Monday, April 02, 2012

पेट्रोल बेच्ने पसल शिलवन्दी

इमेज समाचारदाता
विदुर÷जिल्ला प्रशासन कार्यालय नुवाकोटले खुद्रा पसलहरूमा पेट्रोलियम पदार्थ राखेर विक्रि गर्ने पसलहरूमा छापा मारेको छ ।
    सोही क्रममा ठूलो परिणाममा पेट्रोलियम पदार्थ भेटिएको एक पसलमा शिलन्दी गरेको छ । प्रशासन कार्यालयका अनुसार ककनी र ओखरपौवा गाविसका पसलहरूमा अनुगमन भएको थियो ।
    अनुगमनका क्रममा मापदण्ड विपरित पेट्रोलियम पदार्थ विक्री गर्ने ककनी गाविसको एउटा पसलमा शिलबन्दी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलको नेतृत्वमा गएको जिल्ला ककनी–३ स्थित पवित्रा लामाको पसलमा मापदण्ड विपरित पेट्रोलियम पदार्थ विक्रीले पसलमा शिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालयलेले जनाएको छ ।
    लामाको पसलमा डिजेल डिजेल राखिएको एक हजार लिटरको ड्रम, दुई सय लिटरको नौँ ड्रम, पेट्रोल भरिएको दुई सय लिटरको ड्रमसहितको सटर शिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् ।
    हरि लामिछानेको पसलमा सात सय  लिटर, ओखरपौवा–३ का रिता श्रेष्ठको पसलमा दुई सय लिटर, शान्ता लामाको पसलमा १४ लिटर, उपेन्द्र श्रेष्ठको पसलमा ५० लिटर डिजेल र रमिला श्रेष्ठको पसलमा छ लिटर पेट्रोल फेला परेको थियो ।  डिजेल र पेट्रोलको बारेमा नेपाल आयल निगमलाई जानकारी गराइएको बताइएको छ ।
    अनुगमनका क्रममा सरकारी अनुदान प्राप्त रासायनिक मल बढी मुल्यमा विक्रि गर्नेहरूलाई समेत कारबाहि गरिने भएको छ ।
     ककनी–३ कै विष्णुप्रसाद भट्टको घरमा कृषकहरूलाई अनुदानमा विक्री वितरण हुने ६१ बोरा, विरबहादुर लामाको पसलमा २७ बोरा युरिया मल र दुई सय लिटर डिजेल बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलले जानकारी दिएका छन् ।

नेपाली–चिनियाँ झडप

जगदीश खनाल
मनकामना÷माथिल्लो त्रिशुली–३ ए जलविद्युत आयोजना निर्माणमा खटिएका चिनिया कामदार र स्थानीवासीबीच झडप हुँदा १० जना भन्दा बढी घाइते भएका छन् ।
    मङ्गलबार आयोजना निर्माणस्थल नुवाकोट जिल्लाको मनकामना गाविसको सिरुपानीमा ढल निर्माणको विषयमा झडप भएको बताइएको छ । चिनियाँ कामदारहरूले स्थानीयवासीमाथी कुटपिट गरेपछि झडप भएको बताइएको छ । चिनियाँ कामदारले नेपालीमाथी खुकुरी र रड प्रहार गरेको बताइएको छ ।
    माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजनामा दुई सय चिनिया कामदार र ७० जना नेपाली कामदारहरू खटिएका छन् ।
    त्यस अघि पनि नेपाली र चिनियाँ कामदार बचि विवाद हुँदै आएको थियो । अघिल्लो महिना पनि नेपाली कामदारलाई चिनियाँहरूले
खानेपानी उपलब्ध नगराएको घटना पनि सार्वजनिक भएको थियो । 
    सडकको ढल निर्माणमा लापरबाहि रहेको भन्दै स्थानीयहरूले  हिम पाइप राख्नुपर्ने माग राख्दै आएका थिए । सोही विषयलाई लिएर रड प्रहार भएको स्थानीयहरूको भनाई रहेको छ । स्थितिलाई नियन्त्रणमा लिनका लागि रसुवा र नुवाकोटबाट प्रहरीहरू घटनास्थलमा पुगेका थिए ।

