Friday, January 20, 2017

नुवाकोटमा स्थानीय निकायको तनाव जिविस क्षतीग्रस्त, आन्दोलनकारी माथी रवरको गोली र अश्रुग्यास प्रहार

कपिलदेव खनाल
७ माघ । नुवाकोटको लिखु गाउँपालिकालाई हटाएको विरोधले आज उघ्र रुप लिएको छ । आन्दोलनकारीहरुले जिल्ला विकास समिति नुवाकोटको कार्यालय ध्वस्त पारेका छन् । उनीहरुलाई भगाउन प्रहरीले जिविस गेट अगाडीको मुख्य सडकमै रबरको गोली र अश्रुग्यास हानेको छ ।

    प्रहरीले आन्दोलकारी माथी प्रहार गरेको रबरको गोली दुई जनालाई लागेको छ । थानसिंगका विनोद पाठकको पेट र देब्रे तिध्रामा गोली लागेको छ । त्यस्तै चौघडाका राजन भट्टको तिघ्रामा एउटा गोली लागेको छ । उहाँहरुको अवस्था भने सामान्य छ ।
झण्डै दुई हजारको हारहारीमा रहेको आन्दोलकारीलाई जिविस परिषरबाट लखेट्न प्रहरीले १९ राउण्ड अश्रुप्यास र ८ राउण्ड रवरको गोली प्रहार गरेको छ । अन्य २१ जना  आन्दोलनकारी प्रहरीको लाठी लागेर सामान्य घाइते भएका छन् । झडपमा परी २० जना प्रहरी सामान्य घाइते जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । आन्दोलकारीको ढुङ्गामुढाबाट प्रहरीका केही सामाग्रीहरु समेत टुटफुट भएको छ ।

स्थानीय निकाय पुन संरचनामा जिल्लाबाट सिफारिस भएर गएको गाउँपालिका केन्द्रले हटाएपछि लिखु गाउँ पालिकामा पर्ने गाउँका नागरिकहरु छ दिनदेखि आन्दोलित छन् । हिजो ढिकुरेमा राजनीतिक दलको एकेबद्धता सहितको कोणसभा गरेपछि उनीहरु आज सदरमुकाम विदुर प्रवेश गरेका हुन् । नुवाकोटको निर्वाचन क्षेत्र १ र २ मा छ दिनदेखि बन्द गराउँदै आएका आन्दोलनकारीहरु आज बस, मिनिट्रक, ट्याक्टर, निजी सवारी साधन चढेर सदरमुकाम आएका थिए । विहान कार्यालय समयमा आन्दोलकारीहरुले सदरमुकामको मुख्य स्थान र सडक ढाकेका थिए ।

   

जिल्ला विकास समितिमा छलफलका लागि पुगेको एक हजार भन्दा बढी संख्याका आन्दोलनकारीहरुले जिल्ला विजकास समितिमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रसत बनेको हो । आन्दोलनकारीले स्थानीय विकास अधिकारीको कार्यकक्ष देखि सवारी साधनसम्ममा क्षती पु¥याएका छन् । जिविस भवनमा रहेको झ्याल शिसा, फर्निचर ध्वस्त बनाइएको छ । कार्यालयका अधिकांश शाखाका काजगपत्र समेत ध्वस्त भएको छ । जिविसको टेवलमा रहेको आधा दर्जन भन्दा बढी कम्प्युटर लगायतका विद्युतिय सञ्चार सामाग्रीहरु फुटेका छन् । प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार एलडिओलाई खोज्दै हातमा लाठो लिएर आएका सयौ आन्दोलनकारीहरुको बीचबाट एलडिओ केशरबहादुर पण्डितलाई जोगाउन हम्मे परेको थियो । एलडिओ नचिनेपछि आन्दोलनकारीहरुले छाडेको र उहाँको कार्यकक्षामा रहेको सम्पूर्ण सामाग्रीहरु ध्वस्त पारेका छन् ।

