Monday, November 11, 2019

२०७६ कात्तिक २५ गतेको सम्पादकिय

रसुवागढी नाका सुधार गर
नेपालको रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एशिया नै प्रवेश गर्ने मूलद्वारको रुपमा हेर्न थालेको पाइएको छ । दक्षिण एसिया प्रस्थान गर्ने मुख्य मार्गको रुपमा बिकास गर्न चीन तर्फ अत्याधुनिक संरचना र सडक मार्ग चीनले बिस्तार गरिरहेको छ । रसुवागढी केरुङ नाकाभन्दा पारिपट्टि चिनियाँ भूभागमा आधुनिक भवन केही वर्ष अघि नै बनेको छ । त्यसो त, अध्यागमन र भन्सारका भवनहरूमा आधुनिक उपकरण जडान भएका छन् । नाकाबाट केरुङ बजारसम्म पुग्न दुई लेनको चिल्लो कालोपत्रे सडक निर्माण गरेको छ । केरुङसम्म पुग्ने सडकमा पहिरो छल्नका लागि ठाउँ ठाउँमा सुरुङ र आकाशे पुल हालिएको छ । सडक भित्ताबाट झर्ने ढुङ्गा रोक्नको लागि तारजाली लगाइएको छ । यि भौतिक संरचनाको विकासलाई मध्यनजर गरेर हेर्दा यस नाकालाई चीन सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गरिरहेको छ । त्यसैले आफ्नो भूभागतर्फ तीव्र रूपमा भौतिक विकास गरिरहेको छ ।
रसुवागढी नाकाबाट व्यापारिक कारोबार बढे पनि नेपालतर्फ सीमामा भौतिक पूर्वधारको अवस्था नाजुक छ । पानी पर्दा पहिरो र घाम लाग्दा धूलो उड्ने, हावा चल्दा माथिबाट ढुंगा खस्ने नाकामा प्रहरीले टहराबाट सुरक्षा जाँच गर्नु पर्ने बाध्यता नेपाल पट्टि रहेको छ । झण्डै झण्डै नाका खुलेको बेलाको जस्तो अवस्थामा अहिले पनि रहेको नेपाल तर्फको भौतिक संरचना विकास र सुस्त जाँगरका कारण एउटा विन्दुमा उभिएर दुई पट्टि हेर्दा नेपालको अवस्था दयनिय रहेको छ । त्यसो त बिकासको क्रम र चरणको स्मरण गर्दा पनि २०७२ साल बैशाख १२ गतेको केरुङ भूकम्प अघिसम्म सामान्य बजार मात्र थियो । अहिले निकै अग्ला–अग्ला आधुनिक घरहरू निर्माण भएका छन् । सरकारी कार्यालय समेत चीनले थपेको छ । सामान गोदाम गर्नको लागि ठूला–ठूला ड्राइर्पोट निर्माण भइरहेको छ । सडक सफा राख्नुको साथै जेब्रा क्रस ट्राफिक लाइट राखिएको छ ।
नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर मात्रै छ । चीनले यसरी महत्व दिइरहेको नाका र मार्गलाई नेपाल सरकराले पनि उत्तिकै चासो राखेर भौतिक संरचनाहरू निर्माणमा तदारुकता देखाउनु पर्ने अवस्थाको सृजना भएको छ । जस्तापाताले बारेको सरकारी कार्यालय र माथिबाट खस्न ठिक परेको ढुङ्गासम्मको व्यवस्थापन गर्न तर्फ नेपाल सरकारले सोचेको छैन, वा जाँगर देखाएको छैन । दक्षिण एशियामै प्रवेशको पहिलो नाकाको रुपमा चीनले रसुवागढी नाकालाई तयार गरिरहेको अहिलेको अवस्थामा नेपालले पनि न्युनतम भौतिक पुर्वाधारणहरू खडा गरेर त्यसका लागि उपयुक्त वातावरण तयार गर्नु तत्कालको आवश्यकता बनेको छ । 

No comments:

Post a Comment