Monday, November 04, 2019

५६ हजार बढी घर पुनर्निर्माण

विदुर/नुवाकोटमा भूकम्पले भत्काएको ५६ हजारभन्दा बढी घर पुनःनिर्माण गरिएकोे छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म ५६ हजार १०७ लाभग्राहीले भूकम्पले भत्काएको घर पुनःनिर्माण गरेका हुन् ।
पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति पाएका सामाजिक संस्थाले तीन किस्तामा  तीन लाख अनुदान उपलब्ध गराएको तथ्याङ्कको आधारमा जिल्लाको कूल लाभग्राहीमध्ये ७३ प्रतिशत नयाँ घरमा बसोबास गर्न थालेका छन् ।
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ७६ हजार ८०९ घरमा पूर्ण क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । तोकिएको मापदण्ड पूरा गरेर घर निर्माण गरेका धनीलाई प्राविधिकको सिफारिशमा  अनुदानस्वरुप  तीन लाख उपलब्ध गराइएको थियो । जिल्ला आयोजना कार्यान्वयन एकाइको अनुसार घर निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता लिएका अधिकांश लाभग्राहीले घर पुनःनिर्माण अघि बढाएका छन् । अनुदान रकम लिएकामध्ये थोरैले मात्र घर बनाउन बाँकी छ, तिनीहरूका लागि कार्यालयले ताकेता गरिरहेको छ ।
सरकारले लाभग्राहीलाई आवास पुनःनिर्माणका लागि तोकिएको मापदण्डअनुसार घर बनाउँदा सम्झौता गर्नेबित्तिकै पहिलो किस्तावापत  ५० हजार, घरको जग तहसम्म निर्माण गरेपश्चात दोस्रो किस्तावापत  एक लाख ५० हजार र घर निर्माण सम्पन्न गरेपछि अन्तिम तथा तेस्रो किस्तावापत  एक लाख गरेर तीन चरणमा  तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ । विनाशकारी भूकम्पले भत्काएको निजी आवासको पुनःनिर्माण यो वर्षभित्रै पूरा गर्ने सरकारी लक्ष्य रहेको छ ।

No comments:

Post a Comment