Saturday, September 09, 2017

सात जनाको मृत्यु, २९ जना घाइते, तीन जनाको अवस्था गम्भिर


कपिलदेव खनाल

नुवाकोट, भदौ २४ गते । काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक छ ।

      मृत्यु हुनेहरुमा नर्जामण्डपका ६७ वर्षिया ठूलीमाया तामाङ, नर्जामण्डपकै ४५ वर्षिया लक्ष्मी न्यौपाने, विदुर नगरपालिका वडा नं. ९ जफतीकी २१ वर्षिया शशी बोगटी, रालुकादेवीका २२ बर्षिया सविता तामाङ रहनुभएको छ । त्यस्तै ठेगाना नखुलेको ५७ वर्षिया लालबहादुर तामाङ र ३७ वर्षिया उजेली मिजारको पनि मृत्यु भएको छ । बसका सहचालक तादी गाउँपालिका सातविसेका नवराज विकको पनि उपचारको क्रममा अस्पालमा नधिन भएको प्रहरी नायव उपरिक्षक मधुकरजङ्ग विष्टले जानकारी दिनुभयो ।   

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार २८ जना घाइते भएका छन् । उनीहरुको ग्राण्डी, ग्रीनसिटी, वीर अस्पताल र टिचिङ्गमा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गीम्भर रहेको प्रहरी उपरिक्षक बीरेन्द्रकुमार बस्यालले जानकारी दिनुभयो । घाइते मध्ये ८ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये नविन श्रेष्ठ र सरस्वती गिरीको आईसीयूमा र अन्यको हाई केयर युनिटमा उपचार भइरहेको छ । अन्य घाइतेको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

      दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जनाको काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको छ । दुई जनाको भने उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं नयाँ बसपार्कबाट बिहान साढे नौं बजे नुवाकोटको खरानीटारको लागि गुडेको बा १ ख ६३४८ नम्वरको बस नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ७ गुरुङ्गगाउँमा दिउँसो १२ बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक मधुकरजङ्ग विष्टका अनुसार तीन सय मिटर तल खसेको बसले एउटा घर समेत भत्काएको छ । भत्किएको घरले थिचेर घरधनी सीता तामाङ समेत घाइते हुनुभएको छ ।  

घटनास्थलमै मृत्यु भएका लक्ष्मी न्यौपाने, ठूलीमाया तामाङ र शशी बोगटीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल त्रिशुली ल्याइदै छ । अन्य चार जनाको शब काठमाडौं स्थित हस्पिटलमा रहेको प्रहरीले जनाएको छ ।

यसै बीच, त्रिशुली नदीमा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् । विदुर नगरपालिका वडा नं. ५ देविघाटबाट बेल्कोटगढी नगरपालिका वडा नं. २ कुमरीका टिकाराम तामाङलाई बगाएको हो ।

      जालपादेवी मन्दिर नजिकै त्रिशुली खोलामा कुमरीका पाँच जना युवा नुहाउने क्रममा तामाङलाई बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कुमरीका सन्तोष नेपाली, निरोध नेपाली, इन्द्र नेपाली र विक्रम नेपाली भने सकुल रहेका छन् । पाँच जना निहाउन गएका मध्ये टिकाराम तामाङलाई खोलाले बगाएपछि उनीहरुले उद्धारको प्रयास गरेका थिए ।

तत्कालै घटनास्थल पुगेको देविघाट प्रहरीले पनि उद्धार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक मधुकरजंग विष्टले जानकारी दिनुभएको छ । त्रिशुली नदीमा वेपत्ता भएका तामाङको खोजी कार्य भईरहेको छ ।

