Saturday, January 28, 2012

शिक्षकलाई तलव खुवाउन सामुहिक ब्रतबन्ध

कपिलदेव खनाल÷नुवाकोट
देविघाट, माघ १४ गते । विद्यालयले निजी रुपमा राखेको शिक्षकहरुलाई तलव खुवाउने श्रोत जुटाउन नुवाकोट जिल्लाको एक माध्यामिक विद्यालयले सामुहिक ब्रतवन्धको आयोजना गरेको छ ।
विदुर नगरपालिका–७ देविघाट स्थित शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयले शिक्षकहरुलाई तलव खुवाउनका लागी विद्यार्थी तथा छिमेकी गाउँका किशोरहरुको शनिवार सःशुल्क रुपमा सामुहिक ब्रतवन्ध गराएको हो । शनिवारको उक्त सामुहिक ब्रतवन्धमा एक सय १० जना बटुकहरुको कर्मकाण्ड पुरा गराएको विद्यालय व्यवस्थापन समितिका सदस्य रामकृष्ण भट्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार ब्रतवन्धमा सामेल भएको बटुकहरुबाट जनही विद्यालयले एक हजार पाँच सय रुपियाँ शुल्क उठाएको छ ।    
भट्टका अनुसार शुल्कबाट मात्रै एक लाख ७५ रुपियाँ सङ्कलन भएको छ । ब्रतवन्धका लागी ५९ हजार रुपियाँ खर्च भएको छ । ‘बाँकी रकम विद्यालयको शिक्षकहरुलाई तलव खुवाउनका लागी प्रयोग गरिने छ’ भट्टले भन्नुभयो । उक्त विद्यालयले आठ वर्ष देखि विद्यालयको खर्च र निजी श्रोतमा राखिएका शिक्षकहरुलाई तलब खुवाउनका लागी प्रत्यके वर्ष श्रीपञ्चमिमा विद्यलाय परिषरमा सामुहिक रुपमा ब्रतवन्धको आयोजना गर्दै आएको छ ।
नुवाकोट जिल्लामा संस्कृति पाठ्यक्रम पढाई हुने एकमात्र उक्त विद्यालय स्थापनाकाल देखिनै आर्थिक सङ्कटमा गुज्रदै आएको छ । २०५५ सालमा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल ११ जना शिक्षक रहेकोमा चार जनामात्रै दरवन्दीका छन् । ‘बाँकी शिक्षकहरुलाई यसै गरी गरिने ब्रतवन्ध र रोइकराई गरी बटुलिने आर्थिक सहायताले धान्ने गरेका छौँ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोलले भन्नुभयो ।
यसरी विद्यालयले सामुहिक रुपमा आयोजना गरेको ब्रतवन्धले अभिभावहरुलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हट्दै गएको छ । आफ्ना छोराहरुको कर्मचलाउनने नाममा गरिने ब्रतवन्धले आर्थिक र मानसिक बोझ थोपर्ने गरेकोमा सामुहिक रुपमा आयोजना भएको यस कार्यले मुक्ती मिलेको छ । ‘पन्ध्र सय रुपियाँमा छोराको ब्रतवन्ध सम्पन्न भयो’ भीमप्रसाद गजुरेलले भन्नुभयो । विद्यालयका प्रधानाध्यापक हेमनीधि नेपालका अनुसार विद्यालयले गर्ने सामुहिक ब्रतवन्धको लोकप्रियता अभिभावकहरुमा मात्र नभई छिमेकी जिल्लाहरुसम्म रहेको छ । यहाँ सामुहिक ब्रतवन्धका लागी नुवाकोटका अलावा रसुवा र धादिङबाट समेत बटुकहरु आउने गरेका छन् । गएको वर्ष एक सय वटुकको सामुहिक ब्रतवन्ध गराएकोमा यो पाली बढेर एक सय १० जना पुगेको विद्यालयले जनाएको छ ।

