Monday, September 09, 2019

ठेकेदारको लापर्वाही, जनता हैरान

केदार ढकाल
गेर्खुटार/विदुर नगरपालिका वडा नम्बर १० र ११ को गेर्खुमा सडक निर्माणमा भएको ढिलासुस्ती र लापरवाहीले यातायातको साधन सञ्चालन मात्रै होइन पैदल हिड्न पनि ठप्पै भएको छ ।
यातायातका साधन ठप्प भएसँगै स्थानिय सर्वसाधारण मर्कामा परेका छन् । विदुर नगरपालिकाको वडा नं १० फुलबारीदेखि वडा नं ११ को गेर्खु हुँदै सुर्यगढी गाउँपालिकाको बागेश्वरीसम्म जोड्न लागेको गेर्खु–चोगते सडकखण्डको निर्माणका कारण सबारी आबतजावत ठप्प भएको हो । बर्षातको समयमा निर्माण कम्पनीले सडक सरसफाई नगर्दा पैदल हिड्न समेत समस्या भएको छ ।
गाउँमा यातायातका साधन नचल्दा आफुहरू मर्कामा परेको वडा नम्बर १० का केशबबहादुर पाण्डेले जानकारी दिए । गाउँमा यातायातको साधन ठप्प हुँदा पुरै वडावासी नै प्रभावित भएको उनले बताए । सडकको अवस्था दयनिय भएपछि स्थानियवासी सडक निर्माण कम्पनीसँग रुष्ट भएका छन् । २०७५ साल असार २२ गते सम्झौता भएको सडक निर्माणको लागि सम्झौता भएपनि निर्माण कम्पनिले लापरवाहीले गाउँमा यातायातको सम्र्पक टुटेको छ ।  
सडकको ठेक्का संघिय सांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामाको हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले पाएको छ । ठेक्का पाएका कम्पनीले जगत तामाङ र गणेश लामालाई सव कन्ट्रयाक्टरको रुपमा काम गर्न दिएको छ । सडकको विषयमा निर्माण कम्पनीलाई बारम्बार जानकारी गराउँदा समेत अवरुद्ध सडक मर्मत नगरेको स्थानिबासीले बताएका छन् । लामो समयदेखि सडक अवरुद्ध हुँदा सदरमुकाम आउन समेत समस्या भएको कुबेर रिजालले बताए ।
गाँउमा कोही बिरामी भएमा बाटोको खराव अवस्थाको कारण एम्बुलेन्स नै जान नसक्ने भएको छ । सडकको विषयमा निर्माणकर्ता जगत तामाङ र गणेश लामा र  कम्पनीलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गणेश नेपालले बताए । सडक मर्मतका लागि निरन्तर पहल गरिरहदा पनि निर्माण कम्पनीले चासो नदिएको उनले बताए ।
गेर्खुटारका स्थानियवासीले एक महिना अघि सडक सुधारको लागि ज्ञापनपत्र र मौखिक जानकारी गराउदा निर्माण कम्पनी बेवास्ता गरिरहेको छ । स्थानियवासीले बर्खा अगाडि नै ग्रावेल गरी हिडडुल गर्न सहज बनाईदिन आग्रह गरेपनि मागको सुनुवाई नभएको वडा अध्यक्ष नेपालले बताए ।
सदरमुकाम विदुरबाट मात्र ५÷६ किलोमिटरको दुरीमा रहेको साविकको गेर्खु गाविस सडक सञ्जाल राम्रो नभएकै कारणले विकट मानिएको छ । विना पुर्वाधार नगरपालिका बनेको यस क्षेत्रले नगरपालिका भएको महशुस समेत गर्न सकेको छैन । २४ महिनाको अवधिमा निर्माण सम्पन्न सक्नुपर्ने सो सडकको लागत २६ करोड ४५ लाख छ ।
सडक समयमै निर्माण नहँदा बालबालिकालाई स्कुल पठाउन समेत समस्या भएको छ । पुनःनिर्माणको समयमा सडक निर्माण कम्पनीले चासो नँदिदा नागरिकहरूको घर आदि बनाएर छाडिएको छ । निर्माण सामाग्री ल्याउन नपाउदा काम अधुरो परेको भगवती पाण्डेले
बताए । सडक निर्माण कम्पनीको चरम लापरवाहीकै कारण विदुर नगरपालिका वडा नम्बर १० गैरीखर्कमा एक दर्जनभन्दा बढी घर जोखिममा परेका छन् ।
फुलवारी–गेर्खुटार–चोगते सडकखण्ड अन्र्तगत गैरीखर्क गाउँमा अस्थायी निकास नकाट्दा एक दर्जन घर उच्च जोखिमामा परेको हो ।

No comments:

Post a Comment