Sunday, November 17, 2019

चराले दुखायो मेयरको टाउको

विदुर/विदुर नगरपालिका वडा नं. ६ तिर उड्ने चराचुरुङ्गी अहिले नगरपालिकाको टाउको दुखाई बनेको छ । नगर क्षेत्रको फोहोर फालेको ठाउँ वरपर उड्ने चराका कारण नागरिकहरूले डम्पिङ साइट नै सार्नुपर्ने माग लिएर मेयरसंग भेट गरेका छन् । चराले फोहोर बोकेर घरघरमा आउने भएपछि फोहोर फाल्ने ठाउँकै विकल्प खोज्न स्थानियहरूले विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितलाई आग्रह गरेका हुन् ।
विदुर नगरपालिका वडा नम्बर ६ का नागरिकहरूले डम्पिङ साईडका कारण आफुहरू समस्यामा परेको भन्दै नगर प्रमुख सञ्जु पण्डितको ध्यानाकर्षण गराएका हुन् ।
नगरपालिकाको वडा नम्बर ६ मा रहेको पुरानो ‘खम्बालीक्याम्प’मा नगरपालिकाको फोहोर थुपार्दा समस्या भएको स्थानीयहरूले बताएका छन् । केन्द्रिय कारागार निर्माण भैरहेको स्थल नजिकै ३५ बर्ष देखि फोहोर व्यवस्थापन हुँदै आएको छ । त्यहाँको फोहोरबाट आएको दुर्गन्धले स्थानियहरूको स्वास्थ्यमा प्रतिकुल असर परेको स्थानीयहरूको दावी छ ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले फोहोर बिर्सजनको लागी बिकल्पको खोजी भैरहेको उनीहरूलाई बताएका छन् । स्थानीयको सम्भव भएका माग तत्कालै पुरा गर्ने नगरपालिकाले जनाएको छ । अहिले फोहोर फालिरहेको स्थानमा केन्द्रिय कारागार तयार भइरहेकोले पनि विदुर नगरपालिकाले नयाँ र लामो समय प्रयोगमा आउन सक्ने डम्पिङ साइटको खोजी गरिरहेको छ ।  

No comments:

Post a Comment