![]() |
सभासद् प्रेम तामाङ |
रसुवा÷एकीकृत नेकपा माओवादीको रसुवा नेतृत्वको गैह्र राजनीतिक चरित्रको कारणले एक अर्काका बीचमा भौतिक आक्रमणसम्मको स्थितीमा आइपुगेको छ । गत एकवर्ष देखिको तल्लो स्तरको विवाद गत साताको प्रेस विज्ञेप्ती सार्वजनिक भएबाट चुलिएको हो । आन्तरिक विवादले रसुवा जिल्लामा ठुलो रुप लिएको छ । माओवादी संस्थापन पक्ष र उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षका जिल्ला स्तरिय नेताहरूको असन्तुष्टि र टकराबले निषेधको राजनीति सुरु भएको छ ।
जिल्ला विकास समिति रसुवाको १९ औँ जिल्ला परिषद्मा राजनीतिक दलहरूले योजना र बजेट बाडफाँड गरेर खाएको आरोपमा भट्टराई खेमाका सभासद् प्रेम तामाङले आफ्नै पार्टी र अन्य राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा एमालेका विरुद्ध लगातार एक वर्षसम्म भण्डाफोर अभियान सञ्चालन गरेपछि दलहरूले सभासद्लाई निषेध नै गरेका छन् । एकीकृत माओवादी सहित नेपाली काँग्रेस, नेकपा एमाले र अन्य साना दलहरूले सभासद् उपस्थित रहने सम्पूर्ण सार्वजनिक कार्यक्रमहरू बहिष्कार गर्न थालेका छन् । काँग्रेस, एमाले सहितका अन्य दलहरूको सहयोगमा एकीकृत माओवादीले सभासद् तामाङलाई ‘एक्लाएको’ घोषणा गरेका छन् ।
एकीकृत नेकपा माओवादी रसुवाद्धारा चैत ७, २०६८ मा जारी विज्ञप्ती अनुसार सभासद् तामाङले चैत १, २०६८ मा माओवादी पार्टीको नाममा अनाधिकृत रुपमा प्रयोग गरि पार्टीको नाममा प्रेस विज्ञप्ती जारी गरिरहेका छन् । जिल्ला ईञ्चार्ज इन्द्र गौतम ‘जगतजङ्ग’द्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ– ‘कालिकास्थानको घुम्तीवजारमा कोणसभाको आयोजना गरी सभासद् प्रेम तामाङले जिल्ला पार्टीका जिम्मेवार नेताहरूको नामै किटान गरि आक्रमणको धम्की दिनुको साथै वेलुकी जिवजिवेमा नारायण देवकोटा, शंकर देवकोटा र अर्जुन लामिछानेको घर खानतलासी गरि जिल्ला सेक्रेटरी समिरलाई खोजी गरिनु र आक्रमण गर्ने धम्की दिने काम गरियो । सो को निरन्तरतामा अज्ञात समुहले चैत ४, २०६८ को राती १२ः५० वजे जिल्ला सेक्रेटरी समिरको घरमा ढुङ्गामुढा गर्ने काम भयो ।’
![]() |
जिल्ला सेक्रेटरी माधव लामिछाने ‘समिर |
जनताले खानेपानीको पाइप, विद्यालयमा बस्ने बेञ्च र चक समेत नपाइरहेको अवस्थामा प्रमख तीन राजनीतिक दलहरूले विभिन्न नाम देखाएर एकमुष्ठ रकम हत्याउन लागेको भन्दै दलका नेताहरू भ्रष्टाचारी रहेको दावी गर्दै सभासद् तामाङले विभिन्न सार्वजनिक कार्यक्रमहरूमा विरोध जनाउँदै आएका छन् । माओवादी पार्टीले भने राजनीतिक दलहरूले जिविसको योजना तर्जुमा बैठकमा जनताबाट माग भएका योजनाहरूलाई प्राथमिकतामा रहेर बजेट बाडफाँड गरिएको र आफ्ना व्यक्तिगत माग परिषद्बाट सम्बोधन नभएपछि सभासद् तामाङले आफ्ना पार्टी सहित अन्य दलहरूलाई भ्रष्टाचारीको आरोप लगाएको बताएको छ ।
चालु आर्थिक वर्षको लागि जिल्ला विकास समिति रसुवाको १९ औँ परिषद्बाट एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र एमालेले आ–आफ्ना फरक योजनामा २०÷२० लाख रुपैयाँ विनियोजन गरेकोमा सभासद् तामाङले आपत्ति जनाउँदै आएका छन् । एक वर्ष अघि सम्पन्न परिषद्बाट माओवादीको भागमा रेडियो सञ्चालन गर्न १५ लाख, सहकारीका लागी पाँच लाख गरी २० लाख रुपैयाँ, काँग्रेसको भागमा सहकारी संस्थाहरूमा खर्च गर्नेगरी २० लाख रुपैयाँ र एमालेको भागमा जडिबुटीको क्षेत्रमा काम गर्न भनि २० लाख रुपैयाँ एकमुष्ठ विनियोजन गरेको थियो । सभासद् तामाङ व्यवस्थापन समितिका अध्यक्ष रहेको कालिका हिमालय उच्चमाविका लागि समेत १९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो । विवादका कारण ती योजनाहरू कुनै पनि सञ्चालनमा आएका छैनन् ।
