Sunday, October 22, 2017

नुवाकोटमा को को भिड्दैछन् ?


कपिलदेव खनाल, नुवाकोट
काँग्रेसका डा. रामशरण महत
मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ठूला दलहरुले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ । नेपाली काँग्रेस र बाम गठबन्धनबाट नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङ्गो लगाएको हो । काँग्रेसमा अर्जुननरसिंह केसी र उनको भाई जगदीश्वरनरसिंह केसी, डा. रामशरण महत र उनका भतिज रमेशकुमार महतले उम्मेदवारी दिने भएका छन् ।
    प्रतिनिधि सभाको लागि नुवाकोटमा रहेको दुई वटा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट केन्द्रिय सदस्यहरु डा. रामशरण महत र अर्जुननरसिंह केसी चुनावी मैदानमा आउने भएका छन् । जस अनुसार नुवाकोटको क्षेत्र नं. १ मा पुर्व अर्थमन्त्री डा. रामशरण महत र क्षेत्र नं. २ मा पुर्व शहरी विकास मन्त्री अर्जुननरसिंह केसी उठ्ने छन् ।
    नेकपा एमाले र माओवादी केन्द्रले भने यो पटकको चुनावमा तालमेल गरेको छ । प्रतिनिधि सभामा एमाले र माओवादीको एक÷एक जना उम्मेदवार र प्रदेश सभामा दुई÷दुई जना उम्मेदवार भाग लगाएर लिएको छ । जस अनुसार नुवाकोटको क्षेत्र नं. १ माओवादी केन्द्रलाई र क्षेत्र नं. २ नेकपा एमालेलाई भाग लगाइएको छ ।

माओवादी केन्द्रका हितबहादुर तामाङ
क्षेत्र नं. १ मा पुर्व खेलकुल मन्त्री हितबहादुर तामाङ र क्षेत्र नं. २ मा नेकपा एमाले नुवाकोट अध्यक्ष नारायणप्रसाद खतिवडा उम्मेदवार बन्ने छन् ।
    प्रदेश सभा अन्र्तगत क्षेत्र नं. १ को क मा माओवादी केन्द्रका राधिका तामाङ, ख मा एमालेका बद्री मैनाली, क्षेत्र नं. २ को क मा एमालेका केशव पाण्डे र ख मा माओवादी केन्द्रमा हिरानाथ खतिवडाको उम्मेदवारी पर्नेछ ।
    नेपाली काँग्रेसले नुवाकोटको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा क मा महेन्द्र थिङ्ग, ख मा रमेशकुमार महतलाई अघि सारेको छ । क्षेत्र नम्वर २ को प्रदेश सभा क मा जगदिश्वरनरसिंह केसी र ख मा जगतबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।
    यसरी हेर्दा क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि काँग्रेसका डा. रामशरण महत र बमगठबन्धनका तर्फबाट माओवादी केन्द्रमा हितबहादुर तामाङ बीच चुनावी प्रतिस्पर्धा हुँदै छ । उनीहरु बीचको यो तेश्रो पटकको प्रतिस्पर्धा हो । दुई वटै संविधान सभा चुनावमा हितबहादुर तामाङ काँग्रेसका डा. महतसंग झिनो मतले पराजित भएका थिए ।

काँग्रेसका अर्जुननरसिंह केसी
यता क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका अर्जुननरसिंह केसी र बाम गठवन्धनका तर्फबाट एमालेका नारायणप्रसाद खतिवडा बीच प्रतिस्पर्धा हुनेछ ।
    प्रदेश सभा निर्वाचनमा भने १ को क मा नेपाली काँग्रेसका महेन्द्र थिङ्ग र बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका राधिका तामाङले प्रतिस्पर्धा गर्दैछन् । १ को ख मा काँग्रेसका रमेशकुमार महत र बाम गठवन्धनको तर्फबाट एमालेका बद्री मैनाली बीच प्रतिस्पर्धा हुँदैछ ।
    प्रदेश सभा निर्वाचनमा २ को क मा काँग्रेसका जगदिश्वरनरसिंह केसी र बाम गठवन्धनबाट एमालेका केशब पाण्डेबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै २ को ख मा काँग्रेसका जगतबहादुर तामाङ र बमगठबन्धनको तर्फबाट माओवादी केन्द्रका हिरानाथ खतितवडाको प्रतिस्पर्धा हुने देखिएको छ ।
एमालेका नारायणप्रसाद खतिवडा