Friday, January 27, 2012

प्रकाशक खनाल सुनखानी सम्मान–२०६८ बाट पुरस्कृत

परिवारले डुवाएको अस्पताल

कपिलदेव खनाल
त्रिशुली÷नुवाकोट जिल्लाको पहिलो सामुदायिक स्वास्थ्य केन्द्र पारिवारिक सदस्यहरूको घेरा भित्र फस्दा नौँ वर्ष देखि बन्द रहेको छ । त्यत्ती मात्र होइन स्वास्थ्य केन्द्रलाई विदेशी संस्थाहरूले उपलब्ध गराएको महत्वपूर्ण सामग्रीहरू ‘चोरी’ भइसकेको छ भने एम्वुलेन्स व्यक्तिको घरमा थन्किएको छ ।
    जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भएको त्रिशुली पब्लिक हेल्थकेयर सर्भिस सेन्टर नाम गैह्र सरकारी संस्थाले विदुर नगरपालिका–११ त्रिशुलीबजारमा सञ्चालन गरेको त्रिशुली क्लिनिक २०५९ सालदेखि बन्द रहेको छ । क्लिनिकको दुई तले भवन वर्षै देखि अलपत्र परेको छ । त्यस भित्र रहेका स्वास्थ्य उपचार सम्वन्धी केही सामग्रीहरू खियाँ लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । स्थानीयहरूका अनुसार विदेशी सहयोगमा सञ्चालन भएको उक्त स्वास्थ्य केन्द्रलाई पारिवारिकिकरण गरेर डुवाएको बुझिएको छ । स्वाथ्य केन्द्र सञ्चालन गरेको संस्थाका अध्यक्ष ऐश्यर्वमान बैद्य स्थानीय प्रेमलाल श्रेष्ठको बहिनी ज्वाई हुन् । उनी काठमाडौँको डिल्लिबजारमा बसोवास गर्छन् ।
    स्वास्थ्य केन्द्र सञ्चालनको लागी स्थानीय हरिबहादुर नगरकोटीले उपलब्ध गराएको तीन रोपनी जग्गा अध्यक्षको श्रीमतीको नाममा रहेको बताइएको छ । ‘पछिल्लो समयमा चाँही क्लिनिकको नाममा जग्गा पास गरेका छन् रे भन्ने सुनिएको छ’ स्थानीय राजेन्द्र महर्जनले भने ।
    स्वास्थ्य केन्द्रसंग रहेको इसिजी, एक्सरे लगायतका मेसिनहरू हराएका छन् । उक्त सामान हराएको विषयमा स्थानीयहरूले शंका प्रकट गरेका छन् । स्वास्थ्य केन्द्रको नाममा बैद्य परिवार र आफन्तहरूले व्यक्तिगत सम्पत्ती आर्जन गरेको आरोप समेत स्थानीयहरूको रहेको छ । ‘प्रेमलाल सरले भनेर घर बनेको जग्गा मात्रै बाँकी राखेर सम्पूर्ण जग्गा दिए, बहिनी ज्वाईसंग मिलेर खाए, जग्गादाता हरिबहादुर नगरकोटीले भने– उनीहरू यही क्लिनिकको नाम बिकाएर काठमाडौँमा सम्पत्ती जोडिरहेका छन् ।’
    स्थानीयवासीले उनीहरूले पारिवारिक सदस्यहरू मात्रको सहभागितामा गठन गरेको संस्था खारेजीसंग जिल्ला प्रशासन कार्यालय नुवाकोटले छानविन गर्नका लागी माग गरेका छन् । ‘हामी सामुदायिक रुपमा सञ्चालन हुने आशामा छौँ, राजेन्द्र महर्जनले भने– सरोकारवालाको सहभागितामा समिति गठन गरेर संस्था सञ्चालनको लागी सबैलाई सहयोगको आग्रह गरेकाछौँ ।’
    क्लिनिक बन्द भएपछि सम्वन्धित व्यक्तिहरूको रेखदेख नभएकै कारण पक्की भवन थोत्रिदै गएको छ । झाडीले पुरेको क्लिनिक परिसरलाई भने स्थानीयहरूले सरसफाई गरेर विवाहको भोज लगाउने स्थलको रुपमा प्रयोग गरिरहेका छन् । ‘अस्पताल मासिएर भोजभत्तेर लगाउने चौर बनेको पनि देख्नुप¥यो’ एक स्थानीयवासीले दुखेसो पोख्दै भने ।
    यता संस्थाका अध्यक्ष रहेका ऐश्वर्यमान श्रेष्ठले भने विदेशी सहायता आउन छाडेकोले संस्था र संस्थाका क्रियाकलापहरू बन्द भएको बताएका छन् । इमेजसंग टेलिफोनमा कुराकानी गर्दै उनले क्लिनिक सञ्चालनको लागी मासिक रुपमा ६० हजार रुपैयाँ खर्च लाग्ने गरेको र जापानी सहयोग बन्द भएपछि नसकिएको बताएका छन् । तर संस्थालाई उपहार स्वरुप प्राप्त भएको एम्वुलेन्स भने आफुसंग सुरक्षित रहेको उनको भनाई छ ।