रेडियो त्रिशुली आरम्भ

विदुर÷नुवाकोटको सदरमुकाम विदुरबाट सामुदायिक रेडियो रेडियो त्रिशुलीले आफ्नो परिक्षण प्रशारण बुधवार दिउँसोबाट थालेको छ । रेडियोको मेगाजर्ह ८८.४ रहेको छ ।
    एक सय वाट क्षमताको रेडियो त्रिशुलीले बुधवार दिउँसो २ः४५ बजेबाट परिक्षण प्रशारण आरम्भ गरेको हो । रेडियोको कार्यक्षेत्र नुवाकोटका अधिकांश भु–भाग र आसपासका जिल्लाहरूमा रहेको रेडियोका अध्यक्ष कपिलदेव खनालले जानकारी दिएका छन् ।
    रेडियोले परिक्षण प्रशारणको अवधिमा १२ घण्टा प्रशारण गर्ने बताइएको छ । रेडियोले बुधवार दुई घण्टा प्रशारण गरेको  थियो । रेडियो त्रिशुलीले समाचार र समाचारजन्य सामग्रीहरूलाई प्रमुखताका साथ स्थान दिने अध्यक्ष खनालले जानकारी दिएका छन् । नुवाकोट जिल्लामा रेडियो त्रिशुली सहित चार वटा सामुदायिक रेडियोहरू प्रशारणमा रहेका छन् । यस अघि नुवाकोट एफएम, रडियो अभियान, रेडियो जालपा रहेका छन् ।

ढिकीजाँतो–सामरी भञ्ज्याङ पैदल मार्ग

राजु रिमाल
विदुर÷ऐतिहासिक स्थल ढिकीजाँतो चुलीदेखि सामरी भञ्ज्याङसम्म पैदल मार्ग निर्माण गर्न नुवाकोट उद्योग वाणिज्य संघले पहल गर्ने भएको छ ।
    संघका अध्यक्ष शरणउत्सुक सापकोटाले पैदल मार्ग निर्माणका लागि स्थानीयबासी, जिल्ला विकास समिति र सम्बन्धित निकायको समन्वयात्मक भुमिका तयार गर्न पहल शुरू गरिएको बताए । जिल्लाकै ऐतिहासिक, पर्यटकीय एवम् धार्मिक महत्व बोकेको यस क्षेत्रमा पैदल मार्ग निर्माण गरीए आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न सहयोग पुग्ने बताइएको छ ।
    लाङ्टाङ राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई यो पैदल मार्ग पु¥याउन सके स्थानीय बासीको जीवनस्तरमा सुधार गर्न सकिने र आन्तरिक पर्यटनको लागि समेत सम्भाब्य भएकाले तत्काल योजना बनाएर ट्रेकिङ ट्रेल निर्माण गर्नुपर्ने स्थानीय बद्री भट्टले बताउनुभएको छ । सदरमुकाम विदुरबाट सबैभन्दा नजिककोे ‘भ्यू प्वइन्ट’ भएकाले पनि यो ट्रयाक निकै महत्वपूर्ण भएको स्थानीयबासी बताउँछन् ।
    खानेपानी, विद्युत्, वासस्थान, वृक्षारोपण जस्ता पर्यटन पूर्वाधारको निर्माण गर्न‘पर्ने भएकाले स्थानीय निकाय, स्थानीय समुदाय र सम्बन्धित पक्षहरूले लगानी गर्नुपर्ने पर्यटन ब्यवसायीहरू बताउँछन् । विदुरबाट ढिकीजाँतो चुली पुग्न मुख्य दुई बाटो छन् ।
    पहिलो, हात्तिगौंडा–मजुवा–माझिगाउँ–तीनधारे पिपलडाँडा माविहुँदै चारघरे–८ टिमुरडाँडासम्म मोटर पुग्छ । त्यहाँबाट आधा घण्टादेखि ४५ मिनेट हिँडेपछि चुलिमा पुग्न सकिन्छ । यो बाटोबाट जाँदा विदुरदेखि चूलिसम्मको दूरी १५ किलोमिटर पर्छ । दोस्रो बाटोचाहीँ बट्टारबाट देवीघाट जलविद्युत् केन्द्रहुँदै जानुपर्ने हुन्छ । २२ किलोमिटर लामो यो बाटो मान्द्रेढुङ्गा–महेन्द्र मावि–चारघरे–भट्ट गाउँ–जामुनेहुँदै चुली पुग्न सकिन्छ । ढिकीजाँतो चुलीबाट सिङ्ला चुली–देउराली चुली–वैकुण्ठे चुलीहुँदै सामरी भञ्ज्याङ पुग्न सकिन्छ । प्रस्तावित पैदलमार्गमा यात्रा गर्न ओषत दुई घण्टा समय लाग्छ ।
    छोटो दूरीको र सदरमुकामदेखि नजिकै भएकाले यस पैदलमार्ग विकास गर्न सके आन्तरिक पर्यटकको चहलपहल बढ्ने आशा स्थानीयले गरेका छन् ।