एकैदनि दुई ठुला साहित्यिक कार्यक्रम

शर्मिला उप्रेती
विदुर, भदौ २४ गते । नुवाकोटमा आज दुईवटा ठुला साहित्यिक गतिविधि भएको छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले नुवाकोट साहित्य पदयात्रा सम्पन्न गरेको छ । त्यस्तै कवि आरएम डङ्गोलको विदुरमै एकल कविता वाचन कार्यक्रम भएको छ ।
    नुवाकोट साहित्य पदयात्रा विहान बट्टार क्याम्पस गेटबाट सुरु भएर नुवाकोट साततले दरवार हुँदै महामण्डल पुगेर टुङ्गिएको छ । नुवाकोटका साहित्यकार तथा साहित्यानुरागीको सहभागिता रहेको पदयात्रामा विभिन्न कवि तथा सर्जकहरुले रचना वाचन गर्दै यात्रा गरेका छन् ।
    नुवाकोट साहित्य पदयात्राको आयोजक संस्था नुवाकोट साहित्य प्रतिष्ठान नेपालका श्रीराम श्रेष्ठका अनुसार संस्थाको बार्षिक कार्य योजना अन्र्तगत हरेक साल यस्तै साहित्यिक पदयात्रा गरिदै आएको छ । यस क्रममा यो पाली नुवाकोटको ऐतिहासिक क्षेत्रलाई छनोट गरिएको छ । साहित्यको वृद्धिविकासको साथमा आन्तरिक पर्यटनको विकास र साहित्य लेखनमा टेवा पु¥याउनका लागि साहित्य पदयात्राको आयोजना गरिएको बताइएको छ ।
    नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी शम्भुप्रसाद शर्माले साहित्यिक गतिविधीले नयाँ पुस्तामा सिर्जनाको शक्ति प्रवाह हुने बताउनुभयो ।
उता विदुरमा, युवा पुस्ताका चर्चित कवि तथा समालोचक आरएम डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं. २ का स्थायी निवासी आरएम डङ्गोल काठमाडौंबाट साहित्य लेखनिमा क्रियाशिल हुनुहुन्छ । त्रिशुली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ नुवाकोट र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको एकल कविता वाचन कार्यक्रममा काठमाडौं देखिका साहित्यकारहरुको सहभागिता रहेको थियो ।
माटो र मुटुका कुरा उत्तिकै सशक्त रुपमा लेख्नुहुने कवि आरएम डङ्गोलको एकल कविता वाचन खुव खुलेको थियो ।
    वर्तमान पुस्ताका चर्चित कवि आरएम डङ्गोलका उत्कृठ सृजनालाई कार्यक्रममा सहभागि कवि तथा कवयत्रिले समेत वाचन गरेर सुनाएका थिए । आरएम डङ्गोललाई माया गरेर कार्यक्रममा सहभागिहरुले उहाँको कविता वाचन गरेका हुन् ।
    कार्यक्रममा सहभागिहरुले आरएम डङ्गोलका कविताले समसामयिक अवस्थाको चिन्तन देखि मनको कुरालाई बोकेको टिप्पणी गरे । सामान्य विषयवस्तुलाई विशिष्ट बनाएर सुन्दर कविता पस्नकले खुवी आरएम डङ्गोललको रहेको छ ।
    आरएम डङ्गोलको एकल कविता वाचन सुन्नका लागि काठमाडौंबाट पनि साहित्यकारहरुको सहभागिता रहेको थियो । त्रिभुवन विश्व विद्यालयको नेपाली केन्द्रिय विभागका प्रमुख प्राध्यापक कृष्ण आचार्य, त्रिशुली वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँल, त्यस्तै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उप प्रमुख गीता दाहाल, वडा नंं ४ का अध्यक्ष टलकमान श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको समेत सहभागिता रहेको थियो । कार्यक्रममा त्रिशुली वाङ्मय प्रतिष्ठानका महासचिव राजेन्द्रमान डङ्गोलले कवि आरएम डङ्गोलको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो ।
एकल कविता वाचनका लागि कवि आरएम डङ्गोल आफ्ना वृद्ध मातापिता, दाजुभाई लिएर विदुर आउनुभएको थियो । उहाँलाई विदुर नगरपालिकाको कार्यालयले मायाको चिनो प्रदान गरी विदाई गरेको छ ।

