Saturday, December 16, 2017

बट्टार सहकारीको २२ औं साधारण सभा

तस्बिर कपिलदेव खनाल
बट्टार । बट्टार सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०५३ साल भदौ ३० गते बट्टार मुख्य बजारमा स्थापना भएको उक्त सहकारीले विभिन्न कार्यक्रमको आयोजना गरि बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
    जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष राजेश श्रेष्ठले बट्टार सहकारी संस्था लिमिटेड नुवाकोटका सहकारीहरुका लागि आर्दश र नमूनाको रुपमा रहेको बताउनुभयो । सरकारलाई कर तिर्ने सहकारी संस्थामा समेत अब्बल रहेको भन्दै सरकारले सम्मान समेत गरेको स्मरण गर्दै उहाँलेब बट्टार सहकारीले आफ्ना शेयर सदस्यहरुका लागि उन्नत कार्य गर्दै आएको बताउनुभयो ।
    स्थापना समयमा २५ जना सदस्यले दुई÷दुई सय रुपैयाँ जम्मा गरेर सुरु भएको सो सहकारीको हाल झण्डै चार करोड रुपैयाँ शेयर पुँजी रहेको छ । सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठका अनुसार चालु आर्थिक बर्षमा २९ करोड १४ लाख रुपैयाँ ऋण लगानी र २७ करोड ५५ लाख असुली भएको छ । बट्टार सहकारी संस्थाले गएको आर्थिक वर्षमा नेपाल सरकारलाई १५ लाख भन्दा बढी कर र सञ्चालन मुनाफा कर ३ लाख रुपैयाँ तिरेको थियो ।
    नुवाकोट जिल्लामा सञ्चालनमा रहेका मध्ये पुरनोमा समेत पर्ने सो सहकारी संस्था जिल्लामै बढी कारोवार गर्ने संस्थाको रुपमा रहेको छ । साविकको विदुर नगरपालिका कार्यक्षेत्र रहेको बट्टार सहरकारीमा हाल १४ सय ५० सदस्य रहेका छन् । संस्थाका उपाध्यक्ष टलकमान श्रेष्ठका अनुसार त्यस मध्ये ६०६ महिला, ८५१ पुरुष र १७ संस्थागत सदस्य रहेको छ ।
    २१ वर्ष पुरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा आयोजित उक्त बार्षिक साधारण सभामा सहकारीले आफ्नो जेष्ठ सदस्यको सम्मान समेत गरेको छ । संस्थाले हरेक पर्ष बार्षिक साधारण सभामा ७० वर्ष पुरा भएका आफ्ना सदस्यहरुलाई सम्मान गर्दै आएको छ । यस क्रममा यो पाली राजबाबु श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । २०६८ सालबाट सुरु भएको यो सम्मान अन्र्गगत हालसम्म २४ जनाको सम्मान भईसकेको सहकारीका ब्यवस्थापक हरिप्रसाद जोशीले बताउनुभयो ।
    कार्यक्रममा अध्यक्ष ओमप्काश श्रेष्ठले बार्षिक प्रगती प्रतिवेदन तथा भावी रणनीति, लेखा संयोजक नवराज न्यौपानेले आथिृक प्रतिवेदन, ऋण उप समितिका संयोजक मोहनबहादुर अर्यालले संस्थाको लगानी तथा असुलीको अवस्थालाई प्रस्तुत गर्नुभएको थियो । बार्षिक साधारण सभामा विन्नि व्यक्तिहरुले सफलताको शुभकामना व्यक्त गरेका थिए ।      

Sunday, December 10, 2017

नुवाकोटमा बामपन्थीले भत्काए ‘परिवारवाद’ को विरासत


नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुननरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् । नुवाकोटमा कांग्रेसका ‘हेबीवेट’ नेताहरुले मात्रै हारेका छैनन्, लामो समयदेखि रहँदै आएको ‘परिवारवाद’ को राजनीति समेत ढलेको छ ।
नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हितवहादुर तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी बिजयी भएका छन् । उनले कांग्रेस नेता डा.रामशरण महतलाई करीव ९ हजारको मतान्तरमा पराजित गरेका हुन् । महतले २७ हजार ९२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०५१ सालदेखि लगातार सबै चुनाव जित्दै आएका डा.महतको बिजय यात्रालाई हितबहादुरले यो पाली रोकिदिएका छन् ।
यसअघि २०६४ र २०७० मा महतसँग हितबहादुर पराजित भएका थिए । यो पालीको तेस्रो प्रयासमा तामाङले महतलाई जितेका हुन् ।
नुवाकोटमा चुनाव लड्ने ठाउँ नपाएर काठमाडौं ५ मा उठेका डा. प्रकाशशरण महत पनि हारेका छन् । एमाले महासचिव ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्न गएका डा. रामशरण महतका भाइ प्रकाशशरण महत पनि पराजित भएका हुन् ।
त्यस्तै कांग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीलाई एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोट २ मा १० हजार मतान्तरले पराजित गरेका छन् । नारायण खतिवडा ३६ हजार ८९२  मत पाएर बिजयी हुँदा अर्जुन नरसिंह २६ हजार ३३५ मा रोकिए । नुवाकोटमा महत र केसी परिवारको लामो समयदेखिको प्रभाव यसपटक वामपन्थी गठबन्धनले ध्वस्त बनाइदिएको छ । प्रदेशसभामा पनि महतका भतिजा रमेश महत र केसीका भाइ जगदीश्वरनरसिंह केसी भारी मतले पराजित भएका छन् ।
नुवाकोट १ को प्रदेशसभा क मा माओवादी केन्द्रकी राधिका तामाङ १८ हजार १३७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेका छन् । प्रदेशसभा ख मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत प्राप्त गरी बिजयी भएका छन् । उनले कांग्रेसका रमेश महतलाई ८ हजारको मतान्तरमा पराजित गरेका हुन् । महतले १२ हजार २१७ मत प्राप्त गरे । रमेश डा. रामशरणका भतिजा हुन् ।
उता नुवाकोट २ को प्रदेशसभा क बाट एमालेका केशव पाण्डे २० हजार ९ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरेका छन् । जगदीश्वर अर्जुैननरसिंह केसीको सहोदर भाई हुन् ।
प्रदेशसभा खबाट माओवादीका हिरानाथ खतिवडा १७ हजार ६२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जगत तामाङले १४ हजार ३ मत पाएका छन् । तामाङ काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङको विश्वासपात्र हुन् ।
२१ गते साँझ साातबजेबाट सुरु भएको मत गणनाको नतिजा आइतवार विहान मात्रै आएको हो । विहान सात बजे क्षेत्र नं. २ को नजिता सार्वजनिक भएको थियो भने क्षेत्र नं. १ को १० बजे मात्रै सार्वजनिक भएको थियो । नुवाकोटमा पहिलो पटक सकै क्षेत्रमा कम्युष्टिले जितेको छ । यो खुसीयाली मनाउन धादिङ्गमा निर्वाचित एमालेका नेता राजेन्द्र पाण्डे विहानै विदुर आउनुभएको थियो ।
एमाले माओवादकिो संयुक्त ¥यालीले नुवाकोटको मुख्य केन्द्र र बजार परिक्रममा गरेको छ । 

Friday, December 08, 2017

नुवाकोटमा बामको अग्रता

नुवाकोटको दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा बाम गठवन्धनका उम्मेदवारहरुको अग्रता कायम रहेको छ ।
    क्षेत्र नं. १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले काँग्रेसका डा. रामशरण महतले भन्दा ८८९ मत बढी लिनुभएको छ । तामाङको ५०९९ र महतको ४२१० मत रहेको छ । 
    क्षेत्र नं. २ मा एमालेका नारायणप्रसाद खतिवडा २०२८ मतले काँग्रेसका अर्जुननरसिंह केसी भन्दा अगाडी देखिनुभएको छ । खतिवडाको ६५१८ र केसीको ३५९० मत रहेको छ ।
प्रदेश सभा अन्र्तगत प्रतिनिधि सभा १ को प्रदेश सभा क मा माओवादी केन्द्रका राधिका तामाङ काँग्रेसका महेन्द्र थिङ्ग भन्दा ६१३ मतले अगाडी हुनुहुन्छ । तामाङको २२८६ र थिङ्गको १६७३ मत रहेको छ । १ नम्वरको प्रदेश सभा ख मा एमालेका बद्री मैनाली काँग्रेसका रमेश महत भन्दा १४४४ मतले अगाडी हुनुहुन्छ । मैनालीको ३१८४ र महतको १७४० मत रहेको छ ।   
प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क मा एमालेका केशबराज पाण्डे काँग्रेसका जगदीश्वरनरसिंह केसी भन्दा १२६३ मत अगाडी हुनुहुन्छ । पाण्डेको ३३६० र केसीको २१०३ रहेको छ । सोही क्षेत्रको प्रदेश सभा ख मा माओवादी केन्द्रका हिरानाथ खतिवडा काँग्रेसका जगतबहादुर तामाङ भन्दा ५६४ मतले अगाडी हुनुहुन्छ । खतिवडाको २६३५ र तामाङको २०७१ मत हरेको छ ।

