Monday, September 02, 2019

कपिलदेव खनालसंग श्रृङ्खला २

नुवाकोटको दैनिक पत्रिका र म
नुवाकोट जिल्लाबाट प्रकाशन हुने दैनिक पत्रिकामा अहिले एउटा मात्रै छ ः उत्तरगया दैनिक । यो बीचमा यहाँबाट चार वटा दैनिक पत्रिका प्रकाशन भईवरी बन्द भएका छन् । अहिले ठिक एक वर्षको चक्र तय गरेको उत्तरगया दैनिकको ईतिहास पनि पुरानै छ । नुवाकोटलाई कार्यक्षेत्र बनाएर प्रकाशन हुने दैनिक पत्रिका मध्येको कान्छो उत्तरगया पनि एक समय प्रकाशन आरम्भ भएर स्थगन भएको सञ्चार संस्था हो । २०६३ सालदेखि नुवाकोटमा दैनिक पत्रिका प्रकाशनको इतिहास भेटिन्छ । यो समयखण्डमा प्रकाशन भएका सबै दैनिक पत्रिका कुनै न कुनै भुमिकामा सम्लग्न मात्रै नभई जिल्लामा दैनिक पत्रिका सुरु गराउने ‘लहडी तीन जना’ मध्येको एक भएकै कारण म (अन्य दुई जना ध्रुवकुमार रावल र भोलाराज पौडेल) दैनिक पत्रिका प्रकाशनको सवालमा केही कुरालाई सामान्य रुपमा लिन्छु र केही कुरालाई जिब्रो टोकेर ‘आम्मा हो’ भन्ने कित्तामा राख्छु ।
दैनिक पत्रिका प्रकाशन, समाग्री संकलन, बजार व्यवस्थापन र निरन्तरताको सवालमा केही पाटो भोगँे, केही पाटो बाहिर बसेर अनुभुत गरेँ । अहिले प्रकाशन भइरहेको उत्तरगया दैनिकले जुन गति लिएको छ, यो सबै हेरेर बाहिरबाट अनुमान लगाइने र भित्रि परिस्थिति विल्कुलै फरक छन् । ‘वान म्यान आर्मी’ भनेजस्तो शिव देवकोटा एक्लै पत्रिकाको सारा काम गर्छन् । बाहिर बजारमा वा पाठकका हातहातमा पुग्ने पत्रिका उनी अफिसमा लुसुलुसु पट्याइरहेका छन् । पत्रिका मेसिनमा राखेर गरिने छपाई बाहेकका सबै पक्ष, विषय र कामलाई एकै जनाले सन्तुलन कायम गरेर दैनिक पत्रिका प्रकाशन गर्नु र यो पनि वर्ष दिनसम्म खुरुुखुरु गरिरहनुले म अहिले जिब्रो टोकिरहेछु । यही परिस्थितिलाई नजिकैबाट हेरिरहेको (हेरिमात्रै रहेको) मेरो अनुभवमा नुवाकोटको दैनिक पत्रिकाको इतिहास अगाडी बढेर पनि पछाडी हटेको वा छलफल, लगानीका लागि एउटा क्षेत्र बनिसक्दा पनि बिर्सिइएकै अझोलमा परेकै हो ।

२०६३ साल बैशाख १० गते । नुवाकोटको पत्रिकारिताका लागि एउटा शुभदिन । जुन दिनले देखायो नुवाकोटमा दैनिक पत्रिकाको सम्भावना । तत्कालिन समयमा राजतन्त्र हटाउनका लागि सडक आन्दोलन उत्कर्षमा थियो । लगभग सबै क्षेत्र र अवस्था डामाडोलजस्तै थियो । काठमाडौंबाट प्रकाशन हुने पत्रपत्रिकाहरु विदुरमा आइपुग्न छाडिसकेको थियो । आमहड्तालका कारण । अहिलेको जस्तो इन्टरनेट, अनलाईन, सामाजिक सञ्जाल त्यसबेला प्रयोगमै थिएनन् । एक त बाहिरी जिल्लाको आन्दोलनको अवस्था यता थाहा पाउन मुस्किल, अर्को नुवाकोटको आन्दोलनले प्रचार नपाउने दोहोरो समस्या २०६३ को बैशाख पहिलो हप्तादेखिनै सृजना भयो । लोकतान्त्रिक आन्दोलनको सूचनाको तिर्खाले नागरिकहरु, लोकतन्त्रवादीहरु प्याक्प्याक्ती हुँदा सम्मपनि विकल्प केही थिएन । अहिले पुर्व जिविस भवन अगाडी विदुर स्थित जिल्ला सहकारी संघको भवन