Monday, September 02, 2019

कपिलदेव खनाल बाट श्रृङ्खला–१

गोरु विक्रीको विज्ञापन छपाउँदा
कपिलदेव खनाल
२०५६ सालको सुरुको समयतिर हुनुपर्छ, गाउँभरीका सहेलीहरुसंग दैनिक भेटघाट गर्न र आफ्ना कुराहरु साटासाट गर्नको लागि बोहोरेको चौतारोमा जम्मा हुने गथ्र्यौ । १५ मिनेट वरपरबाट हिडेर आउने हामीहरुसंग भेटघाट र छलफलमा एजेण्डा भने केही हुँदैन थियो । कट्टुको खल्तीभरी मकै र भटमास बोकेर आउने हामी दिउँसो स्कुलमा भएका पढाई इतरका गफ र शिक्षकहरुले हामीलाई भन्दा बढी केटीहरुलाई गर्ने ‘केयर’लाई मनोरञ्जनात्मक हिसावले व्याख्या गरेर साँझ पाथ्र्यौ र घर फर्कन्थ्यौ । यही क्रममा एक दिन एक जना अपरिचित मान्छे हाम्रो कान निमोठ्न आइपुगे । गाउँकै भएर पनि हामीले नचिनेको दाई हुनुहुँदो रहेछ । विदुर बस्ने अधिवक्ता गणेशप्रसाद खनाल त्यस बेला हाम्रो अगाडी अर्तिउपदेशका भाषा बोलिरहनुभएको थियो । केही साथीहरु स्कुलको मास्टरको झल्को आयो भन्दै उठेपछि उहाँको कुरा छाडेर बीचैमा भागेका थियौ ।
त्यसको केही दिन पछि फेरि गाउँ देखापरेका उनै दाई झोला भरी पत्रिका बोकेर आएका रहेछन् । यो पाली भने हामीलाई नौलो अनुभुती भइरहेको थियो । अनुभुती यो अर्थमाकी हामी प्रायः ले सायदै पढेका थियो होला पत्रिका । त्यहाबाट सुरु भएको कुराकानीको क्रममा गाउँमा पत्रिका प्रकाशन गर्ने टुङ्गोमा पुग्यौ । तर पत्रिका चाँही भित्तामा टाँस्ने । अहिले सम्झदा दुई दिन लगाएर भित्ते पत्रिका लेखेर गोवरले चौतारा वा पाटीपौवामा टाँस्ने कुरा आफैमा रोचक अनि हाँसो उठ्दो कुरा रहेछ ।
त्यस बेला हामीमा पत्रिका प्रकाशन गर्ने विषयले खुव उर्जा भरेको थियो । प्रायः सुन्ने गरेको रेडियो नेपालमा समाचार भन्दै जाँदा वाचकले भन्ने गरेका केही वाक्यहरु हामीलाई राम्रैसंग याद हुन्थे । जस्तो की, समाचार भन्दै गएपछि ‘....उक्त कार्यक्रम क्लवका अध्यक्ष ऋषी धमलाको सभापतित्वमा सम्पन्न भएको थियो’ अनि स्थानीय समाचार बुलेटिनमा बज्ने नुवाकोटको समाचारमा ‘....निर्माण सम्पन्न भएको हाम्रा स्थानीय सम्वाददाता ध्रुवकुमार रावलले जनाएका छन्’ हामीलाई खररनै आउथ्यो । हामी त्यत्ती बेला पत्रकार भनेका यस्तै नाम होलान् भन्ने बुझ्थ्यौँ । अब हामीसंग पत्रकार बन्ने रहर हुर्किसकेको थियो ।
नत पत्रकारिताको जानकारी, न पत्रिकामा आवश्यक सामाग्रीको न्युनतम ज्ञान नै थियो हामीसंग । गणेश दाईले बताएको र पत्रिकामा पढेको आधारमा हामी तम्सियौ भित्ते पत्रिका प्रकाशन गर्न, त्यो पनि साप्ताहिक रुपमा । साच्चै नै काम गर्ने समयमा भने धेरै साथीहरुले अनिच्छा देखाए । मसंग दुई जना भाइहरु सागर र बैकुण्ठ मात्र बाँकी रहे । अन्य साथीहरु चाँही पत्रिकाको जिम्मा हाम्रो काँधमा भन्दै उनीहरु उबडखाबड परेको जमिन सम्याएर भलिवल खेल्ने मैदान बनाउन थाले ।