Wednesday, December 06, 2017

मत गणनाको लागि यस्तो तयारी

सुजित भण्डारी र राजु रिमाल
नुवाकोट । कोठाको चारैतिर सिसिटिभी, बाहिर प्यासेजमा पनि क्यामेरा, कम्तिमा १५ जना प्रहरी तैनाथ अनि कोठालाई बीचमा चिरेर लगाइएको तारजालीको पर्खाल । भोली साँझ पाँच बजेदेखि हुने मतगणनाको लागि नुवाकोटमा गरिएको यो तयारी देख्दा केही खल्लो लाग्छ । मत गणनाका लागि उम्मेदवार र उसका प्रतिनिधिलाई अविस्वास गरिएको जस्तै ।
तर जिल्लाको दुई प्रतिनिध सभा र चार प्रदेश सभाको मत गणनाको लागि जिल्ला निर्वाचन कार्यालयले यस्तै तयारी गरेको छ । मतगणना हुनेस्थलमा १५ वटा सीसीटीभी जडान भएको छ । मुख्य निर्वाचन अधिकृत लोकजंग शाहका अनुसार दुवै निर्वाचन क्षेत्रमा तीन÷तीन स्थानमा मतणना गर्ने व्यवस्था मिलाईएको छ । एउटा कोठामा प्रतिनिधि सभा र दुई कोठामा एक÷एक प्रदेश सभा निर्वाचन क्षेत्रको गरी एउटा निर्वाचन षेत्रमा तीन वटा मतगणना स्थल तयार गरिएको छ ।
डिभिजन सहकारीको कार्यालय विदुरमा प्रतिनिधि सभा क्षेत्र नं. १ र त्यस अन्र्तगतको दुवै प्रदेश सभाको मत गणनाको लागि तयारी गरिएको छ । त्यस्तै क्षेत्र नं. २ को कोष तथा लेखा नियन्त्रणको कार्यालयमा मतगणना गर्नको लागि तीन वटा कोठामा तारजाली लगाइएको छ । तारजाली भित्र गणकले मत गणना गर्नेछन् भने तारजाली बाहिर सुरक्षाकर्मी र दलका प्रतिनिधि, पर्यवेक्षक, पत्रकार रहने ब्यवस्था मिलाइएको छ । स्थानीय निकाय निर्वाचनमा मत गणना स्थलमा तारजाली नलगाएको भएपछि केही जिल्लाहरुको घटनाका कराण यो पाली नुवाकोटमा पनि तारजाली लगाएर मत गणना गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
मतगणनामा खटाउने कर्मचारीको पनि व्यवस्था भइसकेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल लामिछानेले बताउनुभयो । उहाँले मत गणनास्थलको अबस्थाको बारेमा जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिहरुलाई अवलोकन गराएर अवस्थाको बारेमा जानकारी गरानुभएको छ ।

साथै, दलका प्रतिनिधिसहितको सर्वदलीय बैठक बस्ने तयारी समेत भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आचारसंहिता तयारीका लागि सर्वदलीय समितिको बैठक राख्न लागिउको हो । मत गणना भोली साँझ पाँच बजेबाट सुरु हुनेछ । नुवाकोट जिल्लामा दुवै निर्वाचन क्षेत्रमा ८६ हजार आठ सय मत गणना गर्नुपर्ने छ ।

Sunday, December 03, 2017

सकस र छटपटीको हप्तादिन

कपिलदेव खनाल
नुवाकोट । मंसिर १० गते सकिएको नुवाकोटको निर्वाचनको परिणाम आउन अझै केही दिन कुर्नु पर्ने छ । दोश्रो चरणको निर्वाचन बिहिवार सकिए लगत्तै मतगणना सुरु हुने छ । उक्त दिन साँझ पाँच बजेबाटै मतगणना गर्ने तयारी थालिएको छ । तर यो बीचमा उम्मेदवारदेखि आम मतदातासम्म सकस र छटपटी बढेको छ । अन्तिम मत परिणाम आएर विजय यात्रामा निस्कने बेलासम्ममा उम्मेदवाहरु विभिन्न अड्कलवाजी र मतपेटिकको सुरक्षामा रातोदिन लाग्नुपर्दाको पिडा बेग्लै छ ।
    प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ वटा रहेको नुवाकोटको मतपेटिका गएको आइतवार राती देखिनै सम्वन्धित निर्वाचन क्षेत्रको निर्वाचन कार्यालयमा राखिएको छ । झ्याल ढोका सिल गरिनुका साथै प्लाईले छोपेर सुरक्षा दिइएको छ । मतपेटिका राखेको कोठालाई सिसी टिभिको निगरानीमा मात्रै राखिएको छैन, सम्वन्धित उम्मेदवार र दलका प्रतिनिधिले २४ घण्टानै पहरा दिएर राखेका छन् । 
क्षेत्र नं. १ को मतपेटिका राखिएको सहकारी डिभिजन कार्यालयको मुलढोकामा हिजोआजको रातको समयमा कुर्सीमा वरिपरि हिटर ताप्दै आफ्ना साथीसंग गफिइरहेका कार्यकर्ताहरु भेटिन्छन् । मतपेटिका राखेको कोठमा छेउको भित्रि बरण्डामा बन्दुकधारी प्रहरीले पहरा दिइरहेका छन्, बाहिर सशस्त्र प्रहरीले पनि धेरेको छ । नजिकैको भबनको छतबाट मतपेटिका राखेको घरमा चौबिसै घण्टा नेपाली सेनाले बन्दुक तेस्र्याएर बसेको छ ।
 यत्ति मात्रै होइन, उम्मेदवार र दलका कार्यकर्ता पनि घाटीमा आगन्तुक परिचय पत्र झुण्ड्याएर प्रहरी रह ‘ड्युटी’मा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले काँग्रेस र बाम गठवन्धनका कार्यकर्तालाई परिचय पत्रको व्यवस्था गरेको छ । उनीहरु आलोपालो गरेर एक पक्षबाट कम्तिमा दुई जना मतपेटिको रेखदेखका लागि बस्दै आएका छन् ।
यस्तै दृष्य क्षेत्र नं. २ को मतपेटिका राखेको कोलेनिकाको कार्यालयमा पनि छ । ‘पार्टीले दिएको यो ठूलो जिम्मेवारी हो, जनमत तलमाथी होला भनेर हामी आलोपालो गरेर रातदिन पहरा दिएर बसेका छौं’ बाम गठवन्धनका गोकर्णनाथ न्यौपाने भन्छन् ।
त्यसो त उम्मेदवारले आफ्ना प्रतिनिधि र कार्यकर्ताको भरमा मात्रै मतपेटिका छडेका छैनन् । उनीहरु पनि बेलावखतमा अनुगमनमा आउने गरेका छन् । बाम गठवन्धनका उम्मेदवारहरु त रात नै मतपेटिका छेउमा बिताउने गरेका छन् । काँग्रेसका उम्मेदवारहरु हिजोआज मतपेटिका राखेको भवनको रेखदेख गर्न नआएको एक प्रहरीले बताएका छन् । काँग्रेसका रामशरण महत, अर्जुननरसिंह केसी र जगदीश्वरनरिसंह केसी धेरै दिनदेखि मतपेटिका राखेको ठाउँमा आएका छैनन् । ‘पाँच दिन अगाडी रमेश महत र महेन्द्र थिङ्ग आएका थिए’ एक प्रहरीले भने– त्यसपछि उनीहरुलाई पनि देखेको छैन ।’ बाम गठवन्धनका उम्मेदवार हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, हिरानाथ खतिवडा, राधिका तामाङ दिनहुँ मतपत्र राखेको घर वरिपरी भेटिने गरेका छन् ।
एक रात क्षेत्र नं. २ को मतपेटिका कुर्ने दलको प्रतिनिधिहरु सुतेको लाइनमा प्रदेश सभा ख का बाम उम्मेदवार हिरानाथ खतिवडा भेटिए । ‘जनताले दिएको अधिकार कुरेर बसिराको छु’ उनले भने । प्रतिनिधि सभा क्षेत्र नं. १ मा बाम गठवन्धनबाट उम्मेदवार रहेका हितबहादुर तामाङ निर्वाचन आयोगका कर्मचारीको नियतमा शंका लागेर यसरी बस्न परेको बताउछन् । ‘मतपेटिका ल्याएदेखि निर्वाचन अधिकृत देखि कर्मचारीको ब्यवहार र तरिका फरक देखिएको छ, तामाङ भन्छन्– मत पत्र राखेको कोठमा उम्मेदवारले पनि ताल्चा लगाउन पाउने व्यवस्था कार्यान्वय गराउन पनि हामीलाई दुई दिन लाग्यो, यस्तो संवेदनशिल पक्षमा पनि कर्मचारीहरु गैह्र जिम्मेवार देखिएका छन् ।’
नेपाली काँग्रेस नुवाकोटका सभापति एवं क्षेत्र नं. २ को प्रदेश क का उम्मेदवार जगदीश्वरनरसिंह केसी आफ्नो कार्यकर्तालाई मतपेटिकाको सुरक्षाको जिम्मा दिएको बताउछन् । उनी र दाई अर्जुननरसिंह केसी अन्य जिल्लाको चुनावी अभियानका लागि जिल्ला बाहिर छन् । दाई काँग्रेसको विभिन्न कार्यक्रममा सहभागि भइरहेका छन् भने जगदीश्वरनरसिंह ज्वाई गगन थापको कार्यक्रममा व्यस्त देखिएका छन् । त्यसैले मतपेटिका हेर्न कार्यकर्ता परिचालन गरिएको बताइएको छ ।
तर क्षेत्र नं. १ मा काँग्रेसका प्रतिनिधिहरुले रात बस्न छाडेका छन् । मुख्य सडकसंगै मतपेटिका रहेको घर भएकोले दिउँसो कोही पुग्ने गरेको भएपनि रात बस्नका लागि कार्यकर्ताहरु भेटिन छाडेको छ । सुरुको तीन दिनसम्म उत्साही बनेका काँग्रेस कार्यकर्ताहरु अहिले मतपेटिका कुर्ने काममा झिँजो मान्न थालेका छन् । ‘चार दिनसम्म म मात्रै बसँे’ एक काँग्रेस कार्यकर्ताले भने– अरु बस्नै मान्दैनन् ।’ बाम गठवन्धनले भने दिनहुँ कार्यकर्ता फेरेर राख्दै आएको छ । एमालेका जिल्ला अध्यक्ष एवं प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार नारायणप्रसाद खतिवडा दुवै पार्टीको तर्फबाट मत कुर्ने प्रतिनिधिको सूची बनाएर दिउसो र राती बस्ने ब्यवस्था मिलाइएको बताउछन् । ‘दिउसो र राती बस्नेको सूची बनाएर दुवै निर्वाचन क्षेत्रका लागि तयार गरिएको छ र त्यही अनुरुप उहाँलेहरु आफ्नो जिम्मेवारी पुरा गरिहरनुभएको छ, खतिवडा भन्छन्– ‘हामी उम्मेदवारहरु पनि प्रायः समय त्यही वरवर रहने गरेका छौं ।’