छतमा बस्ने यात्रुलाई प्रहरीको थप्पड

विदुर÷बसको छतमा बसेर यात्रा गर्ने यात्रुलाई प्रहरले थप्पड लगाउन थालेको छ ।
    गएको सोमवार बिहान ११ बजे त्रिशुलीबाट काठमाडौँतर्फ जाँदै गरेको एक बसको छतमा बसेका नुवाकोट हल्देकालिका गाविस–९ का जीतबहादुर तामाङ सहित केहीलाई प्रहरीका असईले कुटेपछि तनाव उत्पन्न भएको छ । छतमा बसेर यात्रा गर्न नपाइने नियम भएको भन्दै छतबाट तल ओरालेर ६० वर्षिया तामाङलाई कुटे लगत्तै स्थानियवासिन्दा अन्य यात्रुहरू प्रहरीमाथि खनिएका थिए । तनावका कारण करिब तीन घण्टा सवारी आवागमन बन्द भएको थियो । घटना साम्य पार्न ४० जनाको प्रहरी टोलीले भिडलाई नियन्त्रणमा लिएर कुटपिटमा परेका यात्रुहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । प्रहरीले अब प्रहरीबाट कुटपिट नहुने बताएर यात्रुहरूलाई फर्काएको छ । जिल्लामा सञ्चालित सवारी साधनका छतमा यात्रुहरू बस्ने र दुर्घटनाका घटनाहरूमा वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले छतमा बसेर यात्रा गर्न कडाई गरेको छ । प्रहरीले छतमा बसेर यात्रा गरेका यात्रुलाई ओरालेर कुट्न थालेको हो ।

बंैकमै पैसा असुरक्षित भएपछि

धुञ्चे÷बैकमा सुरक्षित राखिएको पैसा हराउला भनेर सायद स्याफ्रु गाविस– २ का ढिण्डुप तामाङले कहिलै सोचेका पनि थिएनन् होला, तर त्यस्तै भयो । उनले सुरक्षाका लागि बैंकमा गायव भएपछि रुन्चेहाँसो सुरु भएको छ । बुधबार ढिण्डुप तामाङले २०४७ साल देखि नेपाल बैँकको धुञ्चे शाखामा राखिएको पैसा गायव भएपछि असुरक्षाको भेद खुलेको हो ।
    आफ्नो चौरी गोठ नै बेचेर जम्मा गरेको पाँच लाख रुपैयाँ भन्दा बढी गायव भएपछि तामाङमात्रै होइन बैंकका कर्मचारीहरूको समेत निद उडेको छ । उनको खातामा रहेको पैसा नक्कली नाम भएका धुञ्चे–५ का ढिण्डुप तामाङले तीन पटक गरेर झिकेको बैकको अभिलेखमा उल्लेख छ । ‘पैसा लिन आईयो तपाईले सबै पैसा झिकिसक्नु भयो भन्दा त म झस्याङ्गै भए’ उनले सुनाए ।
    बैंकको अभिलेखमा २०६८ असोज १५ गते पाँच हजार रुपैयाँ, २०६८ साल कार्तिक ४ गते २० हजार  रुपैयाँ र २०६८ साल मङ्सिर १६ मा पाँच लाख रुपैयाँ गरी जम्मा पाँच लाख २५ हजार रुपैयाँ रकम धुञ्चे घर भएको ढिण्डुप तामाङले किर्ते हस्ताक्षर गरेर झिकिएको पाईएको छ ।
    बैकका कर्मचारीको मिलेमतोमा उक्त  काम भएको भन्दै पिडित पक्षको उजुरीको आधारमा बैंकका बरिष्ठ सहायक अधिकृत युवराज श्रेष्ठ र बैंकमा कार्यरत कर्मचारी लामा तेन्जिङ तामाङ र नक्कली खातावाल बनेर रकम निकाल्ने ढिण्डुप तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
    उनीहरूमाथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक अच्युत पुडासैनीले जानकारी दिएका छन् ।

