Monday, March 19, 2012

दुप्चेश्वरको जग खल्बलिने चिन्ता

इमेज समाचारदाता
रामती÷नुवाकोटको प्रसिद्ध देवस्थल दुप्चेश्वर महादेव स्थानभन्दा केही तल निर्माण गर्न लागिएको पुलका कारण उक्त देवस्थान नै खतरामा पर्ने सम्भावना बढेको छ ।
    दुप्चेश्वर महादेवको संरक्षणका लागि दुप्चेश्वर गुरुयोजनासम्वन्धी काम प्रारम्भिक चरणमै रहेको अवस्थामा दुप्चेश्वर शिवलिङ्ग रहेको चट्टानी पाखोको फेदीमा पुलको निर्माणका लागि जग खन्न थालेपछि उक्त खतरा उत्पन्न भएको हो । दुप्चेश्वर स्थान नुवाकोट जिल्लाको पूर्वी क्षेत्रको राउतवेशी गाविस–८ शल्ले गाउँमुनी पहाडी खण्डमा समुद्र सतहदेखि करिब चार हजार फिटको उचाइँमा रहेको छ ।
    उक्त गुरुयोजनाका लागि भौतिक योजना तथा आवास मन्त्रालयले २०६६ र २०६७ सालमा गरी दुईपटक सर्वेक्षण गरिसकेको दुप्चेश्वर संरक्षण समाजका महासचिव कुमार पण्डितले जानकारी दिएका छन् । उनका अनुसार उक्त सर्वेक्षणमा रहेका इञ्जिनियरलगायतका स्थानीय बासिन्दासमेतको सहभागितामा उक्त क्षेत्रलाई सुरक्षित, संरक्षित र विकास क्षेत्र गरी तीन क्षेत्रमा विभाजन गरी उक्त क्षेत्रको संरक्षण गर्ने अवधारणा तयार पारिएको छ ।
    उनका अनुसार उक्त अवधारणामा पुराना, धार्मिक, ऐतिहासिक महत्वका सामग्रीलाई जस्ताको तस्तै सुरक्षित राख्ने, संरक्षित क्षेत्रमा रहेका भू–धरातललगायतलाई संरक्षण कार्य गर्न र विकास क्षेत्रमा विकास निर्माण कार्य गर्ने अवधारणा तयार भएको थियो ।
    हाल उक्त भू–धरातलको फेदीमा जिल्ला विकास समिति नुवाकोटले पुल निर्माण गर्नका लागि खन्न थालेपछि दुप्चेश्वर शिवलिङ्ग रहेको चट्टान नै खल्वलिएर देवस्थान नै खतरामा पर्ने स्थानीयवासीहरूको भनाई रहेको छ ।
    राजनीतिज्ञ गणेश पण्डित उक्त पुरातात्विक, ऐतिहासिक एवं धार्मिक स्थलको उचित संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा उक्त क्षेत्रको भू–बनोटमै खतरा उत्पन्न हुनसक्ने कार्य गर्न नहुने धारणा राख्छन् ।
    त्यसै गरी संरक्षण समाजका महासचिव कुमार पण्डितका अनुसार दुप्चेश्वरमा नुवाकोट, रसुवा, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, दोखला, काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत अन्य थुप्रै जिल्लाबाट समेत मार्ग शुक्ल पूर्णिमाका दिन हजारौँ भक्त जम्मा हुने गरेका छन् । प्रत्येक एकादशी, शिवरात्रीका साथै हरेक दिन भक्तहरू आउने भएपनि मार्ग शुल्क पूर्णिमा अर्थात् धान्य पूर्णिमामा विशेष मेला लाग्ने गरहेको छ ।
    उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने तथा निर्माण गर्न लागिएको पुललाई अन्यत्र सारेर उक्त क्षेत्रको दीर्घकालीन संरक्षणका लागि जिल्ला विकास समिति तथा राजनीतिक दलहरूले विशेष चासो दिनको लागि स्थानीयवासीहरूले आग्रह गरेका छन् ।
    दुप्चेश्वरको उत्पत्तिको हजारौँ वर्ष पहिले उक्त क्षेत्रका बासिन्दा बासु लामाको गाई दुई दिनसम्म हराएपछि खोज्दै जाँदा उक्त भिरमा गाई भेटिएको र गाईको थुनबाट दुधको धारा बगिरहेको पाएपछि गाईको दुध परेको शिला महादेव हुन् भनी दुध्देश्वर नामाकरण गरिएकोमा पछि अपभ्रंस भएर हिजोआजको दुप्चेश्वर नामाकरणम भएको जनश्रुती पाइन्छ । 

No comments:

Post a Comment