नुवाकोटमा बङ्गुरको संख्या १४ हजार मात्र

राजु रिमाल
विदुर, भदौ २४ गते । नुवाकोट जिल्लामा किसानहरुले व्यवसायी रुपमा पालन गरेको बङ्गुरको संख्या १४ हजार रहेको छ ।
    आज विदुरमा आयोजित एक कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय नुवाकोटका पशु विकास अधिकृत डा. चन्द्रविक्रम कुँवरले उक्त सरकारी रेकर्डमा रहेको बताउनुभएको छ । त्यसमा अधिकांश स्थानीय प्रजातीको रहेको पनि बताइएको छ । बङ्गुर पालन गर्न चाहाने किसानहरुले तयार गरेको फर्म मध्ये ६२ वटा कार्यालयमा दर्ता समेत भएको उहाँले बताउनुभयो ।
    मासुको लागि पालिने बङ्गुरबाट निम्न आयस्तर भएको नागरिकहरुको उत्थान हुने भन्दै सरकारले सहकारी मार्फत् पनि बङ्गुर पालनमा रकम अनुदान दिँदै आएको छ । 
    खाद्य सुरक्षा र आय आर्जनका लागि बङ्गुर पालन कार्यक्रम अन्र्तगत कार्यक्रम सञ्चालन गर्दै आएको एक सहकारी संस्थाले आफ्नो संस्थाले गरेको गतिविधिलाई सार्वजनिक गरेको छ । अग्रसर कृषि सहकारी संस्था लिमिटेड सुर्यगढी गाउँपालिका वडा नं. ३ फलाटेले कार्यक्रमको आयोजना गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष निशा अधिकारीका अनुसार उक्त संस्थाले दुई वर्षदेखि बङ्गुर पालनका लागि कृषकहरुलाई अनुदान दिँदै आएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरवारद्धारा प्राप्त रकमलाई जिल्लाका विभिन्न ठाउँहरुमा परिचालन गरिउको बताइएको छ ।
संस्थाका अध्यक्ष निशा अधिकारीका अनुसार हालसम्ममा १ सय २० जनालाई दुई दुई वटा बङ्गुर र खोर गरेर ३० लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ । बागेश्वरी, खानीगाउँ र गेर्खुका ४०÷४० कृषहरुलाई अनुदान रकम प्रदान गरेको उहाँले बताउनुभयो । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरवारले अब एक वर्ष कृषहरुलाई अनुदानका लागि रकम पठाउने र उक्त रकम विभिन्न समुदायमा प्रदान गरिने संस्थाले जनाएको छ । 

Wednesday, September 06, 2017

नुवाकोटमा माओवादीभित्र को को चर्चामा ? र कस्तो छ पृष्ठभुमी ?

