![]() |
पुरुषोत्तम लम्साल |
पुरुषोत्तम लम्साल
‘बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो’ कक्षा ८ मा पढ्दै गरेको गाउँको भाइले गोपाल योञ्जनले गाएको गीतलाई आफ्नै स्वरमा गाएको र अभिनय गरेको दृष्य पठायो । भर्खर जुँगाको रेखी बस्दै गरेको केटोभित्र उम्रदै गएको राष्ट्रियताको आवेग र भावनाको मैले सम्मान गरें र मायाको ‘इमोजी’ पठाएँ । ऊ खुसी भयो ।
चाणक्य भन्छन्, ‘व्यक्तिले गर्ने कुराकानीबाट उसको देशको चरित्र बुझ्न सकिन्छ ।’ यो भनाई मान्ने हो भने हामीले राष्ट्रको इज्जत गर्ने नयाँ पुस्ता तयार गर्दै गइरहेकोमा खुसी हुनपर्छ ।
एकपटक फेरि ‘भाइरल’ भयो २० वर्ष अगाडि बिधान श्रेष्ठको स्वरमा आएको गीत ‘माछी मार्न जाउँ न दाजै कालापानीमा ।’ यो गीत चल्तीमा रहँदा आजको बीस वर्षे पुस्ता जन्मिएकै थिएन । उनीहरूका लागि बिधान श्रेष्ठ फेरि ‘कालापानीका दूत’ बनेर सार्वजनिक भए । हिजोसम्म गुमनाम विजय श्रेष्ठलाई राष्ट्रियताको हावाले यति चाँडै पाखुरामा समातेर रेडियो र टेलिभिजनका अगाडि उभ्यायो ।
‘खोइ हाम्रो दिलमा त घामै लागेन’ भन्दै बद्री पंगेनीले सुस्ताबारे पोखेको दुःखेसो फेरि एकपटक जताततै ‘ट्यून’ भयो । ‘हाम्रै नालापानीको पानी पिउने धोको छ’ गाउने ऋषि अधिकारीहरूको स्वर देशभित्र र बाहिर रहेका किशोरकिशोरीले गुनगुनाउनु कम सुखद पक्ष होइन ।
सकारात्मक र स्वच्छन्द जागरणको अलग्गै मिठास हुन्छ । अझ त्यो देश र राष्ट्रियताको विषयमा भयो भने त्यसले असल सन्देश दिन्छ । सभाहरूमा बुद्धिनारायण श्रेष्ठहरू सुनिए । हिरण्यलाल श्रेष्ठहरूको माग भयो । सन्दुकहरूबाट धुँवा लागेका कागजहरू निस्कन थाले ।
कमैले प्राप्त गर्ने दुर्लभ अवसर र चुनौती प्रधानमन्त्रीको रुपमा केपी ओलीले दोस्रोपटक प्राप्त गरेका छन् । अब पुनः ‘सेञ्चुरी’ हानेर कीर्तिमान लेखाउने वा सीमा मामिलामा ‘क्लिन बोल्ड’ भएर ‘पेवेलियन’ फर्कने ? जवाफ प्रधानमन्त्रीसँग मात्र छ । लोक्ता पकाएर तयार गरिएका नेपाली कागजमा कोरिएका नेपालको पुरानो नक्सा आ–आफ्नै नाममा आउन थाले । देशको उपप्रधानमन्त्रीलाई भैरव रिसालहरूको आवश्यकता भयो र दैलोमै गएर अनुभवका खातमा अडेस लगाउन पाए ।
राज्य जनताको हातमा भएपछि नेताले सजिलै आत्मसमर्पण गर्न सक्दैन । सक्दैनन् । नसक्ने रहेछन् । जनताको एक स्वर भएपछि नेताहरू खोपी खोपीबाट निस्किएर जनताको दैलोमा आफैं पाउकष्ट गर्नु पनि आनन्दको विषय हो ।
माथिका कसैले पनि भारतको विरोध गरेका गरेका होइनन् र थिएनन् । मात्र नेपालको पक्षमा उभिएका थिए । बोलेका थिए । जागरणको यो शुभअध्याय सबैका लागि सम्झना योग्य छ । तर यही जागरण र एकतामा उभिएको वर्तमान सरकार चाँहि इतिहास मेटाउने कि भेट्टाउने भन्ने चुनौतीको तरबारको धारमा उभिन आइपुगेको छ । कमैले प्राप्त गर्ने दुर्लभ अवसर र चुनौती प्रधानमन्त्रीको रुपमा केपी ओलीले दोस्रोपटक प्राप्त गरेका छन् । अब पुनः ‘सेञ्चुरी’ हानेर कीर्तिमान लेखाउने वा सीमा मामिलामा ‘क्लिन बोल्ड’ भएर ‘पेवेलियन’ फर्कने ? जवाफ प्रधानमन्त्रीसँग मात्र छ ।
