Friday, December 08, 2017

नुवाकोटमा बामको अग्रता

नुवाकोटको दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा बाम गठवन्धनका उम्मेदवारहरुको अग्रता कायम रहेको छ ।
    क्षेत्र नं. १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले काँग्रेसका डा. रामशरण महतले भन्दा ८८९ मत बढी लिनुभएको छ । तामाङको ५०९९ र महतको ४२१० मत रहेको छ । 
    क्षेत्र नं. २ मा एमालेका नारायणप्रसाद खतिवडा २०२८ मतले काँग्रेसका अर्जुननरसिंह केसी भन्दा अगाडी देखिनुभएको छ । खतिवडाको ६५१८ र केसीको ३५९० मत रहेको छ ।
प्रदेश सभा अन्र्तगत प्रतिनिधि सभा १ को प्रदेश सभा क मा माओवादी केन्द्रका राधिका तामाङ काँग्रेसका महेन्द्र थिङ्ग भन्दा ६१३ मतले अगाडी हुनुहुन्छ । तामाङको २२८६ र थिङ्गको १६७३ मत रहेको छ । १ नम्वरको प्रदेश सभा ख मा एमालेका बद्री मैनाली काँग्रेसका रमेश महत भन्दा १४४४ मतले अगाडी हुनुहुन्छ । मैनालीको ३१८४ र महतको १७४० मत रहेको छ ।   
प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क मा एमालेका केशबराज पाण्डे काँग्रेसका जगदीश्वरनरसिंह केसी भन्दा १२६३ मत अगाडी हुनुहुन्छ । पाण्डेको ३३६० र केसीको २१०३ रहेको छ । सोही क्षेत्रको प्रदेश सभा ख मा माओवादी केन्द्रका हिरानाथ खतिवडा काँग्रेसका जगतबहादुर तामाङ भन्दा ५६४ मतले अगाडी हुनुहुन्छ । खतिवडाको २६३५ र तामाङको २०७१ मत हरेको छ ।

Wednesday, December 06, 2017

मत गणनाको लागि यस्तो तयारी

सुजित भण्डारी र राजु रिमाल
नुवाकोट । कोठाको चारैतिर सिसिटिभी, बाहिर प्यासेजमा पनि क्यामेरा, कम्तिमा १५ जना प्रहरी तैनाथ अनि कोठालाई बीचमा चिरेर लगाइएको तारजालीको पर्खाल । भोली साँझ पाँच बजेदेखि हुने मतगणनाको लागि नुवाकोटमा गरिएको यो तयारी देख्दा केही खल्लो लाग्छ । मत गणनाका लागि उम्मेदवार र उसका प्रतिनिधिलाई अविस्वास गरिएको जस्तै ।
तर जिल्लाको दुई प्रतिनिध सभा र चार प्रदेश सभाको मत गणनाको लागि जिल्ला निर्वाचन कार्यालयले यस्तै तयारी गरेको छ । मतगणना हुनेस्थलमा १५ वटा सीसीटीभी जडान भएको छ । मुख्य निर्वाचन अधिकृत लोकजंग शाहका अनुसार दुवै निर्वाचन क्षेत्रमा तीन÷तीन स्थानमा मतणना गर्ने व्यवस्था मिलाईएको छ । एउटा कोठामा प्रतिनिधि सभा र दुई कोठामा एक÷एक प्रदेश सभा निर्वाचन क्षेत्रको गरी एउटा निर्वाचन षेत्रमा तीन वटा मतगणना स्थल तयार गरिएको छ ।
डिभिजन सहकारीको कार्यालय विदुरमा प्रतिनिधि सभा क्षेत्र नं. १ र त्यस अन्र्तगतको दुवै प्रदेश सभाको मत गणनाको लागि तयारी गरिएको छ । त्यस्तै क्षेत्र नं. २ को कोष तथा लेखा नियन्त्रणको कार्यालयमा मतगणना गर्नको लागि तीन वटा कोठामा तारजाली लगाइएको छ । तारजाली भित्र गणकले मत गणना गर्नेछन् भने तारजाली बाहिर सुरक्षाकर्मी र दलका प्रतिनिधि, पर्यवेक्षक, पत्रकार रहने ब्यवस्था मिलाइएको छ । स्थानीय निकाय निर्वाचनमा मत गणना स्थलमा तारजाली नलगाएको भएपछि केही जिल्लाहरुको घटनाका कराण यो पाली नुवाकोटमा पनि तारजाली लगाएर मत गणना गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
मतगणनामा खटाउने कर्मचारीको पनि व्यवस्था भइसकेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल लामिछानेले बताउनुभयो । उहाँले मत गणनास्थलको अबस्थाको बारेमा जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिहरुलाई अवलोकन गराएर अवस्थाको बारेमा जानकारी गरानुभएको छ ।