एलडिओको कार्यकक्षमा रहेको फर्निचर समेत बाहिर फालेर आन्दोलकारीहरुले आगो लगाएका छन् । तोडफोड पछि जिविस नुवाकोटको अवस्था पुर्ण रुपमा क्षतीग्रस्त छ । कर्मचारीहरुलाई बसेर काम गर्ने एउटै पनि कुर्ची आन्दोलकारीहरुले सध्ये छाडेका छैनन् । सामाजिक विकास शाखा र लेखा शाखा बाहेकका कुनै पनि कोठा सध्य छैनन् ।
जिल्ला विकास समिति नुवाकोटको दुई वटा गाडी तोडफोड भएको छ । ढुङ्गा र लौरो प्रहार गरेर आन्दोलनकारीहरुले तोडफोड गरेका हुन् । स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितका अनुसार गेटदेखि तोडफोड गर्दै पसेका आन्दोलनकारीबाट बचेर प्रहरीलाई खवर गर्दा पनि प्रहरीको उपस्थिति ढिलो भएको हो । १५ मिनेटसम्म आन्दोलनकारीले जिविस फुटाइरहँदा पनि प्रहरीले वास्ता नगरेको एलडिओ पण्डितको भनाई छ ।

जिल्ला विकास समिति पुग्न प्रमुख जिल्ला अधिकारीको निवास, एसपीको निवास र विदुर स्थित प्रहरी कार्यालयबाट एक मिनेटको समय पनि भएपनि समयमै प्रहरीको उपस्थिति नभएकोले क्षती व्यहोरोको भन्दै जिविसका एक कर्मचारीले प्रहरी प्रति असन्तुष्टि ब्यक्त गरे । घटना पछि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्मुख जिविसमा नजानु आपत्तिपुर्ण रहेको जिविसले बताइएरहेको छ भने आन्दोलनकारीहरुले प्रमुख जिल्ला अधिकारीले गोली हान्ने आदेश दिनु आपत्तिपूर्ण रहेको बताइरहेका छन् । 
रवरको गोली लागि समान्य घाइते भएका थानसिंगका विनोदज पाठकले अब आन्दोलन अशान्तरुपमा अगाडी बढ्ने चुनौती दिएका छन् । आफुहरु शान्तरुपमा माग राख्दै  गरिरहेकोमा प्रशासन र जिविसले उत्तेजित पारेको  उहाँले बताउनुभयो । काँग्रेसका नेता रामशरण महत र एमालेका नेता महेन्द्रबहादुर पाण्डेका कराण नुवाकोटको गाउँ फुटेको र जिल्लाबाट सिफारिस भएको गाउँपालिका केन्द्रले हटाएको आरोप उहाँको रहेको छ ।
पुर्न संरचनाको कुनै पनि प्रक्रियामा सहभागि नभई जिल्ला स्थित प्राविधिक सहयोग समिति र राजनीतिक दलहरुले टुङ्याएको स्थानीय निकायलाई महतले उल्याट्याएको आरोप आन्दोलकारीहरुको छ ।
मध्यान्न १२ बजेबाट भएको तोडफोड र प्रहरी आन्दोलकारी बीचको दोहोर झडप तीन घण्टा चलेको थियो । जसले गर्दा नुवाकोटबाट काठमाडौं र रसुवा ओहोर दोहोर गर्ने यातायातका साधन ठप्प भएको थियो । साँझ आन्दोलनकारीहरु घर फर्कन थालेपछि यातायातका साधनका लागि बाटो खुल्दै गएको छ भने स्थिति समान्य बन्दै गएको छ ।

जिल्ला प्राविधिक सहयोग समितिले चौघडा, खानीगाउँ, सुर्यमती र थानसिङ गाविसलाई मिलाएर प्रस्ताव गरेको लिखु गाउँपालिका स्थानीय तह पुनर्सरचना आयोगले मेटाएको भन्दै स्थानीयवासी छ दिनदेखि आन्दोलित छन् । लिखु गाउँ पालिकालाई केन्द्बाट कोप्लु गाउँ पालिकाका बनाएर पठाएको र त्यसमा परेको गाविसहरु हटाइएकोमा स्थानीयहरुले आपत्ति जनाउँदै आएका छन् । उनीहरुले हिजोसम्म आफ्नो इलाकामा केन्द्रित गरेको आन्दोलनलाई आजबाट सदरमुकाममा प्रवेश गराएका छन् ।
आन्दोलकारीसंगै रहेर समाचार संकलन गरिरहेका नुवाकोटका केही पत्रकारहरुलाई पनि प्रहरीले लाठी चार्ज गरेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार प्रहरीले आन्दोलकारीमाथी बढी बल प्रयोग गरेको छ ।