नजिकिए महत–केसी
मंसिर ११ गते विदुर सिथ्त अर्जुननरसिंह केसी निवासमा अभुतपुर्व घटना भयो । बाटोमा कुमै ठोक्किने गरी जम्माभेट हुँदा पनि बोलचाल नगर्ने काँग्रेसका नेताहरु एकअर्कामा चुनावी ठट्टा गर्दै चिया पिए ।
    उक्त अभुतपुर्व भेटघाटका साक्षी बनेको एकका अनुसार काँग्रेस नेता डा. रामशरण महत अनौचारिक भेटघाटमा खुब जिस्कने शैलीमा देखिएका थिए । ‘हैन अर्जुनजि सिडिओ एपसीले चुनाव अघि फेरेर हामीमाथी षड्यन्त्र भयो कि के हो’ भन्दै महत मरी मरी हासेका थिए । यो भेटघाटको फोटो फेसबुक मार्फत् बाहिरिएपछि जिल्लामा खुवै चर्चा पाएको थियो । फोटो बाहिरिएसंग काँग्रेसका एक नेताले टिप्पणी गरे– चुनाव अघि यो माहोल बनेको भएत कार्यकर्तालाई केही राहत महशुस त हुन्थ्यो ।’
    लामो समयदेखि तिक्ततापूर्ण सम्वन्ध रहँदै आएको काँग्रेस नेता महत र केसीलाई गएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले केही नजिक बनाएको हो । २०५६ सालदेखि विग्रिएको सम्वन्ध अहिले सामान्य रुपमा सुधार भएको एक काँग्रेस नेताले बताए । एमाले माओवादी बीचको चुनावी एकताका कारण सबै काँग्रेस एकै ठाउँ बस्नुको विकल्पै नभएको भन्दै काँग्रेसका यी नेताहरुले आफ्नो विगतको मन दुखाई थन्क्याएर अङ्गालो हालेका थिए । 
    पछिल्लो पटक नुवाकोटको काँग्रेसको अधिवेशनमा सभापतिमा जगदीश्वरनरसिंह केसी र रमेश महतबीच चुनाव भएपछि पानी समेत वारावारको अवस्था आएको थियो । २०७२ बैशाख १२ गतेको भुइँचालोपछिको ‘नुवाकोटको जस्ता काण्ड’मा मुछिएका अहिलेका प्रदेश सभाका उम्मेदवार रमेश महत विरुद्ध जगदीश्वरनरसिंह केसीले खरो अभिव्यक्ति समेत दिएका थिए । एकले अर्कालाई खुइलाउन पछी नपर्ने महत–केसी राजनीति अहिले केही सितल बनेको छ । त्यस्तै २०५६ मा बागी हालेर अर्जुननरसिंहलाई हराउने हालका प्रदेश सभाका उम्मेदवार महेन्द्र थिङ्ग अहिले केसी क्याम्पमा छन् ।
    नुवाकोट काँग्रेस श्रोतका अनुसार अर्जुननरसिंह केसी, डा. रामशरण महत, जगदीश्वरनरसिंह केसी, रमेश महत, बहादुरसिंह लामा तामाङ र महेन्द्र थिङ्ग बामपन्थिको चुनावी मोर्चाबन्दी देखि हालसम्म ‘किप इन टच’ मा छन् ।
    काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामाले आफ्नो कोटामा परेको सिटबाट प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश ख मा जगत तामाङलाई उठाएका छन् । तामाङ काँग्रेसको प्रतिनिधि सभाको लागि समानुपातिक सूचीमा छन् । बाँकी रहेको दुई प्रतिनिधि सभा र दुई प्रदेश सभामा महतको काका भतिज र केसीको दाजुभाईले बाढेर लिएका छन् । कुनै समय पार्टीको बागी बनेर केसीलाई हराएका हालका जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ्गलाई पनि प्रदेश सभाको उम्मेदवार बनाइएको छ । यो सबै समीकरणका आधारणमा काँग्रेसले आफ्नो छिद्रा टाल्न खोजेको एक नेताले टिप्पणी गरे । ‘महत केसीको तिक्तता यो चुनावले केही कम गरेको छ, ती नेता भन्छन्–तर उनीहरु मध्ये एक पक्ष हार्ने र अर्को पक्ष जित्ने नतिजा आएमा धेरै दुरी बढ्न सक्छ ।’

Tuesday, November 28, 2017

मतपेटिका सुरक्षामा उम्मेदवार र कार्यकर्ताको पनि ड्युटी


नुवाकोट,दुई चरणको निर्वाचनका कारण मंसिर १० गते सकिएको नुवाकोटको निर्वाचनको मतगणना तत्काल गणना नहुने भएपछि मतदाता, कार्यकर्ता र उम्मेदवारलाई धैर्य गर्न गाह्रो भएको छ । मतपेटिकालाई १० दिनसम्म सुरक्षित राख्न जिल्ला स्थित सुरक्षा निकाय र जिल्ला निवार्चन कार्यालयलाई हम्मेहम्मे परेको छ ।
प्रतिनिधि सभाको लागि दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा दुवै क्षेत्रको मतपेटीका फरक फरक स्थानमा राखिएको छ । क्षेत्र १ को मतपेटिका सदरमुकाम विदुरस्थित जिल्ला सहकारी डिभिजन कार्यालयमा र क्षेत्र २ को नजिकैको कोष तथा लेखा नियन्त्रणको कार्यालयमा राखिएको छ ।
मतपेटिकालाई जिल्ला सहकारी डिभिजन कार्यालयको कोठामा राखेर झ्यालढोका बन्द गरी सिलबन्दी गरिएको छ । त्यस अघिल्तिर हतियारधारी एक प्रहरी जवानले पालैपालो चौबिसै घण्टा पहरा दिइरहेका छन् भने अर्का घेरामा १५ सशस्त्र र ५ नेपाल प्रहरीका जवानको घेराले पहरा दिन थालेको छ । त्यसका साथै उम्मेदवारका प्रतिनिधि र राजनीतिक दलका नेताहरुलेपनि मतपेटीलाई पहरा दिइरहेका छन् ।
मतपेटिका राखेको भवनको परिषरमा उम्मेदवार तथा प्रतिनिधिले २४ सैं घण्टा पहरा दिन थाmेका छन् । उनीहरु रातीको समयमा पनि त्यह िबस्न थालेका छन् भने उनीहरुलाई बस्नका लागि मुख्य निर्वाचन अधिकृतले छुट्टै स्थानको व्यवस्था गरेको छ । सके आफु नै उपस्थिति हुन र नभएमा आफ्नो प्रतिनिधि मतपेटिका रखेको स्थानमा पठाउने गरेको गठबन्धनका तर्फबाट क्षेत्र १ का प्रतिनिधिसभा उम्मेदवार हितबहादुर तामाङले बताउनुभयो । २ को प्रदेश सभा क का उम्मेदवार जगदीश्वरनरसिंह केसीले प्रहरी प्रशासनको सुरक्षा भरदर्पो रहेपनि सुरक्षाका दृष्टिले संवेदनशिल रहेकोले निगरानी बढाएको बताउनुभयो ।
उम्मेदवारहरुका अनुसार राजनीतिक दल र कार्यालकर्ताको दृष्टि मतपेटिका सुरक्षामै केन्द्रित रहेको छ ।
सदरमुकाम विदुरमा आइतवार राती नै ल्याइएको मतपेटिकको सुरक्षाका लागि सुरक्षा निकाय जत्तिकै उम्मेदवार र उनीहरुका प्रतिनिधि अग्रसर देखिएका छन् । उनीहरुको मतपेटिका राखेको भवनको छेउछाउमा बाक्लो भिड लाग्ने गरेको छ । दलहरूले पालैपालो मतपेटिकाको निगरानी गर्नका लागि कम्तीमा डेढ सय कार्यकर्ताको सूची बनाएका छन् ।
    मतपेटिका भने सकेसम्म बाहिर बाटै देख्न सक्ने गरी बन्द कोठामा सुरक्षित राखिएको छ । साथै थप सुरक्षाको लाचगि सिसि क्यामेरा जडानको लागि समेत छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । श्रीनाथ गणका प्रमुख सेनानी रोहित गुरुङका अनुसार मतपेटिका राखेको सरकोको वरपरका घरको छतबाट  सेनाले सेन्ट्री दिनेदेखि बाटामा रातबिहानै गस्ती पनि निरन्तर गरिरहनेछ ।


