Monday, September 09, 2019

जिउँदो गाई पुरियो

प्रितिका थापा
बट्टार/विदुर नगरपालिका वडा नम्बर ४ हावाघर नजिकै जिउँदै गाई खाल्टोमा पुर्दै गरेको अवस्थामा शनिवार फेला परेको छ ।
केरुङ हुँदै चिन तर्फ गाई तस्करी गर्नेहरूले बिरामी गाईलाई पुर्न लागेको अनुमान गरिएको छ । टाउको मात्रै पुर्न बाँकी रहेको अवस्थामा एउटा गाईलाई स्थानीयहरूले जिउँदै फेला पारेका थिए । गाईको नेपाली सेना र स्थानियहरूले उद्धार गरेका हुन् । हावाघरको डिलमा खाल्डोे खनेर गाई त्यसमा खसालेको र माटोले पुर्दै गरेको अवस्थामा फेला परेको हो । टाउको बाहेक अधिकांश शरिरको भाग माटोले पुरिएको अवस्थामा गाई फेला परेको थियो । गाई पुर्नेमा सम्लग्न रहेकाहरूको खोजी भएपनि भेटिएको छैन ।
हावाघरमा जिउँदै पुरेको गाई शनिवार निकाल्दै सेना र स्थानीयवासी । 
जिउँदै गाई पुरिरहेको घटनाले शनिवार नुवाकोटमा तरंग पैदा गरेको थियो । रातको समयमा वा शनिवार विहानी पख गाई पुरेको अनुमान छ । स्थानीयहरूले बिहान साढे ११ बजे गाई देखेका थिए ।
नुवाकोट हुँदै दैनिक ३० भन्दा बढी गाई र गोरु चीन तर्फ जाँदै आएको छ । यसरी लैजाने गाई र गोरु मासु खानका लागि प्रयोग हुने अड्कल छ । भदौं लागेदेखि गाई निर्यातको क्रम सुरु भएको हो । काठमाडौं तथा आसपासका क्षेत्रबाट ल्याइएको गाई र गोरु नुवाकोट हुँदै रसुवा, चीन तर्फ लैजादै आएको छ । यसरी गाई र गोरुको ओसारपसार गर्नेहरूले बजार र घनावस्ती भएको स्थानमा रातको समय पार्ने गरेका छन् । प्रहरीले यसमा जानकारी भएपनि केही कारबाही गरेको थिएन ।
जिउँदै गाई पुरेको घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले दुई जनालाई पक्राउ गरेको छ । किस्पाङ वडा नं. ३ का राज तामाङ र आईत तामाङ पक्राउ परेका छन् । उनीहरू गाई र गोरु कुटपिट गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरूले कुटपिट गर्दा एउटा गाई मरेको र अर्को गाई उठ्न नसक्ने गरी बिरामी परेको छ । जिउदो गाई पुर्ने मध्येमा उनीहरू हुन् की भनेर अनुसन्धान थालिएको छ ।

No comments:

Post a Comment