Monday, December 23, 2019

दुप्चेश्वर जात्रा : सहज र आधुनिक

जात्राका लागि मन्दिर परिषरमा बनेको अस्थायी फिल्म हल । 
कपिलदेव खनाल 
दुप्चेश्वर (रामती)/‘यहाँको महादेवको दर्शन गरेर मागेपछि पुरा हुनछ रे भन्ने सुनिरहेको थिएँ पहिलादेखि, यही भएर यो पाली दर्शन गर र माग्नको लागि आएको हुँ’ –जोत्सना श्रेष्ठ, मेलम्ची सिन्धुपाल्चोक । श्रेष्ठ जस्ता हज्जारौं भक्तजन तथा धार्मिक पर्यटकहरू बर्षेनी नुवाकोटको दुप्चेश्वर महादेवको दर्शन र पुजाआजाका लागि आइपुग्छन् र यस्तै भन्छन् । दोश्रो पशुपतीनाथको रुपमा परिचित र आराधन हुँदै आएको दुप्चेश्वर महादेव मन्दिरमा मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको अवसरमा ठूलो जात्रा लाग्दै आएको छ । एक हप्तासम्म चल्ने यस जात्रामा विशेष गरी धान्यपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका साँझदेखि बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ । जात्राको समयमा भजनकीर्तन र विभिन्न किसिमका नाचगान चल्ने गरेको छ । व्यापार व्यवसायका लागि टाढादेखिका व्यापारीहरू ओइरिन्छन् । परम्परागत पोशाकमा चटक्क सजिएका झाँक्रीहरूको जमघट यहाँ बाक्लै हुन्छ । धान्यपूर्णिमामा हुने विशेष जात्रा बाहेक पनि यहाँ नियमित रुपमा मेला लाग्दै आएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ बताउँछन् ।
आफूले चिताएको पुरा हुने, सन्तान त्यसमा पनि छोरा प्राप्ति हुने, बोल्न नसक्ने बालबालिका बोल्ने, वस्तुभाउ व्याउने जनविश्वासले दुप्चेश्वर महादेवको दर्शन र पुजा आराधना गर्न भक्तजनको ओइरो लाग्ने गरेको छ । त्यस्तै, परम्परागत उपचार विधि र दैविक शक्ति रहेको मानिने धामी–झाँक्रीहरू आफ्नो विधि अनुसार श्री महादेबबाट आफ्नो मन्त्र शिद्ध गर्न पनि यहाँ आउने गरेका छन् । आफु र आफ्नो कुटुम्वमा खान लाउन अभाव नरहोस्, पशु थारो नहोउन् भनेर मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको बेलामा यि लामा तथा झाक्रीहरू दुप्चेश्वर महादेवको अनुष्ठानका लागि आउने गरेको दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङ्फेदीका मुल झाक्री अक्कलबहादुर तामाङ बताउँछन् । ‘पुर्खाहरूले राखेको आस्थालाई हामीले कायम गरेका छौं, हामी बर्षेनी यो जात्रामा यसैगरी आफ्नो भेषभुषासहित आउने गरेका छौं’ तामाङले भने । 
हरेक वर्षको धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश जात्रा लाग्ने जिल्लाकै प्रसिद्ध दुप्चेश्वर मन्दिरमा मुख्यतः सन्तान नहुने दम्पतिहरू सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । सन्तानमा पनि छोराको रहर गर्ने दम्पतीहरू यहाँ आउने गरेका छन् । विश्वास र श्रद्धाका साथ दुप्चेश्वर महादेवसंग पुत्र वर माग्दा प्राप्त हुने विश्वास सदिऔंदेखि रहिआएकोछ । पुजारी भगवानहरि धिताल धेरै मात्रामा छोरा माग्नेहरू आउने गरेका बताउँछन् । ‘यहाँ आएर माग्नेहरूको सन्ताल लाभ त्यसमा छोरा नै हुने गरेकोछ, पछि उनीहरू आस्र पुजा गर्छन् र हामीलाई भन्छन्’ पुजारि धिताललेभने–भगवान्ले कसैलाई विखुम गर्नुभएको छैन ।’
