Tuesday, October 22, 2019

२०७६ असोज २० गतेको सम्पादकिय

तुप्चेले दिएको सम्बृद्ध सन्देश
नेपालीहरू त्यसमा पनि हिन्दूधर्मालम्बीहरूको महत्वपूर्ण र विशेष चाड बडा दशैं सकिनै लागेको छ । बडा दशैंको मुख्य दिन टिकाको हामी पुर्वसन्ध्यामा छौं । असत्य माथी सत्यको बिजय भएको सन्र्दभमा मनाईदै आएको बडा दशैंलाई आम नेपालीहरूले सुख, शान्ती र उन्नतीका लागि शुभकामना आदान–प्रदान गर्ने, मिठो मसिनो खाने, घुम्ने, आफन्त भेटघाट गर्ने र मान्यजनको हातबाट टिका–प्रसाद ग्रहण गरेका आर्शिवचन थाप्ने चलन छ । नेपालीहरूले बढी नै महत्वका साथ मनाउने यस मुख्य चाडपर्व लक्षित गरेर विभिन्न किसिकाका कार्यक्रम, गतिविधि हाम्रो समुदायमा परापुर्व कालदेखि हुने गरेको छ । सामाजिक गतिविधिहरू सञ्चालन हुने देखि विभिन्न सेवा प्रदायक निकाय, कम्पनीहरूले पनि दशैंलाई लक्षित गरेका आफ्ना सेवा, उत्पादन तथा बस्तुहरूमा प्रचारमुखी ‘स्किम’ ल्याइरहेका छन् । दशैंलाई सहज र सरल बनाउने देखि वर्षभरिको आफ्नो उत्पादन र व्यापारालाई ‘सेल’ गर्नका लागि प्रतिष्ठानहरू यही महत्वपूर्ण समयको प्रतीक्षामा रहन्छन् । र थरिथरिका गतिविधि गर्छन् ।
दशैंलाई भब्य र सरल बनाउनका लागि नुवाकोटको विदुर नगरपालिकामा केहि वर्ष देखि हुँदै आएको कृषक केन्द्रिय गतिविधि महत्वपूर्ण देखिएको छ । वडा नं. ७ तुप्चेमा यो पाली पनि भएको खसी मेलाले कृषक र मासुका उपोक्ताहरूलाई उत्साह र सहुलियत प्रदान गरेको छ । कृषि उत्पादनबाट नागरिकको जीवनस्तर उकास्न सकिने अवधारण थुप्रै ठाउँमा धेरै सुनिन्छ । तर त्यसको बैज्ञानिक प्रभाव र व्यवहारिक कार्यान्वयको समस्या हामी कहाँ छदैनै छ । यही परिप्रेक्षमा तुप्चेको सहकारीले सञ्चालन गरेको खसी बजार मेलाले नयाँ सन्देश बर्षेनी दिँदै आएको छ । खसी बोका पाल्ने कृषकहरूले आफ्नै हातबाट खसी बोकोको विक्रि र नगदको हात्ताहात्ति कारोवार त एउटा पाटोमा छदैनै छ, उपभोक्ताहरूले पनि बिचौलियको भर नपरिकन छानीछानी खसी खरिद गर्न पाउने अवसरको सृजना भएको छ । जसले गर्दा बिचौलीको ‘सिन्डिकेट’ र मनोमानी भाउबाट समेत आम उपभोक्ताहरू बचेका छन् । कृषकका हितका लागि स्थापना भएको र आम कृषकहरूको प्रतिनिधित्व रहेको सहकारीले यसरी गरेको कार्यले समुदायमा केही नयाँ र हितकारी कामको प्रयोग भइरहेको सन्देश बाहिर गएको छ । तुप्चेको यो प्रयासलाई अन्य स्थानमा पनि प्रयोग गर्न सक्दा दशैंमा मासुका लागि हुने खसी बोका खरिद विक्रिबाट पर्ने कृषक र उपभोक्ताको मार कम हुने देखिन्छ । यो प्रयास र प्रयोग अन्य स्थानमा पनि देखिनु आवश्यक छ । जसले गर्दा मासुका लागि भेडा च्याङ्ग्रा गरिद गर्दा बिदेशीले बजेट गाँघरमै बस्ने निश्चित छ । अनि अन्य जिल्लाबाट आयात गरिने खसी बोकाका लागि तिर्नु पर्ने रकम पनि जिल्लामा नै परिचालन हुने देखिन्छ ।
स्थानीय सरकारले आफ्नो आधा कार्यकाल बिताईसकेको अहिलेको अवस्थामा यसरी हाम्रा संस्कृति तथा पर्वहरूलाई आर्थिक आर्जन र परिर्वतनसंगै जोडेर गतिविधि गर्नु पनि जरुरी देखिएको छ । नकी स्थानीय तहले दशैंलाई भब्य बनाउनका लागि पिङ्ग हाल्ने लठ्ठा र बाँस किन्नका लागि बजेट विनियोजन गर्नु हो । बरु यसरी कृषि अभियानमा सम्वन्धि रहने गतिविधि र कार्यक्रमहरूलाई प्रोत्साहन गर्ने गरी स्थानीय सरकार संस्कृति, पर्व र परम्परामा नागरिकहरूसंग जोडिनु आवश्यक देखिएको छ । बडा दशैं २०७६ सालको यस पावन अवसरमा सम्पूर्ण जनप्रतिनिधीहरू, आमा–बुबा, दाजुभाई, दिदी–बहिनी, राष्ट्र सेबक कर्मचारीहरू, सामाजिक कार्यकर्ता, उद्यमी, ब्यापारी, बुद्धिजिवी लगायत शुभेच्छुक सम्पूर्ण नगरवासीहरूमा हार्दिक मंगलमय शुभकामना सहित माता दुर्गा भवानीको कृपाले सबैमा विकास र समृद्धिमा जुट्दै राष्ट्र निर्माणमा योगदान दिने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।

No comments:

Post a Comment