नेपाली काँग्रेस रसुवाले भने माओवादीको आर्थिक द्धन्द्धका कारण आफ्नो पार्टीलाई समेत भ्रष्टाचारीको कित्तामा राखेर आलोचना गरेकामा आपत्ति जनाएको छ । रसुवा सभापति लामाकार्पो तामाङले सभासद्ले आफ्नो मर्यादा कायम राख्न नसकेको र माओवादीको आन्तरिक आर्थिक द्धन्द्धमा काँग्रेसलाई मुछिनु खेदपुर्ण रहेको बताए । ‘रसुवा माओवादीले आठ वटा ट्रिपर गाडी, पेट्रोल पम्प र सहकारी सञ्चालन गरिरहेको र त्यसैको आन्तरिक विवाद सडकमा आएको हो, सभापति तामाङले भने– सभासद् आफ्नै चार वटा ट्रिपर सञ्चालन गरिरहेको सुनेका छौँ, यो विवाद दुई खेमाको र केही हदमा आर्थिक द्धन्द्धले छताछुल्ल भएको हो ।’ माओवादी भ्रष्टाचारी पार्टी रहेको दाबी गर्दै काँग्रेस सभापति तामाङले सभासद्ले आफ्नो पार्टीको विषयमा सही मुल्याङ्क गरेपछि काँम्ग्रेसलाई मुछेर सार्वजनिक कार्यक्रममा भ्रष्टाचारी भनिनु आपत्ति जनक रहेको बताएका छन् ।
सभासद् तामाङ विद्यार्थी राजनीतिबाट माथी उठेका हुन् । जिल्ला तहमा सह–सक्रेटरीको हैसियतमा रहेका तामाङलाई जिल्लामा माओवादी नेतृत्वले जुनियर नेताका रुपमा हेर्ने गरेका छन् । २५ जना जिल्ला सदस्य रहेको रसुवा माओवादीमा संस्थापन पक्षको बहुमत रहेको छ । मोहन बैद्यको पक्षधर जिल्ला स्तरिय नेता र कार्यकर्ता भने रसुवामा छैनन् । जिल्ला ईञ्चार्ज इन्द्र गौतम ‘जगतजङ्ग’, सेक्रेटरी माधव लामिछाने ‘समिर’ सहितका नेताहरू संस्थापनमा र सभासद् एवं सह सक्रेटरी प्रेम तामाङ, जिल्ला समिति सदस्य दावा तामाङलगायत छन् ।
यमी गुट भेलामा सहभागी
![]() |
हिसिला सभासद् प्रेम तामाङका साथमा रसुवामा । |
शनिवार उपाध्यक्ष भट्टराई पक्षधर समुहका नेताहरूले आयोजना गरेको बनभोजमा उपाध्यक्ष भट्टराई पत्नि हिसिला यमीनै सहभागि भएका छन् । रसुवाको भोर्ले गाविसमा भट्टराई पक्षधर मानिने सभासद् प्रेम तामाङले राखेको भेलामा यमी सहभागी हुन आएका हुन् । माओवादीको संस्थापन पक्षका जिल्ला ईन्चार्ज ईन्द्र गौतम ‘जगतजङ्ग’ले भने आफुहरू सो भेलामा सहभागी नभएको जनाएका छन् । संस्थापन पक्ष र भट्टराई पक्ष बिचार समुहले मिलेर जाने र किरण पक्षसंगै बैचारिक प्रतिस्पर्धा गर्ने वातावरण तयार भईरहेको बेला प्रधानमन्त्री पत्नी हिसिला यमीले गुटको भेलामा सहभागिता जनाउनु आपत्तिजनक रहेको रसुवा माओवादीले प्रतिक्रृया दिएको छ ।
पार्टीभित्रै द्धन्द्ध बढ्दै गएपछि सभासद् प्रेम तामाङले आफ्नो शक्ति प्रर्दशनका लागी बनभोज तथा भेलाको आयोजना गरेको माओवादीका एक सदस्यले बताए । भेलामा सहभागी ठाकुर अधिकारीका बनभोजमा भट्टराई पक्षका कार्यकर्ताहरूका लागि गोप्य तथा आन्तरिक प्रशिक्षण दिइएको थियो । भेलामा चार सय भन्दा बढी कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
बनभोजमा पत्रकारहरूलाई आन्तरिक छलफल भएको र कार्यकर्ताहरू मात्र सहभागि हुनसक्ने भनेर प्रवेश दिइएको थिइएन । तर नुवाकोटबाट आएका पर्यटन साप्ताहिकका श्यामसुन्दर पुडासैनीलाई भने प्रवेश दिइएको थियो । पुडासैनीले कार्यकर्ता नभई पत्रकारको हैसियतले कार्यक्रममा सहभागि भएको दावी गरेका छन् ।
No comments:
Post a Comment