अनकण्टार चिसो पहरामा अवस्थित देवाधिदेव यी महादेवको दर्शन र पुजाका लागि नुवाकोट बाहेक काठमाडौं उपत्यका, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, काभ्रे, सिन्धुली, बारा, चितवन लगायतका थुप्रै जिल्ला तथा भारतबाट समेत श्रद्धालु भक्तजनहरू आउने गरेका छन् । दुप्चेश्वर गाउँपालिका वडा नं. ६ स्थित यस दुप्चेश्वर महादेव स्थान सबै जातजाती, भाषा तथा धर्मालम्बीहरूका लागि साझा थलोको रुपमा विकास भएको छ । पछिल्लो समय दुप्चेश्वर गाउँपालिकाले यहाँसम्म आइपुग्नका लागि सडकलाई सहज बनाएको छ, दुप्चेश्वर महादेवको बढ्दो प्रचारले अहिले श्रद्धालु भक्तजनहरूको उपस्थिति बाक्लो रहेको बताउछन् गाउँपालिका अध्यक्ष तामाङ । ‘बिगत तीन वर्षदेखि यातायातका कारणले भक्तजनहरूले कुनै समस्या भोग्नु परेको छैन, यही नजिकैसम्म यातायातको साधनमा आउन सकिने अवस्था छ’, उनले भने– ‘जात्रा गाउँपालिकाकै सक्रियतामा व्यवस्थित पारेका छौं ।’
झट्न सुन्दा अपत्यरिलो लाग्ने प्रसङ्ग छोरा माग्दा प्राप्त गर्ने यहाँको वरदानका अनगिन्ति साक्षिहरू छन् । निःसन्तानले सन्तान प्राप्त गरेको देखि छोरा प्राप्त गरेको उदाहरण यहाँ आउने दर्शनार्थीहरूमा बाक्लै पाउन सकिन्छ । रसुवा जिल्ला सरमथलीका दोम्बोले तामाङले २०५५ सालमा यही आइ दुप्चेश्वर महादेवसंग आफ्नो सन्तानमा छोरा होस् भनि मागेका थिए । छोरानै प्राप्त गरेपछि यिनी स–परिवार र गाउँघरका अन्य मानिसहरूसित बर्षको कम्तिमा एकपल्ट महादेवको दर्शन गर्न आइपुग्छन् । ‘त्यस बेलामा मैले दुप्चेश्व्रसंग मार्ग शुक्लपक्षको धान्यपूर्णिमामा यस दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने जात्रा भर्न आउने अधिकांश दम्पतिहरूको एउटै कामना भनेको सन्तान प्राप्ति कै हुन्छ । त्यस बाहेक अन्य भाकलका लागि पनि यहाँ भक्तजनहरूको भिड र आस्था रहेको छ । यस मन्दिर रहेको दुप्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि गजुरेल पनि यस महादेवको दर्शनपछि आफुलाई पुत्र प्राप्त भएको स्मरण गर्नुहुन्छ । ‘२०४१ सालमा म महादेवको दर्शन गर्न आएको थिएँ, यहाँबाट फर्केको रात मेरो सपनामा दुई बालकहरू तामाको खड्करोमा खेलिरहेको देखेँ, मेरो जीवनमा त्यो सपनाको प्रभाव पर्यो, मेरो जीवनमा पनि पुरा भयो’ गजुरेलले भने ।
दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोलेका बालबच्चा बोल्नथाल्ने विश्वासमा टाढाका भक्तजनले भाकल गर्ने र पुरा भएपछि श्री महादेवको दर्शनका लागी आउने गर्छन् । सन्तान नभएकाहरूले सन्तान, विवाह नभएकाहरूले लगन जुराइ माग्ने र पुराभए पछि दर्शन गर्न आउने भक्तजनहरूको अनुभव सुन्न पाइन्छ । गोठमा थारा गाईभैसी हुनेहरू गाई भैसी ब्याओस् भनी भाकल गर्न इाँहा आइपुग्छन् र महादेवलाई दाम्लो चढाएर फर्किन्छन् । तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपका अर्जुन पण्डितका अनुसार यहाँ बर्षेनी गाईभैसीको दाम्लो चढाउन आउनेहरूको संख्या सयौं रहेको छ । ‘दुध धेरै आउने, नब्याएको पोथी चौपाया ब्याउने शक्ति यहाँबाट प्राप्त हुने देखेको छु’ पण्डितले भने ।
यहाँको जात्रामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री समेत हुने गरेको छ । जात्रा अवधिभर तीर्थयात्रीहरूका लागि खाना र बासको अस्थायी संरचनाहरू तयार हुने गरेका छन् । सन्तान माग्ने आउने कारणले पनि यस क्षेत्र सबै धर्मालम्वीहरूको साझा स्थल बनेको छ । विशेष गरी हिन्दु र बौद्ध धर्मालम्वीहरू बरोवरी आस्था प्रकट गर्न आउने यहाँ अन्य धर्मालम्वीहरूको समेत उपस्थिति रहिआएको सुनाउछन् दुप्चेश्वर गाउँपालिका वडा नं. ३ का अध्यक्ष ध्रुबकर केसी । ‘हिन्दु र बौद्ध धर्मालम्विहरूको संख्या यहाँ आउनेमा बढि छ’, अध्यक्ष केसीले भने– त्यसका साथै अन्य धर्मालम्बीहरू पनि यहाँ आइरहेका छन् ।’ मार्ग शुक्लपक्षको धान्यपूर्णिमा बाहेक सामान्य पूजा र रुद्री लगाउनेको लर्को सधै देखिने गर्छ । थाहा पाउनेहरूमा ठूलो आस्था छ यी देवधिदेव महादेवप्रति ।
यहाँ प्रत्येक वर्ष अक्षय तृतियाका दिन लघुरुद्री गर्ने प्रचलन अहिलेसम्म पनियस महादेव मन्दिरमा छँदैछ ।
कुनै एक चिज जे मागेपनि पुरा भएको भन्दै फेरि पुजा गर्न र आफ्नो भाकल पुरा गर्न आउने भक्तजनहरूको संख्या दिनानुदिन थामिनसक्नु भएको छ । नेपालको कुनाकुनबाट भक्तजन आउने क्रमले अहिले यत्ति व्यापकता पाएको छ कि, यहाँका पुजारी भगवानहरि धितालसमेत अचम्मित छन् । ‘जो जो दर्शन गर्न आउछन्, मेरो मनोकांक्ष पुरा भयो मात्रै भन्छन्, म त यहाँको श्री महादेवको शक्ति देखेर अचम्मित छु’ पुजारी धितालले भने ।
नुवाकोटका छिमेकी जिल्लाहरू रसुवा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुरबाट त बर्षेनी मार्ग शुक्लपक्षको धान्यपूर्णिमा जात्रामा भक्तजनहरू आउने गरेका छन् । असाध्यै सम्मान र आदरका साथ जात्रामा सहभागि हुने तामाङ समुदाय सिङ्गै गाउँ नै एकै साथ आउने गरेका छन् । केही वर्षअघिसम्म ३÷४ दिन लगाएर पैदल हिडेर दुप्चेश्वर महादेवको दर्शन गर्न आउने गरेकोमा अहिले सडक सुविधाले झन् सजिलो भएको छ । रसुवाको धुञ्चेबाट बर्षेनी दुप्चेश्वर दर्शन