Friday, September 06, 2019

नुवाकोटमा पुनर्निमाण र जिविकोपार्जनको पुनस्र्थापना

विदुर/पञ्चकन्या गाउँपालिका वडा नं. १ आँपचौरका सानुकान्छी राईलाई ग्रामीण स्वावलम्बन विकास केन्द्र अभिभावक जत्तिकै भरपर्दो भएर देखापर्यो । २०७२ सालको भुईचालोले आफ्नो घर ध्वस्त भएपछि कसरी घर बनाउने र चार जनाको टाउको लुकाउने भन्ने यिनको पिरलोको जिम्मा लियो केन्द्रले ।
यही गाउँका नरबहादुर राईलाई पनि घर बनाउनका लागि ग्रामीण स्वावलम्बन विकास केन्द्रले गरेको भरथेग जीवनभरका लागि अमुल्य रहने भयो । यि सानुकान्छी र नरबहादुर राई जस्ता पञ्चकन्या गाउँपालिका वडा नं. १ का २ सय ५५ घरपरिवारले समयमै प्रकोप प्रतिरोधी घर पाएका छन् ।
सन् २०१५ को मे १ बाट २०१८ को डिसेम्वरसम्मका लागि नुवाकोटको तत्कालिन चार गाविसहरुमा पिछडिएका विपन्न बस्तीहरुका लागि जिविकोपार्जनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सामुदायिक स्वावलम्बन अवधारणामा आधारित कार्यक्रम सञ्चालनको तयारी रहेकै बेला विनाशकारी भुईचालो गयो । त्यसपछि कार्यक्रमको स्वरुप परिर्वतन गरेर लागू भयो । ति साविकका नुवाकोटका गाविसहरुमा सुर्यमती, चौघडा, थानापती र सुनखानी थियो । ति चार गाविसहरु अहिले तीन वटा गाउँपालिकाको पाँच वटा वडाहरुमा परिमार्जन भएको छ । प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले यस संस्थाले नुवाकोटका भुईचालोबाट पिडित भएका नागरिकहरुका लागि गरेको सहयोगको खुलेर प्रशंसा गरेका छन् । तत्कालिन समयमा संघसंस्थाहरु काम गर्न सजिलो ठाउँमा मात्रै जाने अवस्थामा पनि ग्रामीण स्वावलम्बन विकास केन्द्रले विकट र अप्ठ्यारो ठाउँमा काम गरेको तामाङले स्मरण गरे । 
ग्रामीण स्वावलम्बन विकास केन्द्रले माल्टेजर इन्टरनेशनलको सहयोगमा यि वडाहरुमा आयआर्जन समुहको माध्यामबाट विपद् न्यूनीकरणका लागि सामुदायिक सहयोग परियोजना कार्यान्वयन गर्यो ।
साविकको चौघडा गाविसको वडा नं. ४ आँपचौर गाउँमा ६ वटा आयाआर्जन समुहहरु गठन गरेर आफ्ना गतिविधि गर्दै आएको थियो । भुकम्प लगत्तै संस्थाले माल्टेजर इन्टरनेशनलको सहयोगमा जाडोयामका लागि आवश्यक लागुफाटा समुदायमा वितरण गर्यो । २०७२ साल फागुनतिर आँपचौरका घरविहिन पीडित नागरिकहरुको माग र सुझावका आधारमा संस्थाले घर निर्माण गरिदिने योजना अघि सार्यो र कार्यान्वयमै ल्यायो । ग्रामीण स्वावलम्बन विकास केन्द्रका कार्यक्रम प्रमुख शिबप्रसाद बस्याल भुइँचालो गएको तत्कालको समयमा सरकारले नागरिकलाई दिने भनेको रकम प्रदान गरेर सरकारको अभियानलाई संस्थाले नै अघि बढाएको बताउँछन् । अर्कै लक्ष्य बोकेर यो गाउँमा आएको संस्थाले भुईचालोबाट आक्रान्त बनेको नागरिकहरुलाई सहयोग पूगनेगरी कार्यक्रमको स्वरुपनै फेरेको छ ।
