शर्मिला उप्रेती
निर्वाचन आयोगले गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणमा निर्वाचन भएको ३४ जिल्ला मध्ये नुवाकोट, रसुवा र धादिङसहित ३१ जिल्लाको जिल्ला समन्वय समिति निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र जिल्ला समन्वय समितिको सदस्य सङ्ख्या तोकिदिएको छ ।
निर्वाचन आयोगले ३१ वटै जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । मुख्य निर्वाचन अधिकृतले निर्वाचन कार्यतालिका सार्वजनिक गरी निर्वाचन गराउने छन् ।
नुवाकोट र धादिङको जिल्ला समन्वय समितिको सदस्य सङ्ख्या ९ र रसुवाको ७ जना रहने समेत निर्णय गरेको छ । पर्सी साउन ८ देखि जिल्लामा निर्वाचन अधिकृतको कार्यालय खुल्ने र त्यसले २१ दिनभित्र जिल्ला समन्वय समितिको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरिसक्नु पर्नेछ ।
जिल्ला समन्वय समिति निर्वाचनमा जिल्ला भित्रका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । नुवाकोटमा १२ स्थानीय तहको आधारमा २४ जना मतदाता छन् । रसुवामा पाँच गाउँपालिकाको आधारमा १० मतदाता छन् ।
नुवाकोटमा २४ मध्ये १४ जना काङ्ग्रेसको रहेकोले काङ्ग्रेसले जिल्ला समन्वय समिति एकलौटी बनाउने सम्भावना देखिएको छ । साथै, नुवाकोटमा नेकपा माओवादी केन्द्रलाई एक सिट दिने कि भन्ने बारेमा काङ्ग्रेसमा छलफल भइरहेको छ । सत्ता गठबन्धनको एक घटक माओवादी भएकाले काङ्ग्रेसले दुई सिट सदस्य दिनुपर्ने दाबी माओवादी केन्द्र नुवाकोटले गरिरहेको छ । काँग्रेसले एक जना सदस्य सम्म माओवादीबाट राख्न सक्ने विषयमा कुरा चलाएको छ ।
तर माओवादी भित्रका दुई नेतालाई सदस्यमा ब्यवस्थापन गर्नुपर्ने बाध्यता पार्टी भित्र भएकोले सिट संख्याले समस्या पारेको छ । जिल्ला सदस्यमा माओवादीबाट विष्णुबहादुर बोगटी र नविन पुडासैनीको नाम चर्चामा आएको छ । तर काँग्रेस भित्रैको अर्को एक समुहले भने माओवादीलाई जिल्ला समन्वय समितिमा प्रवेश नदिने गरी लविङ्ग सुरु गरेको बताइएको छ ।
जिल्ला समन्वय समिति नुवाकोटको २४ जना मतदातामध्ये काङ्ग्रेसको १४, एमालेको ६ र माओवादीको ४ रहेका छन् ।
तर नुवाकोट काँग्रेस भित्र केसी र महत गुटको राजनीतिका कारण जिल्ला समन्व्य समिति गठनमा विभाजनको सम्भावना पनि देखिएको छ । एमाले र माओवादीसंग गरी १० मत रहेको र काँग्रेसको केसी समुहले एमाले माओवादीसंग समीकरण बनाएमा चुनाव पेचिलो बन्ने देखिएको छ ।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा केसी गुटको भनेर चिनिएकाहरु निर्वाचित नभएपनि आन्तरिक रुपमा केसीले तीन मत मिलाउन सक्ने सम्भावना रहेको एमालेका एक नेताले बताएका छन् । उहाँका अनुसार केसी समुहल तीन मत लिएर एमाले र माओवादीसंग समीकरण बनाउन तयार भए जिल्ला समन्वय समितिका सभापतिमा काँग्रेस, उप सभापतिमा एमाले र तीन जना सदस्य माओवादी र अन्य सदस्यहरु काँग्रेस एमालेले बाढेर लिने सम्भावना पनि रहेको छ ।
अहिले जिल्ला समन्व्य समिति नुवाकोटमा महत गुटबाट सन्तमान तामाङ र केसी पक्षबाट पदमराज पौडेलले नेतृत्व गर्ने चर्चा चलेको छ । काँग्रेस एकै समुह भएर गएमा महत पक्षलाई संयोजक र केसी पक्षलाई सह संयोजकको पद भाग लगाउने सम्भावना देखिएको छ । बहादुरसिंह लामाको पक्षमा रहेका मध्ये दुई जनालाई सदस्य दिने गरी छलफल भइरहेको पनि काँग्रेसक एक नेताले बताएका छन् ।
उता, रसुवा र धादिङमा नेकपा एमालेको बढी सङ्ख्यामा जनप्रतिनिधि निर्वाचित भएकाले एमालेले कोहीसँग तालमेल नगरी एकलौटी बनाउने बुझिएको छ ।