बनेकै ठाउँमा नेपाल पत्रकार महासंघको अफिस थियो । त्यहाँ जिनतिन इन्टरनेट चल्थ्यो । जिनतिन यस अर्थमाकि त्यसबेलामा नेपाल टेलिकमको ल्याण्डलाईन फोन कम्प्युटरमा जोडेर इन्टरनेट चलाउनु पर्यो । इन्टरनेटको पासवर्ड हरेक मिनेटका हिसावले गणना हुनेगरी किन्नुपथ्र्यो । इन्टरनेटको पासवर्ड प्रदायकहरु काठमाडौंमा मात्रै हुन्थ्ये, यता जिल्लातिर चाहेर पनि किन्न सकिदैन थियो । त्यसो त दुई तीन वटा सरकारी कार्यालयले मात्रै ईन्टरनेट चलाउथ्यो त्यो पनि कहिलेकाहिँ । यस्तो चरम परिस्थितिमा हामीलाई सहयोग मिल्थ्यो तत्कालिन जिल्ला विकास समितिका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालबाट । उनले जिविसको ईन्टरनेट पासवर्ड हामीलाई दिन्थ्यें । एक त कम स्पीडको इन्टरनेट थियो, अर्को परिरहने समस्या चाँही अर्को कम्प्युटरमा त्यही पासवर्ड राखेर अरु कसैले डायल गरे भने हाम्रा कम्प्युटरमा भएको इन्टरनेटको कनेक्सन टुट्थ्यो । त्यस्तो ‘हाला’ हुने अवस्थामा काठमाडौंका इन्टरनेट पहुँच भएका अग्रज पत्रकारहरुलाई फोन गरेर समाचार इमेल गर्न लगाएर जम्मा गर्ने र पत्रकार महासंघको अफिसमा देशैं भरी भइरहेको लोकतान्त्रिक आन्दोलनको अवस्थाको बारेमा बुझ्न आउने नागरिकहरुलाई खबर भनिरहनु असाध्यै झण्झट थियो । यो सबै समस्याको बेलिविस्तार काठमाडौंमा रहेका गतिशील समय मासिकका सम्पादक पुरुषोत्तम लम्साललाई लगाएपछि उताबाट निर्देशन आयो ‘गतिशीलको लोकतान्त्रिक आन्दोलन बुलेटिन भनेर ठोक् ।’
२०६२ साल फागुनबाट विकास पत्रकारिताका केन्द्रित रहेर नुवाकोट जिल्लाबाट प्रकाशन आरम्भ भएको मासिक पत्रिका थियो गतिशील समय । ध्रुवकुमार रावल प्रकाशक र पुरुषोत्तम लम्साल सम्पादक रहेको त्यो मासिक पत्रिकाको प्रमुख संवाददाताको भुमिकामा म थिए । अब सुरु भयो नुवाकोट जिल्लाको लोकतान्त्रिक आन्दोलनको वेलिविस्तार दैनिक रुपमा पत्रिकामा छापेर वितरण गर्ने । काठमाडौंमा भइरहेको आन्दोलन, बाहिर जिल्लाका मुख्य समाचार र नुवाकोटको गतिविधिलाई समेटेर दैनिक रुपमै बुलेटिन प्रकाशनको निष्कर्षमा हामी पुग्यौं । पत्रकार महासंघ नुवाकोटको कार्यालयमा कम्प्युटर थियो । पत्रिकाको डिजाईन गर्न जानेका नुवाकोटका दुई जना मध्ये भोलाराज पौडेल त्यसबेला अल्लि फुर्सदिला थिए । भोलाराज, पत्रिकाका प्रकाशक ध्रुवकुमार र मैले दैनिक पत्रिकाको आकारमा (ट्यावलेट साइजमा चार पेज) २०६३ साल बैशाख १० गते ‘गतिशील समय लोकतान्त्रिक आन्दोलन बुलेटिन–१’ प्रकाशनमा ल्यायौं । ५०० को संख्यामा प्रकाशन भएको त्यो पत्रिका बिहान १० बज्नुभन्दा पहिल्यै निख्रियो । अब दिउँसो गाउँगाउँबाट र परपरबाट आउने आन्दोलनकारीहरुलाई त दिनैसकेनौं । त्यसको सिकाईले बैशाख ११ गतेको पत्रिकाको संख्या वृद्धि गरेर २ हजार बनाउने निर्णय भयो र पत्रिका छाप्ने प्रेससंग त्यही विषयमा सल्लाह गरेर भोलीको तयारीमा जुट्यौं । हठात्, पत्रिकाको डिजाईनको काम सकिएर प्रेसमा पुग्दा दोश्रो अंक पत्रिका छाप्न प्रेसले मानेन । कारण अहिले विर्सिएँ, त्यसबेला तत्कालिन शाही नेपाली सेनाले पत्रिका नछाप्न प्रेसका सञ्चाकलाई धम्क्याएको हुनुपर्छ । वा त्यस्तै केही भएको थियो । यसरी पहिलो अंकमै ‘लोकतान्त्रिक आन्दोलन बुलेटिन–१’ले विश्राम लियो । हामी तीनै जना बेलुकी छिन्नभिन्न भयौं ।
