Sunday, December 08, 2019

सागमा चम्कियो नुवाकोट दुई स्वर्ण सहित सात पदक

कराँतेमा स्वर्ण पदक बिजेता अनु अधिकारी
शर्मिला उप्रेती
विदुर/१३ औं दक्षिण एशियाली खेलकुद (साग)को जारी खेलहरूमा नुवाकोटका खेलाडी चम्किएका छन् । आइतवार साँझसम्म दुई स्वर्ण सहित सात पदक नुवाकोटका खेलाडीले हात पारेका छन् । प्रतिस्पर्धामा सहभागि भएका दुईवटा देशको भन्दा नुवाकोटको यो उपलब्धि माथि देखिएको छ । अहिलेसम्मको खेलमा माल्दिभ्स एक स्वर्ण र दुई कास्य गरी ३ पदकमा छ भने भुटानले ६ वटा कास्य पदक मात्रै जितेको छ ।
पहिलो दिननै नेपालले प्राप्त गरेको स्वर्ण पदकले नुवाकोटको शान बढेको थियो । कराँतेको ५० केजी तौल समूहमा प्रतिष्पर्धा गरेका अनु अधिकारीले सेमिफाइनलमा बंगलादेशका खेलाडीलाई ८–० ले ‘नकआउट’ गरेर स्वर्ण पदक जितेका हुन् । अधिकारी नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ४ थप्रेकका हुन् । सन् २०१६ मा भएको १२ औं सागमा आयोजक राष्ट्र भारतले कराँते खेलनै समावेश नगरेपछि प्रतियोगिताबाटै बञ्चित हुनुपरेको अनुलाई यो वर्ष स्वर्णिम बनेको छ । १२ औैं सागमा भारतले कराँते खेल समावेश नगरेपछि अनु खेल्नबाट बञ्चित भएका थिए । ११ औँ सागमा रजत जितेका अनु स्वर्ण पदकका लागि दावेदार रहेको अनुमान गरिदै आएको थियो । कराँतेका अनु अधिकारीले गएको सोमबार ५० केजी तौल समूहमा स्वर्ण जित्दा विपक्षीलाई १ अंक पनि दिएनन् । अनुले फाइनलमा श्रीलंकाका डन टुउलुलाई ८–० हराउँदै ‘नकआउट’ पारे । अनुले सेमिफाइनलमा समेत बंगलादेशका खेलाडीलाई ८–० ले नकआउट गरे । उनी विरूद्ध दुवै देशका खेलाडीले एक अंक सम्म पनि जोड्न सकेनन् ।
साइक्लिङमा स्पर्ण पदक विजेता लक्ष्मी मगर 
अधिकारी सहित स्वर्ण पदकमा दुई, रजतमा दुई र कास्य पदक तीन जना नुवाकोटका खेलाडीले जितेको जिल्ला खेलकुद विकास समिति नुवाकोटका प्रमुख सन्तोषी बैद्यले जानकारी दिए । साइक्लिङ्गमा विदुर नगरपालिका वडा नं. ११ केराधारीका लक्ष्मी मगरले स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै, विदुर नगरपालिका वडा नं. १३ आमथाङका कृष्णबहादुर तामाङले तेक्वान्दोमा रजत, सुर्यगढी लच्याङका मिना ग्लानले उसुमा रजत, विदुर नगरपालिका वडा नं. १ त्रिशुलीबजारका रेजिन रिमालले तेक्वान्दोमा कास्य पदक, बेलकोटगढी नगरपालिकाका राजिव पुडासैनीले कराँतेमा कास्य पदक र विदुर नगरपालिकाका विदुरचोकका अस्मिता राईले भारत्तोलनको ८७ केजी माथी तौल समुहमा कास्य पदक जितेका छन् ।