चार वर्ष पछि काज फिर्ता

शर्मिला उप्रेती
त्रिशुली÷विभिन्न कारणहरू देखाउँदै वर्षै देखि काजमा बस्दै आएका नुवाकोट जिल्लाका ग्रामिण भेगका स्वास्थ्यकर्मीहरूलाई जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले फिर्ता गरेको छ ।
    पियनको भरमा स्वास्थ्य कार्यालयहरू छाडेर हिँडेका र काम नै नगरी तलब खाइरहेका एक जना डाक्टर, तीन जना अहेव, तीन जना अनमी र दुई जना कार्यालय सहायक गरी गरी नौँ जनालाई जिल्ला स्वास्थ्य कार्यालयले गाउँ फिर्ता पठाइएको हो ।
    काज फिर्ता भएर सम्वन्धि कार्यालयमा हाजिर हुने कर्मचारीहरूमा डा. दिपेन्द्र पाण्डे प्राथमिक स्वाथ्य केन्द्र खरानिटार, अहेवहरू दिपक रिमाल रातमाटे, भुवनराज केसी समुन्द्रटार र सुनिल बैद्य दुईपिपल रहेका छन् । त्यसै गरी अनमी लक्ष्मी सापकोटा वागेश्वरी गाविस, चारु तामाङ ककनी र ललिता नेपाली देउराली रहेका ।
    त्यसै गरी कार्यालय सहायकहरू उदय डङ्गोल मनकामना र खिलबहादुर प्याकुरेल ककनी फिर्ता भएका छन् । उनीहरू चार वर्षदेखि जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा चार वर्ष देखि काजमा रहेका थिए । बुद्धिबहादुर खड्काको देउरालीमा दरवन्दी रहेको भएपनि उहाँको काज भने फिर्ता भएको छैन । चालु आर्थिक वर्षमै उमेरहदका कारण अवकाश पाउने भएकोले जिल्ला अस्पताल त्रिशुलीमै रहेको बताइएको छ ।
    शुसासन अनुमगन समिति नुवाकोटले ग्रामिण भेगमा दरवन्दी रहेका स्वास्थ्यकर्मीहरूको काज फिर्ता हुनुपर्ने माग एक वर्षदेखि उठाउँदै आएकोमा यो पाली कार्यान्वयन भएको संस्थाका अध्यक्ष एवं अस्पताल विकास समितिका सदस्य बसन्तराज केसीले जानकारी गराएका छन् । केसीका अनुसार अन्य स्वास्थ्यकर्मीहरू अझै पनि दरवन्दी कायम नभएका कार्यालयहरूमा नगएका र जिल्ला अस्पतालमै रहेकोले उनीहरूको काज फिर्ता गराउनका लागि समेत पहल भइरहेको छ ।   
    ग्रामिण भेगका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र अन्य स्वास्थ्य केन्द्रहरूमा दरबन्दी कायम भएका अहेव लगाएतका कर्मचारीहरूलाई सम्बन्धित गाविसमा गएर सेवा दिन निर्देशन दिइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रमेशविक्रम सिंहले जानकारी दिएका छन् ।

तीन घरमा भिषण आगलागी

विदुर÷ घ्याङफेदी गाविस–५ घ्याङडाडाँमा गएको साता भएको आगलागीबाट तीन वटा घर जलेर नष्ट भएको छ ।
    विहीवार दिउँसो भएको उक्त आगलागीबाट १५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको स्थानीय कर्मजित तामाङले जानकारी दिएका छन्  ।
    उनका अनुसार स्थानीय याङदोर्जे मोक्तान र श्रीमेन्दो मोक्तानको घर जलेर नष्ट भएको छ । त्यसै गरी छिमेकी श्यामबहादुर मोक्तानको घरमा भने आशिंक रुपमा क्षति भएको छ ।
    दिउँसोको समयमा आगलागी भएको कारण मानविय क्षती नभएको बताइएको छ । दिउँसोको समयमा घरका अभिभावक खेतवारीको काममा गएको समयमा घरमा बालबालिकाले आगो खेलाउँदा आगलागीको घटना भएको बताइएको छ ।