बैशाख ११ गते विहान सडकमा हामी निस्कने वित्तिकै स्थानीय नागरिक तथा आन्दोलनकारीहरुको हामीसित पत्रिकाको अपेक्षा थियो, त्यो स्वाभाविक पनि थियो । तर प्रेसले नछापिदिएपछि हामीसित विकल्प थिएन । हामीले समस्याको बेलिविस्तार लगायौं । भिडबाट एउटा आवाज आयो ‘तपाईहरुको पत्रिका डिजाईनको एक कपी प्रिन्ट गरेर ल्याउनुस् म फोटोकपी गरेर बाढ्छु ।’ विदुर नगरपालिका वडा नं. ४ का वर्तमान वडा सदस्य विदुरका बशन्त रिजाल थिए उनी । हामीले उनले भनेजस्तै गर्यौ । चार पेजको पत्रिका ‘ए–फोर’ साईजमा एक कपी प्रिन्ट गरेर उपलब्ध गरायौं । उनले त्यो पत्रिकाको फोटोकपी यत्ति वितरण गरेकी त्यो दिन हामी आफै अवाक भएका थियौं । दुई रुपैयाँ मुल्य राखिएको त्यो पत्रिका विक्रि वितरण त्यत्तिबेला सकियो त्यो दिन, जत्तिखेर उनको पसलमा रहेको फोटोकपी मेसिनको मसी सकियो ।
लोकतान्त्रिक आन्दोलन बुलेटिन प्रकाशनले दुई अंकपछि भने निरन्तरता पाएन । पत्रिकाको माग सधैं त्यही प्रकृतिले नभएपनि नुवाकोटमा एउटा दैनिक पत्रिकाको आवश्यकता छ भन्ने सन्देश ग्रहण गरियो, त्यस घटनाबाट ।
२०६३ साल माघको दोश्रो साता विदुरमा पहिलो नुवाकोट महोत्सव सञ्चालन भइरहेको थियो । त्यो र त्यसपछिको अर्को एउटा महोत्सव अहिलेको जस्तो खल्लो थिएन । पहिलो महोत्सव भएकै कारण पनि हुनुपर्छ, आम नागरिकहरुले आफ्नो आफ्नो क्षेत्रबाट केही न केही योगदान दिएकै थिए । त्यही क्रममा हामीले पनि पत्रकारिताको क्षेत्रबाट महोत्सवलाई खास बनाउन दैनिक पत्रिका प्रकाशनको सुरुवात गर्यौ । गतिशील समय मासिक २०६३ साल माघ १५ गतेबाट दैनिक रुपमा प्रकाशन आरम्भ भयो । प्रकाशक÷कार्यकारी सम्पादकमा ध्रुवकुमार रावल, प्रमुख सम्वाददातामा म र सम्वाददाता अनि पत्रिकाको कम्प्युटर डिजाइनमा भोलाराज पौडेल । पदका रुपमा प्रमुख सम्वाददाता भएपनि पत्रिकाको सम्पादनको जिम्मेवारी मेरो थियो । म पत्रिकारिता सिक्दै गरेको बखत थियो त्यो, मसित पत्रिका सम्पादनको ज्ञान र योग्यता थिएन । तीन महिना त्यो पत्रिकामा काम गरेर म बाहिरिए, त्यसपछिको अर्को तीन महिना ध्रुवकुमार रावल र भोलाराज पौडेलले दैनिक पत्रिका हाँके ।