पिल्लर सहितको इट्टाको पर्खाल र छत ढलाल गरेको देखि सिमेन्ट ब्लकबाट तयार भई जस्ताको छानो लगाएको घरसम्म तयार भएको छ । त्यस्तै एक कोठे देखि चार भन्दा बढी कोठा भएको घर समेत संस्थाको सहयोगमा आपँचौरमा निर्माण भएको छ । तीन लाख रुपैयाँ देखि नौं लाख भन्दा बढी रुपैयाँसम्ममा यहाँ घरहरु निर्माण भएका छन् । आर्थिक अवस्था कमजोर रहेका नागरिकहरुलाई ग्रामीण स्वावलम्वबन विकास केन्द्रेले उपलब्ध गराएको तीन लाख पनि घर निर्माणका लागि पर्याप्त भएको छ । आफ्नै केही आर्थिक हैसियत र साधन श्रोत हुनेहरुले भने संस्थाले उपलब्ध गराएको रकममा थपथाप गरेर घरमा केही सुविधा थपेका छन् । त्यसो त, संस्थाले सबै घरमा शौचालय पनि निर्माण गरेको छ । यो अवसर प्राप्त गर्ने नागरिकहरुमा पञ्चकन्या गाउँपालिका वडा नं. १ को आपँचौर, चपरा, फुँयालडाँडा, बाँनियाटारका नागरिकहरु छन् । प्रदेश नं. ३ का सांसद बद्री मैनालीले पिडामा परेका नागरिकहरुलाई खुसी दिने अभियानमा ग्रामीण स्वावलम्बन विकास केन्द्र रहेको भन्दै खुसी व्यक्त गरे ।
२५५ परिवारका लागि तयार भएको सबै घरहरु भुकम्पीय दृष्टिले सुरक्षित छन् । बनेका घरहरुको मोडल भने एकै किसिमको छैन । दुई सय भन्दा बढी घरहरुमा छड, सिमेन्ट र पक्की ईट्टाको प्रयोग भएको छ । बाँकी घरहरु सिमेन्टको ब्लकले गाह्रो र जस्ताको छाना लगाएर तयार भएको छ । 
त्यसो त, घर बनाउँदा लागेको ऋण तिर्न पनि नागरिकहरुलाई सहयोग चाहिने आवस्थाको सृजना भइसकेको छ । त्यही भएर घर पुनर्निर्माणसंगै जिविकोपार्जनको पुनस्र्थापना को अवधारणा संस्थाले ल्याएको छ । त्यस अनुसारको कार्यक्रममा स्थानीयहरुलाई संस्थाले सहभागी गराएको छ । अब यसलाई अगाडी बढाउन र नागरिकहरुको जीविकामा साथ दिन ग्रामीण स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख डा. दुर्गाप्रसाद पौड्यालले स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
जिविकोपार्जनका कार्यक्रमहरु अन्र्तगत उमशीलता तालिम, सीप बिकास तालिम, जैविक मल, बाली भित्र्याउने तरिका, एकीकृत रोग–किरा व्यवस्थापन, बजारमुखी उत्पादन तथा बजार व्यवस्थापनको बारेमा समेत कृषकहरुलाई जानकारी प्रदान गरिएको छ । त्यसमा ग्रामीण स्वावलम्बन विकास केन्द्रले सहयोग समेत पु¥याएको छ । विपद् अनुकुलन खेतीपातीको तालिम तथा सामाम्री वितरणका कार्यक्रमहरु समेत भएका छन् । त्यस्तै थोक व्यापारी तथा कर्जादाताहरुसंग छलफल पनि भएको छ । कृषि उत्पादन संकलन केन्द्र निर्माण एवं व्यवस्थापन, साना सिञ्चाई र माटो परीक्षणका कार्यक्रमहरु भएका छन् ।  यसरी ग्रामीण स्वावलम्बन विकास केन्द्रले गाउँपालिकामा सञ्चालन गरेको कार्यक्रमहरु बहुपयोगी र प्रभावकारी देखिएको छ । स्थानीय सरकारका प्रमुखले समेत संस्थालाई आफ्नो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् । भुईचालो पछि काम गर्न आएका अन्य थुप्रै संघसंस्थाको कार्यशैली र ग्रामीण स्वावलम्बन विकास केन्द्रले गरेको काममा फरक रहेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।
