Saturday, September 09, 2017

सात जनाको मृत्यु, २९ जना घाइते, तीन जनाको अवस्था गम्भिर


कपिलदेव खनाल

नुवाकोट, भदौ २४ गते । काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक छ ।

      मृत्यु हुनेहरुमा नर्जामण्डपका ६७ वर्षिया ठूलीमाया तामाङ, नर्जामण्डपकै ४५ वर्षिया लक्ष्मी न्यौपाने, विदुर नगरपालिका वडा नं. ९ जफतीकी २१ वर्षिया शशी बोगटी, रालुकादेवीका २२ बर्षिया सविता तामाङ रहनुभएको छ । त्यस्तै ठेगाना नखुलेको ५७ वर्षिया लालबहादुर तामाङ र ३७ वर्षिया उजेली मिजारको पनि मृत्यु भएको छ । बसका सहचालक तादी गाउँपालिका सातविसेका नवराज विकको पनि उपचारको क्रममा अस्पालमा नधिन भएको प्रहरी नायव उपरिक्षक मधुकरजङ्ग विष्टले जानकारी दिनुभयो ।   

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार २८ जना घाइते भएका छन् । उनीहरुको ग्राण्डी, ग्रीनसिटी, वीर अस्पताल र टिचिङ्गमा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गीम्भर रहेको प्रहरी उपरिक्षक बीरेन्द्रकुमार बस्यालले जानकारी दिनुभयो । घाइते मध्ये ८ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये नविन श्रेष्ठ र सरस्वती गिरीको आईसीयूमा र अन्यको हाई केयर युनिटमा उपचार भइरहेको छ । अन्य घाइतेको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

      दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जनाको काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको छ । दुई जनाको भने उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं नयाँ बसपार्कबाट बिहान साढे नौं बजे नुवाकोटको खरानीटारको लागि गुडेको बा १ ख ६३४८ नम्वरको बस नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ७ गुरुङ्गगाउँमा दिउँसो १२ बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक मधुकरजङ्ग विष्टका अनुसार तीन सय मिटर तल खसेको बसले एउटा घर समेत भत्काएको छ । भत्किएको घरले थिचेर घरधनी सीता तामाङ समेत घाइते हुनुभएको छ ।  

घटनास्थलमै मृत्यु भएका लक्ष्मी न्यौपाने, ठूलीमाया तामाङ र शशी बोगटीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल त्रिशुली ल्याइदै छ । अन्य चार जनाको शब काठमाडौं स्थित हस्पिटलमा रहेको प्रहरीले जनाएको छ ।

यसै बीच, त्रिशुली नदीमा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् । विदुर नगरपालिका वडा नं. ५ देविघाटबाट बेल्कोटगढी नगरपालिका वडा नं. २ कुमरीका टिकाराम तामाङलाई बगाएको हो ।

      जालपादेवी मन्दिर नजिकै त्रिशुली खोलामा कुमरीका पाँच जना युवा नुहाउने क्रममा तामाङलाई बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कुमरीका सन्तोष नेपाली, निरोध नेपाली, इन्द्र नेपाली र विक्रम नेपाली भने सकुल रहेका छन् । पाँच जना निहाउन गएका मध्ये टिकाराम तामाङलाई खोलाले बगाएपछि उनीहरुले उद्धारको प्रयास गरेका थिए ।

तत्कालै घटनास्थल पुगेको देविघाट प्रहरीले पनि उद्धार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक मधुकरजंग विष्टले जानकारी दिनुभएको छ । त्रिशुली नदीमा वेपत्ता भएका तामाङको खोजी कार्य भईरहेको छ ।

No comments:

Post a Comment