काँग्रेस ३२ हजार मतले पछाडी
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको चुनावी सरगर्मी बढ्दै जाँदा नुवाकोटमा निर्वाचन जित्ने पार्टी र उम्मेदवारहरुको आँकलन सुरु भएको छ । कुनै सयम जिल्लामा प्रभावशाली मानिने राप्रपा लगायतका अन्य केही साना राजनीतिक दल अस्तित्वका लागि मात्र नगन्य अवस्थामा देखा परेपनि निर्वाचनमा मुख्य तीन पार्टी नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रकै प्रभाव रहने देखिएको छ ।
राष्ट्रिय राजनीतिमा समेत प्रभाव जमाउन सक्ने काँग्रेसको ‘हेब्भीवेट’का नेता डा. रामशरण महत र अर्जुननरसिंह केसी यस जिल्लाबाट पहिला पनि जनप्रतिनिधी रहेका कारण नुवाकोटमा काँग्रेसलाई बलियो शक्तिका रुपमा राजनीतिक वृत्तमा बुझ्ने गरिएको छ । तर, काँग्रेसको अघिल्ला निर्वाचनमा भन्दा पछिल्ला निर्वाचनमा लगातार घट्दो मत परिणाम र एमाले तथा माओवादीको बढ्दो मत परिणामका कारण काग्रेसलाई नुवाकोटमा चुनौती बढेको छ । अझ एमाले र माओवादी केन्द्रले गरेको चुनावी तालमेलका कारण काँग्रेसलाई कमजोर रहेको विश्लेषण पनि गरिएको छ ।

काँग्रेसका रमेशकुमार महत
काग्रेसले अघिल्लो संविधानसभामा भन्दा ३१ बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा समग्र जिल्ला भरीमा पार्टीको मत परिणाम घटाएको छ । नुवाकोटका दुई नगरपािलका र १० वटा गाउपालिका गरि १२ वटा स्थानिय तह रहेका छन् । स्थानिय तह निर्वाचनमा गाँउ तथा नगरपालिकाका अध्यक्ष तथा प्रमुखहरुले प्राप्त गरेको मत जोड्दा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन परिणाम बामगठवन्धनसंग यसपटक निर्वाचनमा जुध्न काँग्रेसलाई फलामको चिउरा चपाउनु सरह हुने देखिएको छ ।
स्थानीय तह निर्वाचनमा नुवाकोट जिल्लामा ४४ हजार १ सय १८ मत सहित काँग्रेस पहिलो, ४२ हजार १२ मत सहित नेकपा एमाले दोस्रो र ३४ हजार २ सय ७८ मत सहित माओवादी केन्द्र तेश्रो स्थानमा छन् ।

एमालेका बद्री मैनाली
संविधानसभा निर्वाचनमा भन्दा एमालेले स्थानिय तह निर्वाचनमा मत परिणाम बढाएको छ । यस अगाडीको संविधान सभा निर्वाचन नतिजा हेर्दा काँग्रेस पहिलो, माओवादी दोश्रो र एमाले तेश्रो शक्तिको रुपमा रहेको थियो । त्यस वेला तीन वटा निर्वाचन क्षेत्र रहेको नुवाकोट जिल्लाका तीन ओटै क्षेत्रमा काँग्रेसले जितेको थियो ।
तर अहिले प्रतिनिधीसभामा दुई ओटा निर्वाचन क्षेत्र कायम भएको छ भने प्रदेश सभाका लागि चार वटा क्षेत्र नुवाकोटमा छ । यहाँ प्रतिनिधि सभाका लागि एमाले र माओवादीले एक÷एक वटा क्षेत्र र प्रदेश सभामा दुई÷दुई वटा क्षेत्र बाँडफाँड गरेर निर्वाचन लडदैछन् ।
प्रतिनिधिसभाका लागि नुवाकोट क्षेत्र नम्वर १ मा अहिले शिवपुरी, दुप्चेश्वर, पञ्चकन्या, तादी, सूर्यगढी, लिखु र ककनी गाउपालिका पर्छन् । स्थानिय तह निर्वाचन परिणाममा यी स्थानीय तहका अध्यक्षले प्राप्त गरेको मत परिणामलाई हेर्दा यो क्षेत्रमा काँग्रेसले २२ हजार ६ सय ५२ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले १८ हजार ७ सय ७८ मत पाएको छ । एमालेले १८ हजार १ सय ८४ मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रका राधिका तामाङ
त्यस अन्र्तगत, शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसले ३८ सय १८, नेकपा एमालेले ३५ सय ३२ र माओवादी केन्द्रले २४ सय १३ मत पाएका थिए । दुप्चेश्वर गाउँपालिकामा नेपाली काग्रेसले ३७ सय १४, माओवादी केन्द्रले ३३ सय ३ र नेकपा एमालेले २२ सय ३९ मत ल्याएको थियो ।
नुवाकोटको क्षेत्र नं. १ मा नै रहेको पञ्चकन्या गाउँपालिकामा माओवादीले २९ सय ६२, काग्रेस २८ सय ५४ र एमालेले २ हजार २६ मत पाएको थियो । तादी गाउपालिकामा काँग्रेसको ३ हजार ९०, एमालेको २७ सय ३७ र माओवादीको २३ सय ६५ मत स्थानीय तह निर्वाचनमा रहेको छ ।
सूर्यगढी गाउपालिकामा काँग्रेसले ३२ सय, एमालेले २३ सय ८५ र माओवादीले १८ सय ५४ मत ल्याएको छ ।  उता, लिखु गाउपालिकामा काँग्रेसले २४ सय २५, एमालेले १८ सय ६२ र माओवादीले १३ सय ४७ मत पप्त गरेको थियो । ककनी गाउपालिकामा माओवादीले ४५ सय ३४, काँग्रेसले ३५ सय ५१ र एमालेले ३४ सय ३ मत प्राप्त गरेको थियो ।

