Monday, November 04, 2019

ल्यान्डफिल्डको समस्या जस्ताको तस्तै

उषा रेग्मी
विदुर/एक बर्ष भित्र निर्माण सक्ने सम्झौता भएपनि नुवाकोट स्थित ककनी गाउँपालिकाको बञ्चरे डाडा ल्यान्डफिल्डको समस्या जस्ताको तस्तै रहेको पाइएको छ ।
बञ्चरेडाँडालाई २०६२÷०६३ मा सेनेटरी ल्यान्डफिल साइट (फोहोर प्रशोधनयुक्त स्थल) का रूपमा छनोट गरिएको थियो । एक हजार सात सय ९२ रोपनी जग्गामा रहेको यो साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । कोसी न्यौपाने एन्ड लुम्बिनी जेभीले भ्याटबाहेक ३४ करोड रुपैयाँमा २०७४ सालमा ठेक्का पाएका थिए । एक वर्षभित्र निर्माण सक्ने सम्झौता भए पनि अझै पूर्वाधार बनिसकेको छैन । सडक विभागले सिसडोलदेखि बन्चरेडाँडासम्म तीन किलोमिटर सडक निर्माणको जिम्मा पाए पनि अपुरो छ ।
सरकारले १७ सय रोपनी जग्गा व्यवस्थापन गरेको यो क्षेत्रमा उपत्यकाका तीन जिल्लाको फोहोर २० वर्षसम्म व्यवस्थापन गर्न सकिने अनुमान छ । उपत्यकामा दैनिक हजार टन फोहोर उत्पादन हुने गर्छ । उपत्यकाको फोहोरमैला समस्या समाधानको ठोस पहल नगर्दा १४ वर्षदेखि राजधानी दुर्गन्धित बन्दै आएको छ ।
नुवाकोट क्षेत्र नं. २ का सांसद नारायणप्रसाद खतिवडाले फोहोरमैला समस्या समाधान गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले समन्वय गर्नुपर्ने बताए । उनका अनुसार उपत्यका भित्रका सबै नगरपालिकासँग समन्वय गर्ने जिम्मा मन्त्रालयको हो । पटक–पटक मन्त्रालयलाई ध्यानार्कषण गराएपनि सुनुवाई नभएको बताए ।
लगानी बोर्डले निजी क्षेत्रलाई फोहोरमैला व्यवस्थापनका लागि अनुमति दिए पनि काम अघि बढ्न सकेको छैन । काठमाडौं र ललितपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिने वा स्थानीय तह आफैंले गर्ने भन्ने विषयमा टुंगो नलगाउँदा बोर्डले डेढ वर्षअघि निजी क्षेत्रलाई कामको जिम्मा दिएको थियो ।
सार्वजनिक–निजी साझेदारी मोडलमा फोहोरमैला व्यवस्थापन गर्न ‘नेप वेस्ट’ र दुई महिनाअघि ‘क्लिन भ्याली’ नामक संस्थासँग परियोजना विकास सम्झौता (पीडीए) गरिएको थियो । पीडीए कार्यान्वयनमा ल्याउन लगानीकर्ता र सम्बन्धित नगरपालिका बीच सम्झौता हुनुपर्छ। तर, यसबारे काठमाडौं र ललितपुर महानगरले ठोस निर्णय लिन नसक्दा योजना अन्योलमा परेको छ ।
२०७६ वैशाखदेखि लागू भएको भए फोहरमैला संकलन गरेबापत् वेस्टले प्रतिघर मासिक दुई सय १९ रुपैयाँ शुल्क उठाउने थियो । मस्यौदामा २० प्रतिशत फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गर्ने र ८० प्रतिशत फोहोरबाट कम्पोस्ट मल, चारदेखि पाँच मेगावाटसम्म विद्युत, प्राकृतिक ग्यास निकाल्ने र पुनः प्रयोग गर्ने व्यवस्था छ । यसरी संकलन गरेको फोहोर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा जम्मा गर्ने योजना छ । सरकारले फोहोरमैला विसर्जन गर्न बन्चरेडाँडा र नुवाकोट आलेटारमा ट्रिटमेन्ट प्लान्ट राख्न ८० रोपनी जग्गाको व्यवस्थापन गर्नेछ । वेस्ट कम्पनीले आलेटारमा ८० प्रतिशत फोहोर खपत गर्न प्लान्ट निर्माण गर्नेछ । प्लान्टका लागि ७४ रोपनी जग्गा अधिग्रहण गरिसकेको बोर्डले जनाएको छ ।

No comments:

Post a Comment