Monday, December 23, 2019

त्रिशुली नदी सफाई अभियान

विदुर\मानवीय एवम प्राकृतिक कारणले नेपालका जल तथा नदी सम्पदा जोखिममा पर्न थालेपछि नदीको संरक्षणका लागि सक्रिय सरोकारवालाहरूले चासो व्यक्त गर्न थालेका छन् ।
दिगो बिकासको लक्ष्य अनुरुप २०३० सम्म नेपालले सबै नागरिकहरूका लागी स्वच्छ खानेपानी तथा सरसफाई सुबिधामा पँहुच पुराउने लक्षय राखेको छ । त्यसै अनुसारको कार्यक्रम सञ्चालन गर्दै आएको युएन ह्याबिट्याटले नुवाकोट र रसुवामा बग्ने त्रिशुली नदीलाई पिउन योग्य पानी बनाउन नदी सफाई अभियान कार्यक्रम सञ्चालन सुरु गरेको हो ।
धार्मिक दृष्टिकोण र जलयात्राको पहिलो गन्तव्य मानिएको त्रिशुली नदी केही बर्षयता निकै प्रदुषित र अतिक्रमणको मारमा पर्दै जान थाले पछी संरक्षणको आबाज उठ्न थालेको छ । नदी छेउमा बढ्दै गएको अव्यवस्थित वस्ती, अवैध खानी तथा वालुवा प्रशोधित उद्योगका कारण नदीमा प्रदुषण बढेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पछिल्लो समय सबै क्षेत्रबाट नदी माथीको आक्रमण बढ्दो रहेको बताए । नदी आसपासमा रहेका बस्ति देखि ब्यबसायीहरूले नदी माथीको आक्रमणलाई रोक्न स्थानिय सरकार प्रतिबद्ध हुनु पर्ने उनको भनाई छ ।
जल सम्पदामा विश्वकै दोश्रो धनी देश नेपालमा नदी संरक्षण नीति नभएका कारण नदी अतिक्रमण, प्रदुषण तथा विनाशका कार्यहरू हुने गरेको भन्दै सम्बन्धित स्थानिय तहहरूले नदी संरक्षण नीति ल्याउनु पर्ने सरोकारवालहरूले बताएका छन् ।
त्रिशुली नदी संरक्षणको लागी विदुर नगरपालिकाले प्रदेश र संघिय सरकारसँगको सहकार्यमा काम गर्दै आएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । नदी आसपासमा रहेका मुख्य तीन शहरहरू बेत्रावती, त्रिशुली र देबिघाटमा फोहोर तथा ढल नदीमा नमिसाउन एकिकृत पदतिबाट काम भैरहेको उनले बताए ।
युएन ह्याबिट्याटको सहयोगमा नुवाकोटमा कार्यक्रम सञ्चालन गर्दै आएको बिकास तथा बातावरण संरक्षण केन्द्र नेपाल (डिकोन)का कार्यकारी निर्देशक चोकराज शाक्यले
नदीको पानी पिउन योग्य बनाउनको लागी स्थानिय तहसँग सहकार्य गर्ने बताए । धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपुर्ण मानिएको त्रिशुली नदी प्रदुषण हुँदा प्रत्यक्ष रुपमा नागरिकहरूमा असर परिरहेको उनले बताए ।
धार्मिक तथा पर्यटकीय हिसावले महत्वपुर्ण मानिएको त्रिशुली नदीमा ढल तथा फोहोर विर्सजन गर्ने तथा डोजर तथा स्क्याभेटर प्रयोग गरी ढुंगा, वालुवा, गिटी निकासी बन्द गरी र नदीहरूमा सञ्चालन भईरहेका पर्यटनलाई व्यवस्थित गर्नु पर्ने आबाज उठेको हो । नुवाकोटको बेत्रावती, त्रिशुली र देबिघाटमा नदीमा ढल मिसाउने र फोहोर फाल्ने काम बन्द गराउन अभियान केन्द्रित हुनु पर्ने पनि बताईएको छ । नदी सफाई र संरक्षणका लागि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको संयोजकत्वमा समिति गठन भएको छ । 

No comments:

Post a Comment