गर्न आइरहेका बाबुलाल तामाङ योपाली पनि दुई सय भन्दा बढीको डफ्फा सहित जात्रा आइपुगेका छन् । उनी भन्छन्– ‘यो त हाम्रो परम्परा नै बनिसेको छ, पहिला हामी दुई तीन दिन लगाएर हिडेर आउने गरेका थियौं, अहिले यातायातको सहज भएको छ, बस्नका लागि सुविधा छ, त्यो भएरपनि रसुवाबाट दुप्चेश्वर महादेजवको दर्शन गर्न आउने र जात्रा हेर्न आउनेहरूको संख्या बढेको छ ।’
दुप्चेश्वर मन्दिर नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ राउतवेशीमा अवस्थित छ । भक्तजनको मनोकांक्षा तुरुन्तै पुरा गर्ने देवका रुपमा परिचत दुप्चेश्वर महादेवको उत्पत्तिको प्रसङ्ग र ईतिहास अनौठो रहेको छ । प्रचलनमा रहेका केही किम्वदन्ति मध्ये चार सय वर्ष पहिला स्थानीय बासे तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुर भिरमा शिवलिङ्गमाथी गाईले चारवटै थुनबाट बलिन्द्र धारा दुध चढाइरहेको भेटिएको पौराणिक कथनलाई चाँहि धेरै जनाले सुनाउने गरेका छन् । त्यो धान्यपूर्णिमाका दिन रहेकोले त्यसबेलादेखि आजसम्म सोही अवसरमा विषेश पुजाआजा र जात्रा लाग्दै आएको हो । पछि कसैले शिवजीलाई पूर्णिमाको दिन होइन चतुर्दशीका दिन पूजा जुर्छ र त्यस पूजाले शिवजी खुसी हुन्छन् भनेपछि यो पर्व हाल चतुर्दशीका दिन साँझबाट सुरु भएर पूर्णिमाका दिन सकिने प्रचलन रहिआएको छ ।
अर्को पौराणिक कथन अनुसार समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष पिएर रन्थनिएका श्री महादेवले गोसाइँकुण्ड जाँदा यही मार्ग प्रयोग गरेका थिए । त्यसबेलामा अहिलेको दुप्चेश्वर महादेव रहेकै स्थानमा विश्राम लिएको जनश्रुती छ । यहाँको परम्परा र ईतिहासका बारेमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ जानकार छन् । पछिल्लो समय जात्रा आउने र दर्शन गर्नेहरूको शैली र तरिकामा केहि फेरबदल आएपनि संख्यामा भने वृद्धि भएको उनी बताउँछन् । ‘पहिला हिडेर जात्रा आउनुपथ्र्यो, त्यसले गर्दा बाटोघाटामा गीत गाउने, झाक्री आफ्नो परम्परागत नाँच प्रस्तुत गर्दै आउने अवस्था हुन्थ्यो’ तामाङ भन्छन्– अहिले यातायातका सुविधाका कारण यहाँ आउने भक्तजनहरू दर्शन गरेर त्यही दिनै फर्किने अवस्था छ, यसले गर्दा जात्राको शैलीमा केही फरक देखिएको छ ।’
दुप्चेश्वर मन्दिर आठसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको सुर्यमती अर्थात् तादी नदीदेखिनै बनाईएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरूले पूजा र दर्शनका लागी उक्लने गरेका छन् । मन्दिर र यस वरपरको भौतिक संरचनाको संरक्षण र विकासका लागि स्थानीय सरकार र जनप्रतिनिधिहरू तल्लिन देखिएका छन् । दुप्चेश्वर मन्दिरको संरक्षण, विकास र प्रचारका लागि कोषको स्थापना भएको छ । २०७४ सालमा गाउँपालिकाले दुप्चेश्वर क्षेत्र विकास कोषको स्थापना गरेको छ । दुप्चेश्वर गाउँ कार्यपालिकाबाट तयार भएको कार्यविधि तथा नियमावली अनुसार सञ्चालित कोष र त्यसको सचिवालयको संयोजन वडा नं. ६ का अध्यक्षले गरिरहेका छन् । कोष सञ्चालन कार्यविधिले दुप्चेश्वर महादेव अवस्थित वडा नं. ६ का अध्यक्षलाई पदेन रुपमा संयोजकको जिम्मेवारी दिएको छ । कोषका संयोजक एवं दुप्चेश्वर वडा नं. ६ का अध्यक्ष किशोर आचार्य विश्वस्तरमा प्रख्याती प्राप्त दुप्चेश्वर महादेवको संरक्षण र धार्मिक पर्यटकको आगमन बढाउन योजनाबद्ध रुपमा काम भइरहेको सुनाउछन् । ‘दुप्चेश्वर महादेव मन्दिर र यस परिषरलाई नुवाकोटको पहिलो पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि हामी लागि परिरहेका छौं’ अध्यक्ष आचार्यले भने । 
स्थानीय सरकारले पावनभुमी दुप्चेश्वर महादेव मन्दिर र यस परिषरको भौतिक विकासका लागि खास–खास योजना तयार गरिरहेको छ । हिन्दु र बौद्ध धर्मालम्वीहरूको बरोबरी आस्था रहेको र नेपाल राज्यभरिबाटै भक्तजनहरूको ओइरो लागिरहेको दुप्चेश्वरलाई सहज र विकसित गर्न गुरुयोजना तयार गरेर अगाडी बढ्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि गजुरेलले बताए । उनी भन्छन्– ‘त्यसका लागि हामी गुरुयोजना निर्माण गरिरहेका छौं । यो तुरुन्तै कार्यान्वयमा आउने छ । ’
जिल्ला समन्य समिति नुवाकोटले नेपाल भ्रमण वर्ष २०२० मा यसलाई नुवाकोटको भ्रमण गर्नै पर्ने स्थलको रुपमा राखेको छ । काठमाडौंबाट समेत नजिक रहेको, यातायातको सहज पहँुचका कारण दुप्चेश्वर महादेवस्थान आन्तरिक मात्रै नभई बाह्य पर्यटकहरूका लागि समेत आर्कषणको केन्द्र रहेको बुझाई आम जिल्लावासीहरूमा छ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ यो भ्रमण वर्षले नुवाकोटका धार्मिक तथा साँस्कृतिक स्थानहरूको पहिचान दिलाउने बताए । ‘सरकारले घोषणा गरेको भ्रमण वर्षमा नुवाकोटले उच्च लाभ लिनसक्ने गरी हामी काम गरिरहेका छौं, त्यसो हुँदा यस दुप्चेश्वर मन्दिर क्षेत्र पर्यटकहरूका लागि पहिलो गन्तब्य बन्ने छ’ तामाङले भने ।
नेपाल भ्रमण वर्ष २०२० मा दुप्चेश्वर गाउँपालिका र त्यसमा पनि यस दुप्चेश्वर मन्दिरमा पर्यटकहरूलाई आकर्षित गर्नका लागि गाउँपालिकाको कार्यालय र दुप्चेश्वर क्षेत्र विकास कोषले विशेष अभियान गरिरहेको छ । स्थानीयदेखि संघिय सरकारको सक्रियता र आम सञ्चारका माध्यामको प्रयोगबाट यसको महत्व र सम्भावना प्रस्तुत गरिरहेको कोषका संयोजक एवं वडा नं. ६ का अध्यक्ष किशोर आचार्य बताउछन् ।