चारै वर्ष अगाडिकै कुरा त हो । संविधानसभामार्फत नयाँ संविधान जारी भयो । संविधानमा देशभित्रकै केहीको असन्तुष्टी जायजै थियो । तर देशबाहिरको नाजायज असन्तुष्टीको पारो झन् उच्च थियो । यही दोहोरो असन्तुष्टीको परिणाम नेपालले भारतको नाकाबन्दी भोग्यो । प्रधानमन्त्री थिए केपी ओली ।
संयोगले केपी ओली नै तात्कालीन र बहालवाला दुबै हुन् । त्यो नाकाबन्दीलाई भारत सरकारले अहिलेसम्म स्वीकार गरेको छैन । केही क्षेत्रीय दलहरू ‘हामीले सीमामा अवरोध गरेका हौं भारतले नाकाबन्दी लगाएको होइन’ भन्दै स्तुति र भजनमै मस्त रहे । देशभित्रकै अर्को प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेसले पनि नाकाबन्दीलाई नाकाबन्दी नै हो भन्न सकेन, जीब्रो चपाउनै व्यस्त रह्यो ।
कष्टसाध्य नाकाबन्दी सकियो । न भारतीय पक्षले पश्चाताप गर्यो न नेपालका राजनीतिक दलहरूले सामूहिक र गहिरो आत्मसमीक्षा । न नेपाली कांग्रेसलाई ग्लानी भयो न सीमामा ताण्डव नाच्ने समूहलाई पश्चाताप । तर जसले नाकाबन्दीलाई नाकाबन्दीकै रुपमा भोग्ने, सहने र उभिनेहरूले आफैंलाई छामे, आफनै छाती छामे, आफ्नै शीरको उचाई नापे र मखलेल भए ।
नाकाबन्दीले केही जागरणको काम गर्यो । पहिलो, देशलाई हामी के के मा परनिर्भर छौं भनेर स्पष्ट बनाउन मद्दत गर्यो । दोस्रो, देशभित्रकै दलहरूको राजनीतिक परनिर्भरता कहाँ कतिसम्म रहेछ भनेर देखाउन मद्दत गर्यो । तेस्रो, राष्ट्रियताको सवालमा हाम्रो तत्कालको आवश्यकता के के हो भनेर युवा पुस्तासमेतलाई शिक्षित गराउन मद्दत गर्रुयो । चौथो, नेपाल भारतबीचको स्थायी मनोविज्ञानलाई अझ बढी स्थायी बनायो । पाँचौं, केही दलहरू अलग्ग नै किन नबसून्, राज्यले ढाडस दियो भने नेपाली समाजले अभावका बीच पनि सरकारलाई सहयोग गर्नसक्ने रहेछ भन्ने सन्देश दियो ।
नाकाबन्दीको त्यही चुनौती थेगेकै भनेर एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले पछिल्लो चुनावमा पर्रुयाप्त जनमत प्रभावित गर्रुयो ।
यो तथ्य र सत्य दुबै हो । नाकाबन्दी लगत्तै प्रधानमन्त्री ओलीको सरकार खर्लप्पै ढालेर शेरबहादुर देउवाको काँध चढेका प्रचण्ड उनै ओलीको सारथी बने । नाकाबन्दीको चुनौतीलाई राष्ट्रियताको अवसरमा रुपान्तरण गर्न प्रधानमन्त्री ओलीले देखाएको थोरै हिम्मत भारतले थालेको सीमाको किचलोसम्म आइुपुग्दा अहिले पनि जनमत प्रभावित गरिरहेको देखिन्छ ।
अर्थात्, प्रधानमन्त्रीका रुपमा केपी ओलीले नाकाबन्दीबाट राष्ट्रियताको पहिलो इनिंग्स सफलतापूर्वक पूरा गरे । अहिले नेपाल–भारत सीमा समस्याको मुद्दामा राष्ट्रियताको दोस्रो इनिंग्स खेल्न मैदानमा छन् ।
अहिले देश एक स्वरमा छ । जनताको एक स्वर छ । सरकार, प्रतिपक्ष, राजनीतिक दलहरू, प्रवुद्ध समाज र समाजको तल्लो तप्कासमेतले एक स्वरमा सरकारलाई साथ दिएका छन् । सरकारलाई उनीहरू भनिरहेछन्, उभिऊ !, पछि नहट !, खुट्टा नकमाऊ !, भारतीय भाइगिरीको डटेर सामना गर ! लिम्पियाधुरा कालापानी मात्र होइन सुस्ताबारे पनि बोल ! जहाँ जहाँ सीमा मिचिएको छ त्यहाँ त्यहाँ बोल !