काँग्रेसका महेन्द्र थिङ्ग
नुवाकोट क्षेत्र नं. १ मा मंसिर १० गतेको प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसबाट डा. रामशरण महत र माओवादी केन्द्रबाट हितवहादुर तामाङले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।  केन्द्रीय तहमै एमाले माओवादीबीच चुनावी तालमेल भएकोले यो क्षेत्रमा एमालेले माओवादी उम्मेदवार तामाङलाई सघाउनेछ । काँग्रेसको २२ हजार ६ सय ५२ मत र एमाले माओवादी गठवन्धनको ३६ हजार ९ सय ६२ मत हुने देखिन्छ । स्थानीय तह निर्वाचनमा गाउँपालिकाका अध्यक्षहरुले प्राप्त गरेको मतको आधारमा यो क्षेत्रमा रामशरण महतको भन्दा हितबहादुर तामाङको मत १४ हजार ३ सय १० बढी देखिएको छ ।
रामशरण महत र हितबहादुर तामाङ बीचको यो प्रतिस्पर्धा तेश्रो पटकको हो । पहिलो संविधान सभामा निर्वाचनमा तामाङ महतसति १ सय ४ मतले हारेका थिए । त्यस्तै दोश्रो संविधान सभा निर्वाचनमा झण्डै ३५ सय मतान्तरमा तामाङले हारेका हुन् ।
यसै बीच, नुवाकोटको क्षेत्र नम्वर २ मा काँग्रेसमाका प्रभावशाली मानिने नेता अर्जुननरसिंह केसी र नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाबीच प्रतिस्पर्धा हुने छ । अन्तरपार्टी सम्वन्ध राम्रो बनाएका र जिल्लातहमा प्रभावशाली नेताका रुपमा स्थापित भएका नारायणप्रसाद पाण्डेसंगको प्रतिस्पर्धा काँग्रेसका पुराना नेता अर्जुननरसिंह केसीलाई फलामको चिउरा सरह बन्ने देखिएको छ ।

काँग्रेसका जगदीश्वरनरसिंह केसी
स्थानीय तह निर्वाचनमा क्षेत्र नं. २ मा काँग्रेस, एमाले र माओवादीका गाउँपालिका नगरपालिका अध्यक्ष÷प्रमुखले पाएको मतको आधारमा पनि केसी र खतिवडाबचि निक्कै मतको अन्तर देखिएको छ ।
क्षेत्र नं. २ मा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउपालिका, विदुर नगरपलिका, मेघाङ गाउपालिका र किस्पाङ गाउपालिका पर्छन् । स्थानिय तहमा तीन पार्टीका अध्यक्ष÷प्रमुखले प्राप्त गरेको मत परिणामलाई जोडने हो भने यो क्षेत्रमा काँग्रेसको २१ हजार ४ सय ६६, एमालेको २३ हजार ८ सय २२ र माओवादी केन्द्रको १५ हजार ५ सय मत रहेको छ । यो क्षेत्रमा एमाले एउटैको काँग्रेसको भन्दा २ हजार ३ सय ५६ मत वढी छ । एमाले माओवादीले चुनावी गठवन्धनका कारण थप हुने मत सहित अर्जुननरसिंह केसी भन्दा नारायणप्रसाद खतिवडाको मत १७ हजार ८ सय ५६ ले बढी देखिएको छ ।
क्षेत्र नं. २ मा रहेको बेलकोटगढी नगरपालिकामा एमालेको ६६ सय ४३, माओवादीको ६३ सय ५१ र काँग्रेसको ४९ सय ४२ मत रहेको थियो । तारकेश्वरमा एमालेको ३६ सय १४, काँग्रेसको २६ सय ८८, माओवादीको १२ सय ३७, विदुर नगरपालिकामा एमालेको ९७ सय १६, काँग्रेसको ८७ सय ४० र माओवादीको ४७ सय ३६ मत रहेको छ । स्थानीय तह निर्वाचनमा अध्यक्षले पाएको मतको आधारमा मेघाङ गाउपालिकामा काँग्रेसको २५ सय २८, एमालेको २१ सय ८७ र माओवादीको १५ सय ५६ मत रहेको छ । त्यस्तै, किस्पाङ गाउपालिकामा काँग्रेसको २५ सय ६८, एमालेको १६ सय ६५ र माओवादीको १६ सय २० मत रहेको छ ।