दुप्चेश्वर महादेवस्थानको पहिचान भएको मार्ग शुक्लपक्षको धान्यपूर्णिमा जात्रा नुवाकोट जिल्लाकै पहिचनाका रुपमा देखिएको छ । धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास भएको यस जात्रामा खासगरी तामाङ र शेर्पा जातीका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । जात्रामा शेर्पा जातीहरू ढ्याङ्ग्रो बजाउँदै झाँक्रीको भेषमा महादेव खुसी पार्न रातभर झाँकी प्रदर्शन गर्छन् । तामाङ सेलो, साइगोले लगायतका तामाङ लोकसाँस्कृतिक गीत, नृत्य अनि झ्याउरे भाकाका गीत गाउँदै जात्रा भर्न जानेहरूको लर्को यसको अर्को आकर्षण हो ।
पहिलाको दुप्चेश्वर जात्रा र अहिलको जात्रामा केही परिर्वतन भने आएको छ । पहिला रातनै यही बिताउने गरी हज्जारौं धार्मिक पर्यटक तथा भक्तजनहरू आउने गरेका थिए भने अहिले श्री महादेवको दर्शन गरेर फर्कनेहरूको संख्या बढी छ । यातायताको सहज पहँुच र विकासका कारण यस्तो भएको अनुमान गरिएको छ । र पनि बर्षेनी जात्रामा आउनेहरूको संख्यामा वृद्धि हुँदै आएको छ । जात्राको मुख्य आकर्षको रुपमा रहेको लामा तथा झाक्रीहरूको उपस्थिति र सहभागिमा भने हरेक वर्ष कमी हुँदै आएको छ । केही वर्ष अघिसम्म पनि हप्तौ लगाएर नाँच्दै जात्रा आउने झाक्रीहरू अब फाट्टफुट्ट सहभागी हुन थालेका छन् । यो सिप भएकाहरूको कमी र जात्राप्रति टुट्दै गएको आम मोहका कारण यसो भएको अनुमान गरिएको छ । पुस्तौं देखि परम्पराका रुपमा विकास भईआएको यस चलनलाई मर्न नदिन  युवाहरूले अहिले चासो व्यक्त गर्न थालेका छन् । देशैभरी प्रख्याती पाप्त दुप्चेश्वर जात्रामा झाक्रि सहभागिता कायम राख्न घ्याङ्फेदीका २१ वर्षिया मन्जित तामाङ अघि सरका छन् । ‘पहिलाको भन्दा त केही फरक होला हामी युवाहरूले धान्ने परम्परामा, तर यो संस्कृति मर्न नदिनका लागि म जस्ता युवाहरू यसरी ढ्याङ्ग्रो बोकेर लागि परिसकेका छौं’, उनले भने ।
कुनै यस्तो बेला थियो, रिसइवी साध्ने थलोको रुपमा यो दुप्चेश्वर महादेवको जात्रा विकास भएको थियो । जात्रा आउनेहरूले तीन÷चार दिनको बाटो समय निकाल्नु पर्ने थियो । पहरामा रहेको मन्दिरमा पुग्ने बाटो व्यवस्थित थिएन । तर अहिले यि सबै कुराहरूको अवस्था फेरिएको छ । स्थानीय सरकार स्थापना भएसंगै कला, संस्कृति र ईतिहास संरक्षणको प्रयास भएको छ ।
यो जात्रा साँस्कृतिक रुपमा मात्रै नभई आर्थिक दृष्टिकोणबाट समेत महत्वपूर्ण छ । बहुराष्ट्रिय कम्पनीदेखि स्थानीय उत्पादनसम्म जात्रामै विक्रि हुँदा दोहोरो आर्थिक चहलपहल देखिएको छ । यहाँको उत्पादनहरूले निक्कै टाढाटाढासम्म बजार पाएको छ । जात्राबाट बाँस तथा निगालोका थुन्चे, डोका, चाल्नु, डालो, भकारी जस्ता हस्तकालको सामाग्री निर्यात हुँदै आएको छ । स्थानीय कृषि उत्पादन, भेडाच्याङ्ग्राका रौंबाट तयार भएका परम्परागत पोशाकहरूले राम्रो मुल्य सहित बजार पाइरहेको छ । 

No comments:

Post a Comment