यसलाई हाम्रो समुह (जो पत्रिका पट्टी भाग लगाइएको थियो)ले स्विकार गरेको थियो । चौर सम्याएर सक्किएको भोलिपल्ट पत्रिका प्रकाशन गर्ने र खेलमैदान निर्माण गरेको समाचारलाई प्राथमिकता दिने हाम्रो योजना थियो । भयो पनि त्यसै । हामीले जेष्ठ २७ गते शनिवार चाँदनी नाम राखेर साप्ताहिक भित्रे पत्रिका प्रकाशन सुरु ग¥यौ । प्रधान सम्पादकमा मलाई साथीहरुले छानेका थिए । हाम्रो परिभाषामा प्रधान सम्पादक भनेको चाँही लेख्ने कुराहरु जुटाउने, पत्रिका लेख्ने र टाँस्नको लागि गोवर र पत्रिका लैजाने मान्छे भन्ने थियो । सम्पादन मण्डलमा रहेकोहरुले चाँही गाउँघरमा के भइरहेको छ सुन्ने र थाहा पाउने कोशिस गर्थे । त्यसरी थाहा पाएको खबर पत्रिकामा लेखिनु भन्दा पहिल्यै धेरैलाई थाहा नहोस् भनेर सम्पादक मण्डलका साथीहरु अन्य साथीसंग कमै बोल्ने गर्ने । पत्रकारिता र पत्रिकाको विषयमा त्यस बेला हामीसंग भएको आफ्नो छुट्टै बुझाई र प्रयोगलाई सम्झिदा आजभोलि हाँसो उठ्छ ।
पत्रिकालाई चार वटा लेखेर फरक फरक चार स्थानमा टाँस्ने गरेका थियौ । साथीहरु बरोवरी भेला हुने बोहोरेको चौतारो, पढ्नको लागि जाने विज्ञान माविको भवन, बाहुनबेशीको सृजनशील सहकारी र आप्रँह बजारमा हामीले पत्रिका टाँस्थ्यौ । त्यस मध्ये विशेष चर्चा र पत्रिकाको प्रभाव चाँही आप्रँहमा टाँसेकोले बटुल्ले गरेको थियो । आप्रँह त्यस बेला क्षेत्र नं. २ को प्रमुख व्यापारीक केन्द्र थियो र त्यहाँ मानिसको चहलपहल सदरमुकामको भन्दा कम हुदैन थियो । आजभोलि सम्झिदा अचम्म लाग्छ मलाई, त्यत्तीका मान्छेहरु कहाँ गए होलान् ? आजभोलि त पुरै–पुरै गाउँ नै रित्तो छ ।
पहिलो अङ्क प्रकाशनमा हामीलाई जम्मा जम्मी छ रुपैयाँ लागेको थियो । हप्ताको छ रुपैयाँ पत्रिकाको लागि भनेर माग्ने वा जम्मा गर्ने हामीसंग श्रोत थिएन । पहिलो अङ्क आउँदासम्म हामीलाई कसैले पनि कुनै प्रतिक्रृया दिएका थिएनन् । जब हामीले दोश्रो अङ्क प्रकाशन गरेर चार स्थानमा टाँस्यौ, त्यस पछि हाँस्ने मान्छे पनि निस्किए र स्यावासी दिने मान्छे पनि निस्किए ।
भयो चाँही के भने असार २ गते प्रकाशन भएको उक्त पत्रिकमा गोरु विक्रीको विज्ञापन छापिएको थियो । मेरो घर तलका ठुलाबा (नाताले हजुरबा पर्ने तर हामी ठूलाबा भन्छौ) गोरु विक्री नभएर चोट्टे परेका बसिरहनु भएको रहेछ । मैले गोरु बिकाउने र त्यस बापत उहाँले मलाई १० रुपैयाँ दिने शर्त मारेर हिडेको थिएँ । मेरो दाउ पनि पत्रिकामा विज्ञापन गर्ने र गोरु विक्रीको साथै पत्रिकाको नाम पनि फिजाउने थियो । गोरु विक्रीको लागि आफ्नो नाम ठेगाना र मोल सहितको विवरण लेखेर बजारमा टाँसेको थाहाँ पाएपछि ठुलाबाले झण्डै मारेका थिए ।
दुई दिन पछि ति नै ठुलाबा हसिलो मुद्रामा भेटिए । बिहान मात्रै गणेस्थानका मान्छे आएर आठ हजारमा हल गोरु किनेर लगेछ । ‘नाती बजारमा टाँसेको पत्र पढेर गोरु किन्न आएछन्, जाती कुरा रहेछ यो त’ ठुलाबाले भनेको वाक्य म अझै सम्झन्छु । उहाँले मलाई २० रुपैयाँ पनि दिनुभएको थियो । १० रुपैयाँमा भएको सहमतीमा प्रसन्नताले अर्को १० रुपैयाँ थपियो । उहाँ खुसी हुनुभएर थपिदिनु भएको रे ! त्यो २० रुपैयाँले कागज र कार्वनका साथमा १२ थरी रङ्ग भएको साइनपेनको प्याकेट नै किने जुन रङ्ग पछिसम्म पत्रिका रङ्गाउन काम आएको थियो । कार्वन किनेपछि मलाई चार वटा पत्रिका दुई पटकमै तयार गर्न सजिलो भएको थियो । 