सुरु भयो दुप्चेश्वरको मेला

प्रितिका थापा
रामती/नुवाकोटको प्रशिद्ध दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्ने मेला गएको सातादेखि नै सुरु भएको छ ।
मेलामा विद्युत भार हुने भएकोले २५ केभिएको ट्रान्सफर्मर जडान गरिदै । 
अघिल्लो हप्तादेखि नै मेला भर्ने भक्तजन र पर्यटकहरूको घुईचो लागिरहेपनि विशेष मेला भने भोलि मंगलवारबाट सुरु हुँदैछ । भोली मंसिर २४, २५ र २६ गते मुख्य मेला लाग्ने मन्दिरका पुजारी पण्डित भगवानहरी धितालले बताए । अघिल्ला वर्षहरूको तुलनामा यो पाली मेलाको मुख्य दिन सुरु हुनु पुर्वनै भक्तजनहरूको घुइँचो लागेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाले बताए । हिन्दु र बौद्ध धर्मालम्बीहरूले बरोबरी आस्थाका रुपमा मान्दै आएको दुप्चेश्वर मेलामा यो पाली पाँच लाख भन्दा बढीले उपस्थिति जनाउने अनुमान उनको छ । गाउँपालिकाको प्रशिद्धि र पहिचानको रुपमा रहेको रहेको यो मन्दिर र पर्वलाई भब्य बनाउनका लागि स्थानीय सरकारले समेत विशेष रुपमा लिएको बताइएको छ । मन्दिरसम्म पुग्ने सडकको स्तर उन्नती, विजुली बत्तिको सहज पहुँच, भक्तजन तथा पर्यटकहरूको सहजताका लागि होटलमा एकरुपता, स्वास्थ्य संस्था, पिउने पानीको उचित प्रवन्धमा गाउँपालिका लागेको छ ।
दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि दुप्चेश्वरलाई पुजिदै आएको छ । ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास छ । अविवाहितलाई जोडी प्रदान, पशुचौपाया
नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनी दुप्चेश्वर महादेवको प्रख्याती छ ।

निर्माण हुँदै ‘म्यागङ’

सुजित भण्डारी
म्यागङ गापाको टुँडीमैदानमा निर्माण सम्पन्न भएपछि देखिने दृष्यको स्केच 
देउराली/नुवाकोटको म्यागङ गाउँपालिका आन्तरिक पर्यटकहरूका लागि आर्कषक स्थानको रुपमा विकास हुने भएको छ । सोही क्रममा वडा नम्बर ३ र ६ को सङ्गमस्थल टुँडीमैदानमा ताल एवं पार्क निर्माण सुरु भएको छ । यसले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई समेत केही टेवा पुगेको छ । हाल टँुडीस्थित पोखरी रहेको स्थानमा एक करोड ७१ लाख रुपैयाँको लगानीमा व्यवस्थित ताल र पार्कलगायतका संरचनाको निर्माण थालिएको बताइएको छ । तालसहितको पार्क निर्माणले पर्यटकीय एवं  धार्मिक गन्तव्य बनाउन सकिने अपेक्षा राखिएको गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताएका छन् । उनका अनुसार प्रदेश सरकार र स्थानीय सरकारको सयुक्त लगानीमा निर्माण थालिएको पार्कसहितको ताल चरणबद्ध रुपमा निर्माण गरिने छ ।
पहिलो चरणको संरचना २०७७ असारभित्र पूरा गर्न‘पर्ने सम्झौतामा उल्लेख छ । पहिलो चरणमा टँुडीमा रहेको इनारको संरक्षण गर्दै आकर्षक ताल बनाइने छ । दोस्रो चरणमा म्यागङको पहिचान बोकेको मानिसले तिर हान्न लागेको शालिक बनाइने अध्यक्ष तामाङले बताए ।
शिलान्यास कार्यक्रमको एक झलक । तस्बिर : इमेज
अहिले उक्त ताल बनाउन लागिएको स्थानमा सयौं वर्ष पुरानो पोखरी सहितको चउर रहेको छ । त्यसमध्ये चार रोपनी क्षेत्रफलमा फैलिएको ताल बनाउन लागिएको हो । राज्य पुनःसंरचनाको क्रममा साविकका पाँच गाविस बसुञ्चेत, बुङताङ, देउराली, किम्ताङ र सामरीलाई समावेश गरेर म्यागङ गाउँपालिकाको नामाकरण गरिएको थियो । तामाङ भाषामा ‘म्या’ भनेको तीर र ‘गङ’ भनेको तीर खेल्ने चउर रहेको पाकाहरू बताउछन् ।
टुँडि क्षेत्रमा परापूर्वकालमा तामाङ समुदायको पुर्खाले तीर हान्ने प्रतिस्पर्धा गर्ने र उक्त प्रतियोगितमा पश्चिम बागमतीमा पर्ने जिल्लाको सहभागिता रहने गरेको ईतिहाँस रहेको छ ।
म्यागङ नामाकरण गरिएको ऐतिहासिकस्थलको संरक्षण गरेर गाउँपालिकाको गौरव योजनाको रुपमा पर्यटकीयस्थल बनाउन प्रथामिकतामा राखिएको उपाध्यक्ष शान्तिमाया लामाले बताए ।