त्यस्तै महशुस भएको थियो पञ्चकन्या गाउँपालिका वडा नं. १ का अध्यक्ष मणिनाथ लामिछानेलाई पनि । भुईचालोपछि वडामा काम गर्न आएका संघसंस्था र परियोजनाहरुले नागरिकहरुलाई कम हित गरेको अनुभव गरेका वडा अध्यक्ष लामिछानेले यस संस्थाको प्रशंसा सार्वजनिक कार्यक्रमै गरेका छन् ।
जनप्रतिनिधिहरुबाटै कार्यक्रमको अवधि लम्वाउन र परियोजना थप गर्न आग्रह भइरहेको छ । ग्रामीण स्वावलम्बन विकास केन्द्रलाई परियोजना सहयोग गरिरहेको माल्टेजर इन्टरनेशनलले पञ्चकन्या गाउँपालिकामा थप कार्यक्रम सञ्चालनको सम्भाव्यता अध्ययन भइरहेको जनाएको छ । भविष्यमा अन्य संस्थासंगको सहकार्यमा कार्यक्रम अगाडी बढाइने र भविष्यमा गर्ने कार्यक्रमको अध्ययन पिआरए भइरहेको माल्टेजर ईन्टरनेशनलका कन्ट्री ड्राइरेक्टर बिजयलाल श्रेष्ठले बताए ।
ग्रामीण स्वावलम्बन विकास केन्द्रले समुदायमा विपद् अनुकुल कृषि प्रविधिको तालिम एवं क्षमता विकासको कार्यक्रम समेत गरेको छ । जस अन्र्तगत भुईचालोबाट पानीका मुल सुकेको ठाउँहरुमा पानी संकलन गर्ने प्लाष्टिकका पोखरीहरु तथा थोपा सिञ्चाई जस्ता पानीको व्यवस्थापन गर्ने प्रविधिको बारेमा सिकाईएको छ । बेमौसमी तरकारी खेती गर्ने कृषकहरुलाई टनेल, ड्याङ छोप्ने प्रविधि सिकाईएको छ । त्यसका साथै ति प्रविधिका लागि आवश्यक औजार, विउविजन वितरण गरिएको छ । माटो परीक्षण गरेर उर्वरता बढाउने तालिम पनि प्रदान गरिएको छ ।
जिविकोपार्जनका कार्यक्रम अन्र्तगत नै एकीकृत रोग कीरा–व्यवस्थापनको पाटोमा समेत ग्रामीण स्वावलम्बन विकास केन्द्रले  समुदायमा काम गरेको छ । कृषि बालीहरुमा लाग्ने रोग कीराहरुलाई विषादीले नियन्त्रण गर्दा त्यसको नकारात्मक असर मानिस तथा पशु स्वास्थ्यमा पर्ने भएकोले कार्यक्रमले जैविक सामाग्रीको प्रयोगमा अग्रसर गराएको छ । रुदुवा पञ्चकल्याणी स्वावलम्बन कृषि सहकारी संस्था शिवपुरी–८ थानापतीका उपाध्यक्ष रामकुमार थापा ।
उद्यमशीलताको विकासमा आयाआर्जनका क्रियाकलापमा लागेका किसानहरु आफुसंग भएको साधन र क्षमताको आँकलन गरी त्यही अनुसारको जीविकोपार्जन कार्य गर्न उद्यमशीलताको तालिम समेत प्रदान गरेको छ । जसमा कृषि, पशुविकास, तरकारी तथा फलफुल खेती, करेसावारी जस्ता क्षेत्रहरुमा आफ्नो रुची, क्षमता, श्रोत–साधन, तरिका र विधिका बारेमा स्थानीयहरु जानकार भएका छन् । महाङ्कालेश्वरी कृषि सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष तेजकुमार श्रेष्ठ संस्थाले गरेको सहायताका कारण गदगद् छन् ।
