Wednesday, December 06, 2017

मत गणनाको लागि यस्तो तयारी

सुजित भण्डारी र राजु रिमाल
नुवाकोट । कोठाको चारैतिर सिसिटिभी, बाहिर प्यासेजमा पनि क्यामेरा, कम्तिमा १५ जना प्रहरी तैनाथ अनि कोठालाई बीचमा चिरेर लगाइएको तारजालीको पर्खाल । भोली साँझ पाँच बजेदेखि हुने मतगणनाको लागि नुवाकोटमा गरिएको यो तयारी देख्दा केही खल्लो लाग्छ । मत गणनाका लागि उम्मेदवार र उसका प्रतिनिधिलाई अविस्वास गरिएको जस्तै ।
तर जिल्लाको दुई प्रतिनिध सभा र चार प्रदेश सभाको मत गणनाको लागि जिल्ला निर्वाचन कार्यालयले यस्तै तयारी गरेको छ । मतगणना हुनेस्थलमा १५ वटा सीसीटीभी जडान भएको छ । मुख्य निर्वाचन अधिकृत लोकजंग शाहका अनुसार दुवै निर्वाचन क्षेत्रमा तीन÷तीन स्थानमा मतणना गर्ने व्यवस्था मिलाईएको छ । एउटा कोठामा प्रतिनिधि सभा र दुई कोठामा एक÷एक प्रदेश सभा निर्वाचन क्षेत्रको गरी एउटा निर्वाचन षेत्रमा तीन वटा मतगणना स्थल तयार गरिएको छ ।
डिभिजन सहकारीको कार्यालय विदुरमा प्रतिनिधि सभा क्षेत्र नं. १ र त्यस अन्र्तगतको दुवै प्रदेश सभाको मत गणनाको लागि तयारी गरिएको छ । त्यस्तै क्षेत्र नं. २ को कोष तथा लेखा नियन्त्रणको कार्यालयमा मतगणना गर्नको लागि तीन वटा कोठामा तारजाली लगाइएको छ । तारजाली भित्र गणकले मत गणना गर्नेछन् भने तारजाली बाहिर सुरक्षाकर्मी र दलका प्रतिनिधि, पर्यवेक्षक, पत्रकार रहने ब्यवस्था मिलाइएको छ । स्थानीय निकाय निर्वाचनमा मत गणना स्थलमा तारजाली नलगाएको भएपछि केही जिल्लाहरुको घटनाका कराण यो पाली नुवाकोटमा पनि तारजाली लगाएर मत गणना गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
मतगणनामा खटाउने कर्मचारीको पनि व्यवस्था भइसकेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल लामिछानेले बताउनुभयो । उहाँले मत गणनास्थलको अबस्थाको बारेमा जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिहरुलाई अवलोकन गराएर अवस्थाको बारेमा जानकारी गरानुभएको छ ।

साथै, दलका प्रतिनिधिसहितको सर्वदलीय बैठक बस्ने तयारी समेत भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आचारसंहिता तयारीका लागि सर्वदलीय समितिको बैठक राख्न लागिउको हो । मत गणना भोली साँझ पाँच बजेबाट सुरु हुनेछ । नुवाकोट जिल्लामा दुवै निर्वाचन क्षेत्रमा ८६ हजार आठ सय मत गणना गर्नुपर्ने छ ।

No comments:

Post a Comment