तस्बिर खबर


समृद्ध नुवाकोट नामक फेसबुक पेज बनाएर स्थानीय स्तरमा सामाजिक गतिविधि गर्दै आएका युवा अभियन्ताहरूले पहिलो वार्षिक उत्सवको अवसर पारेर गएको सोमवार विदुर नगरपालिका वडा नं. ५ माझिटारमा स्थित बौद्धिक अपाङ्ग सेवा केन्द्रका बाबालिकाहरुलाई खाना खुवाएका छन् । अभियन्ताहरूको आफ्नो दैनिक खाजा खर्च बचत गरी सामाजिक कार्यमा खर्च गर्ने नीति अनुसार अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोररिूलाई खना खुवाएको सञ्जय भट्टले बताए । समृद्ध नुवाकोट नामक फेसबुक पेज मार्फत केही महिनादेखि युवाहरूले नुवाकोटमा सामाजिक काम थालेका छन् । शब्द/तस्बिर : दिपेन्द्र तिमल्सिना

स्वास्थ्यमा तीन वटा कार्यक्रम प्राथमिकता

वडा नं. ३ को सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन । तस्बिर : कपिलदेव खनाल
दिपेन्द्र श्रेष्ठ
घलेभञ्याङ/नुवाकोटका स्थानीय सरकार नागरिकहरूको स्वास्थ्यप्रति सचेत रहेको भेटिएको छ । गाउँपालिकाको कार्यक्रम तथा नीतिलाईए नागरिकहरू समेत रुचाएको पाइएको छ । यस पञ्चकन्या गाउँपालिकाका आम नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त सकुन् भन्ने उद्देश्यले गाउँपालिकामा प्राथमिकताका साथ तीन वटा कार्यक्रमहरू सञ्चालनमा छन् । अन्य नियमित कार्यक्रम र सेवाहरूको अलावा गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश भएको ‘म स्वस्थ्य, मेरो गाउँ स्वस्थ्य’, ‘गाउँघर क्लिनिक’ र ‘स्वास्थ्य केन्द्रमा जन्म’ जस्ता कार्यक्रमहरू सञ्चालनमा छन् ।
स्वास्थ्य केन्द्र स्थापना भएपनि केही रोग र कत्तिपय नागरिकहरू लुकेर बस्ने र रोग लुकाउने अवस्था अहिले पनि समाजमा विद्यमान छ । विशेष गरी महिलासंग सम्वन्धि रोगहरू अझै खुलेर उपचारका लागि नआउने भएकोले गाउँपालिकाले टोलटोलमै महिला लक्षित निःस्वास्थ्य शिविरहरूको आयोजना गर्दै आएको छ । गाउँपालिकाका प्मुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले बताए ।
यस पञ्चकन्या गाउँपालिकाका नागरिकहरूको मुटु, मृगौला र क्यान्सरको उपचारका लागि शल्यक्रिया गर्नुपरको अवस्थामा गाउँपालिकाबाट जनही डेढ लाख रुपैयाँ आर्थिक अनुदान प्रदान हुँदै आएको छ । यस गाउँपालिकाको सबै वडाहरूमा स्वाथ्य केन्द्र स्थापनाको साथमा सुविधा सम्पन्न भवनहरू निर्माण भएका छन् । गाउँपालिका तथा सझेदार गैर सरकारी संस्थाहरूको बजेटमा निर्माण सम्पन्न भएका यि सुविधा सम्पन्न स्वास्थ्य केन्द्रबाट नागरिकहरूले सेवा पाउन थालेका छन् । भुगोलका कारण पायक नपर्ने एउटै वडामा दुई वटासम्म पनि स्वास्थ्य केन्द्र स्थापना गरेर नागरिकहरूको पहुँच स्थापित गरिएको छ ।
त्यसको नमूनाको रुपमा रहेको छ ः वडा नं. १ मा रहेको दुई वटा स्वास्थ्य संस्था । यस वडालाई भौगोलिक रुपमा दुई खण्डमा विभाजन गर्नुपर्ने अवस्था रहेको छ । वडा नं. १ को आपचौर र बाँनियाटारमा बेग्लाबेग्लै स्वास्थ्य केन्द्र स्थापना भएका छन् । वडा नं. ४ मा पनि दुई वटा स्वास्थ्य केन्द्र सञ्चालनमा छ । वडा नं. ३ मा दातृ निकायको लगानीमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र्र तयार भएको छ । अब गाउँपालिकामा १५ बेडको अस्पताल निर्माणका लागि आवश्यक कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’ले बताए ।
गाउँपालिकाको वडा÷वडामा सञ्चालनमा भएको आधुनिक सुविधा सहितको स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर पनि सञ्चालनमा रहेको छ । जसले गर्दा गाउँपालिकाकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको कार्यक्रमको लक्ष्य पुरा हुँदै गएको छ । घरमा बच्चा नजन्माउने गाउँपालिका घोषणा गर्नका लागि पञ्चकन्या गाउँपालिकालाई यसले महत्वपूर्ण आधार तयार गरेको छ ।
स्थानीय सरकारले अन्य गैर सरकारी संस्था र साझेदार निकायसंगको सहकार्यमा समेत यस पञ्चकन्या गाउँपालिकाका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । स्थानीय सरकारले व्यवस्थापन गरेको स्वास्थ्य केन्द्र बाहेक गैर सरकारी स्तरबाट सञ्चालनमा रहेको स्वास्थ्य केन्द्रले पनि उत्तिकै प्रभावकारी रुपमा काम गरिरहेको वडा नं. २ का अध्यक्ष ध्रुव मिश्र बताउछन् ।