तरकारी खेतीले ल्याएको परिवर्तन

विदुर÷फिकुरी–१ अम्बोटेका बिमला वाइवा (तलको तस्बिरमा) आजभोलि फुर्सदको समयलाई आफ्नै करेसाबारीमा उपयोग गरेर आर्थिक आम्दानीको माध्याम बनाउँन पाउँदा दङ्ग छन् । गएको असारबाट उनले टलेनमा सुरु गरेको मौसमी तथा बेमौसमी गोलभेडा खेती आयआर्जनको गतिलै माध्याम बनेको छ । ‘पहिला सुतेर बित्ने सयम आजभोलि आयआर्जनमा लगाएकी हुँ, वाइवाले भने– सिप सिकेपछि र गाउँमा कार्यक्रम भित्रिएपछि म मात्र होइन गाउँका दिदिबहिनीहरूको अवस्थानै बदलिएको छ ।’
    उनले भनेजस्तै गाउँमा क्यानेडियन अन्तराष्ट्रिय विकास सहयोग नियोग (सिडा) कार्यक्रम भित्रिएपछि फिकुरी गाविसका ५० भन्दा बढी लघु उद्यमीहरूको जीवन शैलीमा परिवर्तन आएको छ । फिकुरी गाविसका युक्तकुमारी नेपाल, उजेली तामाङ, ठुलीमाया तामाङ जस्ता लघु उद्यमीहरू आजभोलि गाउँमा उदाहरिणय र नमूना बनेका छन् । परम्परागत रुपमा लगाइदै आएका कोदोबालीको सट्टामा बारीमा हुने गोलभेडाजस्तो नगदे बालीले दैनिक गर्जो टार्ने काम मात्रै गरेको छैन, उनीहरूलाई उद्यमशिल समेत बनाएको छ । ‘यो कार्यक्रम र उनीहरूले खेतीपातीलाई रुपान्तरण गर्दै सुरु गरेको व्यवसायी कार्यले झण्डै डेढ सय जनालाई किसनाबाट माथी उठाएर उघु उद्यमी बनाएको छ’ राष्ट्रिय लघु उद्यमी महासंघका सचिव एवं जिल्ला लघु उद्यमी संघ नुवाकोटका उपाध्यक्ष रामचन्द्र न्यौपानेले भने । सिडा कार्यक्रम लघु उद्यम विकास कार्याक्रमको सहयोगमा जिल्ला लघु उद्यमी संघ नुवाकोटले जिल्लाका चार गाविसहरूमा सञ्चालन गरिरहेको छ । तीनवटा बजार केन्द्रलाई आधारमा मानेर उक्त कार्यक्रम फिकुरी, काहुले, भाल्चे, रातमाटे र ओखरपौवा गाविसमा सञ्चालन गरिएको संघका जिल्ला अध्यक्ष कान्छामान तामाङ बताउँछन् । उनका अनुसार देविघाट, सातदोबाटे र रानीपौवा बजारकेन्द्रका आधारमा ति गाविसहरूमा कार्यक्रम सञ्चालन गरिएको हो । सञ्चालित कार्यक्रमले गोलभेडा, मोटरकोसा र स्ट्रेबरी उत्पादन गर्ने लघु उद्यमीहरूलाई सहयोग पु¥याउँदै आएको छ ।
