Monday, September 02, 2019

नुवाकोटमा राष्ट्रिय परिचय पत्र बितरण हुने

विदुर/नागरिकहरूको वैयक्तिक र जैविक सूचनालाई आधिकारिक रुपमा सङ्कलन गर्न मौलिक परिचय सहितको राष्ट्रिय परिचय पत्र निर्माणको लागी नुवाकोटमा बिवरण संकलन हुने भएको छ ।
गएको सोमबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भएको राष्ट्रिय परिचय पत्र ब्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पाँचथर जिल्ला र सिंहदबार परिसरमा राष्ट्रिय परिचय पत्र बितरण भएको र बाकी जिल्लामा छिट्टै हुने बताईएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले डिजिटल प्रबिधिमा जाँदा प्रभावकारी रुपमा जानुपर्ने बताए । उनले राष्ट्रिय परिचय पत्र बितरणको सेवा बिक्रेन्द्रित हुनुपर्ने बताएका छन् । ‘विदुरबाट मात्रै नभई जिल्लाका अन्य स्थानबाट पनि तथ्याङ्क संकलन गर्ने र परिचय पत्र वितरण गर्ने अवस्था बनाउनर पर्यो’ प्रमुख सन्तमान तामाङले भने ।
आउने फागुन देखि राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा २० हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६ सय परिचयपत्र उत्पादन हुँदै आएकोमा सबै जिल्लामा वितरण शुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको हो । कार्ड उत्पादनको कार्य सिंहदरबारस्थित गृह मन्त्रालयमा हुँदै आएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले डिजिल प्रबिधि आएसंगै अब परिचय पत्र लिन झन्झटिलो नहुने बताए । उनले एउटै मानिसले २÷३ वटा नागरिकता लिईरहेकोमा राष्ट्रिय परिचय पत्र बितरणको भएसंगै त्यस्तो कार्य नहुने बताए ।
व्यक्तिका वैयक्तिक र जैविक सूचनालाई आधिकारिक रुपमा सङ्कलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने मौलिक परिचय नम्बर दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरणलाई हाल अभियानकै रुपमा वितरण भइरहेको छ । यो परिचयपत्र पाएपछि नागरिकले सरकारी काम र सेवा लिनका लागि अन्य कागजात र परिचयपत्र बोकिरहनुपर्ने झन्झटको अन्त्य हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका  सुचना प्रबिधि प्रमुख शुभाष ढकालले जानकारी दिए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले राष्ट्रिय परिचय पत्र बितरण कार्य राष्ट्रिय अभियान भएकोले सरोकारवालाहरूले बिषेश चासो राख्नु पर्ने बताए । यो राष्ट्रिय अभियानलाई सम्पूर्ण स्थानिय तहहरूले सहयोग गर्न समेत उनले आग्रह गरेका छन् ।
राष्ट्रिय परिचय पत्रमा प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने गरि पहिचान सहितको बितरण गर्ने जनाएको छ । राष्ट्रिय सुरक्षा, विकास व्यवस्थापन र राजश्व परिचयपत्र व्यवस्थापन प्रणालीलाई आबद्ध गरी महत्वपूर्ण सूचना औजारको रुपमा राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय परिचयपत्रको उपयोग गर्ने यो नेपालका लागि नयाँ प्रणाली हो ।

No comments:

Post a Comment