एकीकृत वस्ती स्वीकृत

विदुर/राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन गरी ४ हजार ६४४ पुनर्निर्माण लाभग्राही थप गरेको छ ।
प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनःजाँच सर्भेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । ४१० जनालाई सम्भावित लाभग्राही र २६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको हो । लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापट ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
समितिले रसुवाको एउटा र मकवानपुरका दुईवटा एकीकृत वस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नं. २ को सानो हाकु टोलका ४६ विस्थापित घरधुरीले एकीकृत वस्ती बनाउने छन् । उनीहरूले सोही गाउँपालिकाको पाङलिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरिद गरी थप ५ जग्गाधनी मिली जम्मा ५१ घरधुरी एकीकृत वस्ती विकास गर्न लागेका हुन् । 

सौर्य प्लान्टको उत्पादन दुई चरणमा

उषा रेग्मी
विदुर/नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टले दुई चरणमा काम सम्पन्ने गर्ने भएको छ । नौं महिना अघिनै निर्माण सम्पन्न हुनुपर्ने आयोजनाको काम अहिलेसम्म पनि जारी रहेको छ । 
निर्माण सम्पन्न भई उत्पादनको अन्तिम चरणमा रहेपनि यसले सुरुमा झण्डै आधा कम मात्रै उर्जा उत्पादन गर्ने छ । जारी काम अनुसार तीन महिनाभित्र १० मेगावाट उत्पादन गर्ने तयारीमा रहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए ।  हालै मात्र प्राधिकरणले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरिसकेको छ ।
आयोजनाबाट दुई चरणमा आगामी छ महिनाभित्र शतप्रतिशत विद्युत् उत्पादन लक्ष्य छ । नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ र वडा नं. १२ मा पर्ने देवीघाट जलविद्युत् केन्द्रको खाली जग्गा सम्याउने काम पूरा भइसकेको छ ।
२.५ मिटर लम्बाइको ‘पिल्लर गाड्न ड्रिल’ गर्ने उपकरण प्रयोगमा ल्याइएकाले तीन महिनामै १० मेगावाट विद्युत् उत्पादन गर्न सकिने आयोजनाको दाबी छ । पिल्लर गाड्ने काम भइरहेको र अन्य आवश्यक सामग्रीसमेत कार्यक्षेत्रमा ल्याउने आउने क्रममा रहेको आयोजनाका प्रमुख रघुवंशीले बताए । निर्माण तीव्र बनाउन सकेमा माघमै विद्युत् उत्पादन गर्न सकिने उनले बताए ।
पहिलो चरणमा १० मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्न दुई स्थानमा प्यानल जडान भइरहेको छ । नेपाली सेनाको ब्यारेक पछाडिको चउरमा सौर्य प्यानल जडानका लागि ३६ सय पिल्लर गाड्ने काम अन्तिम चरणमा पुगिसेको बताइएको छ ।
आयोजनाले कूल २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउन लागेको छ । ऊर्जा मिश्रण परियोजना अन्तर्गत सो कार्य अगाडि बढेको प्राधिकरणले
जनाएको छ । पहिलो चरणमा १० मेगावाट विद्युत् उत्पादन शुरु भएपछि अर्को तीन महिनाभित्रै बाँकी १५ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाका इञ्जिनीयर नीरज कर्णले बताए ।
