Tuesday, October 22, 2019

थ्रि ए ले कात्तिकबाटै व्यवसायिक उत्पादन थाल्ने

इमेज समाचारदाता
विदुर/माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले कात्तिकभित्र व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ । निर्माण सुरु भएको साढे आठ वर्षपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्न लागेको हो ।
आयोजनाले तीन महिना अघिदेखि परीक्षणको उत्पादन सुरु गरेको थियो । उत्पादन सुरु गरे पनि विभिन्न परीक्षणको काम बाँकी रहेकाले आयोजनाले ट्रेकिङ ओभर सर्टि्फिकेट दिएको थिएन । आयोजनाका अनुसार टोटल लोड, रिजेक्सन टेस्ट, टनेलको मनिटरिङ, इफिसेन्सी टेस्ट, हाइभोल्टेज टेस्टलगायत टेस्ट सकिएको छ ।
कात्तिकभित्र निर्माण कम्पनीलाई सर्टिफिकेट दिने तयारी रहेको आयोजना प्रमुख फणीन्द्रराज जोशीले बताए । ‘परीक्षण कार्य सकाएका छौँ,’ उनले भने, ‘पर्फर्मेन्स टेस्टको प्रतिवेदन आउन बाँकी छ ।’ प्रतिवेदन आएपछि आयोजना, ठेकेदार र परामर्शदाताले संयुक्त रूपमा निरीक्षण गर्नेछन् । विद्युत्गृहको उत्पादन सुरु भएसँगै उद्घाटनको लागि तयारीमा आयोजना जुटेको छ ।
निरीक्षणको काम सकिएपछि आयोजनाले सर्टिफिकेट प्रदान गर्नेछ । व्यावसायिक उत्पादन सुरु भएपछि एक वर्षसम्म त्रुटि सच्याउने अवधि हुन्छ । ६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् गत जेठ ३ गते र दोस्रो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् साउन १७ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो ।
आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहनेछ । दुवै युनिटबाट ३०–३० मेगावाट विद्युत् उत्पादन हुन्छ । रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो । आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो । आयोजनाको निर्माण ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी ९ सीजीजीसीले गरेको हो ।
इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न सीजीजीसीसँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।
आयोजना २०६८ वैशाखदेखि निर्माण सुरु भएको थियो । भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो । भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु¥याएको थियो । आयोजना निर्माण सम्पन्न गर्नका लागि १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ ।
आयोजनाबाट उत्पादन भएको विद्युत् थ्री बी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रसारण लाइनमार्फत लगिएको छ । जसमा पावर हाउस ९ सिम्ले ० देखि थ्री बी हबसम्म १३२ केभी, थ्री बी हबदेखि वाँणभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र वाँणभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ ।
प्रसार लाईनको

४५ प्रतिशत काम सकियो

विदुर/चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ४५ प्रतिशत काम सकिएको छ ।
      रसुवाको माथिल्लो क्षेत्रमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि लाइन निर्माण गरिएको हो । आयोजनाका अनुसार अहिले जग्गा अधिग्रहण, मुआब्जा वितरण गर्ने काम सकिएको छ भने प्रसारण लाइनको डिजाइनको काम अन्तिम चरणमा पुगेको छ ।
रसुवाको हाकु र तिरुमा १५ वटा टावरको उत्खननको काम सकिएको आयोजना प्रमुख सुभारम्भ विक्रम शाहले बताए । गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रीबीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुने छ । गोल्जुङदेखि थ्रीबी हबसम्म ७८ वटा टावर रहने बताइएको छ ।
२०१७ डिसेम्बर २० देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाको २०१९ जुन १३ मा सम्पन्न गर्ने कार्ययोजना थियो ।
सम्झौता अनुसार काम गर्न नसकेपछि आयोजनाले निर्माणको म्याद थपेको छ । थपिएको समय सीमा अनुसार २०२० फेब्रुअरी २९ मा निर्माण सम्पन्न गरिसक्नु पर्छ ।
भौगोलिक विकटता, सडकको पहुँच नपुगेको, डिजाइनमा धेरै समय लागेको कारण निर्माणमा ढिलाइ भएको आयोजनाले जनायो। प्रसारण लाइनको दूरी साढे २७ किलोमिटर छ ।

No comments:

Post a Comment