ग्रामीण स्वावलम्बन विकास केन्द्रले कृषकहरुलाई गुणस्तरीय उत्पादन एवं बजार ब्यवस्थापनको पाटोमा समेत सघाएको छ । उत्पादनको गुणस्तर कसरी बढाउने, बाली भित्र्याउदा कसरी कम क्षती गर्ने, सामाग्री कसरी भण्डारण गर्ने र बजारमा पु¥याउने भन्ने विषयमा पनि सचेतना बढेको छ ।
त्यसो त लक्षित वर्ग विपन्न एवं पछाडी परेको समुदायको कृषि उत्पादन संकलन गर्न व्यापारीहरु घरमै नजाने र बजारसंगको प्रतिस्पर्धामा ठगिदै आएका थिए । त्यसैले उनीहरुको हितका लागि समुदायको पायक पर्ने ठाउँमा संकलन केन्द्र तयार पारिएको छ । जहाँ समान राख्ने, नापतौल गर्ने सुविधा उपलब्ध रहेको छ । तीन वटा गाउँपालिकाको कार्यक्रम लागू भएको पाँच वटै वडामा संकलन केन्द्र स्थापना भई हाल सञ्चालनमा रहेको छ ।
यी बाहेक पाइप वितरण, प्लाष्टिकको पोखरी निर्माण, स्प्रिङ्ग कल, बाख्रा पालन, बोका वितरण, टनेल खेती, कुखुरा पालन तालिम, मौरी पालन तालिम र घार वितरण, आरन सुधार कार्यक्रम र आरनको सामाग्री हस्तान्तरण जस्ता कार्यक्रम पनि सञ्चालन भएको ग्रामीण स्वावलम्बन विकास केन्द्रका परियोजना सुपरभाइजर साधुराम सापकोटाले जानकारी दिए । 

लिखु, पञ्चकन्या र शिवपुरीमा ग्रामीण स्वावलम्बन विकास केन्द्रले गरेको कार्यक्रममा कृषकहरु अधिकमात्रामा लाभान्वित भएका छन् । जसमा लिखुको वडा नं. ३ र ४ शिवपुरीको ७ र ८ र पञ्चकन्या गाउँपालिकाको वडा नं. १ रहेको छ । ति वडाहरुमा संस्थाले गठन गरेको समुहहरु सहकारीमा परिणत भएका छन् । लिखु गाउँपालिका वडा नं. ४ को १२ वटा समुह मिलेर एक, पञ्चकन्या वडा नं. १ का ११ वटा समुह मिलेर दुई वटा सहकारी गठन भएको छ । त्यस्तै शिवपुरी गाउँपालिका वडा नं. ७ मा ११ वटा समुहबाट एउटा सहकारी र वडा नं. ८ मा १२ वटा समुह मिलेर एउटा सहकारी स्थापना भएको छ । लिखु गाउँपालिकाको वडा नं. ३ मा रहेको १४ वटा समुहहरु भने कृषि सञ्जालमा आवद्ध भएका छन् । यसरी ग्रामीण स्वावलम्बन विकास केन्द्रले ६० वटा कृषि समुह गठन गरेर त्यसलाई ६ वटा सहकारीमै रुपान्तरण गरिसकेको छ । यसरी कृषकको समुह तयार गरेर सहकारीसम्मको कल्पना साकार गर्ने परियोजना गाउँमा निरन्तर हुनुपर्ने तर्क रुदुवा पञ्चकल्याणी स्वावलम्बन कृषि सहकारी संस्था शिवपुरी–८ थानापतीका सचिव सरोज थपलियाको छ । उनी आफुजस्ता युवाहरुलाई कृषिमा जोडिराख्नका लागि यो संस्था र कार्यक्रमहरु आवश्यक रहेको बताउँछन् ।