थप विद्युत् उत्पादनका लागि अन्य पाँच स्थानमा एकै साथ सोलार प्यानल जडान गर्न लागिएको हो । दोस्रो चरणमा विदुर नगरपालिकाको ६ र १२ मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान अन्य थप पाँच स्थानमा जग्गा सम्याउने काम अन्तिम चरणमा छ ।
नेपालकै ठूलो सौर्य प्लान्टको रुपमा निर्माण भइरहेको ‘ग्रिड सोलार आयोजना’ नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण थालिएको हो ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना मार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’ मार्फत भइरहेको छ । करिब तीन अर्ब ८० करोड रुपैयाँ लागत रहने अनुमान गरिएको आयोजना विद्युत् उत्पादनका लागि प्रभावकारी र सस्तो हुने दाबी छ ।
प्राविधिकका अनुसार यस आयोजना २५ मेगावाट विद्युत् उत्पादन भए पनि डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रुपान्तरण गर्दा २० मेगावाट विद्युत प्रयोगयुक्त हुनेछ । आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको सम्पूर्ण काम निर्माण व्यवसायीले पाँच वर्षसम्म गर्ने सम्झौता उल्लेख भएअनुसार आयोजनाको हस्तान्तरण त्यसपछि मात्रै हुने छ । 
परियोजनाबाट उत्पादित विद्युत् देवीघाट जलविद्युत् केन्द्रमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने छ । त्यसका लागि सवस्टेशन निर्माण भइरहेको छ ।
प्लान्ट र सवस्टेसनको दूरी ५०० मिटरदेखि दुई किलोमिटर मात्र पर्ने हुँदा प्रसारण लाइन विद्युत् उत्पादनभन्दा अघि नै सम्पन्न भइसक्ने आयोजनाले जनाएको छ । प्लान्ट सञ्चालनमा आएपछि वार्षिक तीन करोड ३० लाख युनिट विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा थप हुने प्राधिकरणले जनाएको छ ।

थाहा अनलाई डट कमका पत्रकार राजेन्द्र गजुरेल नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं ६ डाडाँखर्क स्थित बागभैरव आधारभुत विद्यालयमा न्यानो कपडा स्वीटर, झोला, कापी लगायतका शैक्षिक सामाग्री वितरण गर्दै । साथमा वडाध्यक्ष ज्ञानबहादुर तामाङ, वडा सदस्य नारायणप्रसाद रिमाल । उक्त विद्यालयको ३० जना विद्यार्थीलाई पत्रकार गजुरेलको पहलमा शैक्षिक सामाग्री र लत्ताकपडा वितरण गरिएको छ । 

सामाजिक सञ्जालबाट

विदुर नगरपालिका वडा नं. २ विदुर चोकका अस्मिता राई भारत्तोलनको ८७ केजी माथी तौल समुहमा कास्य पदक जितेपछि प्रशन्न मुद्रामा । 

दुई स्कुलमा गाउँपालिकाको सहयोग

नर्जामण्डप/नुवाकोटको तादी गाँउपालिकाले दुई बिद्यालयलाई खेलकुद र शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।
नर्जामण्डपको बिज्ञान मावि र जनजागृत माविलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको हो । शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई उत्तिकै सक्रिय गारउन सामाग्ी हस्तान्तरण गरिएको तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए ।
गाँउपालिकाका उपाध्यक्ष ईश्वरी उप्रेतीले शिक्षा र खेलकुदलाई संगै लगेमा स्वस्थ्य समाज र जनशक्ति उत्पादन हुने बताए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अशोक बिष्ट, वडा नम्बर ५ का अध्यक्ष बिष्णुप्रसाद अधिकारी, वडा नम्बर ६ का अध्यक्ष केशब थापा लगायतको उपस्थिति  थियो । 