अभिमुखिकरण कार्यक्रम सम्पन्न

विदुर÷स्वास्थ्यकर्मीहरूको लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ । कार्यक्रम गएको सोमवारबाट सुरु भएको थियो ।
    कार्यक्रममा जिल्ला अस्पताल त्रिशुली, प्राथमिक स्वास्थ्य केन्द्रहरू र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको सहभागीता रहेको छ । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख डा. रमेशविक्रम सिंह, तथ्याङ्क कार्यालय नुवाकोटका प्रमुख नवराज लम्साल,  जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक रामेश्वर कुँवर सरकारी वकील कार्यालयका देवेन्द्रराज अर्याललले प्रशिक्षण दिएका थिए ।

खोलामा डुबेर विद्यार्थीको मृत्यु

विदुर÷नुवाकोटको तादी नदीमा डुबेर मङ्गलवार शाँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेर्खु गाविस–१ का २० वर्षिय दिपक लामा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कक्षा ९ मा अध्ययनरत लामाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जनाईएको छ ।

.श्रीमती भन्दा भैँसी प्यारो... खुकुरी प्रहारबाट श्रीमती घाइते


विदुर÷कहिले काँही आफ्नै श्रीमती भन्दा पनि भैँसी प्रिय हुन्छ भन्ने प्रमाणित गरेका छन् रसुवाका एक व्यक्तिले ।  भैँसीको स्याहारसुसार नगरेको झोकमा मदिरा पदार्थ सेवन गरेका धैबुङ्ग गाविस–८ का लयुल तामाङले श्रीमतीलाई मरणासन्न हुने गरी खुकुरी हानेका छन् ।
    विदुर नगरपालिका–४ बट्टारमा डेरा गरी बस्दै आएका तामाङले श्रीमती कान्छी तामाङमाथी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेकाले छ । तामाङले श्रीमतीलाई भैंसीको स्याहार नगरेकोमा रिस उठेको र खुकुरी प्रहार गरेको प्रहरी वयान उल्लेख गरिएको बताइएको छ ।
    तामाङको उपचार काठमाडौँमा भइरहेको छ ।

पत्रकार महासङ्घको स्थापना दिवस

विदुर\नेपाल पत्रकार महासङ्घको ५७ औँ स्थापना दिवसको आवसरमा जिल्ला शाखा नुवाकोटले शुक्रवार विदुरमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
    शाखा अध्यक्ष राजुमित्र खनालको सभापत्तिवमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे प्रमुख अतिथिका रुपमा सहभागि भएका थिए । आउँदो जेठ १४ मै संविधान भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
    कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य मोहनबहादुर खड्का, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं बागमती अञ्चल ईञ्चार्ज शिव देवकोट, गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष पदम उप्रेती, नागरिक समाजका अध्यक्ष बाबुराम लामिछाने, नेपाल प्रेस युनियन नुवाकोटका अध्यक्ष श्रीराम नेपाल, प्रेस चौतारी नुवाकोटका उपाध्यक्ष देवचन्द्र भट्ट, क्रान्तिकारी पत्रकार सङ्घ नुवाकोका सदस्य रामहरि गजुरेल, महिला मानव अधिकारी रक्षक सञ्जाल नुवाकोटका उपाध्यक्ष अस्मिता थापाल गायतकाले मन्तब्य राखेका थिए । कार्यक्रममा सहभागि वक्ताहरूले लोकतान्त्रिक नेपाल निर्माणमा प्रेसले निर्वाह गरेको भुमिका र पप्त उपलब्धीहरूको सुरक्षा गर्ने विषयमा आफ्ना भनाईहरू राखेका थिए ।