साथै, दलका प्रतिनिधिसहितको सर्वदलीय बैठक बस्ने तयारी समेत भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आचारसंहिता तयारीका लागि सर्वदलीय समितिको बैठक राख्न लागिउको हो । मत गणना भोली साँझ पाँच बजेबाट सुरु हुनेछ । नुवाकोट जिल्लामा दुवै निर्वाचन क्षेत्रमा ८६ हजार आठ सय मत गणना गर्नुपर्ने छ ।

Sunday, December 03, 2017

सकस र छटपटीको हप्तादिन

कपिलदेव खनाल
नुवाकोट । मंसिर १० गते सकिएको नुवाकोटको निर्वाचनको परिणाम आउन अझै केही दिन कुर्नु पर्ने छ । दोश्रो चरणको निर्वाचन बिहिवार सकिए लगत्तै मतगणना सुरु हुने छ । उक्त दिन साँझ पाँच बजेबाटै मतगणना गर्ने तयारी थालिएको छ । तर यो बीचमा उम्मेदवारदेखि आम मतदातासम्म सकस र छटपटी बढेको छ । अन्तिम मत परिणाम आएर विजय यात्रामा निस्कने बेलासम्ममा उम्मेदवाहरु विभिन्न अड्कलवाजी र मतपेटिकको सुरक्षामा रातोदिन लाग्नुपर्दाको पिडा बेग्लै छ ।
    प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ वटा रहेको नुवाकोटको मतपेटिका गएको आइतवार राती देखिनै सम्वन्धित निर्वाचन क्षेत्रको निर्वाचन कार्यालयमा राखिएको छ । झ्याल ढोका सिल गरिनुका साथै प्लाईले छोपेर सुरक्षा दिइएको छ । मतपेटिका राखेको कोठालाई सिसी टिभिको निगरानीमा मात्रै राखिएको छैन, सम्वन्धित उम्मेदवार र दलका प्रतिनिधिले २४ घण्टानै पहरा दिएर राखेका छन् । 
क्षेत्र नं. १ को मतपेटिका राखिएको सहकारी डिभिजन कार्यालयको मुलढोकामा हिजोआजको रातको समयमा कुर्सीमा वरिपरि हिटर ताप्दै आफ्ना साथीसंग गफिइरहेका कार्यकर्ताहरु भेटिन्छन् । मतपेटिका राखेको कोठमा छेउको भित्रि बरण्डामा बन्दुकधारी प्रहरीले पहरा दिइरहेका छन्, बाहिर सशस्त्र प्रहरीले पनि धेरेको छ । नजिकैको भबनको छतबाट मतपेटिका राखेको घरमा चौबिसै घण्टा नेपाली सेनाले बन्दुक तेस्र्याएर बसेको छ ।
 यत्ति मात्रै होइन, उम्मेदवार र दलका कार्यकर्ता पनि घाटीमा आगन्तुक परिचय पत्र झुण्ड्याएर प्रहरी रह ‘ड्युटी’मा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले काँग्रेस र बाम गठवन्धनका कार्यकर्तालाई परिचय पत्रको व्यवस्था गरेको छ । उनीहरु आलोपालो गरेर एक पक्षबाट कम्तिमा दुई जना मतपेटिको रेखदेखका लागि बस्दै आएका छन् ।
यस्तै दृष्य क्षेत्र नं. २ को मतपेटिका राखेको कोलेनिकाको कार्यालयमा पनि छ । ‘पार्टीले दिएको यो ठूलो जिम्मेवारी हो, जनमत तलमाथी होला भनेर हामी आलोपालो गरेर रातदिन पहरा दिएर बसेका छौं’ बाम गठवन्धनका गोकर्णनाथ न्यौपाने भन्छन् ।
