Saturday, November 14, 2015

दुर्घटनमा हराएका बालकको परिवारसंगको पुर्नमिलन

रसुवाको राम्चे–३ ग्राङमा मंगलबार भएको बस दुर्घटनामा भाग्यले बाँचेका भोर्ले–५ का रोहित थिङ बेला बेला मुस्काउन खोजे पनि टाउको, आँखा र पिठ्युँमा लागेको चोटको पीडा सहन कठिन हुन्छ । दुर्घटना भएदेखि दिदीको एक बर्षे छोरा रोहितको खोजी गरिरहनुभएका सानीआमा श्रृजनाले उहाँलाई भेट्दा खुसी देख्दा चिन्तित भइन् । दिदीको मृत्युको शोक र छोरा रोहितको पीडाले मेरो मन पोल्यो,’ श्रृजना भन्नुहुन्छ–मैले मन थाम्नै सकिँन ।’
उपचार क्रममा त्रिशुली अस्पताल आइपुगेका बालक रोहितका परिवार नभएको प्रचार भएपछि उनलाई अपनाउन धेरै जना बाल कल्याण कार्यालय आएका थिए । तर महिला तथा बालबालिका कार्यालय नुवाकोटले रसुवाको बाल कल्याण केन्द्रसँग उनका आफन्त खोजीका लागि आग्रह गरेपछि आफन्त भेटिएका थिए । ‘हामीले थाहा नपाएको भए दिदीको फूलजस्तो छोरो अरुले नै लैजाने रहेछन्,’ श्रृजनाले भन्नुभयो– धन्न बेलैमा थाहा पायौं । दिदीभिनाजुको पत्तो लागे पनि रोहितबारे थाहा हुन सकेको थिएन । उहाँका अनुसार साँझको समाचारमा नुवाकोट बाल कल्याण केन्द्रमा एक बालक छन् भनेको सुनेर खोज्न आउँदा दिदिको छोरा फेला परेको हो । रोहित रातभर आमा खोज्दै रोएर नसुतेको सृजना बताउनुहुन्छ ।
चिलिमे जाँदै गरेको पासाङल्हामु बस व्यवसायी समितिको ना ३ ख ५७०६ नम्बरको यात्रुबाहक बस मंगलबार रसुवा राम्चेको साँघुरो घुम्तीमा पुगेर दुर्घटनाग्रस्त हुँदा रोहित बाँच्न सफल हुनुभएको थियो । बस राम्चेको ग्राङ भीरमा सडकबाट धस्सिएर पल्टदैं दुई सय मिटर तल झरेर टुक्रा टुक्रा भएको थियो । दुर्घटनास्थलमै २९ जनाको र ६ जनाको उपचार क्रममा मंगलबार मृत्यु भएको थियो । दुर्घटनामा रोहितका आमा २७ वर्षीया शान्तिमाया थिङ र हजुरआमा विष्णुमाया तामाङको मृत्यु भएको छ । बाबु हितबहादुर तामाङ गम्भिर घाइते हुनुहुन्छ । पछाडी पछ्यौरीले बाँधेर अगाडि दुई हातले चेपिएका रोहित जीवित भेटिए पनि आमा भने जीवित भेटिएनन् । उद्धारमा संलग्न रसुवा प्रहरीले बालकलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली पठाएको थियो ।
सामान्य उपचारपछि रोहितलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्ला बाल कल्याणलाई जिम्मा लगाएको थियो । बुधबार नुवाकोट बाल कल्याणले उनलाई रसुवाको महिला तथा बालबालिका कार्यालयका बाल कल्याण अधिकृत अन्जु ढुंगानामार्फत् सानीआमा श्रृजनाको जिम्मा दिइएको छ । बाबु हितबहादुरको मन्जुरीनामा लिएपछि बालकलाई अहिले मामाघर लगिएको छ ।
रोहितका दुई दिदी ११ वर्षीया प्राकृति र १० वर्षीया प्राप्ति थिङ छन् । ‘आमा नआएपछि घरमा दुई छोरी रोएकारोयै छन्,’ मामाघरका हजुरबुवा कामिछिरिङले भन्नुभयो– नातिनीलाई सम्झाउन सकिएको छैन । आमा खोई भन्छन्, म के भनौं ।’ कक्षा ५ र ३ मा पढ्ने छोरीलाई छाडेर हितबहादुर पत्नी शान्ति आमा र काखे छोरा लिएर मंगलवार सदरमुकाम धुञ्चे जानुभएको थियो । बेलुकासम्ममा जलविद्युत्को सेयर भरेर सदरमुकाम धुञ्चेबाट फर्कने गरी गएकोमा अब कहिल्यै नआउने भएका छन् ।
