

दक्ष चिकित्सक एवं जनशक्ति र बहुविशेषज्ञ सुविधा भएका सरकारी अस्पतालमा उपचारको तयारी हुँदाहुँदै सरकारी अस्पतालका चिकित्सक र दलालहरूको योजनामा घाइते निजी अस्पताल पु¥याइएका थिए । रसुवा दुर्घटना ८ गम्भीरसहित १८ घाइतेको अहिले ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । १५ जनाको राति नै र ३ जनालाई बुधबार बिहान सो अस्पतालमा रेफर गरिएको थियो । ‘वीर अस्पतालको एम्बुलेन्समा ल्याएका बिरामी पनि सुरुमा टिचिङ र पछि निजी अस्पताल पु¥याइएको छ,’ ट्रमा सेन्टरका निर्देशक डा. बुलन्द थापाले भन्नुभयो ।
ग्रिनसिटीका अधिकांश चिकित्सक र नर्स त्रिवि शिक्षण अस्पतालमै कार्यरत छन् । लगानीकर्तामध्ये अधिकांश शिक्षण अस्पतालकै चिकित्सक हुन् । हेलिकप्टरमा ल्याइएका गम्भीर घाइते अधिकांशको शल्यक्रिया गर्नुपर्ने अवस्था छ । शल्यक्रिया गर्नु नपरे पनि सिटी स्क्यान, एमआरआईजस्ता महँगो परीक्षण गर्नुपर्ने र बेड शुल्क पनि महँगो हुनाले निजी अस्पतालले लाखांै कमाउँछन् । यो वापत रेफर गर्ने चिकित्सकदेखि एम्बुलेन्स चालक समेतले मोटो रकम कमिसन पाउने स्रोतले जनाएको छ ।
ट्रमा सेन्टरका निर्देशक डा. थापाले पनि उपचारका लागि ट्रमा अस्पतालले पूर्ण तयारी गरेर बसेपछि घाइतेलाई निजी अस्पतालमा पु¥याएर ठूलो चलखेल गरिएको बताउनुहुन्छ । ‘ए लेबलको ट्रमा सेन्टरमा निर्देशकदेखि १९ सर्जन विशेषज्ञ र २५ अन्य जना डाक्टर घाइते रिसिभ गर्न तम्तयार भएर बसेका थियौं,’ उहाँले भन्नुभयो– हाम्रो करिब ७० जनाको टिम तयार थियो, दलालहरूले निजीमा पु¥याएछन् ।’
वीरका डाक्टरले राति अबेरसम्म कुरेका थिए । एम्बुलेन्स र बस चढेर आएका केही घाइते राति १० बजेतिर ट्रमा सेन्टर पुगेका थिए । अधिकांश आफ्नै पहलमा आएका र उनीहरू खतरामुक्त अवस्थाका रहेको थापाले जानकारी दिनुभयो । उहाँले आफूले नै पासाङल्हामु यातायात व्यावसायी समितिका महासचिवसँग कुरा गरेर ट्रमामा ल्याउन भनेको बताउनुभयो । स्रोतका अनुसार दुर्घटनाका घाइतेको उपचारमा व्यवसायी समितिको पैसा खर्च हुने भएकाले सरकारी अस्पतालमा कम खर्च हुँदा र नक्कली बिलसमेत बनाउन नमिल्ने हुनाले कमिसनका लागि समितिका पदाधिकारी समेत निजी अस्पतालमै पु¥याउन खोज्ने गरेका छन् । ‘सबै मालामाल भए होलान्, तर ए लेबलका सरकारी अस्पतालमा हुने गुणस्तरीय सेवाबाट त बिरामी वञ्चित हुनुपर्यो,’ थापाले भन्नुभयो ।
चिकित्सा क्षेत्रमा बढ्दो निजी लगानी र सरकारी अस्पतालमा कार्यरत चिकित्सकले कमिसनमा बिरामीको व्यापार गर्ने क्रम ठूलो समस्याका रूपमा देखिएको वरिष्ठ चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार यस्ता गम्भीर खालका दुर्घटनाको खबर आउनासाथ निजी अस्पतालहरूले एम्बुलेन्स चालकदेखि राजमार्गका साना क्लिनिक र जिल्लाका निजी अस्पतालसँग मिलेमतो गर्छन् र बिरामीलाई सरकारी अस्पतालमै नलगी निजी अस्पताल पु¥याउँछन् । यसो गर्दा एम्बुलेन्स चालकले बिरामीको अवस्था हेरेर २ देखि ५ हजार रुपैयाँसम्म कमिसन पाउने गरेका छन् । पछिल्ला दिनमा त्रिवि शिक्षण अस्पताल पदाधिकारीसहित वरिष्ठ चिकित्सकहरूले अस्पतालकै वरपर चिरायु, ग्रिनसिटी लगायतका अस्पताल सञ्चालन गरेका छन् । उनीहरू अधिकांश बिरामीलाई बेड, आइसियु नभएको बहानामा निजी अस्पतालमा रेफर गर्छन् ।
अस्पतालको आकस्मिक विभागमा कार्यरत एक जुनियार चिकित्सकले साँझैदेखि निर्देशक दीपक महराले नै ‘बेड छैन सकेसम्म बिरामीलाई निजीमा पठाउनू’ भनेर निर्देशन दिएको उनुभयो । ‘एक जना पनि बिरामीलाई अस्पतालमा भर्ना नगरिनु आश्चर्यको विषय हो,’ हाडजोर्नी विभागका एक चिकित्सकले भने, ‘आकस्मिक अवस्थामा शल्यक्रिया गरेपछि जुन विभागमा लगेर राखे पनि भइहाल्थ्यो ।’ निर्देशक महराले भने यति गम्भीर लापरबाहीप्रति अनभिज्ञता प्रकट गर्नुभएको छ । उहाँले आफू दिनभर व्यस्त भएकाले कुनै जानकारी राख्न नपाएको भन्दै आकस्मिक कक्षकै चिकित्सकसँग जानकारी लिन भन्नुभएको छ ।

डा. भगवान कोइराला अस्पताल निर्देशक हुँदा यसरी बिरामीलाई बिनाकारण रेफर गर्ने डाक्टरलाई कारबाही गर्न थालेपछि केही घटेको थियो । त्यतिबेला अस्पताल प्रशासनले बिरामी रेफर गर्नुपरे कारणसहित सुरुमा अन्य सरकारी अस्पतालमा प्राथमिकता दिने र सरकारीमा बेड नभए मेडिकल कलेजमा रेफर गर्ने निर्णय गरेको थियो । अस्पतालमा डा. कोइराला हटेसँगै नयाँ अस्पतालमा बिरामीको दलाली पुरानै अवस्थामा फर्केको छ । अधिकांश चिकित्सकले घाइते र अन्य बिरामीलाई समेत कमिसनका लागि निजीमा रेफर गर्छन् । ग्रिनसिटी अस्पतालका निर्देशक एलबी टन्डनले अस्पतालमा आइपुगेकाको उपचार भइरहेको बताउनुभएको छ उहाँले घाइतेमध्ये ८ जनाको आइसियुमा र अन्यको वाडमा राखेर उपचार भइरहेको जानकारी दिनुभएको छ । उपचारमा संलग्न डा. विष्णु गौतमका अनुसार घाइतेमध्ये अधिकांशको एमआरआईजस्ता अत्याधुनिक परीक्षण गर्नुपर्नेछ । अधिकांशको हाडजोर्नी, टाउकोको चोट रहेको छ ।
विभिन्न पत्रपत्रिकाहरुको सहयोगमा प्रमुख समाचारदाता