त्यसो त उम्मेदवारले आफ्ना प्रतिनिधि र कार्यकर्ताको भरमा मात्रै मतपेटिका छडेका छैनन् । उनीहरु पनि बेलावखतमा अनुगमनमा आउने गरेका छन् । बाम गठवन्धनका उम्मेदवारहरु त रात नै मतपेटिका छेउमा बिताउने गरेका छन् । काँग्रेसका उम्मेदवारहरु हिजोआज मतपेटिका राखेको भवनको रेखदेख गर्न नआएको एक प्रहरीले बताएका छन् । काँग्रेसका रामशरण महत, अर्जुननरसिंह केसी र जगदीश्वरनरिसंह केसी धेरै दिनदेखि मतपेटिका राखेको ठाउँमा आएका छैनन् । ‘पाँच दिन अगाडी रमेश महत र महेन्द्र थिङ्ग आएका थिए’ एक प्रहरीले भने– त्यसपछि उनीहरुलाई पनि देखेको छैन ।’ बाम गठवन्धनका उम्मेदवार हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, हिरानाथ खतिवडा, राधिका तामाङ दिनहुँ मतपत्र राखेको घर वरिपरी भेटिने गरेका छन् ।
एक रात क्षेत्र नं. २ को मतपेटिका कुर्ने दलको प्रतिनिधिहरु सुतेको लाइनमा प्रदेश सभा ख का बाम उम्मेदवार हिरानाथ खतिवडा भेटिए । ‘जनताले दिएको अधिकार कुरेर बसिराको छु’ उनले भने । प्रतिनिधि सभा क्षेत्र नं. १ मा बाम गठवन्धनबाट उम्मेदवार रहेका हितबहादुर तामाङ निर्वाचन आयोगका कर्मचारीको नियतमा शंका लागेर यसरी बस्न परेको बताउछन् । ‘मतपेटिका ल्याएदेखि निर्वाचन अधिकृत देखि कर्मचारीको ब्यवहार र तरिका फरक देखिएको छ, तामाङ भन्छन्– मत पत्र राखेको कोठमा उम्मेदवारले पनि ताल्चा लगाउन पाउने व्यवस्था कार्यान्वय गराउन पनि हामीलाई दुई दिन लाग्यो, यस्तो संवेदनशिल पक्षमा पनि कर्मचारीहरु गैह्र जिम्मेवार देखिएका छन् ।’
नेपाली काँग्रेस नुवाकोटका सभापति एवं क्षेत्र नं. २ को प्रदेश क का उम्मेदवार जगदीश्वरनरसिंह केसी आफ्नो कार्यकर्तालाई मतपेटिकाको सुरक्षाको जिम्मा दिएको बताउछन् । उनी र दाई अर्जुननरसिंह केसी अन्य जिल्लाको चुनावी अभियानका लागि जिल्ला बाहिर छन् । दाई काँग्रेसको विभिन्न कार्यक्रममा सहभागि भइरहेका छन् भने जगदीश्वरनरसिंह ज्वाई गगन थापको कार्यक्रममा व्यस्त देखिएका छन् । त्यसैले मतपेटिका हेर्न कार्यकर्ता परिचालन गरिएको बताइएको छ ।
तर क्षेत्र नं. १ मा काँग्रेसका प्रतिनिधिहरुले रात बस्न छाडेका छन् । मुख्य सडकसंगै मतपेटिका रहेको घर भएकोले दिउँसो कोही पुग्ने गरेको भएपनि रात बस्नका लागि कार्यकर्ताहरु भेटिन छाडेको छ । सुरुको तीन दिनसम्म उत्साही बनेका काँग्रेस कार्यकर्ताहरु अहिले मतपेटिका कुर्ने काममा झिँजो मान्न थालेका छन् । ‘चार दिनसम्म म मात्रै बसँे’ एक काँग्रेस कार्यकर्ताले भने– अरु बस्नै मान्दैनन् ।’ बाम गठवन्धनले भने दिनहुँ कार्यकर्ता फेरेर राख्दै आएको छ । एमालेका जिल्ला अध्यक्ष एवं प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार नारायणप्रसाद खतिवडा दुवै पार्टीको तर्फबाट मत कुर्ने प्रतिनिधिको सूची बनाएर दिउसो र राती बस्ने ब्यवस्था मिलाइएको बताउछन् । ‘दिउसो र राती बस्नेको सूची बनाएर दुवै निर्वाचन क्षेत्रका लागि तयार गरिएको छ र त्यही अनुरुप उहाँलेहरु आफ्नो जिम्मेवारी पुरा गरिहरनुभएको छ, खतिवडा भन्छन्– ‘हामी उम्मेदवारहरु पनि प्रायः समय त्यही वरवर रहने गरेका छौं ।’

