सुजित भण्डारी
 |
म्यागङ गापाको टुँडीमैदानमा निर्माण सम्पन्न भएपछि देखिने दृष्यको स्केच |
देउराली/नुवाकोटको म्यागङ गाउँपालिका आन्तरिक पर्यटकहरूका लागि आर्कषक स्थानको रुपमा विकास हुने भएको छ । सोही क्रममा वडा नम्बर ३ र ६ को सङ्गमस्थल टुँडीमैदानमा ताल एवं पार्क निर्माण सुरु भएको छ । यसले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई समेत केही टेवा पुगेको छ । हाल टँुडीस्थित पोखरी रहेको स्थानमा एक करोड ७१ लाख रुपैयाँको लगानीमा व्यवस्थित ताल र पार्कलगायतका संरचनाको निर्माण थालिएको बताइएको छ । तालसहितको पार्क निर्माणले पर्यटकीय एवं धार्मिक गन्तव्य बनाउन सकिने अपेक्षा राखिएको गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताएका छन् । उनका अनुसार प्रदेश सरकार र स्थानीय सरकारको सयुक्त लगानीमा निर्माण थालिएको पार्कसहितको ताल चरणबद्ध रुपमा निर्माण गरिने छ ।
पहिलो चरणको संरचना २०७७ असारभित्र पूरा गर्न‘पर्ने सम्झौतामा उल्लेख छ । पहिलो चरणमा टँुडीमा रहेको इनारको संरक्षण गर्दै आकर्षक ताल बनाइने छ । दोस्रो चरणमा म्यागङको पहिचान बोकेको मानिसले तिर हान्न लागेको शालिक बनाइने अध्यक्ष तामाङले बताए ।
 |
शिलान्यास कार्यक्रमको एक झलक । तस्बिर : इमेज |
अहिले उक्त ताल बनाउन लागिएको स्थानमा सयौं वर्ष पुरानो पोखरी सहितको चउर रहेको छ । त्यसमध्ये चार रोपनी क्षेत्रफलमा फैलिएको ताल बनाउन लागिएको हो । राज्य पुनःसंरचनाको क्रममा साविकका पाँच गाविस बसुञ्चेत, बुङताङ, देउराली, किम्ताङ र सामरीलाई समावेश गरेर म्यागङ गाउँपालिकाको नामाकरण गरिएको थियो । तामाङ भाषामा ‘म्या’ भनेको तीर र ‘गङ’ भनेको तीर खेल्ने चउर रहेको पाकाहरू बताउछन् ।
टुँडि क्षेत्रमा परापूर्वकालमा तामाङ समुदायको पुर्खाले तीर हान्ने प्रतिस्पर्धा गर्ने र उक्त प्रतियोगितमा पश्चिम बागमतीमा पर्ने जिल्लाको सहभागिता रहने गरेको ईतिहाँस रहेको छ ।
म्यागङ नामाकरण गरिएको ऐतिहासिकस्थलको संरक्षण गरेर गाउँपालिकाको गौरव योजनाको रुपमा पर्यटकीयस्थल बनाउन प्रथामिकतामा राखिएको उपाध्यक्ष शान्तिमाया लामाले बताए ।
No comments:
Post a Comment