    जिल्ला लघु उद्यमी संघका कार्यक्रम संयोजक राजकुमार खनालका अनुसार सिडा कार्यक्रम अन्र्तगत फिकुरीमा टनेल बनाइ व्यवसायिक गोलभेडा खेती, काहुले र भाल्चेमा मोटरकोसा, रातमाटेमा मैसमी तथा बेमौसमी तरकारी खेती र ओखरपौवमा स्टे«बरी खेती सञ्चालन भइरहेका छन् । खनालका अनुसार संघले लघु उद्यमी सृजना गर्नका लागि उद्यमशिल तालिम, प्राविधिक सिप तालिम तथा व्यवसाय सञ्चालनका लागि आवश्यक अन्य प्रविधिक सहयोग गरेको छ । कार्यक्रम अन्तर्गत संघले गोलभेडा खेती गर्ने उद्यमीहरूलाई टनेल निर्माणका लागि प्रतिव्यक्ति तीन हजार रुपैयाँ बरावरको प्लाष्टिक समेत सहयोग गरेको छ । साथै उद्यमीहरूको समस्या समाधान र सहजिकरणका लागि दक्ष जनशक्तिलाई चौविसै घण्टा उनीहरूको खेतबारी र आगँनमा उपलब्ध गराएको छ ।
    संघले उद्यमीहरूको सहयोगका लागि देविघाट बजारकेन्द्रमा ध्रुवकुमार पुडासैनी, सातदोबाटे बजारकेन्दमा देवेन्द्र न्यौपाने र रानीपौवा बजारकेन्द्रमा अम्विका रिजाललाई उद्यम विकास सहजकर्ता तोकेको छ । त्यसका साथै जिल्ला भर सञ्चालित संघको कार्यक्रम र सिडा कार्यक्रममा सहयोग पु¥याउनका लागि कृषि उद्यम विकास सहजकर्ताका रुपमा कल्पना तिमिल्सिना कार्यरत छन् ।
    ‘सिडा कार्यक्रम अन्र्तगत हामीले एक सय ४६ जना लघु उद्यमीहरू तयार गरेका छौँ’ संघका उपाध्यक्ष रामचन्द्र न्यौपानेले भने । उनका अनुसार ओखरपौवमा स्टेबरी खेती अन्र्तगत तीन वटा समहुमा ४५ लघु उद्यमीहरू आवद्ध छन् । त्यसै गरी, मोटरकोसा खेतीका लागि काहुले र भाल्चेमा ५१ जना र गोलभेडा खेतीका लागि ५० जना लघु उद्यमीहरू सङ्गठित भएका छन् । लघु उद्यमीहरूको समुह रातमाटे फुलवारी कृषक सहकारी संस्था लिमिटेड मौसमी तथा बेमौसमी तरकारी खेती गरी निर्यातमुखी व्यवसाय गरेर आर्यआर्जन गर्नेहरूमा गलितो उदाहरण बनेको छ ।
    उक्त सहकारीका अध्यक्ष दिपेन राईका अनुसार सहकारीमा ४५ जना लघु उद्यमीहरू आवद्ध छन् । ‘फिकुरीमा पनि उद्यमीहरूले सहकारी गठन गरेका छन्, दर्ताको अन्तिमचरणमा रहेको उनीहरू किसानबाट उद्यमी हुँदै अब सहकारीकर्मीको रुपमा विकसित भएका छन्’ कृषि उद्यम विकास सहजकर्ताका कल्पना तिमिल्सिनाले भने । 