प्रशिक्षक प्रशिक्षण तालिम

बट्टार÷कार्नेट नेपालले छ दिने प्रशिक्षक प्रशिक्षण तालिम शुक्रवार बट्टारमा सम्पन्न गरेको छ ।
    तालिममा नुवाकोटका दुईपिपल, तारुका, रातमाटे तथा खड्गभञ्ज्याङ गाविसका मण्डलीहरूका १७ जना अगुवाहरूको सहभागिता रहेको थियो ।
    प्रशिक्षण कार्यक्रममा सहभागिहरूलाई बाल दुब्र्यवहार तथा मानब बेचविखन विरुद्धको प्रशिक्षण दिइएको थियो ।
    तालिम पश्चात सहभागीहरूले आ–आफ्नो मण्डली तथा समुदायमा बाल यौन शोषण तथा मानव बेचविखन विरुद्धका सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने भएका छन् ।
        उक्त कार्यक्रम सञ्चालन गर्न सहभागीहरूले तीन महिनाको लागि सचेतनाका कार्य योजना पनि बनाएका छन् ।
    तालिमलाई कार्नेट नेपालका फिल्ड सुपरभाईजर सुरेन रसाईली, फिल्ड संयोजक गिरिजा भट्टराई तथा शाखा कार्यालयका क्लोसटर म्यानेजर पुरुषोतम डोटेलले सहजीकारण गरेका थिए ।
    कार्नेट नेपाल नुवाकोट वर्किङ गु्रपका संयोजक ईश्वर पुडासैनी र कोषाध्यक्ष दिपक भर्तालले सहभागीहरूलाई शुभकामना दिँदै प्रमाण पत्र प्रदान गरेका थिए ।
    सहभागीहरूले मानब बेचविखनका सम्बन्धमा आफुहरूमा भएका नकारात्मक धारणामा परिवर्तन भएको बताएका छन् ।

महिला सञ्जालमा थापा मगर

विदुर÷महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल समिति नुवाकोटको प्रथम अधिवेशन विदुरमा सम्पन्न भएको छ ।
    अधिवेशनले दुई बर्षे कार्यकालको लागी शर्मिला थापा मगरको अध्यक्षतामा नौ सदस्यिय कार्यसमितिको चयन गरेको छ ।
    कार्य समिचिको उपाध्यक्षमा अस्मिता थापा, सचिवमा शर्मिला उप्रेती र कोषाध्यक्षमा सविना रिमाल छन् । त्यसै गरी सदस्यहरूमा मणि लामा, मिका रिमाल र दलितबाट मनोनित सदस्य सम्झना नेपाली छन् । मनोनित अन्य सदस्यहरूमा सुकुमाया तामाङ र पार्वती उपे्रती छन् ।
    सल्लाहकारहरूमा शोभा श्रेष्ठ, विन्दा ढुङ्गाना, विन्दा अर्याल र महिला तथा बालबालिका कार्यालयका एक जना प्रतिनिधि रहने गरी चयन भएको छ ।

आर्थिक उपार्जनको लागि महिलाहरु समूहमा

बागेश्वरी÷वागेश्वरीका महिलाहरू आजकाल समूमा आबद्ध हुनथालेका छन् । कार्नेट नेपालले गरिब तथा विपन्न वर्गका महिलाहरूलाई ब्यवसायीक सीप अभिवृद्धि तालिम प्रदान गरि ब्यवसायीक कर्जा प्रदान गर्न थाले पछि गाउँलेहरूका निम्ति प्रशस्त अर्थ उपार्जनको लागि ठुलो ढोका खुलेको बागेश्वरीका महिलाहरू बताउँछन् ।
    समूहमा लामबद्ध हुने क्रममा बुधवार बागेश्वरी गाविसको फलाँटेमा वागेश्वरी दिदी बहिनी उद्दार वचत तथा ऋण समूह र सुनौलो विहानी वचत तथा ऋण समूह गठन भएको छ । प्रत्येक समूहमा १२ जना सदस्यहरू रहेका छन् । उक्त समुहका अध्यक्षमा क्रमशः प्रमिसा सेडाई र भगवती सुनुवार छन् ।
    त्यस अघि तालिमको आयोजना गरिएको बताइएको छ । तालिमलाई कार्नेट नेपाल नुवाकोटका क्लस्टर म्यानेजर पुरुषोतम डोटेलले सहजीकरण गरेका थिए । तालिममा समूहका आधारभूत तत्वहरू, वचत तथा ऋण परिचालनका सम्बन्धमा प्रशिक्षण दिईएको थियो । वागेश्वरी दिदी बहिनी उद्दार वचत तथा ऋण समूहका कोषाध्यक्ष अनुष्का आचार्यले आफ्नो नवगठित समूहले वित्तिय कारोवार मात्र नगरी समूदायमा हुने विकृति, विसंगति विरुद्ध तथा वाल दुब्र्यबहार र मानब बेचविखन विरुद्धका सामुदायिक सचेतनाका कार्यक्रमहरू पनि गर्ने बताए । चैत्र २७ गते चोगदेमा एक समारोहमा विच नवगठित दुवै समूहका सदस्यहरूलाई जनहि दश हजार रुपैयाँ रकम बराबरको ब्यवसायीक सामानहरू तथा घर पालुवा जनावरहरू वितरण गर्ने जानकारी डोटेलले दिएका छन् ।