हितबहादुर तामाङ
शर्मिला उप्रेती
विदुर । नुवाकोटको स्थानीय निर्वाचनमा २ वटा गाउँपालिका जितेको माओवादी केन्द्रबाट प्रदेशमा र केन्द्रमा उम्मेदवार बनाउनेहरुको नाम चर्चा हुन थालेको छ । २ नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा हितबहादुर तामाङ देखि नयाँ शक्तिबाट माओवादी केन्द्रमा मिसिन लागेको नेताहरुको समेत चर्चा सुनिएको छ ।
    केन्द्रको लागि उम्मेदवार बन्नेहरुको दुई निर्वाचन क्षेत्रमा एक÷एक जनाको नाम चर्चामा छ । क्षेत्र नं. १ मा हितबहादुर तामाङ र क्षेत्र नं. २ मा हिरानाथ खतिवडाको नाम अगाडी सुनिएको छ । राममाया बोगटी, विमला सुवेदी जस्ता नेताहरुको नाम सुनिएपनि उनीहरुलाई समावेशीताको नाममा कतै ‘सेटल गर्ने’ बुझिएको छ । समाचार श्रोतका अनुसार उनीहरुलाई समानुपातीमा माओवादी केन्द्रले राख्ने सम्भावना छ ।
    हितबहादुर तामाङ पुर्व मन्त्रि समेत भइसकेका र काँग्रेसका केन्द्रिय सदस्य तथा पटक पटक अर्थ मन्त्री बनिसकेको रामशरण महतलाई अत्याउन सक्ने राजनीतिक खुवी भएकोले पनि आन्तरिक पार्टी भित्र मात्रै नभई अन्य पार्टी वृत्तमा पनि चर्चामा रहने गरेका छन् । जनजाती आन्दोलनको अभियन्ता तथा सफल ब्यक्तिको रुपमा चर्चा हुने हितबहादुर तामाङ माओवादी केन्द्रको हाल पोलिटब्युरो सदस्य छन् । माओवादी भित्र मुर्धन्य नेताको रुपमा लिइन्छ तामाङलाई । पोष्टबहादुर बोगटीको देहबशान पछि माओवादी केन्द्र नुवाकोट उनैको दृष्टि र परिकल्पनामा अघि बढेको छ । 
हिरानाथ खतिवडा
    यस्तै हिरानाथ खतिवडा हाल माओवादी केन्द्र नुवाकोटका अध्यक्ष छन् । विद्यार्थी जीवनदेखि सक्रिय राजनीतिमा लागेका खतिवडाले लामो समयदेखि माओवादी केन्द्र नुवाकोटको नेतृत्व गरिरहेका छन् । जनस्तरमा प्रिय देखिएका जिल्ला अध्यक्ष खतिवडालाई पार्टीले अघि सार्नु नै क्षेत्र नं. २ का लागि निविकल्प रहेको श्रोतको भनाई छ ।
    प्रदेश सभाका लागि नुवाकोटबाट चार जना उम्मेदवार हुनेमा माओवादी केन्द्रले क्षेत्र नं. १ को १ मा राधिका तामाङ, शिव खाती, गणेश उप्रेती र किरण रिजाल मध्ये एक जनालाई उठाउने छ । त्यस्तै, क्षेत्र नं. १ को २ मा लालबहादुर तामाङ, राजन गौतम ‘नकुल’ र श्रीकृष्ण अधिकारी ‘विवेक शर्मा’ को नाम चर्चामा छ ।
राधिका तामाङ
   राधिका तामाङ पुर्व कृषि राज्य मन्त्री हुन् । सहिद परिवारको समेत रहेका तामाङ पढ्दा पढ्दैको झोल फ्यालेर तत्कालिन समयमा युद्धमा होमिएका थिए । सालिन र महिला वर्गको नेतृत्वमा सफल देखिएकि राधिका तामाङलाई अन्य समुदाय र युवापुस्तामा पनि प्रिय पात्रको रुपमा लिइन्छ । त्यसै गरी, शिव खाती माओवादी केन्द्रसित रामबहादुर थापा बादल मिलेपछि केन्द्रमा मिसिएका हुन् । पृष्ठभुमी माओवादी रहनेपनि पार्टी विभाजनमा अर्को धारमा रहेका उनी अहिले मुल धारमा समाहित छन् । दलित आन्दोलनको अगुवा शिव खातीलाई पनि अन्य राजनीति दलले माओवादी भित्रको बलियो उम्मेदवारको रुपमा लिएको समाचार श्रोतले बतायो ।
    किरण रिजाललाई आफ्नको आधार ईलाका (तादी गाउँपालिका) मा पार्टी भित्रको बलियो नेताको रुपमा लिइन्छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा उनलाई तादी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको भए पार्टीले जित्ने विश्लेषण माओवादी आफैले गरेको श्रोतले बतायो ।
त्यस्तै क्षेत्र नं. १ को २ मा चर्चामा रहेका लालबहादुर तामाङ पनि जनजाती आन्दोलनको हस्ती हुन् । त्यस क्षेत्रमा प्रभाव जमाएर राजनीति गर्दै आएका तामाङले बैशाख ३१ को निर्वाचनमा दुप्चेश्वर गाउँपालिका अध्यक्षमा झिनो मतले हारे । नयाँ शक्तिका कारण हार ब्यहोर्नु परेका उनले नयाँ शक्तिको त्यहाँको ‘सेट’ नै अहिले माओवादीमा ल्याउन लागेको माओवादी केन्द्रले बताएको छ । तामाङ समुदायमा ‘हाईहाई’ रहेका लालबहादुर तामाङलाई अन्य समुदायले पनि उत्तिकै आदर र सत्कार गर्नेगरेका छन् । सोही क्षेत्रमा उम्मेदवार हुने चर्चामा रहेका राजन गौतम ‘नकुल’ पनि कमजोर नाम होईन । माओवादीलाई भौतिक रुपमा संकट पर्दा उनैले थाम्दै आएको भनेर अधिकांश नेता कार्यकर्ताले उनको त्यो गुन सम्झने गरेका छन् । युवा आन्दोलनको अगुवा नकुल अहिले वाइसिएलको केन्द्रिय सदस्य छन् । यही क्षेत्रमा नाम चर्चा भएको विवेश शर्मा नुवाकोट माओवादीको धरोहर हुन् । अहिलेका जिल्ला अध्यक्ष हिरानाथ खतिवडासंग चुनावी प्रतिस्पर्धा गरेर अन्तिममा उम्मेदवार नवनी सहमतीमा जिल्ला कार्य समिति गठन गराएका श्रीकृष्ण अधिकारी ‘विवेक शर्मा’ले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा खर्च गरेका छन् ।  
क्षेत्र नंं २ को १ बाट प्रदेशमा प्रतिनिधित्व गराउनका लागि रामप्रसाद ढुङ्गाना, केशव पुडासैनी, शम्भु पनेरु र नयाँ शक्तिबाट माओवादी केन्द्रमा जानलागेका राजकुमार रेग्मी ‘सन्देश’को नाम रहेको श्रोतले बताएको छ । त्यस्तै क्षेत्र नं. २ को २ मा बशुराज रिजाल, सुवास तामाङ र अजितमान तामाङको चर्चा छ ।