पत्रिकामा लेखेर नै गोरु विक्री भएको हल्लाले नौ गाउँ हल्लाइसकेको रहेछ । कविलासबाट दिदी घर आउनुहुँदा समेत भन्नुभएपछि म अलमल्लमा परेको थिएँ । त्यस बेलामा पत्रिका पढेर सल्लाह दिने र यस्तोउस्तो लेख्नु पर्छ भन्ने अग्रजहरुको संख्या ह्वात्तै बढ्न थाल्यो । दोश्रो अङ्कमै प्रकाशन भएको गोरु विक्रीको सूचनाले चाँदनी भित्ते पत्रिका कसको र कहाँको हो भनेर चिनाई रहनुपरेन । त्यसबेला स्थानीय समाचारहरु लेखेर भित्तामा टाँस्दा जान्नेसुन्नेहरुले राम्रो काम हो भनेर धाप मार्थे । तर पछाडी परेपछि हाँसेर उठाउँदा पनि रहेछन् । यो घटना कसरी प्रमाणित भयो भने एकजना भण्डारी बाजेले ‘तिम्रो अखवरमा लेखेर गोरु विक्री भयो रे मेरो खेत बेच्नु थियो’ भने ।
खेत विक्री भएपछि मात्रै पैसा दिने शर्तमा उनको खेत विक्रीको विज्ञापन छापियो । त्यो अङ्क आठ÷नौ तिर प्रकाशन भएको हुुनुपर्छ । उसै त थोरै जग्गा भएको ठाउँ बाहुनबेशी त्यसमा पनि भण्डारीहरुको पुरानो थाकथलो । त्यसबाट पनि चार÷पाँच रोपनी जग्गा विक्रीका लागि सूचना आएकोले पढ्नेहरुमा तरङ्ग पैदा भएछ । त्यसको पछिल्लो शनिवार म पत्रिकाको नयाँ अङ्क टाँसनको लागि हातमा गोवर लिएर हिड्दै थिएँ, एक जनाले अधबैशे मानिसले बाहुनबेशीको कुलोमा (अअिले पिच सडक भएको ठाउँ) नराम्रोसंग हकारे । कुरा बुझ्दै जाँदा पत्रिकामा गलत सूचना आएको कारण म हप्पकी खाँदै रहेछु । कुरा के रहेछ भने जग्गा विक्रीका लागि सूचना छपाउने भण्डारी बाजेले आफुले सूचना नपदएको र जग्गा बेच्ने थाहै नभएको हल्ला चलाएन् । भोक्किएर उनको घर पुग्दा ‘तिम्रो पत्रिका कत्तिजनाले हेर्दा रहेछन् भनेर जाँचेको नी, कहाँ जग्गा बेच्नु’ पो भन्दै थिए बाजे त । तर विज्ञापन प्रकाशन बापतको भनेर पाँच रुपैयाँ चाँही लिई छाडेँ ।
पत्रकारिताको विद्यार्थी भएपछि मैले गाउँ रहँदा गरेको कार्यलाई विस्तारै बुझ्न थाले । त्यसलाई पछिल्लो विश्वमा विकास पत्रकारिताको नामले बुझिदो रहेछ । विशेष गरी विकसित राष्ट्रहरुमा अपनाइने त्यस्ता पत्रकारिताका विधि सर्वाधिक लोकप्रिय छन् । नेपालमा भने विकास पत्रकारिताको अभ्यास सुरु हुने चरणमै छ । त्यसैलाई बढावा दिनका लागि सरकारले ल्याएको गाउँ गाउँमा रेडियो सञ्चालनको अवधारणा पनि लगभग असफल भएको छ । एफएम स्टेशनहरु गाउँ गाउँमा सञ्चालनको लागि स्विकृति दिने सरकारको योजनलाई राष्ट्रिय रुपमा भन्नुभर्दा पछिल्लो समय माफियाहरुले असफल बनाएका छन् । अनुमती भन्दा बाहिरको स्थानमा बढी क्षमताको रेडियो सञ्चालन गर्दा अहिले सरकार अनुमती पत्र दिनलाई समेत हिचकिचाएको अवस्था छ ।
म रेडियोको यो प्रसङ्ग त्यही गोरु विक्रीको सूचनामा लगेर जोड्न चाहान्छु । एफएम रेडियो भनेको एउटा समुदायको लागि वा भनौ सानो ठाउँका लागि सञ्चालनमा ल्याइने आमसञ्चारको एउटा सशक्त माध्याम हो । नेपालमा विकृत रुपमा विकास भएको बढी क्षेत्र समेट्ने रेडियोहरु एफएम रेडियोको अवधारणा भन्दा बाहिर छन् । बास्तव मै एफएम रेडियोहरुले गर्ने भनेको आफ्नो सानो क्षेत्र निर्धाण गरेर त्यस गाउँमा हुने जस्तोसुकै गतिविधी र कार्यको हल्लाखल्ला गरिरहनु हो । मलाई त के लाग्छ भने, सामुदायिक रेडियोहरुले स्थानीय स्तरका जेजस्ता कुराहरु पनि प्रशारण गर्नुपर्छ । त्यो छिमेकमा हुनलागेको पुजाआजा, तिथिश्राद्धको निम्तो पनि किन नहोस् । गोरु र खेत विक्रीको सूचना प्रशारण त अझ बेग्लै कुरा ।

No comments:

Post a Comment