स्थानीयहरु फेरि आन्दोलनमा

ओखरपौवा÷उपत्याकाको फोहोर व्यवस्थापनमा पटकपटक अवरोध सृजना गर्दै आएका नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइडको आसपासका बासिन्दाले फेरि विभिन्न माग राखी स्थानीय विकास मन्त्रालयमा मङ्गलवार सात दिनको अल्टिमेटम दिएका छन् ।
    सिसडोल संघ समितिका उपाध्यक्ष श्यामसुन्दर बलामीसहितको टोलीले स्थनीय विकास मन्त्रालय फोहोरमैला व्यवस्थापन तथा श्रोत परिचालन केन्द्रका महाप्रवन्धक रामशरण महर्जनलाई विभिन्न तीन सुत्रीय माग राखी सात दिनभित्र माग पूरा गर्न दवाव स्वरुप ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा ओखरपौवा गाविस वडा नंं ४ सिसडोलमा गत सात वर्ष देखि फालिदै आएको उपत्यकाको फोहोर वैज्ञानिकरुपमा व्यवस्थापन गरिनुपर्ने, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रको विकास र विस्तारका लागि आधिकारीक विकास समिति गठन गरी सार्वजनिक गरिनुपर्ने तथा विगतमा भएका माग र सहमतिहरू पालना गरिनुपर्ने उल्लेख गरिएको छ ।
    आफ्ना मागहरू प्रति एक साता भित्रमा पनि सम्वन्धित निकाय गम्भिर नबने फोहोर व्यवस्थापनमा अवरोध सृजना गरिने उनीहरूले बताएका छन् ।

दुईलाई निजामति सन्तती छात्रबृत्ति

विदुर÷निजामति कर्मचारीका दुई जना सन्ततीले उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्ति पाउने भएका छन् ।
    सुन्दरादेवी आयुर्वेद औषधालयका सहायक विदुर पाण्डेका छोरा अभिषेक र जिल्ला भूसंरक्षण कार्यालयका सहयोगि छत्रप्रसाद ढुङ्गानाका छोरी प्रमीला ढुङ्गानाले छात्रबृत्ति पाउने भएका हुन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा चैत्र ५ गते बसेको विद्यार्थी छनोट सकितिको बैठकले उनीहरूलाई छात्रबृत्ति दिने निर्णय गरेको हो । उनीहरूले दुई वर्षसम्म मासिक पाँच हजार रुपैयाँ छात्रबृत्ति पाउने छन् । गतवर्षको एसएलसी परिक्षामा अभिषेकले ८२ प्रतिशत र प्रमीलाले ५१ दशमलव १३ प्रतिशत अङ्क प्राप्त गरेका थिए ।
    बहाल वा भूतपूर्व निजामति कर्मचारीका ती सन्तती, जो सामुदायिक विद्यालयमा अध्ययन गरेर उत्कृष्ठ प्रतिशत ल्याउनेलाई यस्तो छात्रबृत्ति दिने घोषणा सरकारले गत आवमा गरेको थियो । यसको लागि ‘निजामति कर्मचारीलाई छात्रबृत्ति उपलब्ध गराउने निर्देशिका २०६७’ जारी गरी आवेदन माग गरिएको थियो ।