Saturday, September 09, 2017

नुवाकोटमा बङ्गुरको संख्या १४ हजार मात्र

राजु रिमाल
विदुर, भदौ २४ गते । नुवाकोट जिल्लामा किसानहरुले व्यवसायी रुपमा पालन गरेको बङ्गुरको संख्या १४ हजार रहेको छ ।
    आज विदुरमा आयोजित एक कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय नुवाकोटका पशु विकास अधिकृत डा. चन्द्रविक्रम कुँवरले उक्त सरकारी रेकर्डमा रहेको बताउनुभएको छ । त्यसमा अधिकांश स्थानीय प्रजातीको रहेको पनि बताइएको छ । बङ्गुर पालन गर्न चाहाने किसानहरुले तयार गरेको फर्म मध्ये ६२ वटा कार्यालयमा दर्ता समेत भएको उहाँले बताउनुभयो ।
    मासुको लागि पालिने बङ्गुरबाट निम्न आयस्तर भएको नागरिकहरुको उत्थान हुने भन्दै सरकारले सहकारी मार्फत् पनि बङ्गुर पालनमा रकम अनुदान दिँदै आएको छ । 
    खाद्य सुरक्षा र आय आर्जनका लागि बङ्गुर पालन कार्यक्रम अन्र्तगत कार्यक्रम सञ्चालन गर्दै आएको एक सहकारी संस्थाले आफ्नो संस्थाले गरेको गतिविधिलाई सार्वजनिक गरेको छ । अग्रसर कृषि सहकारी संस्था लिमिटेड सुर्यगढी गाउँपालिका वडा नं. ३ फलाटेले कार्यक्रमको आयोजना गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष निशा अधिकारीका अनुसार उक्त संस्थाले दुई वर्षदेखि बङ्गुर पालनका लागि कृषकहरुलाई अनुदान दिँदै आएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरवारद्धारा प्राप्त रकमलाई जिल्लाका विभिन्न ठाउँहरुमा परिचालन गरिउको बताइएको छ ।
संस्थाका अध्यक्ष निशा अधिकारीका अनुसार हालसम्ममा १ सय २० जनालाई दुई दुई वटा बङ्गुर र खोर गरेर ३० लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ । बागेश्वरी, खानीगाउँ र गेर्खुका ४०÷४० कृषहरुलाई अनुदान रकम प्रदान गरेको उहाँले बताउनुभयो । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरवारले अब एक वर्ष कृषहरुलाई अनुदानका लागि रकम पठाउने र उक्त रकम विभिन्न समुदायमा प्रदान गरिने संस्थाले जनाएको छ । 

No comments:

Post a Comment