रामप्रसाद ढुङ्गाना पञ्चायत कालदेखि जनप्रतिनिधिकै रुपमा राजनीतिमा सक्रिय छन् । जनप्रिय तथा पुराना पुस्तादेखि नयाँ पुस्तासम्म उत्तिकै घुलमिल हुनसक्ने ढुङ्गाना नुवाकोटको सबैखाले राजनीति घटनाक्रमको साक्षीको रुपमा लिइन्छ । २०४३ सालदेखि २०४६ सालसम्म जिल्ला विकास समिति नुवाकोटको उप सभापति हुन् उनी । उनले गरेको विकास निर्माण र जनपक्षिय कार्यको अहिले पनि चर्चा हुने गरेको छ । माओवादी केन्द्रको केन्द्रिय सल्लाहकार समितिको सदस्य समेत रहनुभएका रामप्रसाद ढुङ्गानासंग पार्टी मात्रै नभई सिङ्गै जिल्लाको विकास निर्माण र परिर्वतनमा गती दिनसक्ने योजना र दुरदृष्टि छ । त्यस्तै, केशव पुडासैनीलाई त्यस क्षेत्रको प्रभावशाली नेताको रुपमा लिइन्छ । शम्भु पनेरु अध्यापन पेशमा रहँदा देखि माओवादीमा सक्रिय रहेको र युद्धको समयमा उनले गरेको योगदानका कारण पार्टीमा उनको उपस्थिति दह्रिलो रहेको श्रोतले बतायो । केही समय अघि नयाँ शक्तिमा समेत प्रवेश गरेका पनेरु अहिले माओवादी केन्द्रमा छन् । उनको राजनीति योगदान र समर्पणका कारण नयाँ शक्तिबाट फिर्ता भएपछि पनि पार्टीमा उत्तिकै भुमिका र महत्व दिइएको बताइन्छ । उनलाई आफ्नो भुगोलमा ठुलो जनसमर्थ रहेको छ । 
राजकुमार रेग्मी सन्देश
राजकुमार रेग्मी ‘सन्देश’ युद्धको समयदेखि नुवाकोटमा चर्चामा रहेको नाम हो । माओवादीले सञ्चालन गरेको शसस्त्र युद्धमा सबै भन्दा बढी सुनिने र चर्चामा रहेको नाम सन्देश अहिले नयाँ शक्तिबाट पनि अलग हुने पक्का छ, श्रोत भन्छ । माओवादी शान्ति प्रक्रियमा आए लगत्तै फिकुरीको प्रहरी चौकी आक्रमण गरेर माओवादी पार्टीको नेतृत्वपंक्तिकै सात्तो लिएका सन्देश ‘सदाबहार क्रान्तिकारी’ नेताका रुपमा चिनिन्छ । बाबुराम भट्टराईसंगै माओवादी त्यागेर नयाँ शक्तिमा लागेका सन्देश एक वर्ष पछि फेरि माओवादी केन्द्रमा प्रवेश गर्ने पक्कापक्की भएको छ । समाचार श्रोतका अनुसार उनी यो भदौं महिनाको अन्तिम सम्ममा विधिवत् रुपमा माओवादीमा जाने छन् । उनकै कारणले बेल्कोटगढी नगरपालिकामा माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले हार्नु परेको निष्कर्ष माओवादीको छ । नयाँ शक्तिमा रहेका गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र’ र सन्देशका कारण पार्टीले हार ब्यहोर्नु परेकोले उनीहरुलाई माओवादीले फराकिलो ठाउँ दिने गरी भित्र्याउन लागेको बुझिएको छ ।

