Tuesday, October 22, 2019

२०७६ असोज १३ गतेको सम्पादकिय

हामी प्रतिबद्ध छौं
इमेज साप्ताहिकले मोफसलमा केन्द्रित भई आफ्नो प्रकाशन आरम्भ गरेको १२ वर्ष पुरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आम पाठक, शुभचिन्तकहरूमा धन्यवाद व्यक्त गर्दछौं । १२ वर्षको यो कालखण्डमा समाजका केही त्यस्ता पक्षहरूलाई सार्बजनिक गरेका छौं, जसले नागरिकहरूको सू–सूचित हुने अधिकारको संरक्षण मात्रै गरेको छैन, समाज रुपान्तरणमा केही सहयोग पुगेको विश्वास हामीले गरेका छौं । सिमित श्रोत साधनबाट सुरु भएको हाम्रो यस यात्राले राजधानीबाट वितरण र विक्रि हुने अन्य ‘स्थानीय’ पत्रपत्रिकाहरूसंग समेत प्रतिस्पर्धा गरिहरनुपर्ने अप्ठ्यारो अवस्था छ । जिल्लामै उपलब्ध श्रोत साधनबाटै पत्रिका प्रकाशन आफैमा एउटा चुनौती र मुद्रणको पाटोमा केही कमजोर पक्ष रहे र रहिरहेको छ । जिल्लाका विषयवस्तु, सामाग्री र घटनाक्रमलाई मसिनु ढंगबाट प्रस्तुत गर्ने प्रयास स्थापनादेखि नै हाम्रो रहँदै आएको छ । कहिले सहज भएको छ, कहिले असहज बनेको छ । सबै सामेवार विशेष गरी नुवाकोटका सन्र्दभ सामाग्रीहरूका साथमा तपाईको हातहातमा आइपुग्ने प्रयास हाम्रो रहिरहेको छ । तै पनि कहिलेकाँही तपाई पाठकहरूको पत्रिका उपलब्धतामा असहजता भएको गुनसो हामीले पाउने गरेका छौं । मुद्रणमा भइरहेको कम गुणस्तरलाई सुधार्ने र पत्रिकालाई जताततै छ्याप्पछ्पाप्ती बनाउने प्रयास हाम्रो यो १३ औं वर्ष प्रवशेको अवसरमा तपाई आम पाठकहरूसंग गर्न चाहान्छौं ।
सूचनाको क्षनेत्रमा समेत आम नागरिकको, पाठकको आवश्यकता र माग फेरिएका छ । केही वर्ष अगाडीका पाठकहरू स्थानीय पत्रिकाबाट प्राप्त हुने सूचनाको अपेक्षा र अहिलेको अवस्थाको अपेक्षामा आमुल परिर्वतन आइसकेको छ । मानिस समाजमा हुने सबै खाले घटनाको सत्य जानकारी मात्रै होइन व्यक्तिगत सम्वृद्धि र सुखको सुत्राधार पनि पत्रपत्रिकामा नै खोज्न थालेका छन्, अझ भनौं स्थानीय पत्रिकाहरूले प्रस्तुत गर्ने सामाग्री र खुराक यसरी पनि प्रस्तुत होस् भने अपेक्षा आम पाठकको बनिसेको छ । हामी सिमित श्रोत साधन र कम जनशक्तिबाट भइरहेको हाम्रो यो प्रयासका लागि यो अपेक्षा केही बोझिलो र चुनौतीपुर्ण त छ नै । र पनि हामी आम पाठकहरूको आधुनिक आवश्यकता अनुसारको सामाग्री प्रस्तुतीलाई मध्यनजर गरिरहेका छौं । अहिलेको समयमा हरेक नागरिकहरू सबै विषयवस्तुमा आफ्नो निजी धारणा र बिचार बनाउछन्, वा बनाउ सक्षम छन् । त्यसका लागि आवश्यक खास जानकारी अभाव हुने वा सत्य भन्दा केही बाहिरै रहेको तथ्यहरूले उनीहरूलाई भ्रमित पर्ने कत्तिपय अवस्थाहरूको सृजना हुन्छन्, भएका छन् । त्यस तर्फ हामी सचेत छौं । त्यसैले त हामी बिचार भन्दा पनि समाचार, सूचना जानकारी प्रस्तुत गर्नमा बढी केन्द्रित रहिरहेका छौं । जसले गर्दा आम नागरिकहरू, हाम्रा पाठकहरू कुनै पनि विषयवस्तुमा आफ्ना सहि तर्क र बिचार बनाउन सकुन् । यसैलाई निरन्तरता दिनसकेपनि हाम्रो प्रकाशनको एउटा उद्देश्य एक ढंगले पुरा हुने विश्वास हामीले लिएका छौं । हाम्रो प्रकाशनको १३ औं बर्ष प्रवेशको अवसरमा पनि हामी यही प्रतिवद्धता जागेर गर्दछौं ।

No comments:

Post a Comment