Sunday, December 08, 2019

‘फोहोरको कुरा प्रधानमन्त्रीसित गर्छु’

ककनी/सांसद हितबहादुर तामाङले काठमाडौको फोहोरबाट पिडित ककनी गाउँपालिका ओखरपौवा र सिसडोलबासीको समस्या प्रधानमन्त्री सम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।  संसदको विकास तथा प्रविधि समितिले केहि समय अघि गरेको अनुगमनको निष्कर्ष प्रधानमन्त्री कार्यालयसम्म पु¥याएको भएपनि कार्यान्वयन नभएपछि अब सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर जानकारी गराउने तामाङले बताए ।
शुक्रबार वास मिडिया फोरम नेपालले सिसडोलमा गरेको कार्यक्रममा सांसद तामाङले  सिसडोलमा फोहोर विसर्जन गर्ने स्थलबाट कति किलोमिटर टाढासम्म बस्ती बसाल्न मिल्ने भन्ने बारेमा बैज्ञानिक रुपमा प्रतिवेदन तयार हुनु आवश्यक रहेको बताए ।
सिसडोल ल्याण्डफिल साईडको विकल्पमा निर्माण सुरु गरिएको बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईड निर्माण समेत सुस्त भएकोमा सांसद तामाङको असन्तुष्टि रह्यो । ‘निर्माण सुरु भएको ८ महिनामा २५ प्रतिशत मात्रै काम ?, उनले प्रतिप्रश्न गरे–बाँकी रहेको ४ महिनाभित्र कसरी काम सम्पन्न हुन्छ होला त ?’ तामाङले तोकिएका समयमा उक्त निर्माण सम्पन्न नहुने भएकाले नागरिकलाई समेत खवरदारी गर्न आग्रह गरे । फोहोरमा वर्षैदेखि जीबन बिताउँदै आएका नागरिकहरू प्रति सरकार उदासिन रहेको उल्ल्ेख गर्दै उनले भने– ‘अब यसो हुन दिन्न ।’
सहरी तथा भवन निर्माण विभागले २०७६ बैशाख २२ बाट मा बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईड निर्माण थालेको छ । त्यसको जिम्मा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई दिएको छ । त्यसको म्याद सम्झौता भएका मिति देखि एक वर्ष मात्रै छ । काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले बञ्चरेडाँडा ल्याण्डफिल साईड समयमै निर्माण सम्पन्न गरी सिसडोल ल्याण्डफिल साईडमा फोहोर फाल्न बन्द गरिने प्रतिवद्धा कार्यक्रममै राखेका छन् । पहिलापनि महानगरले धेरै कुरामा झुक्याएको भन्दै यसमा स्थानीयहरूले शंका व्यक्त गरेका छन् । 
सिसडोल संघर्ष समितिका अध्यक्ष विश्वास डिसीले फोहोर र मान्छे एकै ठाउँमा राख्न नमिल्ने भन्दै यसलाई छुट्याउन आग्रह गरे । दुईबर्ष फोहोर फाल्ने सम्झौता गरेर १४ बर्षसम्म फोहोर फालेको प्रति उनले महानगरप्रति आक्रोश पोखे ।

No comments:

Post a Comment