बशुराम रिजाल
क्षेत्र नं. २ को २ मा उम्मेदवारको चर्चामा रहेको बशुराम रिजाल बौद्धिक व्यक्तित्वको रुपमा जिल्लावासी माझ परिचित छन् । सालिन र भद्र व्यक्ति रिजाल जनयुद्ध कालको प्रष्ट द्रष्टाको रुपमा थिए । जनयुद्धको समयमा युवाको नेतृत्व गरेका बशुराम रिजाल नुवाकोट काठमाडौं गणतान्त्रिक मञ्चको संस्थापक अध्यक्ष हुन् । नुवाकोटको बौद्धिक आन्दोलनको संस्थापक नेता समेत रहेका रिजाल विद्यार्थी कालदेखि सक्रिय राजनीतिमा थिए । अन्तरपार्टी सम्वन्ध समेत बलियो रहेको उनले भुकम्प पछिको पुन निर्माण र विकास निर्माणमा गरेको सक्रिय नेतृत्वले पनि लोकप्रिय बनाएको छ ।
सोही क्षेत्रबाट उम्मेदवारको लागि चर्चामा आएका सुवास तामाङ जनजाती आन्दोलनको अगुवाको रुपमा छन् । पार्टीको जिल्ला तहमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका तामाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत भइसके । अजितमान तामाङ पनि जनजाती आन्दोलनबाट उठेका नेता हुन् । उनी अहिले लुम्विनी बिकास कोषको सदस्य सचिव छन् ।
अहिले चर्चामा रहेको नामहरु हिजो मंगलवार विदुरको बान्द्रेमा जारी रहेको माओवादी केन्द्र नुवाकोटको बैठकमा आएको बताइएको छ । नेताहरुसित निकट रहेका देखि पार्टी भित्रको योगदानको आधारमा र पार्टी एकताले उम्मेदवार चयनमा प्रभाव पार्ने बुझिएको छ । उम्मेदवारहरुको विषयमा टुङ्गो लगाउन आज बुधवार पनि माओवादी केन्द्रको बैठक बस्ने बताइएको छ ।  
    नयाँ शक्तिबाट माओवादी केन्द्रमा प्रवेश गर्ने अन्तिम तयारीमा रहेका राजकुमार रेग्मी ‘सन्देश’, गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र’ र सुवास तामाङलाई पनि उम्मेदवारको रुपमा ‘सेटल गर्नुपर्ने’ बाध्यता माओवादी केन्द्रसंग छ । तीन जना मध्ये दुई जना माओवादी पृष्ठ भुमीको रहेपनि सुवास तामाङले नेपाली काँग्रेसबाट नयाँ शक्ति हुँदै माओवादी केन्द्र सम्मको यात्रा तय गरेका छन् । उनी नयाँ शक्तिमा आउनु पहिला काँग्रेस नेता अर्जूननरसिंह केसीको स्वकिय सचिव थिए ।