अहिलेको मुद्दाको दृष्य र चरित्र दुबै रुपमा नाकाबन्दीको भन्दा फरक छ । हिजो राजनीतिक प्रतिशोधको परिणाम नाकाबन्दी बनेर आएको थियो ।
सीमापारी भोजन गरेर नाकामा भारतको जयजयकार गर्ने नेता र समूह पनि थिए । लैनचौरमा ‘तामसी डिनर’ गरेर अखबारमा नाकाबन्दी नभएको ‘हेडलाइन’ बनाउने मिडिया पनि थिए । आज त्यस्तो छैन । त्यस्तो नहुनुको अर्थ राष्ट्रियताको यो दोस्रो इनिंग्स अलि बढी गम्भीर र पेचिलो छ भन्नु नै हो ।
नेपालमाथि भारतको भाइगिरीको परिणाम राजनीतिक नक्सामा नेपालको भूमी हडपिएकै हो । हुँदाहुँदा हिजोको र आजको दुबै पुस्ताले नेपालको पूरै भू—भागै नसमेटिएको नक्सा अध्ययन गरेरै मरिरहेको, बाँचिरहेको र हुर्किरहेको पनि तथ्यले प्रमाणित गर्दै गइरहेको छ । यो बिसङ्गतीलाई सङ्गती बनाउने अख्तियारी प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको दोस्रो इनिंग्समा प्राप्त गरेका छन् ।
अहिले देश एक स्वरमा छ । जनताको एक स्वर छ । सरकार, प्रतिपक्ष, राजनीतिक दलहरू, प्रवुद्ध समाज र समाजको तल्लो तप्का समेतले एक स्वरमा सरकारलाई साथ दिएका छन् । सरकारलाई उनीहरू भनिरहेछन्, उभिऊ !, पछि नहट !, खुट्टा नकमाऊ !, भारतीय भाइगिरीको डटेर सामना गर ! लिम्पियाधुरा कालापानी मात्र होइन सुस्ताबारे पनि बोल ! जहाँ जहाँ सीमा मिचिएको छ त्यहाँ त्यहाँ बोल ! राष्ट्रियताको सवाल उठ्नासाथ मतभेद र असमझदारीले आक्रान्त हुने नेपाली राजनीतिमा यति सपाट एकता हुनु सुखद् आश्चर्य मान्नपर्छ ।
प्रतिपक्षले नै पहलकदमी लिएर सरकारलाई अगाडि बढ भन्नुभन्दा ठूलो एकताको सन्देश अरु के हुन सक्दछ ? त्यसैले अलका लाम्बाले प्रतिनिधित्व गर्ने भारतीय शाशक बर्गको विकारग्रस्त मनोविज्ञानको प्रतिकार गर्न सरकारलाई यो उपयुक्त समय पनि हो ।
नेपालका राजनीतिक दलहरूलाई आज्ञाकारी मात्र सम्झने भारतीय अहंकारको शिष्ट प्रत्युत्तर दिने उपयुक्त समय पनि हो यो ।
जनकपुरमा अंगालो हालेर कालापानीमा छुरा रोप्न खप्पीस भारतीय मनोग्रन्थीमा बदलाव ल्याउन प्रधानमन्त्रीको डिप्लोमेसी प्रतिक्षित छ । मुक्तिनाथमा ध्यानमा बसेर सुस्तामा आतङ्क मच्चाउने भारतीय रवैयाको सङ्कलित जवाफ पनि सरकार र प्रधानमन्त्रीले नै देलान् । दिनुपर्छ । दशर्कौदेखि चहर्याइरहेको सीमाको पीलोको उपचार गर्ने अवसर प्रधानमन्त्री केपी ओलीले प्राप्त गरेका छन् । उनको परख यहीबेला हुनेछ ।
हाम्रो राष्ट्रिय नीति नै हाम्रो विदेश नीति ठहर गर्ने प्रधानमन्त्री केपी ओलीले सीमा मुद्दामा राष्ट्रिय सहमति जुटाउन गरेको प्रयासको सबैले प्रशंसा गरेका छन् ।
देश एक भएर प्रधानमन्त्रीलाई विदेशीसँग संवाद गर्ने आत्मबल प्रदान गरेका दुर्लभ परिघटनाका साक्षी हौं हामी । अब ‘काटिएको नक्सा नै हाम्रो हो’ भनेर प्रधानमन्त्रीले जनतालाई देखाउने कि लुटिएको भूमि फिर्ता ल्याएर नयाँ नेपाली नक्सा दिने ? पर्ख र हेर ।
वर्तमान सरकार र नेतृत्वकर्ता प्रधानमन्त्रीसँग अहिले हातमा नेपालको दुई थरी नक्सा छ, लुटिएको नेपाल र नलुटिएको नेपालको ।
लुटिएको नक्सा नै सदर हुने हो भने प्रधानमन्त्रीले ‘मैले सकिन र नाकाबन्दीमा गाडेको राष्ट्रियताको मेरो कोसेढुंगाबाट म रित्तो हात फर्किएको छु’ भन्नपर्ने हुन्छ । हामी त्यो दिनको अपेक्षा किमार्थ गर्दैनौं । सक्कली नक्सा फिर्ता लिन सफल भए भने त्यसपछि जयजयकार गरौंला ।
No comments:
Post a Comment