Saturday, December 16, 2017

बट्टार सहकारीको २२ औं साधारण सभा

तस्बिर कपिलदेव खनाल
बट्टार । बट्टार सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०५३ साल भदौ ३० गते बट्टार मुख्य बजारमा स्थापना भएको उक्त सहकारीले विभिन्न कार्यक्रमको आयोजना गरि बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
    जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष राजेश श्रेष्ठले बट्टार सहकारी संस्था लिमिटेड नुवाकोटका सहकारीहरुका लागि आर्दश र नमूनाको रुपमा रहेको बताउनुभयो । सरकारलाई कर तिर्ने सहकारी संस्थामा समेत अब्बल रहेको भन्दै सरकारले सम्मान समेत गरेको स्मरण गर्दै उहाँलेब बट्टार सहकारीले आफ्ना शेयर सदस्यहरुका लागि उन्नत कार्य गर्दै आएको बताउनुभयो ।
    स्थापना समयमा २५ जना सदस्यले दुई÷दुई सय रुपैयाँ जम्मा गरेर सुरु भएको सो सहकारीको हाल झण्डै चार करोड रुपैयाँ शेयर पुँजी रहेको छ । सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठका अनुसार चालु आर्थिक बर्षमा २९ करोड १४ लाख रुपैयाँ ऋण लगानी र २७ करोड ५५ लाख असुली भएको छ । बट्टार सहकारी संस्थाले गएको आर्थिक वर्षमा नेपाल सरकारलाई १५ लाख भन्दा बढी कर र सञ्चालन मुनाफा कर ३ लाख रुपैयाँ तिरेको थियो ।
    नुवाकोट जिल्लामा सञ्चालनमा रहेका मध्ये पुरनोमा समेत पर्ने सो सहकारी संस्था जिल्लामै बढी कारोवार गर्ने संस्थाको रुपमा रहेको छ । साविकको विदुर नगरपालिका कार्यक्षेत्र रहेको बट्टार सहरकारीमा हाल १४ सय ५० सदस्य रहेका छन् । संस्थाका उपाध्यक्ष टलकमान श्रेष्ठका अनुसार त्यस मध्ये ६०६ महिला, ८५१ पुरुष र १७ संस्थागत सदस्य रहेको छ ।
    २१ वर्ष पुरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा आयोजित उक्त बार्षिक साधारण सभामा सहकारीले आफ्नो जेष्ठ सदस्यको सम्मान समेत गरेको छ । संस्थाले हरेक पर्ष बार्षिक साधारण सभामा ७० वर्ष पुरा भएका आफ्ना सदस्यहरुलाई सम्मान गर्दै आएको छ । यस क्रममा यो पाली राजबाबु श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । २०६८ सालबाट सुरु भएको यो सम्मान अन्र्गगत हालसम्म २४ जनाको सम्मान भईसकेको सहकारीका ब्यवस्थापक हरिप्रसाद जोशीले बताउनुभयो ।
    कार्यक्रममा अध्यक्ष ओमप्काश श्रेष्ठले बार्षिक प्रगती प्रतिवेदन तथा भावी रणनीति, लेखा संयोजक नवराज न्यौपानेले आथिृक प्रतिवेदन, ऋण उप समितिका संयोजक मोहनबहादुर अर्यालले संस्थाको लगानी तथा असुलीको अवस्थालाई प्रस्तुत गर्नुभएको थियो । बार्षिक साधारण सभामा विन्नि व्यक्तिहरुले सफलताको शुभकामना व्यक्त गरेका थिए ।      

Sunday, December 10, 2017

नुवाकोटमा बामपन्थीले भत्काए ‘परिवारवाद’ को विरासत


नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुननरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् । नुवाकोटमा कांग्रेसका ‘हेबीवेट’ नेताहरुले मात्रै हारेका छैनन्, लामो समयदेखि रहँदै आएको ‘परिवारवाद’ को राजनीति समेत ढलेको छ ।
नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हितवहादुर तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी बिजयी भएका छन् । उनले कांग्रेस नेता डा.रामशरण महतलाई करीव ९ हजारको मतान्तरमा पराजित गरेका हुन् । महतले २७ हजार ९२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०५१ सालदेखि लगातार सबै चुनाव जित्दै आएका डा.महतको बिजय यात्रालाई हितबहादुरले यो पाली रोकिदिएका छन् ।
यसअघि २०६४ र २०७० मा महतसँग हितबहादुर पराजित भएका थिए । यो पालीको तेस्रो प्रयासमा तामाङले महतलाई जितेका हुन् ।
नुवाकोटमा चुनाव लड्ने ठाउँ नपाएर काठमाडौं ५ मा उठेका डा. प्रकाशशरण महत पनि हारेका छन् । एमाले महासचिव ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्न गएका डा. रामशरण महतका भाइ प्रकाशशरण महत पनि पराजित भएका हुन् ।
त्यस्तै कांग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीलाई एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोट २ मा १० हजार मतान्तरले पराजित गरेका छन् । नारायण खतिवडा ३६ हजार ८९२  मत पाएर बिजयी हुँदा अर्जुन नरसिंह २६ हजार ३३५ मा रोकिए । नुवाकोटमा महत र केसी परिवारको लामो समयदेखिको प्रभाव यसपटक वामपन्थी गठबन्धनले ध्वस्त बनाइदिएको छ । प्रदेशसभामा पनि महतका भतिजा रमेश महत र केसीका भाइ जगदीश्वरनरसिंह केसी भारी मतले पराजित भएका छन् ।
नुवाकोट १ को प्रदेशसभा क मा माओवादी केन्द्रकी राधिका तामाङ १८ हजार १३७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेका छन् । प्रदेशसभा ख मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत प्राप्त गरी बिजयी भएका छन् । उनले कांग्रेसका रमेश महतलाई ८ हजारको मतान्तरमा पराजित गरेका हुन् । महतले १२ हजार २१७ मत प्राप्त गरे । रमेश डा. रामशरणका भतिजा हुन् ।
उता नुवाकोट २ को प्रदेशसभा क बाट एमालेका केशव पाण्डे २० हजार ९ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरेका छन् । जगदीश्वर अर्जुैननरसिंह केसीको सहोदर भाई हुन् ।
प्रदेशसभा खबाट माओवादीका हिरानाथ खतिवडा १७ हजार ६२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जगत तामाङले १४ हजार ३ मत पाएका छन् । तामाङ काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङको विश्वासपात्र हुन् ।
२१ गते साँझ साातबजेबाट सुरु भएको मत गणनाको नतिजा आइतवार विहान मात्रै आएको हो । विहान सात बजे क्षेत्र नं. २ को नजिता सार्वजनिक भएको थियो भने क्षेत्र नं. १ को १० बजे मात्रै सार्वजनिक भएको थियो । नुवाकोटमा पहिलो पटक सकै क्षेत्रमा कम्युष्टिले जितेको छ । यो खुसीयाली मनाउन धादिङ्गमा निर्वाचित एमालेका नेता राजेन्द्र पाण्डे विहानै विदुर आउनुभएको थियो ।
एमाले माओवादकिो संयुक्त ¥यालीले नुवाकोटको मुख्य केन्द्र र बजार परिक्रममा गरेको छ ।