मतदानको अघिल्लो दिन शनिबार जिल्ला निर्वाचन कार्यालय परिसरमा बेफ फेला परेकोले पनि नुवाकोट सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिएको छ । त्यस्तै मंसिर १० गते मतपेटिका ल्याइदै गरेको गाडीलाई लक्षित गरेर तुप्चेमा बम प्रहार भएको थियो ।
निर्वाचन प्रचारमा क्रममा नुवाकोटमै काँग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी विद्युतिय धरापमा परेको थियो । बम विफोष्टनका श्रृङ्खलाको बीचमा जिल्लाबाट संकलन भएको मतपेटिकालाई प्रशासनले कसरी सुरक्षा दिन्छ भन्ने प्रश्न यहाँको मतदाताहरुमा रहेको छ ।



Saturday, November 18, 2017

लोकतन्त्र जोगाउन काँग्रेस जित्न जरुरी ः अर्जुननरसिंह केसी

विदुर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार अर्जुननरसिंह केसीले लोकतन्त्र खतरामा परेकोले काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
बेल्कोटगढी नगरपालिकाको मदानपुर स्थित बालुवा भञ्याङ्गमा आयोजिक चुनावी आम सभालाई सम्वोधन गर्दै नेता केसीले बाम गठवन्धनको नाममा दुई कम्न्युष्टहरु एक भएको र उनीहरु अहिलेसम्मको प्राप्त लोकतान्त्रिक उपलब्धि मास्न लागि परेको उल्लेख गर्नुभयो । उहाँले भावि पुस्ताका लागि काँग्रेसलाई रोज्न नेता केसीले आग्रह गर्नुभएको छ । नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार अर्जुननरसिंह केसीले विश्वबाटै हराउदै गएको कम्न्युष्ट शासन नेपालमा सम्भावना नहुने बताउनुभएको छ ।
यस्तै निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा क का उम्मेदवार काँग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले काँग्रेसले सुरु गरेको अधुरा अयोजनाहरु सम्पन्न गर्नका लागि काँग्रेसले जित्नु पर्ने बताउनुभएको छ । उहाँले कम्न्युष्टले जित्दा काँग्रेसले सुरु गरेको योजनाहरुलाई निरन्तरता नदिने भएकोले जिल्लाको समग्र विकासको लागि थालिएको कार्यलाई टुङ्गोमा पु¥याउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । प्रदेश सभाका उम्मेदवार केसीले आफ्नो अबको बिकास योजना बेल्कोटगढी नगरपालिका र विदुर नगरपालिकामा बढी केन्द्रित हुने बताउनुभएको छ ।
यस्ता अर्को बेग्लै कार्यक्रममा प्रदेश सभा ख मा काँग्रेसका उम्मेदवार जगतबहादुर तामाङले २०७० सालमा सम्पन्न दोश्रो संविधान सभा निर्वाचनको स्मरण गर्दै काँग्रेस बाम गठबन्धनको भन्दा झण्डै तीन हजार बढी मतले विजयी हुने बताउनुभएको छ । दोश्रो संविधान सभा निर्वाचनमा एमाले र माओवादीले पाएको मत काँग्रेस एक्लैको भन्दा २८ सय कम रहेको उल्लेख गर्दै बाम गठवन्धनले काँग्रेसलाई कुनै असर नपरेको बताउनुभएको छ । उहाँले बाहदुरसिंह लामा तामाङले सुरु गर्नुभएको विकास निर्माणलाई पुरा गर्न र निरन्तरता दिनको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
नुवाकोट निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभाको उम्मेदवार रहनुभएका काँग्रेस केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले चुनावी भेटघाट अभियान, घरदैलो र आमसभालाई तिब्रता दिनुभएको छ । उहाँले आफु नुवाकोटको सबै क्षेत्रबाट निर्वाचन लडिसकेको र कसको घर कत्ता फर्केको भन्ने सम्मको जानकारी आफुसंग भएकोले अहिलेको बाम एकताले कुनै असर नपार्ने अभिव्यक्ति दिनुभएको छ ।

महतको अभिव्यक्ति प्रति हितबहादुरको आपत्ति

नुवाकोट निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार हितबहादुर तामाङ र प्रदेश सभा ख का उम्मेदवार वद्री मैनालीले संयुक्त विज्ञप्ती जारी गरी शुक्रवार ककनीमा भएको बम विष्फोट र त्यससंग जोडिएको काँग्रेसको प्रतिक्रृयामा आपत्ति जनाउनुभएको छ ।
उहाँहरुले शनिवार विहान संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तीमा ककनी भएको घटनाको निन्दा पनि गरिएको छ ।
नुवाकोटमा बामगठवनधनको पक्षमा उर्लेको जनलहरबाट अत्तालिएका अपराधिक शक्तिहरुले यस्तो हर्कत देखाएको भन्दै तामाङ र मैनालीले संयुक्त विज्ञप्ती जारी गर्नुभएको हो । साथै उत्तः घटना परी घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना गरिएको छ ।
तर, काँग्रेसले उक्त घटनालाई अतिरिञ्जित बनाउदै भ्रामक प्रचारबाजीमा गरेकोमा दुवै उम्मेदवारले आपत्ति जनाउनुभएको छ । निर्वाचनको मुखमा हार्ने आकल गरेपछि जनतालाई भड्काउन र समानुभुति लिनका लागि काँग्रेसका उम्मेदवार रामशरण महत र रमेश महतले लाञ्छाना लगाएको तामाङले बताउनुभएको छ ।
ककनीमा चार जना घाइते हुने गरी भएको बम विष्फोटनमा हितबहादुर तामाङको हात रहेको रामशरण महतले घटना लगत्तै प्रतिक्रृया दिनुभएको थियो । यो प्रतिक्रृया पछि तामाङले काँग्रेस आफैले षड्यन्त्र गरेको पनि हुनसक्ने प्रतिक्रृया दिनुभएको छ । मुख्य सकड मार्ग छाडेर सहायक मार्गबाट गाडी जानु र त्यही बम हुनुले यसमा काँग्रेसकै सम्लग्नता रहेको हितबहादुर तामाङको अनुमान रहेको छ । यस विषयमा छानविन गरि दोषीलाई कडा कारवाही गर्न संयुक्त बाम गठवन्धनका उम्मेदवारहरुले विज्ञप्ती मार्फत् आग्रह गर्नुभएको छ ।
हितबहादुर तामाङ बद्री मैनालीले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तीमा ककनी घटना लगत्तै काँग्रेसका उम्मेदवारको नेतृत्वमा बाम गठवन्धनको बिरुद्ध नारावाजी गर्ने, कार्यालय तथा कार्यकर्तामाथी आक्रमण गर्ने, सवारीसाधन तोडफोड गर्ने जस्ता ध्वंसात्मक हर्कत भएको उल्लेख छ । उहाँहरुले उक्त कार्य तत्काल बन्द गरि शान्तिपूर्ण प्रतिस्पर्धाबाट आउने निर्वाचन परिणाम स्वीकार्न काँग्रेसलाई तयार हुन आग्रह गर्नुभएको छ । उम्मेदवार द्धय तामाङ र मैनालीले काँग्रेसले फैलाएको भ्रममा नपर्न र शान्तिपूर्ण निर्वाचनमा सहभागि हुन मतदाताहरुलाई अपिल गर्नुभएको छ ।
उहाँहरुले सरकारसँग आम मतदाता, पार्टीका नेता कार्यकर्ता र उम्मेदवारहरुको भरपर्दाे सुरक्षाको ब्यवस्था गर्न अपिल गर्नुभएको छ । प्रहरी उक्त घटनाको बारेमा छानविन भइरहेको बताए पनि नयाँ तथ्य केही फेला परेको छैन । शनिवार नै एक सरकारी सञ्चार संस्थाले विप्लव नेतृत्वको माओवादीले घटनाको जिम्मा लिएको भनेर प्रचार गरेको भएपनि अहिलेसम्म विप्लव नेतृत्वको माओवादीले कुनै आधिकारीक धारणा अघि सारेको छैन । तर प्रहरीले पनि विप्लव माओवादीले नै विष्फोटन गराएको अनुमान गरेको छ ।
नुवाकोटमा डेढ महिना अघि दुई जनालाई विप्लव माओवादीले मासो दलेको थियो । दुप्चेश्वर गाउँपालिकामा एक शिक्षक र शिवपुरी गाउँपालिकामा निर्वाचित एक वडा सदस्यलाई विप्लव माओवादीले मोसो दलेका थिए । उक्त घटनासंगै नुवाकोट प्रहरी चुनाव बिथोल्न विप्लव माओवादी सक्रिय रहने भएकोले सर्तकता अपनाएको र सोही अनुसारको सुरक्षा रणनीति तयार गरेको जनाएको थियो ।

