Monday, November 04, 2019

तारकेश्वर गाउँपालिकाका झरनाहरु

तारकेश्वर गाउँपालिकाको केन्द्र पुग्नै लाग्दा मुख्य सडकमा देखिने छाङ्गे झरना
राजु रिमाल
तारकेश्वर/तारकेश्वर गाउँपालिकाको केन्द्र पुग्नै लाग्दा मुख्य सडकको कुनापट्टि देखिने यो झरनासित नलोभिने सायदै होलान् ।
बाह्रै महिना, बाह्रै काल यसैगरी निर्मल र कलकल झरिरहने झरनाले आन्तरिक पर्यकटहरूलाई मोहित बनाएको छ । आन्तरिक पर्यटकहरूका लागि अबलोकन, भ्रमण र मनोरञ्जनका लागि गतिलो गन्तब्य बन्नसक्ने यो झरना तारकेश्वर गाउँपालिकालाई सुनमाथि सुगन्ध भने जस्तै भएको छ । यसलाई स्थानीयहरूले छाङ्गे झरनाको नामबाट चिन्दछन् । यसमा विदेशी पर्यटकहरूलाई समेत लक्षित गरेर पानीमा हुने रोमाञ्चक खेल सहितको कार्यक्रमहरू सञ्चालन गर्दा प्रभावकारी हुने देखिएको छ । गाउँपालिकाले पनि यसलाई आम्दानी र पहिचानको रुपमा विकास गर्ने सोच बनाएको छ । गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्ती गाउँन्पालिकाले यस झरनाको संरक्षण र प्रचारका लागि विशेष कार्यक्रम तयार गर्न लागेको सुनाउँछन् ।
त्यस्तै, तारकेश्वर गाउँपालिकाको वडा नं. ३ मा पर्ने अर्को झरनाले पर्यटकको प्रतीक्षा गरिहरेको छ । तारकेश्वर गाउँपालिका र धादिङ्गको निलकण्ठ नगरपालिकाको सिमानामा रहेको यो झरना स्थानीयहरूका लागि भने नियमित अवलोकन र भ्रमणको स्थान बनिरहेको छ ।
धादिङ्गको सिमानामा रहेको झरनाको बारेमा बताउँदै वडा अध्यक्ष  । तस्बिर : केदार/इमेज
उक्त स्थानमा नुवाकोटको तारकेश्वर गाउँपालिका, धादिङ्गको निलकण्ठ नगरपालिकाका नागरिकहरू आउने गरेका छन् । यो झरनासंगै रहेको यो महादेवस्थानको नाम पनि तारकेश्वर नै रहेको छ । टारी खेतको तारकेश्वर महादेव भनेर पनि यस स्थानलाई भन्ने गरिएको छ । आन्तरिक पर्यटकहरूलाई तानिरहेको यहाँ झरनासंगै लमतन्न सुतेको शिलाको मध्ये भागमा ठुलो खाल्डोे परेको छ । यो खाल्डोभित्र शिवलिङ्ग उत्पति भएको छ । शिलाभित्र हरेको यो शिबलिङ्ग सधै पानीले छोपिने गरेको छ । शिलाबाट पानी निस्कनुलाई भक्तजनहरूले दैविकशक्तिको रुपमा लिने गरेको र नियम रुपमा आउने गरेको तारकेश्वर वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठले बताए ।
त्यसो त यहाँ नियमित रुपमा नागनागिनको पुजा आराधाना हुँदै आएको छ । यस क्षेत्रमा खडेरी जादा यहाँ पुजाअर्चना गर्दा पानी पर्ने जन विश्वास रहेको छ । यहाँ पुग्नका लागि स्थानीय सरकारले पिपलडाडाबाट सडक समेत निर्माण गरेको छ । झरना तथा महादेवस्थानमै सवारी साधन लिएर पुग्न सकिने यस स्थानलाई आन्तरिक पर्यटकहरूको गन्तब्यका लागि काम सुरु भएको छ ।  

No comments:

Post a Comment