Monday, November 11, 2019

सिसडोलमा महानगरको बीमा कार्यक्रम

केदार ढकाल
विदुर/काठमाडौँ महानगरपालिकाले नुवाकोटमा फोहोर फाल्दै आएको स्थान वरपरका नागरिकहरूलाई तत्कालै लाभ मिल्ने कार्यक्रमको घोषणा गरेको छ । काठमाडौं महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बीमा गर्ने भएको हो ।
फोहोरका कारण स्थानीहरूमा अनेकौं समस्या परेको भन्दै बीमा गर्ने तयारी गरेको बताइएको छ । काठमाण्डौ महानगरपालिकाले १४ वर्षदेखि सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको छ ।
बीमाका लागि अहिले प्रभावित नागरिकहरूको नामावली संकलनको काम भइरहेको बताईएको छ । नामावली संकलनको काम सकिएपछि बीमाको कार्य शुरु गर्ने महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले कताए । सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर फालिदै आएको छ ।
काठमाडौं उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन भन्दा पनि बढी फोहर बस्तुहरू निस्कने अनुमान गरिएको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत नुवाकोटको सिसडोलमा आइपुगिरहेको छ । अन्य फोहोर व्यवस्थापन उतै हुने गरेको छ ।
दुई वर्षका लागि भन्दै अहिले सम्म फोहर थुपार्दा स्थानीय निकै प्रभावित भएका थिए । दीर्घकालीन फोहर व्यवस्थापन गर्नका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माणकार्य भइरहेको छ । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम पनि तीव्ररूपमा अघि बढेको जनाएको छ । निर्माणका लागि मन्त्रालयले ३८ करोड बजेट छुट्याएको छ । उक्र रकमबाट निर्माण थालिएको नयाँ डम्पिङ्ग साइटको काम सुरु भएपनि ढिलो गतीमा भइरहेको छ । 

No comments:

Post a Comment