पहिलो दैनिक पत्रिका गतिशील समयले नुवाकोट जिल्लामा सम्भावना देखाएर आफ्नो यात्रा टुङ्ग्याइसकेको थियो । अब दैनिक पत्रिका चल्छ है भनेर पत्रकार र जिल्लाका सञ्चारउद्यमीबीच बहसको विषय बनिरहेकै समयमा त्यसबेला रुपरेखा साप्ताहिक प्रकाशनको समुहबाट मलाई प्रस्ताव अयो अर्को दैनिक पत्रिका सञ्चालनको । नुवाकोट पत्रकार महासंघका तत्कालिन सभापति विश्वामित्र खनाल प्रकाशक रहेर त्रिशुली समाचार दैनिक दर्ता भयो । त्यसको सम्पादकमा राजुमित्र खनाल रहे, विश्वामित्र खनाल काठमाडौं बस्थ्ये । समाचार सम्पादकको जिम्मेवारी सहित फेरि सुरु भयो मेरो र नुवाकोटको दोश्रो दैनिक पत्रिका त्रिशुली समाचारको यात्रा । त्रिशुली समाचारमा ११ महिना काम गरेपछि म फेरि त्यहाँबाट पनि बाहिरिए । केही महिना राजुमित्र खनाल एक्लैले सञ्चालन गरेको त्रिशुली समाचार दैनिकमा तत्कालिन प्रेस चौतारी नुवाकोटका अध्यक्ष देवचन्द्र भट्ट जोडिए । त्यो पत्रिकाले झण्डै चार वर्ष आफ्नो प्रकाशनलाई निरन्तरता दिएर विश्राम लियो ।
त्रिशुली समाचार दैनिक प्रकाशन भइरहदा पनि अनियमित भएपछि हप्ताको सबै दिन प्रकाशन हुने दैनिक पत्रिकाको खोजी पाठक वर्गबाटनै हुन थालिसकेको थियो । त्यही आवश्यकतालाई मध्ये नजर गर्दै त्यस बेलाको खरो पत्रिका नुवाकोट आवाज साप्ताहिकको प्रकाशन समुह दैनिक पत्रिकामा होमियो । गतिशील समाचार नामको पत्रिका जिल्ला प्रशासन कार्यालयमा २०६६ साल साउनमा दर्ता भयो । तत्कालिन प्रेस सेन्टर नुवाकोटका संयोजक बद्री प्याकुरेल प्रकाशक तथा सम्पादक रहेको गतिशील समाचार दैनिकमा म असोजको पहिलो साता सह–सम्पादकको रुपमा जोडिएँ र पत्रिका प्रकाशन आरम्भ भयो । पत्रिकाको प्रवन्ध निर्देशकमा त्यही पत्रिका मुद्रण हुने छापाखाना भैरवी प्रेसका सञ्चालक मुकुन्द ढुङ्गाना थिए । हप्ताको छ दिन मात्रै प्रकाशन हुने (शनिवार बाहेक) त्यो पत्रिकाले ६ महिनापछि विश्राम लियो । एउटा समाचारमा पिडित र पिडकको नाम उल्लोपाल्टो परेकै कारण पत्रिकाको कार्यालय, कम्प्युटरहरु र अन्य सञ्चार सामाग्री तोडफोड भएपछि प्रकाशकले क्षतिपुर्तीको लागि धेरै प्रयास गरे, प्रहरी कार्यालयमा भएको क्षतिपुर्तीको लिखित प्रतिवद्धता तोडफोड गर्ने व्यक्तिहरुले लामो समयसम्म पुरा गरेनन्, पत्रिकामा थप लगानी गर्न नसक्ने भएपछि प्रकाशक बद्री प्याकुरेलले दैनिक पत्रिका बन्द गरे । अन्तत पत्रिकाको कार्यालय तोडफोड गर्नेहरुले क्षतिपुर्ती नदिएरै उन्मुक्ति पाए ।
यसरी फरक–फरक समयखण्डमा तीन वटा दैनिक पत्रिका सञ्चालनमा रहेको नुवाकोट २०६९ सालमा आइपुग्दा दैनिक पत्रिका विहिन बनिसकेको थियो । भर्खरै टिभि त्रिशुली सञ्चालनमा आएको थियो । चार वटा एफएम रेडियोहरु (नुवाकोट एफएम, रेडियो जालपा, रेडियो अभियान र रेडियो त्रिशुली) सञ्चालनमा थिए । साप्ताहिक पत्रिका हप्ताको सबै दिन आउने गरी सात वटै रहेपनि दुई वटा बाहेकका साप्ताहिक पत्रिकाहरु नियमित प्रकाशनमा थिएनन् । अन्य पत्रिकाहरु कहिकाही मात्रै बजारमा देखिन्थ्ये । नुवाकोटको समाचार र घटनाक्रम पढ्नका लागि फेरि साप्ताहिक पत्रिकानै पर्खनु पर्ने बाध्यता आम पाठक माझ तेर्सिसकेको थियो । यही समस्याको बीच तत्कालिन प्रेस युनियनका केन्द्रिय सदस्य शिव देवकोटाले प्रेस युनियनका तत्कालिन जिल्ला अध्यक्ष श्रीराम नेपाल र मसित दैनिक पत्रिका प्रकाशनको