परियोजना अन्र्तगत नुवाकोटको तीन स्थानीय तहको पाँच वटा वडाहरुमा पाँच वटा कार्यक्रमहरु सञ्चालन भएका छन् । जसमा आवास निर्माण, खानेपानी तथा सरसफाई, विपद् व्यवस्थापन, जिविकोपार्जनका कार्यक्रम र स्वास्थ्य कार्यक्रम छन् । स्वास्थ्य कार्यक्रम अन्र्तगत ग्रामीण स्वावलम्बन विकास केन्द्रलेले नुवाकोटको किस्पाङ्ग गाउँपालिका वडा नं. १ भाल्चे र ककनी गाउँपालिका वडा नंं १ ओखरपौवामा स्वास्थ्य चौकी निर्माण गरेको छ । आधारभुत स्वास्थ्य सेवा अन्र्तगत एक÷एक वटा स्वास्थ्य चौकी भवन निर्माण भएको हो । त्यस्तै ६ वटा स्वास्थ्य चौकीहरुमा स्वास्थ्यसंग सम्वन्धित सामाग्रीहरु पनि वितरण भएका छन् । 
मानिसको स्वास्थ्य तथा दैनिकीसंग प्रत्यक्ष जोडिने खोनपानीको क्षेत्रमा समेत संस्थाले प्रशस्तै काम गरेको छ । परियोजना क्षेत्रका साविकका चार गाविसहरुमा भुईचालोबाट क्षतिग्रस्त १२ वटा खानेपानी आयोजनाहरु यही प्रियोजना अन्र्तगत निर्माण भएका छन् । सोही कार्यक्रममा ३२ वटा साना निर्माण कार्य र मर्मत भएको छ । त्यसमा ३ वटा फेरोसिमेन्ट, ट्याङ्की निर्माण भएको छ । त्यस्तै नौं वटा प्लाष्टिक ट्याङ्की जडान, ५ वटा इन्टेक निर्माण भएको छ । यो खानेपानीका साना ठुलो कार्यक्रमबाट ७ सय घरपरिवारका झण्डै ४ हजार नागरिकहरु लाभान्वित भएको ग्रामीण स्वावलम्बन विकास केन्द्रका फिल्ड प्राविधिक सन्तोष कोइरालले बताए ।
त्यस्तै, आयोजनाहरुमा उपभोक्ता समिति गठन गरी उनीहरुको काम, कर्तब्य तथा जिम्मेवारी अनि मर्मत सम्भारको तालिम समेत प्रदान गरिएको छ । सबै आयोजनाहरु निर्माण सम्पन्न भई उपभोक्ताहरुलाई ग्रामीण स्वावलम्बन विकास केन्द्रेले हस्तान्तरण समेत गरेको छ । भुईचालोबाट क्षतिग्रस्त पानीका मुहान ग्रामीण स्वावलम्बन विकास केन्द्रले मर्मत पनि गरेको छ । पानी ट्याङ्कीहरु प्रकोप प्रतिरोधी समेत निर्माण भएको छ । पानीको परीक्षण मुहानदेखि घरको धाराधारासम्म गरिएको छ ।
ग्रामीण स्वावलम्बन विकास केन्द्रले गरेको कार्यक्रको स्थानीय सरकारबाट सम्मान र कदर समेत भएको छ । क्षतिग्रसत गाउँ उठाउने सरकारको अभियानमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सहयोगी संस्था माल्टेजर इन्टरनेशनललाई समेत पञ्चकन्या गाउँपालिकाले कदर पत्र प्रदान गरेको छ ।
ग्रामीण स्वावलम्बन विकास केन्द्रले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना समेत तयार गरेको छ । उक्त स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना लिखु, शिवपुरी र पञ्चकन्या गाउँपालिकामा कार्यान्वयमा आएको छ । भुईचालो, पहिरो, बाढी, चट्याङ तथा आगलागी जस्ता प्रकोपहरुको न्युनिकरणमा यो स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना प्रभावकारी मानिएको छ । यो स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना लिखु, शिवपुरी र पञ्चकन्या गाउँपालिकाको परियोजना लागू भएको ५ वटै वडामा कार्यान्वयमा आएको छ । 

No comments:

Post a Comment