राहतको प्रतीक्षामा द्धन्द्धपिडित

काहुले÷२०५९ मंसीर ११ को रात सम्झना साथ काहुले–४ का ४३ वर्षिया नरुमाया तामाङको आङ सिरिङ हुन्छ । त्यस दिन साँझ हजुरबाको ध्यावामा गएका १६ वर्षिय छोरा चन्द्रबहादुर तामाङ सहित पाँच नावालकको सेनाको गोलीबाट हत्या भएको घटनाले नरुमायालाई त्यसपछिका सधैजसो रात सानो आबाजले समेत तर्साउने गर्छ ।
    माओवादी जनविद्रोह विरुद्ध लागेको सङ्कटकालमा माओवादी अपरेसनका लागि विदुरबाट गएको सेनाको समुहले वालवालिकालाई माओवादीको संज्ञा दिदै अन्धाधुन्द गोली प्रहार गरी हत्या गरेका थिए । ध्यावाबाट राती राँको बालेर घर फर्केका उनीहरूलाई सेनाले हत्या गरी विहान उनकै वावु आमालाई माओवादी मारेका छौं, गाड्न हिड्नुस भन्दै जर्वरजस्ती लगेका थिए ।
    सेनाको गोलीबाट काहुले–४ का चन्द्रवहादुर तामाङ, चोक्ता तामाङ, कान्छामान तामाङ, जितवहादुर तामाङ र परिमान तामाङको हत्या भएको थियो । माओवादीको शव गाड्न घरबाट कोदालो र पिग लिएर घटनास्थल पुगेका चन्द्रवहादुरका पिता वुद्धिबहादुर छोराको लाश वारीको डिलमा देख्दा त्यही वेहोस भएका थिए । विद्यालय सकेर पोशाकमै ध्यावा पुगेका बालबालिका फर्कदा सेनाको गोलीबाट हत्या भएको घटना पछि आफ्ना सन्तान गुमाउँदा नरुमाया जस्ता पाँच अभिभावकको आँखा ओभानु हुन सकेको छैन । घर नजिक भएको घटना वितेको आठ वर्ष भैसक्दा पनि नावालक छोराहरूको सम्झनाले ती परिवारले अरु परिवार झै दिनचर्या सामान्य रुपमा बिताउन सकेका छैनन् ।
    सेनाको गोलीवाट मारिएका चन्द्रबहादुरका पिता बुद्धिवहादुर छोराको वियोगमा रक्सी सेवनमा लागेर क्षयरोगको शिकार भएका छन् । वुद्धिवहादुर हालका दिनमा राजधानीमा ज्याला मजदुरी गर्दै क्षयरोगको उपचारमा लागेको पत्नी निरुमायाले बताउनुभयो । त्यस्तै सोही घटनामा मारिएका वालक कान्छामानको पिता योङगार तामाङको पिडाकै कारण डेढ वर्ष पछि मृत्यु भएको थियो । आफ्ना सन्तानको अकालमै मृत्यु भएपछि पिडा सहन नसकेका योङगारको आर्थिक अभावमा उपचार हुन नसकी मृत्यु भएको हो । छोराहरू मारिएपछि माओवादी र राज्य तर्फ दुवैपक्षले परिवारलाई सहयोग नगरे पछि पिडित परिवारमा थप पिडा थपिएको छ ।
    घटनामा मारिएका चोक्ता तामाङका पिता कामी छिरिङ कामका लागि राजधानी पलायन भएका छन् । भने अर्का मृतक परिमानका पिता कामका लागि भारत गएदेखी गाँउ फर्केका छैनन् । २०६४ मा कामका लागि भारत छिरेका बावुछोराको
हत्या भएको खवर पाउँदा समेत घटना सम्झन नसकी घर फर्केनन् परिमानका दाई कालुराम तामाङले भने । हत्यामा भएका बालकहरूलाई तत्कालीन समयमा राज्यले माओवादीको संज्ञा दिएपछि परिवारले आफ्नो साँस्कृती र परम्पराअनुसार काजक्रिया गर्न समेत पाएका थिएनन् ।
    सेनावाट निर्दोष वालवालीको हत्या भएको स्विर्कादै राज्यले पिडित परिवारलाई उचित क्षतिपुर्ति दिने निर्णय गरेपनी आठ वर्षको अन्र्तरालमा दुई लाख रुपैयाँ मात्र क्षतिपुर्ति पाएका छन् । उनीहरूका परिवारलाई सरकारले कोरियामा रोजगारी दिने निर्णय गरेपनी अहिले सम्म एकजनाले पनि कोरियामा रोजगारी पाएका छैनन् ।
    पिडित तामाङ परिवारले कोरियामा रोजगारी पाउने आशमा छिमेकीसंग ऋण लिएर राहदानी बनाएका थिए । तर, ऋण लिएर काठमाडौ जाँदा पटकै पिच्छे १० हजार भन्दा बढी खर्च व्यहोर्दै आएका तामाङ परिवार राज्यले आश्वासन पुरा नगर्ने थाहा पाएपछि निरास भएका छन् ।