Friday, November 17, 2017

रमेश महत लक्षित गरी विष्फोट

नुवाकोट, मंसिर १ गते । निर्वाचन प्रचार प्रसारको लागि हिँडेको नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं. १ को प्रचार टोली चढेको सवारी साधन एम्वुसमा परेको छ ।
शुक्रवार विहान सवा १० वजेको समयमा ककनी गाउँपालिका वडा नम्वर ५ को सिकारीचौरमा वा १६ च ६६५ नम्वरको गाडिमा गराईएको एम्वुस विष्फोटमा परि विद्यार्थी नेता उपेन्द्र मिश्र र सविन लामा सहित ४ जना घाईते भएको काँग्रस नुवाकोटले जनाएको छ । गाडी पुर्णरुपमा ध्वस्त भएको छ ।
क्षेत्र नम्वर १ का उमेदवार डा.रामशरण महत र प्रदेशसभा उमेदवार रमेश महत सहितको प्रचार टोली ककनीवाट चतुरालेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा गाडी एम्वुसमा परेको हो । डा. रामशरण महत केही अगाडी बढी सकेको र विष्फोट भएको गाडी भन्दा पछाडी प्रदेश सभाका उम्मेदवार रमेश महत रहेका थिए । रमेश महतले विष्फोट आफुलाई लक्षित गरिएको भएपछि पछाडीको गाडीमा रहेकोले आफु सकुशल रहेको बताउनुभएको छ ।
घाइतेहरुलाई हेलिकोप्टरबाट उपचारको लागि विहानै काठमाडौं लगिएको थियो । उनीहरुको हाल ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । एम्वुसमा परी घाइते भएका मध्ये उपेन्द्र मिश्रलाई बढी चोट लागेको छ । उनको अनुहार र घाडीमा गहिरो चाट लागेको काँग्रेसले जनाएको छ ।
उक्त आक्रमण विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको अनुमान गरिएको छ । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।




















Monday, October 23, 2017

तपाई कुन प्रदेश सभाको मतदाता हुनुहुन्छ ? दुविधामा हुनुहुन्छ भने यो पढ्नुस्, नुवाकोटको कुन गाउ कुन प्रदेशमा ? र उम्मेदवारहरु को को ?

कपिलदेव खनाल
गएको स्थानीय तह निर्वाचनसंगै नयाँ संरचनाको निर्वाचन क्षेत्र प्रयोगमा आएको छ । तर पनि नुवाकोटका नागरिकहरुलाई आफ्नो निर्वाचन क्षेत्र र उम्मेदवारको विषयमा दुविधा भएको पाइएको छ ।
              प्रतिनिधि सभा र प्रदेश सभाको सिमानाको विषयमा मतदाताहरु पूर्ण रुपमा जानकार नहुँदा आफ्नो क्षेत्रको उम्मेदवारको विषयमा समेत अन्यौल रहेको पाइएको छ । संघ अन्र्तगतको प्रतिनिधि सभा र प्रतिनिधि सभा भित्रको दुई वटा प्रदेश सभालाई कुन गाउँपालिका र कुन वडाले विभाजन गर्छ भन्ने विषयमा मतदाताहरुमा आवश्यक जानकारी भएको पाइएको छैन ।
              प्रतिनिधि सभाको लागि नुवाकोटलाई दुई वटा निर्वाचन क्षेत्रमामा विभाजन गरिएको छ । त्यस्तै दुवै प्रतिनिधि सभालाई दूई÷दुई वटा प्रदेश सभामा विभाजन गरिएको छ ।
             प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नं. १ मा हालका शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका, सुर्यगढी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिका पर्दछन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि क्षेत्र नं १ मा एक लाख पाँच हजार २ सय ८७ जना मतदाता रहेका छन् । त्यस क्षेत्रमा १३ जनाले उम्मेदवारी दिएका छन् ।
              जसमा काँग्रेसको तर्फबाट डा. रामशरण महत, बाम गठबन्धनको तफृबाट माओवादी केन्द्रका हितबहादुर तामाङ, राप्रपा राष्ट्रवादीबाट बिमल थापा, राप्रपा प्रजातान्त्रिकबाट राजेन्द्रप्रसाद फुयाँल, नेकपा मालेबाट जयागार तामाङ, नयाँ शक्ति पार्टी नेपालाबाट शन्तबहादुर तामाङ, नेपाल जनलोकतान्त्रिक पार्टीबाट कृष्णप्रसाद लामिछाने, संघीय समाजवादी फोरमबाट उत्तम अधिकारी, राष्ट्रिय जनमोर्चाबाट कर्णबहादुर तामाङ, मंगोल नेशनल अर्गनाईजेसनबाट प्रदिप तामाङ रहेका छन् । स्वतन्त्र उम्मेदवारहरुमा एलिसा थापा, कृष्णबहादुर तामाङ र रबिन गुरुङ छन् ।
               त्यस अन्र्तगतको प्रदेश सभाका लागि पहिलो निर्वाचन क्षेत्रमा दुप्चेश्वर, शिवपुरी, तादी गाँउपालिका पुरै र पञ्चकन्या गाउँपालिकाको वडा नं ३, ४ अर्थात् पहिलाको थप्रेक र पञ्चकन्या गाउँपालिका परेको छ । प्रतिनिधिसभाको क्षेत्र नं १ को उत्तः पहिलो प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ हजार एक जना मतदाता छन् । क्षेत्र नं. १ को पहिलो निर्वाचन क्षेत्रबाट प्रदेश सभामा उम्मेदवारी दिनेहरुमा ७ जना रहेका छन् ।
                जसमा  काँग्रेसबाट महेन्द्र थिङ, बामगठबन्धनबाट माओवादी केन्द्रका राधिका तामाङ, राप्रपा राष्ट्रवादीबाट रामु पण्डित राप्रपा प्रजातान्त्रिकका दामोदर थापा, नयाँ शक्ति पार्टीबाट ज्यायुमी शेर्पा, विवेकशील साझा पार्टीबाट विमल तामाङ र स्वतन्त्र उम्मेदवारमा सुनिता थोकर रहेका छन् ।
                 निर्वाचन क्षेत्र नं. १ कै दोश्रो प्रदेश सभामा ककनी गाउँपालिका, लिखु गाउँपालिका, सुर्यगढी गाँउपालिका पुरै र पञ्चकन्या गाउँपालिकाको वडा नं १, २, ५ अर्थात् पहिलाको  चौंघडा, कविलास र भद्रुटार गाविसलाई मिलाएर बनाइएको छ । त्यस प्रदेश सभामा मतदान गर्न मिल्ने नागरिकहरुको संख्या ५३ हजार २ सय ८६ जना रहेको छ । उक्त प्रदेश सभामा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
                जसमा काँग्रेसबाट रमेशकुमार महत, बाम गठबन्धनको तर्फबाट एमालेका बद्री मैनाली, राप्रपा राष्ट्रवादीबाट पुरेन्द्रप्रसाद ढकाल, राप्रपा प्रजातान्त्रिकबाट दिपककुमार राई, नयाँ शक्ति पार्टीबाट ईश्वरकुमार राउत, विवेकशील साझा पार्टीबाट कृष्णप्रसाद अधिकारी, मंगोल नेशनल अर्गनाईजेसनबाट कृष्ण तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट राजन लामिछाने र स्वतन्त्र उम्मेदवार ज्ञानबहादुर तामाङको उम्मेदवारी परेको छ ।
               संघको लागि प्रतिनिधि सभाको लागि नुवाकोटमा अर्को निर्वाचन क्षेत्र नं. २ रहेको छ । क्षेत्र नं. २ मा हालका दुई वटै नगरपालिका सहितका बाँकी रहेको गाउँपालिकाहरुलाई मिसाइएको छ । प्रतिनिधि सभाका लागि क्षेत्र नं. २ मा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ्ग गाउँपालिका, मेघाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेको छ । क्षेत्र नं २ मा प्रतिनिधि सभामा मतदाना गर्ने मतदाताहरुको संख्या एक लाख दुई हजार ९ सय ४ जना रहेको छ । उक्त निर्वाचन क्षेत्रमा ११ जनाले उम्मेदवारी दिएका छन् ।
               जसमा, काँग्रेसबाट अर्जुननरसिंह केसी, बामगठबन्धनको तर्फबाट एमालेका नारायणप्रसाद खतिवडा, राप्रपा राष्ट्रवादीबाट राज्यलक्ष्मी श्रेष्ठ पाँडे, राप्रपा प्रजातान्त्रिकबाट मधुसुदन रिसाल, नेकपा मालेबाट डिलबहादुर पुडासैनी, नयाँ शक्तिबाट धर्मबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट चन्द्र तामाङ, नेपाल जनलोकतन्त्र पार्टीबाट नारायण पौडेल, विवेकशील साझा पार्टीबाट पुरुषोत्तम अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट लक्ष्मी मुडबरी र संघीय समाजवादी फोरम नेपालबाट सिताराम तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।
                नुवाकोट निर्वाचन क्षेत्र नं. २ को पहिलो प्रतिनिधि सभामा बेलकोटगढी नगरपालिका पुरै र विदुर नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, १० र ११ लाई समेटिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को पहिलो प्रदेशसभा निर्वाचन क्षेत्रमा ५१ हजार ६ सय ४९ जना मतदाता छन् । उक्त निर्वाचन क्षेत्रमा ८ जनाले उम्मेदवारी दिएका छन् ।
               जसमा काँग्रेसबाट जगदिश्वरनरसिंह केसी, बामगठबन्धनबाट एमालेका केशवराज पण्डे, राप्रपा राष्ट्रवादीबाट दिपेश लामा, राप्रपा प्रजातान्त्रिकबाट शिवप्रसाद अधिकारी, नयाँ शक्ति पार्टीबाट केशवप्रसाद पुडासैनी, विवेकशील साझा पार्टीबाट दामोदर नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट अर्जुनलाल श्रेष्ठ र स्वतन्त्रबाट बद्रीप्रसाद त्रिपाठी उम्मेदवारी दिउका छन् ।
               क्षेत्र नं. २ कै प्रदेश सभा ख मा किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिका, तारकेश्वर गाउँपालिका पुरै र विदुर नगरपालिकाको वडा नं ७, ८, ९, १२, १३ अन्र्तगतको  खड्गभञ्ज्याङ्ग र चारघरको माथिल्लो भेगसहित, तुप्चे र कल्याणपुर क्षेत्रलाई हालिएको छ । प्रदेश सभाको दोश्रो निर्वाचन क्षेत्रमा ५१ हजार २ सय ५५ जना मतदाता रहेका छन् । उक्त क्षेत्रमा ९ जनाले उम्मेदारी दिएका छन् ।
                 जसमा, काँग्रेसबाट जगतबहादुर तामाङ, बामगठबन्धनबाट माओवादी केन्द्रका हिरानाथ खतिवडा, राप्रपा राष्ट्रवादीबाट यादवराज सिलवाल, राप्रपा प्रजातान्त्रिकबाट हरिप्रसाद रिजाल, नयाँ शक्ति पार्टीबाट डा. भिमलाल तामाङ, विवेकशील साझा पार्टीबाट कमान तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट रवी अधिकारी र स्वतन्त्र उम्मेदवारहरु कृष्णबहादुर खड्का र रिता ओझा रहेका छन् ।
               यसरी विभाजन भएको निर्वाचन क्षेत्र अन्र्तगत मतदाताले प्रतिनिधि सभाका लागि एक जना र प्रदेश सभाका लागि एक जनालाई मतदान गर्न सक्ने छन् । साथै समानुपातिक मतपत्रमा पनि दुई छाप लगाउन पाउने व्यवस्था गरिएको छ । त्यसले चाँही प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक उम्मेदवारहरुलाई जिताउन राजनीतिक दललाई मतदान हुनेछ ।
                यो पालीको चुनावमा एउटा मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातीक उम्मेदवार गरी दुइ÷दुई स्थानमा गरी चार स्थानमा मतदान गर्नेछन् ।