प्रस्ताव ल्याए । दैनिक रुपमा पत्रिका भरिने गरी आवश्यक स्थानीय समाचार र आर्थिक श्रोत व्यवस्थापन गर्न सके दैनिक पत्रिकाको सम्भावना र भविष्य फेरि राम्रो देखेर हामी तीन जना होमियौं उत्तरगया दैनिक प्रकाशनमा । शिव देवकोटा प्रकाशक, श्रीराम नेपाल सम्पादक रहेको उत्तरगया दैनिकमा मेरो भुमिका भने फेरियो । श्रमजीवी पत्रकारबाट म व्यवस्थापक बने । प्रवन्ध निर्देशकको रुपमा मैले उत्तरगया दैनिकमा काम थालें । सुरुका लगानी दामासाहीले तीनै जनाले हाल्यौं । स्थानीय समाचारको श्रोत म आफु संलग्न रहेको रेडियो त्रिशुलीलाई बनायौं । निक्कै जोश र फुर्तीफार्तीका साथ सुरु गरेको त्यो उत्तरगया दैनिकको यात्रा छ महिना लामो पनि बनाउन सकेनौं । आर्थिक अभावका कारण पत्रिका बन्द गर्यौं । हामी तीनै जना फेरि अलगअलग भएर आ–आफ्नै काम गर्न थाल्यौं । शिव देवकोटा नुवाकोट जागरण साप्ताहिक, श्रीराम नेपाल बट्टारमा नयाँ एफएम रेडियो सञ्चालनको तयारी र म रेडियो त्रिशुली सञ्चालन तिरै लागे ।
२०७५ साल असारको अन्त्यतिर शिव देवकोटाले फेरि दैनिक पत्रिका प्रकाशनको अवधारण सुनाए । पटक–पटक दैनिक पत्रिका प्रकाशन र यसको हैरानीबाट भुक्तभोगी भैसकेको म यसपाली सजिलै पन्छिए । केही लगानी समेत गुमाइसकेको, प्रकाशनहरुलाई निरन्तरता दिन नसकेको, कहिले कुन दैनिक त कहिले कुन दैनिकको ‘प्रिन्ट लाइन’मा नाम देखिने, आर्थिक प्रतिफल शुन्य जस्ता आफ्नै समस्याबाट म हैरान थिए । र मैले उत्तरगया दैनिकको पुर्नयात्रामा नजोडिने निर्णय गरे । शिव देवकोटा एक्लै उत्तरगया पत्रिका दैनिक रुपमा लिएर बजार ओर्लिएको आज एक वर्ष पनि बढी भइसकेको रहेछ । हिजो म आफु नै सक्रिय रुपमा लागेको समय भन्दा गुणस्तरिय छपाई, सन्तुलित समाचार सामाग्री, नियमितता अहिलेको उत्तरगया दैनिकमा पाइरहेको छु । हिजो यही पत्रकारिता क्षेत्रको तीन जनाले मेरिमेट्दा गर्न नसेको काम र दिन नसकेको गुणस्तर अहिले शिव देवकोटा एक्लै ‘ख्यालख्यालमै’ गरिरहेका छन् । ख्यालख्यालमै किन पनि हो भने उनी दैनिक पत्रिकासंगसंगै दशकैं पुरानो साप्ताहिक पत्रिका नुवाकोट जागरण पनि बजारमा पठाउ भ्याइरहेका छन्, अझ उनैले अर्थ मासिक पत्रिका अर्थवृक्ष समेत नुवाकोटलाई केन्द्रविन्दुमा राखेर प्रकाशन आरम्भ गरेका छन् । फेरि पनि उल्लेख गरे ः पत्रिका प्रकाशनको सवालमा केही कुरालाई सामान्य रुपमा लिन्छु र केही कुरालाई जिब्रो टोकेर ‘आम्मा हो’ भन्ने कित्तामा राख्छु । अहिले उत्तरगया दैनिकको सवालमा म जिब्रो टोकेर ‘आम्मा हो’ भनिरहेका छु । जनताको सू–सूचित हुने अधिकारलाई प्रत्याभुत गर्दै उत्तरगया दैनिकले अहिले जसरी आम पाठकहरुको माझमा आफुलाई प्रिय बनाईसकेको छ अहिले म यस पत्रिकाको पाठकको रुपमा रहिरहँदा बढी आनन्दित छु । उत्तरगया दैनिकको अनन्त यात्राको कामना ।
(लेखक नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष हुन् ।)



No comments:

Post a Comment