Saturday, November 18, 2017

महतको अभिव्यक्ति प्रति हितबहादुरको आपत्ति

नुवाकोट निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार हितबहादुर तामाङ र प्रदेश सभा ख का उम्मेदवार वद्री मैनालीले संयुक्त विज्ञप्ती जारी गरी शुक्रवार ककनीमा भएको बम विष्फोट र त्यससंग जोडिएको काँग्रेसको प्रतिक्रृयामा आपत्ति जनाउनुभएको छ ।
उहाँहरुले शनिवार विहान संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तीमा ककनी भएको घटनाको निन्दा पनि गरिएको छ ।
नुवाकोटमा बामगठवनधनको पक्षमा उर्लेको जनलहरबाट अत्तालिएका अपराधिक शक्तिहरुले यस्तो हर्कत देखाएको भन्दै तामाङ र मैनालीले संयुक्त विज्ञप्ती जारी गर्नुभएको हो । साथै उत्तः घटना परी घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना गरिएको छ ।
तर, काँग्रेसले उक्त घटनालाई अतिरिञ्जित बनाउदै भ्रामक प्रचारबाजीमा गरेकोमा दुवै उम्मेदवारले आपत्ति जनाउनुभएको छ । निर्वाचनको मुखमा हार्ने आकल गरेपछि जनतालाई भड्काउन र समानुभुति लिनका लागि काँग्रेसका उम्मेदवार रामशरण महत र रमेश महतले लाञ्छाना लगाएको तामाङले बताउनुभएको छ ।
ककनीमा चार जना घाइते हुने गरी भएको बम विष्फोटनमा हितबहादुर तामाङको हात रहेको रामशरण महतले घटना लगत्तै प्रतिक्रृया दिनुभएको थियो । यो प्रतिक्रृया पछि तामाङले काँग्रेस आफैले षड्यन्त्र गरेको पनि हुनसक्ने प्रतिक्रृया दिनुभएको छ । मुख्य सकड मार्ग छाडेर सहायक मार्गबाट गाडी जानु र त्यही बम हुनुले यसमा काँग्रेसकै सम्लग्नता रहेको हितबहादुर तामाङको अनुमान रहेको छ । यस विषयमा छानविन गरि दोषीलाई कडा कारवाही गर्न संयुक्त बाम गठवन्धनका उम्मेदवारहरुले विज्ञप्ती मार्फत् आग्रह गर्नुभएको छ ।
हितबहादुर तामाङ बद्री मैनालीले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तीमा ककनी घटना लगत्तै काँग्रेसका उम्मेदवारको नेतृत्वमा बाम गठवन्धनको बिरुद्ध नारावाजी गर्ने, कार्यालय तथा कार्यकर्तामाथी आक्रमण गर्ने, सवारीसाधन तोडफोड गर्ने जस्ता ध्वंसात्मक हर्कत भएको उल्लेख छ । उहाँहरुले उक्त कार्य तत्काल बन्द गरि शान्तिपूर्ण प्रतिस्पर्धाबाट आउने निर्वाचन परिणाम स्वीकार्न काँग्रेसलाई तयार हुन आग्रह गर्नुभएको छ । उम्मेदवार द्धय तामाङ र मैनालीले काँग्रेसले फैलाएको भ्रममा नपर्न र शान्तिपूर्ण निर्वाचनमा सहभागि हुन मतदाताहरुलाई अपिल गर्नुभएको छ ।
उहाँहरुले सरकारसँग आम मतदाता, पार्टीका नेता कार्यकर्ता र उम्मेदवारहरुको भरपर्दाे सुरक्षाको ब्यवस्था गर्न अपिल गर्नुभएको छ । प्रहरी उक्त घटनाको बारेमा छानविन भइरहेको बताए पनि नयाँ तथ्य केही फेला परेको छैन । शनिवार नै एक सरकारी सञ्चार संस्थाले विप्लव नेतृत्वको माओवादीले घटनाको जिम्मा लिएको भनेर प्रचार गरेको भएपनि अहिलेसम्म विप्लव नेतृत्वको माओवादीले कुनै आधिकारीक धारणा अघि सारेको छैन । तर प्रहरीले पनि विप्लव माओवादीले नै विष्फोटन गराएको अनुमान गरेको छ ।
नुवाकोटमा डेढ महिना अघि दुई जनालाई विप्लव माओवादीले मासो दलेको थियो । दुप्चेश्वर गाउँपालिकामा एक शिक्षक र शिवपुरी गाउँपालिकामा निर्वाचित एक वडा सदस्यलाई विप्लव माओवादीले मोसो दलेका थिए । उक्त घटनासंगै नुवाकोट प्रहरी चुनाव बिथोल्न विप्लव माओवादी सक्रिय रहने भएकोले सर्तकता अपनाएको र सोही अनुसारको सुरक्षा रणनीति तयार गरेको जनाएको थियो ।

No comments:

Post a Comment