Sunday, October 22, 2017

नुवाकोटमा को को भिड्दैछन् ?


कपिलदेव खनाल, नुवाकोट
काँग्रेसका डा. रामशरण महत
मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ठूला दलहरुले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ । नेपाली काँग्रेस र बाम गठबन्धनबाट नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङ्गो लगाएको हो । काँग्रेसमा अर्जुननरसिंह केसी र उनको भाई जगदीश्वरनरसिंह केसी, डा. रामशरण महत र उनका भतिज रमेशकुमार महतले उम्मेदवारी दिने भएका छन् ।
    प्रतिनिधि सभाको लागि नुवाकोटमा रहेको दुई वटा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट केन्द्रिय सदस्यहरु डा. रामशरण महत र अर्जुननरसिंह केसी चुनावी मैदानमा आउने भएका छन् । जस अनुसार नुवाकोटको क्षेत्र नं. १ मा पुर्व अर्थमन्त्री डा. रामशरण महत र क्षेत्र नं. २ मा पुर्व शहरी विकास मन्त्री अर्जुननरसिंह केसी उठ्ने छन् ।
    नेकपा एमाले र माओवादी केन्द्रले भने यो पटकको चुनावमा तालमेल गरेको छ । प्रतिनिधि सभामा एमाले र माओवादीको एक÷एक जना उम्मेदवार र प्रदेश सभामा दुई÷दुई जना उम्मेदवार भाग लगाएर लिएको छ । जस अनुसार नुवाकोटको क्षेत्र नं. १ माओवादी केन्द्रलाई र क्षेत्र नं. २ नेकपा एमालेलाई भाग लगाइएको छ ।

माओवादी केन्द्रका हितबहादुर तामाङ
क्षेत्र नं. १ मा पुर्व खेलकुल मन्त्री हितबहादुर तामाङ र क्षेत्र नं. २ मा नेकपा एमाले नुवाकोट अध्यक्ष नारायणप्रसाद खतिवडा उम्मेदवार बन्ने छन् ।
    प्रदेश सभा अन्र्तगत क्षेत्र नं. १ को क मा माओवादी केन्द्रका राधिका तामाङ, ख मा एमालेका बद्री मैनाली, क्षेत्र नं. २ को क मा एमालेका केशव पाण्डे र ख मा माओवादी केन्द्रमा हिरानाथ खतिवडाको उम्मेदवारी पर्नेछ ।
    नेपाली काँग्रेसले नुवाकोटको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा क मा महेन्द्र थिङ्ग, ख मा रमेशकुमार महतलाई अघि सारेको छ । क्षेत्र नम्वर २ को प्रदेश सभा क मा जगदिश्वरनरसिंह केसी र ख मा जगतबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।
    यसरी हेर्दा क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि काँग्रेसका डा. रामशरण महत र बमगठबन्धनका तर्फबाट माओवादी केन्द्रमा हितबहादुर तामाङ बीच चुनावी प्रतिस्पर्धा हुँदै छ । उनीहरु बीचको यो तेश्रो पटकको प्रतिस्पर्धा हो । दुई वटै संविधान सभा चुनावमा हितबहादुर तामाङ काँग्रेसका डा. महतसंग झिनो मतले पराजित भएका थिए ।

काँग्रेसका अर्जुननरसिंह केसी
यता क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका अर्जुननरसिंह केसी र बाम गठवन्धनका तर्फबाट एमालेका नारायणप्रसाद खतिवडा बीच प्रतिस्पर्धा हुनेछ ।
    प्रदेश सभा निर्वाचनमा भने १ को क मा नेपाली काँग्रेसका महेन्द्र थिङ्ग र बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका राधिका तामाङले प्रतिस्पर्धा गर्दैछन् । १ को ख मा काँग्रेसका रमेशकुमार महत र बाम गठवन्धनको तर्फबाट एमालेका बद्री मैनाली बीच प्रतिस्पर्धा हुँदैछ ।
    प्रदेश सभा निर्वाचनमा २ को क मा काँग्रेसका जगदिश्वरनरसिंह केसी र बाम गठवन्धनबाट एमालेका केशब पाण्डेबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै २ को ख मा काँग्रेसका जगतबहादुर तामाङ र बमगठबन्धनको तर्फबाट माओवादी केन्द्रका हिरानाथ खतितवडाको प्रतिस्पर्धा हुने देखिएको छ ।
एमालेका नारायणप्रसाद खतिवडा

काँग्रेस ३२ हजार मतले पछाडी
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको चुनावी सरगर्मी बढ्दै जाँदा नुवाकोटमा निर्वाचन जित्ने पार्टी र उम्मेदवारहरुको आँकलन सुरु भएको छ । कुनै सयम जिल्लामा प्रभावशाली मानिने राप्रपा लगायतका अन्य केही साना राजनीतिक दल अस्तित्वका लागि मात्र नगन्य अवस्थामा देखा परेपनि निर्वाचनमा मुख्य तीन पार्टी नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रकै प्रभाव रहने देखिएको छ ।
राष्ट्रिय राजनीतिमा समेत प्रभाव जमाउन सक्ने काँग्रेसको ‘हेब्भीवेट’का नेता डा. रामशरण महत र अर्जुननरसिंह केसी यस जिल्लाबाट पहिला पनि जनप्रतिनिधी रहेका कारण नुवाकोटमा काँग्रेसलाई बलियो शक्तिका रुपमा राजनीतिक वृत्तमा बुझ्ने गरिएको छ । तर, काँग्रेसको अघिल्ला निर्वाचनमा भन्दा पछिल्ला निर्वाचनमा लगातार घट्दो मत परिणाम र एमाले तथा माओवादीको बढ्दो मत परिणामका कारण काग्रेसलाई नुवाकोटमा चुनौती बढेको छ । अझ एमाले र माओवादी केन्द्रले गरेको चुनावी तालमेलका कारण काँग्रेसलाई कमजोर रहेको विश्लेषण पनि गरिएको छ ।

