Monday, November 04, 2019

देउसी भैलो खेल्दै त्रिशुलीका मुस्लिम धर्मावलम्बीहरू

विदुर/धार्मिक सहिष्णुता बढाउन आग्रह गर्दै नुवाकोटमा मुस्लिम धर्मावलम्बीहरूले हिन्दूहरूसँगै यो पालीको तिहार पर्व मनाएका छन् । तिहारको रौनक बढाउन मुस्लिम समुदायका युवा सहभागी भएका थिए ।
विदुर नगरपालिकाको त्रिशुली, कोलोनी, हात्तीगौँडा, देवीघाट र बेत्रावतीका बस्तीमा मुसलमान समुदायका युवा हिन्दू युवासँगसँगै देउसीभैलो खेल्न गएका थिए । तिहारमा खासगरी युवाले गर्ने रमाइलोमा हिन्दू र इस्लाम युवा बराबरी देखिने गरेको त्रिशुलीका परवेज खानले बताए । 
तिहारमा इस्लाम धर्मावलम्बी युवाको सहभागिताले आपसी सद्भाव वृद्धिमा सहयोग पुगेको त्रिभुवन त्रिशूली उच्च मावि त्रिशुलीका शिक्षक अभिभावक संधका अध्यक्ष लिडर श्रेष्ठले बताए । 
इदुलफित्र, इद–उल–जोहा, मुहर्रम र सवे बरातजस्ता आफ्ना पर्वमा हिन्दू युवाको हुने सक्रिय सहभागिताले आफूहरूलाई हिन्दूले मनाउने चाडबाडमा सहभागी हुन प्रेरित गरेको मुसलमान युवाको भनाइ छ । एउटै बस्तीका बासिन्दा भएकाले एक अर्काको पर्वमा सहभागी हुँदा सामाजिक सम्बन्ध प्रगाढ भई आपसी सहयोग बढाउन मद्धत पुगेको बट्टारका अमजद खानले बताए । 
पुस्तै देखि नुवाकोटको विभिन्न स्थानहरूमा बसोवास गर्दै आएका मुस्लिम समुदायले हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको पर्वमा पनि सरिक हुँदै आएका छन् ।
साथै उनीहरूलाई पनि परम्परागत पर्वमा अन्य धर्मालम्बीहरूले साथ र सहयोग दिइरहेका छन् ।

No comments:

Post a Comment