रोहितका बाबु हितबहादुर भने दुर्घटनामा दाहिने खुट्टा भाँचिएर जिल्ला अस्पताल रसुवामा उपचार गराइरहनुभएको छ । रोहितकी हजुरआमाको पनि दुर्घटनामा ज्यान गएको छ भने हजुरबुवाको मृत्यु भएको ४ वर्ष जति भएको छ ।
क्षमताभन्दा तेब्बर यात्रु बोकेका कारण बस राम्चेको मोडमा दुर्घटना भएको जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले निष्कर्ष निकालेका छन् । दुर्घटनापछि बसेको जिल्ला सुरक्षा समिति बैठकले दुर्घटनाको प्रमुख कारण साँघुरो सडक र क्षमताभन्दा बढि यात्रु रहेको ठम्याएका हुन् । मंगलबार चिलिमेका लागि छुटेको बसका अधिकांश यात्रु जलविद्युत् कम्पनीको सेयर हाल्न जानेहरु नै थिए । त्रिशुलीबाट लोकल बस नचलेपछि स्थानीय यात्रु रसुवाबाट चिलिमे जाने पहिलो बसमा चढेका थिए । भित्र र छतमा खचाखच यात्रु भरिएको बस रसुवाको राम्चे–३ ग्राङ पुग्दा नपुग्दै भीरबाट खसेको थियो । अधिकांश मृतक रसुवाका स्थानीय रहेका छन् ।
रसुवाको कालिकास्थानदेखि धुन्चेसम्म १० ठाउँभन्दा बढि पहिरोे छ । पहिरोसँगै सडक एक लेनको मात्र छ । सडकमाथि पहिरो र तल भीर छ । वर्षेनी मुलखर्क, राम्चे र ग्राङमा जाने पहिरो सडकको मुख्य समस्या हुन् । कालिकास्थानदेखि धुन्चेसम्म कालोपत्रे सडक भए पनि राम्चे–३ को ग्राङदेखि मुलखर्कसम्म कालोपत्रे छैन र पहिरोका कारण साँघुरो पनि छ । प्रत्यक्षदर्शीको भनाइ उद्धत गर्दै र क्षमताभन्दा बढि मान्छे चढेको ठम्याउँदै त्यसकै कारण बस दुर्घटना भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउँनुहुन्छ ।
यातायात सञ्चालन भएदेखि पासाङल्हामु सडकमा भएको यो पहिलो दुर्घटना भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभएको छ । पहिरोको जोखिमका कारण ठूलो दुर्घटना हुनसक्ने भन्दै नागरिक समाजले प्रशासनमार्फत् जिल्ला सडक कार्यालय नुवाकोटसँग सडक सुधार्न आग्रह गरेको तामाङले बताउनुभयो । ‘दुर्घटना न्यूनिकरण गर्न प्रशासनले कारबाही गर्दै आएको छ । तर इन्धन अभाव देखाउँदै धेरै सवारीसाधन सञ्चालन गर्न व्यवसायी मान्दैनन्,’ प्रजिअ शिवराम गेलाल भन्नुहुन्छ ।
रसुवा प्रहरीका डिएसपी अवदेश विष्टका अनुसार प्रहरीले बिहीबारदेखि चेक जाँच कडा पारेको छ । क्षमता भन्दा बढि यात्रु हाल्न निषेध गर्ने तयारी प्रहरीले गरेको उहाँले बताउनुभएको छ । इन्धन अभावका कारण यात्रुको कष्ट ध्यानमा राखी जाँच केही खुकुलो बनाए पनि अब क्षमताभन्दा बढि यात्रु नराख्न आग्रह गर्नेदेखि बाटो सुधार गर्न समेत सडक डिभिजन कार्यालय नुवाकोटसँग आग्रह गरेको विष्टले जानकारी दिनुभएको छ ।
निराजन पौडेलको सहयोगमा सृजन ओझा, विदुर इमेज साप्ताहिक

No comments:

Post a Comment