काँग्रेसका रमेशकुमार महत
काग्रेसले अघिल्लो संविधानसभामा भन्दा ३१ बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा समग्र जिल्ला भरीमा पार्टीको मत परिणाम घटाएको छ । नुवाकोटका दुई नगरपािलका र १० वटा गाउपालिका गरि १२ वटा स्थानिय तह रहेका छन् । स्थानिय तह निर्वाचनमा गाँउ तथा नगरपालिकाका अध्यक्ष तथा प्रमुखहरुले प्राप्त गरेको मत जोड्दा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन परिणाम बामगठवन्धनसंग यसपटक निर्वाचनमा जुध्न काँग्रेसलाई फलामको चिउरा चपाउनु सरह हुने देखिएको छ ।
स्थानीय तह निर्वाचनमा नुवाकोट जिल्लामा ४४ हजार १ सय १८ मत सहित काँग्रेस पहिलो, ४२ हजार १२ मत सहित नेकपा एमाले दोस्रो र ३४ हजार २ सय ७८ मत सहित माओवादी केन्द्र तेश्रो स्थानमा छन् ।

एमालेका बद्री मैनाली
संविधानसभा निर्वाचनमा भन्दा एमालेले स्थानिय तह निर्वाचनमा मत परिणाम बढाएको छ । यस अगाडीको संविधान सभा निर्वाचन नतिजा हेर्दा काँग्रेस पहिलो, माओवादी दोश्रो र एमाले तेश्रो शक्तिको रुपमा रहेको थियो । त्यस वेला तीन वटा निर्वाचन क्षेत्र रहेको नुवाकोट जिल्लाका तीन ओटै क्षेत्रमा काँग्रेसले जितेको थियो ।
तर अहिले प्रतिनिधीसभामा दुई ओटा निर्वाचन क्षेत्र कायम भएको छ भने प्रदेश सभाका लागि चार वटा क्षेत्र नुवाकोटमा छ । यहाँ प्रतिनिधि सभाका लागि एमाले र माओवादीले एक÷एक वटा क्षेत्र र प्रदेश सभामा दुई÷दुई वटा क्षेत्र बाँडफाँड गरेर निर्वाचन लडदैछन् ।
प्रतिनिधिसभाका लागि नुवाकोट क्षेत्र नम्वर १ मा अहिले शिवपुरी, दुप्चेश्वर, पञ्चकन्या, तादी, सूर्यगढी, लिखु र ककनी गाउपालिका पर्छन् । स्थानिय तह निर्वाचन परिणाममा यी स्थानीय तहका अध्यक्षले प्राप्त गरेको मत परिणामलाई हेर्दा यो क्षेत्रमा काँग्रेसले २२ हजार ६ सय ५२ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले १८ हजार ७ सय ७८ मत पाएको छ । एमालेले १८ हजार १ सय ८४ मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रका राधिका तामाङ
त्यस अन्र्तगत, शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसले ३८ सय १८, नेकपा एमालेले ३५ सय ३२ र माओवादी केन्द्रले २४ सय १३ मत पाएका थिए । दुप्चेश्वर गाउँपालिकामा नेपाली काग्रेसले ३७ सय १४, माओवादी केन्द्रले ३३ सय ३ र नेकपा एमालेले २२ सय ३९ मत ल्याएको थियो ।
नुवाकोटको क्षेत्र नं. १ मा नै रहेको पञ्चकन्या गाउँपालिकामा माओवादीले २९ सय ६२, काग्रेस २८ सय ५४ र एमालेले २ हजार २६ मत पाएको थियो । तादी गाउपालिकामा काँग्रेसको ३ हजार ९०, एमालेको २७ सय ३७ र माओवादीको २३ सय ६५ मत स्थानीय तह निर्वाचनमा रहेको छ ।
सूर्यगढी गाउपालिकामा काँग्रेसले ३२ सय, एमालेले २३ सय ८५ र माओवादीले १८ सय ५४ मत ल्याएको छ ।  उता, लिखु गाउपालिकामा काँग्रेसले २४ सय २५, एमालेले १८ सय ६२ र माओवादीले १३ सय ४७ मत पप्त गरेको थियो । ककनी गाउपालिकामा माओवादीले ४५ सय ३४, काँग्रेसले ३५ सय ५१ र एमालेले ३४ सय ३ मत प्राप्त गरेको थियो ।

काँग्रेसका महेन्द्र थिङ्ग
नुवाकोट क्षेत्र नं. १ मा मंसिर १० गतेको प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसबाट डा. रामशरण महत र माओवादी केन्द्रबाट हितवहादुर तामाङले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।  केन्द्रीय तहमै एमाले माओवादीबीच चुनावी तालमेल भएकोले यो क्षेत्रमा एमालेले माओवादी उम्मेदवार तामाङलाई सघाउनेछ । काँग्रेसको २२ हजार ६ सय ५२ मत र एमाले माओवादी गठवन्धनको ३६ हजार ९ सय ६२ मत हुने देखिन्छ । स्थानीय तह निर्वाचनमा गाउँपालिकाका अध्यक्षहरुले प्राप्त गरेको मतको आधारमा यो क्षेत्रमा रामशरण महतको भन्दा हितबहादुर तामाङको मत १४ हजार ३ सय १० बढी देखिएको छ ।
रामशरण महत र हितबहादुर तामाङ बीचको यो प्रतिस्पर्धा तेश्रो पटकको हो । पहिलो संविधान सभामा निर्वाचनमा तामाङ महतसति १ सय ४ मतले हारेका थिए । त्यस्तै दोश्रो संविधान सभा निर्वाचनमा झण्डै ३५ सय मतान्तरमा तामाङले हारेका हुन् ।
यसै बीच, नुवाकोटको क्षेत्र नम्वर २ मा काँग्रेसमाका प्रभावशाली मानिने नेता अर्जुननरसिंह केसी र नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाबीच प्रतिस्पर्धा हुने छ । अन्तरपार्टी सम्वन्ध राम्रो बनाएका र जिल्लातहमा प्रभावशाली नेताका रुपमा स्थापित भएका नारायणप्रसाद पाण्डेसंगको प्रतिस्पर्धा काँग्रेसका पुराना नेता अर्जुननरसिंह केसीलाई फलामको चिउरा सरह बन्ने देखिएको छ ।

काँग्रेसका जगदीश्वरनरसिंह केसी
स्थानीय तह निर्वाचनमा क्षेत्र नं. २ मा काँग्रेस, एमाले र माओवादीका गाउँपालिका नगरपालिका अध्यक्ष÷प्रमुखले पाएको मतको आधारमा पनि केसी र खतिवडाबचि निक्कै मतको अन्तर देखिएको छ ।
क्षेत्र नं. २ मा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउपालिका, विदुर नगरपलिका, मेघाङ गाउपालिका र किस्पाङ गाउपालिका पर्छन् । स्थानिय तहमा तीन पार्टीका अध्यक्ष÷प्रमुखले प्राप्त गरेको मत परिणामलाई जोडने हो भने यो क्षेत्रमा काँग्रेसको २१ हजार ४ सय ६६, एमालेको २३ हजार ८ सय २२ र माओवादी केन्द्रको १५ हजार ५ सय मत रहेको छ । यो क्षेत्रमा एमाले एउटैको काँग्रेसको भन्दा २ हजार ३ सय ५६ मत वढी छ । एमाले माओवादीले चुनावी गठवन्धनका कारण थप हुने मत सहित अर्जुननरसिंह केसी भन्दा नारायणप्रसाद खतिवडाको मत १७ हजार ८ सय ५६ ले बढी देखिएको छ ।
क्षेत्र नं. २ मा रहेको बेलकोटगढी नगरपालिकामा एमालेको ६६ सय ४३, माओवादीको ६३ सय ५१ र काँग्रेसको ४९ सय ४२ मत रहेको थियो । तारकेश्वरमा एमालेको ३६ सय १४, काँग्रेसको २६ सय ८८, माओवादीको १२ सय ३७, विदुर नगरपालिकामा एमालेको ९७ सय १६, काँग्रेसको ८७ सय ४० र माओवादीको ४७ सय ३६ मत रहेको छ । स्थानीय तह निर्वाचनमा अध्यक्षले पाएको मतको आधारमा मेघाङ गाउपालिकामा काँग्रेसको २५ सय २८, एमालेको २१ सय ८७ र माओवादीको १५ सय ५६ मत रहेको छ । त्यस्तै, किस्पाङ गाउपालिकामा काँग्रेसको २५ सय ६८, एमालेको १६ सय ६५ र माओवादीको १६ सय २० मत रहेको छ ।

एमालेका केशव पाण्डे
ई दलको मत एकातिर हुँदा संख्याको हिसावले नुवाकोटमा काँग्रेसका उम्मेदवार कमजोर देखिएका छन् । त्यसो त, नुवाकोटमा विगत देखि नै महत र केसी पक्षमा काँग्रेस विभाजित छ । एकले अर्काे पक्षको अस्तित्व स्वीकार्न नचाहने कारण पनि काँग्रेसलाई आन्तरिक चुनौती पनि उत्तिकै रहेको काँग्रेसकै नेताहरुको भनाई रहेको छ ।
उम्मेदवारी सिफारिसकै क्रममा क्षेत्रिय समिति र जिल्ला समितिले केन्द्रमा फरक फरक नाम सिफारिस गरेकोले पनि काँग्रेसमा गुटवन्दी झनै मौलाएको एक जिल्ला सदस्यले बताएका छन् । उनका अनुसार स्थानीय तह निर्वाचनमा अन्तरघात गरेकाहरुलाई पार्टीले कारबाही गर्न नसकेको र जिल्ला सभापति देखि नै अन्र्तघातीको सूचीमा परेकोले त्यसको असर चुनावमा प्रष्ट देखिने छ । अझ केसी दाजुभाई र महतको काका भतिजले टिकट पाएपछि नुवाकोटको पुराना काँग्रेसमा वितृष्णा बढेको छ । पारिवारिक घेराबाट काँग्रेस मुक्त हुन नसकेको भन्दै काँग्रेस कार्याकर्ताहरुले पार्टीको हारको कारण यो पनि बन्ने बताएका छन् ।
नुवाकोटमा यस अघि निर्वाचित भएका काँग्रेसका केन्द्रिस सदस्य बहादुरसिंह लामालाई समानुपातीको सूचीमा राखिएको छ । अर्का प्रभावशाली नेता डा. प्रकाशशरण महतलाई काठमाडौंको क्षेत्र नं. ५ बाट उठाउने तयारी गरिएको छ ।

