Monday, August 07, 2017

६७ सयसंग घर बनाउन जग्गा छैन

कपिलदेव खनाल
विदुर÷नुवाकोट जिल्लाका विस्थापित तथा जोखिमयुक्त वस्ती र विस्थापित शिविरमा बसोबास गरेका परिवारलाई यथासक्य पुनर्वासको प्रक्रियामा अघि बढाइनु पर्ने यस क्षेत्रमा कार्यरत संस्थाहरूले जनाएका छन् ।
    गत १२ बैशाख २०७२ मा गएको  विनाशकारी भूकम्पले नुवाकोट जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको थियो । यस जिल्लामा १११२ जना मानिसको मृत्यु भएको थियो । सरकराले नै तयार गरेको विवरण अनुसार नुवाकोट जिल्लाका ९५ प्रतिशत घरहरू पूर्ण क्षतिभएका छन् ।
    मुख्य गरी प्रकोपसँग सम्बन्धित समस्या भोग्न बाध्य परिवारको पुनर्निर्माण र पुनस्र्थापनाको पक्षमा स्थानीय तथा राष्ट्रिय सरकार, अन्तर्राष्ट्रिय समुदाय, गैरसरकारी संघ संस्थाहरू र निजी क्षेत्रसँग समन्वय गरी पुनर्निर्माणमा सहयोग गर्दा पनि विनाशकारी भूकम्प पछिको पुनर्निर्माणमा ढिलाई हुँदा बस्तीको पुनर्निर्माणले तिव्र गतिलिन नसकेको सामुदायिक आत्म निर्भर सेवा केन्द्र (सिएसआरसी) नुवाकोटले जनाएको छ । जिल्लाको पुनर्निर्माणको अवस्थाले गति लिन नसक्दा भूकम्प प्रभावितको परिवारको अवस्था दयनियबन्दै गइरहेको केन्द्रका जिल्ला अभियान अधिकृत भोला बस्नेत बताउनुहुन्छ ।
    भूकम्पको मारमा अझ बढी सानाकिसान, सुकुमबासी, ग्रामीण किसान, दलित र भूमिहीन परेको केन्द्रले जनाएको छ । उनीहरूसँग आफ्नो बासथलो निर्माण गर्न सक्ने क्षमता नभएको, आर्थिक हैसियत कमजोर रहेको छ । २८ महिनासम्ममा पनि जोेखिमयुक्त बस्ती र विस्तापित परिवारको पक्षमा पुनर्वासको प्रक्रिया अघि बढ्न नसकेको भन्दै केन्द्रले चिन्ता ब्यक्त गरेको छ ।
    सामुदायिक आत्म निर्भर सेवा केन्द्र (सिएसआरसी) नुवाकोटका जिल्ला अभियान अधिकृत भोला बस्नेतका अनुसार पुनर्निर्माण गर्दा पहिलो प्राथमिकतामा भूमिहीन, सुकुम्बासी, दलित, महिला किसान, ग्रामीण किसानहरूलाई राख्नुपर्ने छ ।
    यस्तै, नुवाकोट जिल्लाको साविकको विकट गाविस लच्याङ्ग, घ्याङ्फेदी, शिखरबेसी, गोस्र्याङ, चारघरे, खड्भञ्ज्याङ, रातमाटे, जिलिङ, दुईपीपल, गणेशस्थान, गेर्खु लगायतमा ६ हजार ७ सय २३ परिवारसँग आफ्नो नाममा जग्गा धनी पुर्जा नरहेको बताइएको छ ।  पुर्जा नभए पनि कतिपयले सम्झौता भएर पनि आफ्नो नाममा सुरक्षित घर बनाउने जमिन नभएकोले घर बनाउन नसकेको बस्नेतलले जानकारी दिनुभयो । ‘धेरै परिवारसँग पुर्जा नभएकै कारण सम्झौता हुन सकेको छैन’ उहाँले भन्नुभयो ।
    भूकम्पपछि अति जोखिम स्थानहरूका केही नागरिकहरूले राहत पाएपनि उनीहरूले सुरक्षित जमिनको अभावमा घर निर्माण सुरु नगरेको बताइएको छ । जसमा लच्याङको २१, साल्मेको ४, किम्ताङको ६०, कल्याणपुरको १५, उर्लेनीको ७७, महाकालीको २३, घ्याङ्फेदीको ७२, गोरस्र्याङको ६, कुमारी २४ रहेको छ ।
    यसै बीच, नुवाकोटको जोखिम बस्तीबाट तथा भूकम्पबाट प्रभावितभई सुरक्षित स्थानखोजी गरी छिमेकी जिल्ला रसुवा, धादिङ र सिन्धुपाल्चोकबाट पनि नुवाकोटका नागरिकमा बसोवास रहेको सामुदायिक आत्म
निर्भर सेवा केन्द्र (सिएसआरसी) नुवाकोटले जनाएको छ । केन्द्रका जिल्ला अभियान अधिकृत भोला बस्नेतका अनुसार मनाकामनाको शान्तिबजारमा रसुवाका विस्थापित २६ जना, किम्ताङको कालाञ्चिटोलमा किम्ताङको पहिरो पीडित २१ जना, बेतिनीको गोल्फुभञ्याङमा स्थानीय ८३ परिवार, पिपलटारको इनारपाटीमा रसुवावाट विस्थापित ८३ परिवार, विदुरको सिम्मुटारमा नुवाकोट र रसुवाका गरी १२१ परिवारको अस्थायी बसोवास रहेको छ ।
    त्यस क्षेत्रमा २८ महिनादेखि अस्थायी रुपमा बस्दै आएइकोहरूमा रसुवाको हाकुका ४५ परिवार, नुवाकोट भाल्चेका १८ परिवार, लच्याङका १७ परिवार, देउरालीका ५ परिवार, किम्ताङका ४, मनाकामनाका २, चारघरेको १, बुङताङको १, गेर्खुका ३, सामरीका २, काहुलेको १, नर्जामण्डपका २, विदुर नगरपालिकाकै २ घरपरिवार रहेका छन् ।
    सामुदायिक आत्म निर्भर सेवा केन्द्र (सिएसआरसी) नुवाकोटका अनुसार बेत्रावटीको सातबिसेमा ३० घरपरिवार रसुवाबाट सरेर बसोबास गरिरहेका छन् । उनीहरूको तत्काल घर बनाउने सुरक्षित जमिन नभएसम्म पुरानो शिविर नछाड्ने मनस्थितिमा रहेको बुझिएको छ । ‘यी परिवार शिविरमा बसोबास गरिरहनुपर्दा धेरै समस्याहरू भोग्न बाध्य छन्, केन्द्रका जिल्ला अभियान अधिकृत भोला बस्नेत भन्नुहुनछ– ‘यस्ता समस्यामा भएको परिवारलाई सुरक्षित स्थानमा पुनर्वास गर्न गराउनका लागि पहल तथा सहजीकरण गरिनु आवश्यक देखिएको छ ।’

No comments:

Post a Comment