एमालेका केशव पाण्डे
ई दलको मत एकातिर हुँदा संख्याको हिसावले नुवाकोटमा काँग्रेसका उम्मेदवार कमजोर देखिएका छन् । त्यसो त, नुवाकोटमा विगत देखि नै महत र केसी पक्षमा काँग्रेस विभाजित छ । एकले अर्काे पक्षको अस्तित्व स्वीकार्न नचाहने कारण पनि काँग्रेसलाई आन्तरिक चुनौती पनि उत्तिकै रहेको काँग्रेसकै नेताहरुको भनाई रहेको छ ।
उम्मेदवारी सिफारिसकै क्रममा क्षेत्रिय समिति र जिल्ला समितिले केन्द्रमा फरक फरक नाम सिफारिस गरेकोले पनि काँग्रेसमा गुटवन्दी झनै मौलाएको एक जिल्ला सदस्यले बताएका छन् । उनका अनुसार स्थानीय तह निर्वाचनमा अन्तरघात गरेकाहरुलाई पार्टीले कारबाही गर्न नसकेको र जिल्ला सभापति देखि नै अन्र्तघातीको सूचीमा परेकोले त्यसको असर चुनावमा प्रष्ट देखिने छ । अझ केसी दाजुभाई र महतको काका भतिजले टिकट पाएपछि नुवाकोटको पुराना काँग्रेसमा वितृष्णा बढेको छ । पारिवारिक घेराबाट काँग्रेस मुक्त हुन नसकेको भन्दै काँग्रेस कार्याकर्ताहरुले पार्टीको हारको कारण यो पनि बन्ने बताएका छन् ।
नुवाकोटमा यस अघि निर्वाचित भएका काँग्रेसका केन्द्रिस सदस्य बहादुरसिंह लामालाई समानुपातीको सूचीमा राखिएको छ । अर्का प्रभावशाली नेता डा. प्रकाशशरण महतलाई काठमाडौंको क्षेत्र नं. ५ बाट उठाउने तयारी गरिएको छ ।

२२ हजार मतदाता थपिए
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नुवाकोटमा स्थानीय तहको निर्वाचनको भन्दा २२ हजार मतदाता थपिएका छन् ।
वैशाख ३१ को स्थानीयतहको निर्वाचनमा एक लाख ८५ हजार ७ सय ८२ जना मतदाता रहेकोमा मंसिर १० को चुनावको लागि दुई लाख आठ हजार १ सय ९१ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

माओवादी केन्द्रका हिरानाथ खतिवडा
स्थानीय तहको निर्वाचन पछि चार महिनामा जिल्ला प्रशासन, निर्वाचन कार्यालय र स्थानीयतहको केन्द्रदेखि वडा कार्यालयसम्म सञ्चालन भएको घुम्ती सेवा शिविरबाट २२ हजार ४ सय ९ जना मतदाता थप भएको निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनु भएको छ ।
जिल्लामा मतदाता बृद्धि भएसँगै मतदान केन्द्र समेत बढेको छ । स्थानीय तहको निर्वाचनमा १ सय २९ मतदानस्थलमा २ सय ४० मतदान केन्द्र निर्धारण भएकोमा अहिले मतदान स्थल साविक राखेर केन्द्र भने २० वटा थप गरी २ सय ६० पु¥याइएको हो ।
एक मतदान केन्द्रमा एकहजार मतदाता मात्र समावेश गर्ने भएकाले २२ हजार मतदाता थपिएपछि २० मतदान केन्द्र वृद्धि गर्न निर्वाचन आयोग मार्फत स्वीकृति लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नुवाकोटका आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि क्षेत्र नं १ मा एक लाख पाँच हजार २ सय ८७ जना र क्षेत्र नं २ मा एक लाख दुई हजार ९ सय ४ जना मतदाता रहेका छन् ।

काँग्रेसका जगतबहादुर तामाङ
यस्तै, प्रतिनिधिसभाको क्षेत्र नं १ को प्रदेशसभा १ मा ५२ हजार एक जना मतदाता रहेका छन् । क्षेत्र नं. २ मा ५३ हजार २ सय ८६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ मा मतदाता ५१ हजार ६ सय ४९ जना र प्रदेश सभा २ मा ५१ हजार २ सय ५५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

No comments:

Post a Comment