२२ हजार मतदाता थपिए
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नुवाकोटमा स्थानीय तहको निर्वाचनको भन्दा २२ हजार मतदाता थपिएका छन् ।
वैशाख ३१ को स्थानीयतहको निर्वाचनमा एक लाख ८५ हजार ७ सय ८२ जना मतदाता रहेकोमा मंसिर १० को चुनावको लागि दुई लाख आठ हजार १ सय ९१ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

माओवादी केन्द्रका हिरानाथ खतिवडा
स्थानीय तहको निर्वाचन पछि चार महिनामा जिल्ला प्रशासन, निर्वाचन कार्यालय र स्थानीयतहको केन्द्रदेखि वडा कार्यालयसम्म सञ्चालन भएको घुम्ती सेवा शिविरबाट २२ हजार ४ सय ९ जना मतदाता थप भएको निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनु भएको छ ।
जिल्लामा मतदाता बृद्धि भएसँगै मतदान केन्द्र समेत बढेको छ । स्थानीय तहको निर्वाचनमा १ सय २९ मतदानस्थलमा २ सय ४० मतदान केन्द्र निर्धारण भएकोमा अहिले मतदान स्थल साविक राखेर केन्द्र भने २० वटा थप गरी २ सय ६० पु¥याइएको हो ।
एक मतदान केन्द्रमा एकहजार मतदाता मात्र समावेश गर्ने भएकाले २२ हजार मतदाता थपिएपछि २० मतदान केन्द्र वृद्धि गर्न निर्वाचन आयोग मार्फत स्वीकृति लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नुवाकोटका आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि क्षेत्र नं १ मा एक लाख पाँच हजार २ सय ८७ जना र क्षेत्र नं २ मा एक लाख दुई हजार ९ सय ४ जना मतदाता रहेका छन् ।

काँग्रेसका जगतबहादुर तामाङ
यस्तै, प्रतिनिधिसभाको क्षेत्र नं १ को प्रदेशसभा १ मा ५२ हजार एक जना मतदाता रहेका छन् । क्षेत्र नं. २ मा ५३ हजार २ सय ८६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ मा मतदाता ५१ हजार ६ सय ४९ जना र प्रदेश सभा २ मा ५१ हजार २ सय ५५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

Sunday, October 15, 2017

नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण सुरु

विदुर । डिभिजन सडक कार्यालय नुवाकोटले ४० किलोमिटर लामो दुईलेनको सडक (लोकसञ्चार मार्ग) निर्माण सुरु गरेको छ । झन्डै डेढ अर्ब रुपैयाँ लागत लाग्ने उक्त सडकको पहिलो खण्डको दश किलोमिटर सडकको शुक्रबारदेखि निर्माण सुरु भएको हो । डीपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डको लागि ५० करोड ८५ लाख रुपैयाँ लाग्ने उल्लेख गरिए पनि सवा २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
जिलिङ्गको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धादिङ्गको धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक तीन खण्डमा निर्माण पूरा हुने छ । सडक कार्यालय नुवाकोटका अनुसार पहिलो खण्ड जिलिङ्गको सिमखेत बालुवाखानीदेखि केउरिनी हुँदै हर्रेसम्म र दोस्रो खण्ड हर्रेदेखि कुमरीको बाह्रबीसेको कोल्पुखोला पुलसम्म हुनेछ । कोल्पुखोलाको पुलदेखि धार्केसम्मको तेस्रो खण्डको काम भने डिभिजन सडक कार्यालय भरतपुर चितवनले गर्ने छ । 
राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रम नामको रेडबुकमा आर्थिक वर्ष २०७३÷०७४ देखि समावेश भएको उक्त आयोजना सम्भावित रणनीतिक सडक शीर्षकमा समावेश छ । बजेट उप शीर्षक नम्बर ३३७३३५ भएको पी वानको उक्त सडकको शुक्रबार जिलिङको पाँचखलेमा आयोजित एक कार्यक्रममा डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले निर्माणको शुभारम्भ गर्नुभयो । निर्वाचन आचारसंहिता लागू भएको कारण राजनीतिक दलका नेता तथा मन्त्रीहरुलाई नबोलाई सडक कार्यालय आफैंले काम सुभारम्भ गरेको हो ।
लोकसञ्चार मार्गको पहिलो चरणको सिमखेत–केउरिनी–हर्रे खण्डको ९ किलोमिटर ९ सय मिटर सडक कालोपत्रेमा स्तरोन्नति गर्न स्वच्छन्द÷वल्र्डवाईड÷अमृत जे.भी. नामको काठमाडौंमा दर्ता भएका तीनवटा ठेकेदार कम्पनीले संयुक्त रुपमा २४ करोड, २८ लाख ८४ हजार ३ सय ६१ रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् । पहिलो खण्डको कालो पत्रेसम्मको काम ठेकेदार कम्पनीले २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि दुई वर्षमै सक्ने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयले उक्त सडकको पहिलो खण्डलाई ५० करोड ८५ लाख रुपैयाँको काम बहुवर्षीय ठेक्काबाट गर्न २०७३ साल मंसिर २७ गते सहमति दिएको थियो । ठेक्काको प्रक्रिया लामो भएको कारण गत असार मसान्तमा मात्र ठेकेदार कम्पनीसँग सडकले सम्झौता गरेको थियो । सम्झौता गरे लगत्तै वर्षायाम सुरु भएको कारण असोजमा मात्र सडकको स्तरोन्नति सुरु गरिएको हो । अर्थले दिएको भन्दा आधा रकममा ठेक्का सम्झौता भएको कारण बाँकी पैसाको दोस्रो खण्डको ठेक्का आव्हान सडकले चाँडै नै गर्ने तयारी गरेको छ ।  
दोस्रो चरणमा हर्रे–बाह्रबीसे (कुमारीको कोल्पुखोला पुल) खण्डमा सडक विभागले गरेको डीपीआरको प्रारम्भिक रिपोर्टमा १ अर्ब ५ करोड ६६ लाख २७ हजार २ सय ३ रुपैयाँ ५२ पैसा बजेट लाग्ने उल्लेख गरिएको छ । उक्त रिपोर्टमा केही संशोधन भई रकम थप÷घट हुन सक्ने अनुमान सडक विभागले गरेको छ । उक्त खण्डको डीपीआर सडक विभागले कन्सल्टेन्सी लगाएर गरेको हो । यो सडकको जिलिङदेखि धार्केसम्मकै डीपीआर भने तयार भइसकेको छ ।
लोकसञ्चार मार्ग रसुवागढी–गल्छी सडकको नुवाकोट जिल्लाको हालको बेलकोटगढी नगरपालिका–८ सिमखेत बालुवाखानीबाट सुरु भएर पुरानो जिलिङ गाविस भवनहुँदै केउरिनी हर्रे, बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोर हुँदै कुमरीबाट निर्माणाधीन बाह्रबिसेको मोटरेवल पुलबाट धादिङको आचार्य पोखरीबाट पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको मिलनबिन्दु नजिक नौबिसेमा पृथ्वीराजमार्गमा जोडिने छ । यो सडक त्रिभुवन राजपथबाट तराईसँग जोडिने हुनाले यसको निर्माण पूरा भएपछि पृथ्वीराजमार्गमा समस्या आए पनि नेपालको तराईबाट सिधैं रसुवागढीसम्म र रसुवागढीबाट सिधै तराईसम्मको व्यापार तथा आवागमनमा सहजता प्रदान गर्ने छ । सोही कारण यो सडकलाई वैकल्पिक राजमार्गको रुपमा हेरिएको छ । साथै उक्त सडक निर्माणले नुवाकोट र धादिङका कयौं गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
सडक निर्माणको शुभारम्भ गर्दै सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले उक्त सडक महत्वपूर्ण भएकाले निर्माण कम्पनीलाई ढिला नगरी काम गर्न आग्रह गर्नुभयो । साथै उनले सडक कार्यालय र ठेकेदारको पहलमा मात्र सडक निर्माण पूरा हुन समस्या पर्ने भएको भन्दै स्थानीय बासिन्दा र जनप्रतिनिधिलाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रमुख शाक्यले सडक नै सम्पूर्ण विकासको मेरुदण्ड भएकाले त्यही अनुसार सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बेलकोटगढी नगरपालिका–८ का वडा अध्यक्ष भोजप्रसाद पुडासैनीले आफू र नगरपालिकाले सडक निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सञ्चारकर्मी रामप्रसाद पुडासैनीले यातायातको विकास नै सम्पूर्ण विकासको आधार भएकाले सडक निर्माणको काममा सहयोग गर्न सबैसँग अपील गर्नुभयो ।