भ्रमण वर्षमा नुवाकोटको स्थान
नुवाकोट सात तले दरबार नुवाकोटको एक महत्त्वपूर्ण चिनारी हो । वि.सं. १८०१ मा नुवाकोट विजय गरेपश्चात आफ्नो एकीकरणलाई निरन्तरता दिने उद्देश्यले तात्कालीन राजा पृश्वीनारायण शाहले ललितपुरका कालीगढहरूको सहयोग लिई यो दरबारको निर्माण गरेका थिए । निकै कलात्म तरिकाले निर्माण गरिएको विशाल नौतले दरबार आज पनि वास्तुकलामा देशै अनुपम नमुना मानिन्छ । पहिले नौ तलामा रहेको यो दरबार वि.सं १९९० सालको महाभूकम्पले क्षति पुर्याई सात तलामा सीमित भएको थियो । हाल वि.सं. २०७२ सालमा आएको विनासकारी महाभूकम्पले यो दरबारलाई पुनः क्षति पुर्याएको छ । अहिले यसको पुनर्निर्माण कार्य भइरहेको छ ।
यस क्षेत्र पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण रहेको छ । यस दरबारको वरपर भक्तपुरे राजाको दरबार, ललितपुरे राजको दरबार, शीतलपाटी, कोतघर जस्ता विभिन्न दर्शनीय स्थलहरू छन् । यस क्षेत्रमा रहेको मल्लकालीन रङ्गमहल दरबार पनि यस क्षेत्रको थप आकर्षण हो ।
नुवाकोटको ऐतिहासिक स्थलहरूमध्येको एक हो बेलकोटगढी । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोटमाथि आक्रमण गर्नका लागि यो गढीको निर्माण गरेका थिए । पृथ्वीनारायण शाहले तत्कालीन बेलकोटका राजा जयन्त रानालाई काटेर सो ठाउँमा जयन्तको शरीरलाई गाडी गढीमै उनको सम्झना र चिर शान्तिको लागि काठको मौलो गाडेका थिए । सो मौलो आजसम्म पनि देख्न सकिन्छ । हाल यो गढीलाई चारैतिर ढुङ्गाको पर्खाल लगाएर माथिल्लो भागको मध्य भागको मध्यभागमा श्री निरञ्जना भगवती मन्दिर स्थापना छ ।
दुप्चेश्वर महादेव नुवाकोट जिल्ला सदरमुकामदेखि करिब ४० किमि उत्तरपूर्वमा पर्छ । धार्मिक दृष्टिकोणले अति नै महत्त्वपूर्ण यस मन्दिरमा दर्शन गरेपछि निःसन्तान दम्पतीको सन्तान हुने र मनोकामना पूरा हुने जनआस्था रहेको छ । यहाँ हरेक वर्ष मङ्सिर पूर्णिमाको दिन विशाल मेला लाग्ने गर्छ । उक्त रात यस मन्दिरमा जिल्लाभित्र र जिल्लाबाहिरका भक्तजनहरूको भीड लाग्ने गर्छ ।
समुद्र सतहदेखि २९१५ (दुई हजार नौ सय पन्ध्र) मिटर उचाइमा पर्ने सागरकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल हो । काठमाडौँदेखि बूढानीलकण्ठ हुँदै गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने यस कुण्डको पर्यटकीय आकर्षण भनेको यस कुण्डमा न त कतै पानीको स्रोत भेटिन्छ न त कुनै निकास नै । जनैपूर्णिमाको दिन गोसाइँकुण्ड जान नसक्ने भक्तजनहरू यस कुण्ड गए उत्तिकै फल मिल्ने जनआस्था छ ।
राजधानी काठमाडौँदेखि जम्मा २७ किलोमिटरको मात्र दूरीमा रहेको ककनी पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिन्छ । यो क्षेत्र प्राकृतिक सौन्दयले भरिपूर्ण छ । समुद्र सतहदेखि करिब २०३० किमिको उचाइमा रहेको ककनी यस जिल्लाकै थोरै रमणीय प्राकृतिक सम्पदाहरूमध्ये पर्छ । उच्च भूवनोटको कारणले यस स्थानबाट नुवकोट जिल्लाको लिखु फाँट लगायत थुप्रै होचा भूभागहरूका साथै लाङ्टाङ, गौरीशङ्कर, मनास्लु, गणेश हिमाललगायत थुप्रै हिमशृङ्खलाहरूको देख्न सकिन्छ । यस क्षेत्रमा हिउँदमा पिकनिक जाने र रमाइलो जमघठहुनेहरूको भीड लाग्ने गर्छ ।
त्यस्तै, अन्यमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिएको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रहरूमा शिवपुरीमा अवस्थित सूर्यचौर, चिम्टेश्वर, भैरमकोट, भैरवी मन्दिर, बेत्रावतीको उत्तरगयाधाम, देवीघाटको जालपा मन्दिर, त्रिशुलीको राम मन्दिर, कविलासको कपिलेश्वर, तारकेश्वर र विदुर नगरपािलको सिमानामा रहेको ढिकिजातो चुली, तारकेश्वरको जन्तरेगढी रहेका छन् । सांस्कृतिक रीतिरिवाज र चालचलनमा समेत नुुवाकोट सम्मपन्न रहेको छ । यहाँ मनाइने गाईजात्रारलाखे नाच, सिन्दुरेजात्रा, माघेसंक्रान्तिको गोरु जुधाउने जात्रा लगायतका पर्वहरू समेत प्रख्यात छन् ।
No comments:
Post a Comment