्रकाश सुयल मगर
विदुर÷राजधानी काठमाडौँसँग नुवाकोट र रसुवा जिल्लालाई जोड्ने पासाङल्हामु राजमार्ग मर्मत हुननसक्दा यात्रुहरूको यात्रा जोखिमपूर्ण बनेको छ ।
    काठमाडौँ देखि नुवाकोट सम्मको ६८ किलोमिटर र नुवाकोटबाट रसुवा जिल्ला सदरमुकाम धुञ्चेसम्मको ४८ किलोमिटर सडक खण्ड खाल्डाखुल्डी र पहिरोका कारण धराप बनेको हो । नुवाकोट जिल्ला सम्म रहेको कालोपत्रे सडक मर्मत नहुँदा र रसुवा जिल्ला अन्तर्गतका सडक पहिरोका शिकार भएका कारण यात्रुहरूले चरम सास्ती उठाईरहेका छन् ।
    २०२० सालमा त्रिशुली जलविद्युत केन्द्रको निर्माण प्रयोजनको लागि खनिएको पासाङल्हामु राजमार्ग साँगुरो समेत रहेको छ । तत्कालिन अवस्थामा त्रिशुली जलविद्युत केन्द्रका सामाग्रीहरू ढुवानीको लागि निर्माण भएको यस सडकमा आजभोलि भाडाका सवारी साधनहरू सञ्चालन भईरहेका छन् । दैनिक दुई सय भन्दा बढी सवारी साधनहरू आवतजावत गर्ने यस सडकमा अत्याधिक खाल्डाखुल्डी अत्याधिक परेका छन् । घुम्ती अत्याधिक रहेको र सडक गुणस्तरहीन भएकै कारण राजमार्गअन्तर्गत काठमाडौँदेखि त्रिशुलीसम्मको जम्मा ६८ किलोमिटर दुरी पार गर्नको लागि सवारी साधनलाई चार घण्टाको हारहारीमा समयलाई लाग्ने गरेको यात्रुहरूको भनाई रहेको छ ।
    यस सडकखण्डअन्तर्गत नुवाकोट र रसुवाको सिमाना वेत्रावतीसम्म बाटो कालोपत्र गरिएता पनि ठेकेदार र कर्मचारीको मिलेमतोमा कम स्तरको काम भएकाले एक वर्ष नपुग्दै सडक भत्किने गरेको स्थानीयबासीहरूको भनाई रहेको छ । ‘थुप्रै ठाउँमा सडक भत्किएको कारण किसानले आफ्नो खेतीबारीमा उत्पादन गरिएका तरकारी एवं नगदेबालीहरू समेत समयमा बजार पु¥याउन नसक्ने भएकाले ठूलो नोक्सानी बेहोर्न‘परेको छ’ मदानपुरका सीताराम पौडेलले भने ।
    पासाङल्हामु राजमार्गबाट नुवाकोटको ऐतिहासिक नुवाकोट दरवार, भैरवी मन्दिर, जालपादेवी मन्दिर, दुप्चेश्वर, देवीघाट, बेत्रावती, वेलकोटगढी लगायतका चर्चित स्थााहरूमा पुग्न सकिन्छ । रसुवा जिल्लाको पवित्र ऐतिहासिक स्थलहरू गोसाँइकुण्ड, पावर्तिकुण्ड, पर्यटकीय स्थल लाङटाङ हिमाल, क्यान्जिङ्ग उपत्यका, रसुवागढी, तातोपानी लगायतका स्थलहरू साथै ऐतिहासिक एवम् पुरातात्विक महत्वका स्थलहरू यस राजमार्गबाट पुग्न सकिन्छ ।
    त्यसै गरी यस राजमार्गमा सञ्चालन हुने भाडाका सवारी साधनहरूको संख्या कमी रहेको कारण यात्रुहरूलाई सकस पर्ने गरेको छ । यस मार्गमा सञ्चालन हुने तीनबटा बस सेवा व्यवसायीहरूले सिन्डिकेट प्रक्रियाबाट बस सञ्चालन गर्ने गरेका कारणले पनि यात्रुहरूले सास्ती खेप्नु परेको हो । ‘दुईवटा समितिको एकलौटी रहेको छ, हामीलाई महँगो भाडा तिर्नु पर्ने बाध्य समेत छ’ राष्ट्रिय उपभोक्ता मञ्च नुवाकोटका अध्यक्ष कमानसिंह लामाले भन्नुभयो । सीमित सवारीसाधन सञ्चालमा रहेको कारण यहाँका यात्रुहरू छतमा यात्रा गर्न बाध्य छन् । जसले गर्दा हुने सवारी साधन दुर्घटनामा थुप्रै सर्वसाधारणहरूले ज्यान गुमाई सकेका छन् । यस राजमार्गमा हुने सवारी साधन दुर्घटनामा वार्षिक ४० भन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

No comments:

Post a Comment