Sunday, December 01, 2019

सामुदायिक स्कुल किशोरी अनुकुल

प्रितिका थापा
विदुर/यहाँको चारघरे स्थित महेन्द्र माध्यमिक विद्यालयमा लैङ्गिकमैत्री शौचालय निर्माण पछी छात्राहरूलाई सहज भएको छ ।
महिनावारी भएको समयमा फोहोर र छात्रछात्रा सबैले प्रयोग गर्ने शौचालय एउटै हुँदा छात्राहरू कक्षा छाडेर घर जाने गरेका थिए ।
तर बिभिन्न निकायको सहयोगमा लैङ्गिकमैत्री शौचालय निर्माण भएपछी बिद्यालयका छात्राहरूमा उत्साह छाएको छ ।
महिनावारी भएको समयमा सरसफाईका लागी कक्षा छाडेर घर जानु पर्ने बाध्यता लैङिकमैत्री शौचालय निर्माण सँगै हराएको कक्षा ९ मा अध्यनरत छात्रा सुष्माले बताए । धेरैजसो महिनावारी भएको समयमा उनि घरमा नै बस्ने गर्दा पढाईमा समेत प्रभाब पर्दै आएको थियो । तर गुणस्तरिय शौचालय निर्माण र ‘स्यानेटरी प्याड’ बिद्यालयमा नै उपलब्ध भएपछी पढाईसँगै छात्राहरूमा पर्ने मानसिक तनाब समेत हटेको उनले सुनाए ।
महिनावारी हुनु भनेको नियमित प्राकृतिक जैविक प्रक्रिया हो तर नियमित सरसफाइ गरिएन भने योनाङ्गदेखि पाठेघरसम्म नै असर गर्न सक्छ । महिनावारी हुँदा बहने रगतले भिज्नेबित्तिकै र सामान्य अवस्थामा ७ घण्टामा प्याड फेर्नै पर्ने बैज्ञानिक आधार छ ।
फोहोर गरिएको प्याड जथाभावी फाल्दा वातावरणको स्वच्छतामा पनि कमी आउने देखेर विद्यालयले प्रयोग भएको प्याड राख्ने छुट्टै व्यवस्था समेत गरिदिएको छ ।
बिद्यालयमा लैङ्गिक शौचालय निर्माण भएपछी छात्राहरूसँगै शिक्षिकाहरूलाई समेत सहज भएको शिक्षक सुमित्रा पौडेलले बताए ।
बिद्यालयमा अध्यनरत छात्राहरूको लागी सेनेटरी प्याडको समेत निःशुल्क ब्यबस्था गरिएको छ । महिनावारी हुँदा अधिकांश छात्राहरू बिद्यालय नआउने भएकाले बिद्यलायले नै निःशुल्क प्याड उपलब्ध गराउन थालेको उनले बताए ।
बिद्यालयका प्रधानाध्यापक चिरञ्जिबि भट्टका अनुसार लैङ्गिकमैत्री शौचालय निर्माण गरि प्रयोगमा आएपछि विशेष गरी छात्राहरूको कक्षा नियमित भएको र पढ्ने वातावरणको सिर्जना भएको छ । बिद्यालयमा अध्यायन गर्न आउने छात्राहरूमा लैङ्गिकमैत्री शौचालय र निःशुल्क सेनेटरी प्याड बितरणले गर्दा बिद्यार्थीहरूले सुरक्षित महशुस गरेको उनले बताए । 
विद्यालयमा निर्माण गरिएको लैङ्गिकमैत्री शौचालय जाईकाको आर्थिक सहयोगमा निर्माण भएको प्रअ भट्टले जानकारी दिए ।
यसका साथै बिद्यालयका शिक्षिका तथा छात्राहरूलाई महिनावारी भएको बेलामा पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम समेत दिईएको छ ।
खुलेरै हुन थाल्यो छलफल
बट्टार/विदुर नगरपालिकाका प्रायः विद्यार्थीहरूले महिनावारीको विषयमा खुलेर कुरा गर्न थालेका छन् । विद्यार्थी, शिक्षक तथा अभिभावकमा यस विषयमा सदिऔंदेखि रहँदै आएको संकुचनका कारण किशोरी विद्यार्थीहरूलाई पढाईमा समस्या हुँदै आएको थियो । महिनावारी हूँदा विद्यालय जान मुस्किलसम्म हुने अवस्था सृजना भएको किशोरीहरूलाई सहजता प्रदान गर्न सरकारी र गैर सरकारी पक्षबाट एक वर्ष देखि अभियान नै सञ्चालन भएको छ ।
विदुर नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत ३० वटा विद्यालयमा एक वर्ष देखि परियोजना सञ्चालनमा रहेको थियो ।
परियोजनाको समापन तथा किशोर किशोरमिा आएको परिर्वनतलाई सार्वजनिक गर्न गएको आइतवार औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रस्तुत हुँदै स्पार्कल इन्टरनेशन स्कुलका सिम्रन पाण्डेले अब केटा साथीहरूसंग समेत महिनाबारी हुँदा स्कुलमा छलफल गर्न सक्ने वातावरण बनेको सुनाए ।
भैरुम मावि हात्तिगौडाका विकास अधिकारीले महिलाहरूमा हुने नियमित प्रक्रियालाई सहि रुपमा ख्याख्या गर्ने र बुझाउने काम नहुँदा किशोरीहरूलाई समस्या भएको अहिले आफुले बुझेको बताए । उनले केटाहरूबीच पनि यो प्रकृति प्रक्रृयाको बारेमा जानकारी हुनु र सरकारले किशोरीहरूलाई महिनाबारी हुँदा आवश्यक पर्ने प्याड लगाएतका सामाग्री विद्यालयमा निःशुल्क उपलब्ध गराउनु राम्रो रहेको बताए ।
विदुर नगरपालिका सहित केहि स्थानीय तहमा भिजिवल इम्प्याक्ट् नामक संस्थाले किशोरीहरूमा हुने महिनावारी प्रक्रृया र त्यसबाट पर्ने समस्या सहजिकरणको लागि अभियान सञ्चालन गर्दै आएको र नुवाकोटमा अभियान पुरा भएको घोषणा संस्थाले गरेको छ ।

No comments:

Post a Comment