नजिकिए महत–केसी
मंसिर ११ गते विदुर सिथ्त अर्जुननरसिंह केसी निवासमा अभुतपुर्व घटना भयो । बाटोमा कुमै ठोक्किने गरी जम्माभेट हुँदा पनि बोलचाल नगर्ने काँग्रेसका नेताहरु एकअर्कामा चुनावी ठट्टा गर्दै चिया पिए ।
    उक्त अभुतपुर्व भेटघाटका साक्षी बनेको एकका अनुसार काँग्रेस नेता डा. रामशरण महत अनौचारिक भेटघाटमा खुब जिस्कने शैलीमा देखिएका थिए । ‘हैन अर्जुनजि सिडिओ एपसीले चुनाव अघि फेरेर हामीमाथी षड्यन्त्र भयो कि के हो’ भन्दै महत मरी मरी हासेका थिए । यो भेटघाटको फोटो फेसबुक मार्फत् बाहिरिएपछि जिल्लामा खुवै चर्चा पाएको थियो । फोटो बाहिरिएसंग काँग्रेसका एक नेताले टिप्पणी गरे– चुनाव अघि यो माहोल बनेको भएत कार्यकर्तालाई केही राहत महशुस त हुन्थ्यो ।’
    लामो समयदेखि तिक्ततापूर्ण सम्वन्ध रहँदै आएको काँग्रेस नेता महत र केसीलाई गएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले केही नजिक बनाएको हो । २०५६ सालदेखि विग्रिएको सम्वन्ध अहिले सामान्य रुपमा सुधार भएको एक काँग्रेस नेताले बताए । एमाले माओवादी बीचको चुनावी एकताका कारण सबै काँग्रेस एकै ठाउँ बस्नुको विकल्पै नभएको भन्दै काँग्रेसका यी नेताहरुले आफ्नो विगतको मन दुखाई थन्क्याएर अङ्गालो हालेका थिए । 
    पछिल्लो पटक नुवाकोटको काँग्रेसको अधिवेशनमा सभापतिमा जगदीश्वरनरसिंह केसी र रमेश महतबीच चुनाव भएपछि पानी समेत वारावारको अवस्था आएको थियो । २०७२ बैशाख १२ गतेको भुइँचालोपछिको ‘नुवाकोटको जस्ता काण्ड’मा मुछिएका अहिलेका प्रदेश सभाका उम्मेदवार रमेश महत विरुद्ध जगदीश्वरनरसिंह केसीले खरो अभिव्यक्ति समेत दिएका थिए । एकले अर्कालाई खुइलाउन पछी नपर्ने महत–केसी राजनीति अहिले केही सितल बनेको छ । त्यस्तै २०५६ मा बागी हालेर अर्जुननरसिंहलाई हराउने हालका प्रदेश सभाका उम्मेदवार महेन्द्र थिङ्ग अहिले केसी क्याम्पमा छन् ।
    नुवाकोट काँग्रेस श्रोतका अनुसार अर्जुननरसिंह केसी, डा. रामशरण महत, जगदीश्वरनरसिंह केसी, रमेश महत, बहादुरसिंह लामा तामाङ र महेन्द्र थिङ्ग बामपन्थिको चुनावी मोर्चाबन्दी देखि हालसम्म ‘किप इन टच’ मा छन् ।
    काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामाले आफ्नो कोटामा परेको सिटबाट प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश ख मा जगत तामाङलाई उठाएका छन् । तामाङ काँग्रेसको प्रतिनिधि सभाको लागि समानुपातिक सूचीमा छन् । बाँकी रहेको दुई प्रतिनिधि सभा र दुई प्रदेश सभामा महतको काका भतिज र केसीको दाजुभाईले बाढेर लिएका छन् । कुनै समय पार्टीको बागी बनेर केसीलाई हराएका हालका जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ्गलाई पनि प्रदेश सभाको उम्मेदवार बनाइएको छ । यो सबै समीकरणका आधारणमा काँग्रेसले आफ्नो छिद्रा टाल्न खोजेको एक नेताले टिप्पणी गरे । ‘महत केसीको तिक्तता यो चुनावले केही कम गरेको छ, ती नेता भन्छन्–तर उनीहरु मध्ये एक पक्ष हार्ने र अर्को पक्ष जित्ने नतिजा आएमा धेरै दुरी बढ्न सक्छ ।’