क्रिकेटको उपाधि अर्किडलाई

बट्टार/नुवाकोटमा भएको अन्तर बिद्यालय स्तरिय जिल्लाब्यापी क्रिकेट प्रतियोगिताको उपाधि अर्किड एकेडेमी बट्टारले जितेको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा बट्टारसम्पन्न खेलमा शहिद प्रकाशजङ्ग शाह संस्कृत माबि देबिघाटलाई अर्किडले ३ विकेटले पराजित गरेको हो ।
अन्तर बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको समापन गर्दै बिदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिबकुमार चित्रकारले बिद्यालय स्तरबाटनै खेलकुदको बिकासमा स्थानिय तह लाग्नु पर्ने बताए ।
जिल्ला क्रिकेट संघ नुवाकोटका अध्यक्ष दुर्गाराज पाठकले बिद्यालय स्तरको प्रतियोगिताले नै खेलाडीहरू उत्पादनमा सहयोग पुग्ने बताए । 

काठ सहित दुई गाडी नियन्त्रणमा

विदुर/बेलकोटगढी नगरपालिका वडा नं १२ मदानपुरबाट चिरानीको लागी पिपलटार तर्फ ल्याउदै गरेको दुई गाडी काठ सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वन कार्यालयको सहयोगमा उक्त काठ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । वडा नं १२ को कार्यालयले सडक विस्तारको क्रममा ढलेका सार्वजनिक जग्गाको काठ बोलपत्र आह्वान गरेर बिक्री गरेको भएपनि ओसार पसारको लागी पूरा गर्न‘पर्ने आवश्यक कानूनी प्रक्रिया नभएको भन्दै प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागी वन कार्यालयमा बुझाएको छ ।

विदुरमै पानी परिक्षणका लागि ल्याव

रोशन बोगटी 
विदुर/नेपाललाई सन् २०३० भित्र पूर्ण सरसफाईयुक्त देश बनाउने राष्ट्रिय लक्ष्यलाई टेवा पु¥याउने गरी नुवाकोटमा पानी परिक्षण गर्ने मिनी ल्याव सञ्चालनमा आएको छ । विदुरमा वातावरण जनस्वास्थ्य संस्था (एन्फो) र डिकोन नेपालले पानी परिक्षणको मिनी ल्याव सञ्चालनमा ल्याएको हो ।
    ल्याव स्थापना संगै पानीको मुहान, सङ्कलन ट्याङ्की, धारा तथा कुवाको पानीको गुणस्तर जाँच गराउन जिल्लामै सम्भव भएको छ । डिकोन नेपालका कार्यकारी निर्देशक चोकराज शाक्यका अनुसार पानीको सबै खाले परीक्षण अब मिनी ल्यावमा सम्भव भएको छ पानीको धमिलोपना, पिएच रंग, फलाम, क्लोराइड, नाइट्रेड, कडापन, एमोनिया, क्याल्सियम, म्याग्नेसियम, क्लोरिन अवशेष, इ–कोली र कोलफर्म उक्त ल्यावमा परिक्षण हुनेछ ।
त्यसका लागि केही शुल्क लाग्ने संस्थाले जनाएको छ । पानीको आधारभूत ३ प्रकारका कोलिफर्म, एमोनिया र फलाम परिक्षण गरेमा साढे दूई सय देखि ३ सय रुपैयाँ सम्म शुल्क लाग्ने छ । पानीका सबै १३ प्रकारकै परीक्षणको सेवा लिएमा १५ सय देखि १७ सय रुपैयाँसम्म शुल्क रहेको छ । घरायसी प्रयोजन, उपभोक्ता समिति र व्यवसायी संघसंस्था तथा कार्यालयका लागि पानी परिक्षणको फरक फरक सेवा शुल्क तोकिएको छ ।

नगरपालिकाको ‘करियर’ परामर्श

विदुर/स्थानीय सरकार आफ्नो क्षेत्रभित्रका विद्यालयममा पढिरहेका नानीबाबुहरूलाई भविष्य कसरी बनाउने र त्यसका लागि आफैले गर्नुपर्ने प्रयासहरू के के हुन् भनेर सिकाउदै हिड्न थालेको छ । विदुर नगरपालिका शिक्षा युवा तथा खेलकुल शाखाले देविघाटनमा रहेको शहिद प्रकाशजङ्ग शाह संस्कृत मावि र हात्तिगौडामा रहेको भैरुम माविमा ‘करियर’ परामर्श सञ्चालन गरेको हो । कक्षा ८, ९ र १० का बिद्यार्थीहरूको भबिष्य र त्यसलाई साकार पार्नका लागि गर्नुपर्ने काम र उपाँयाको बारेमा परामर्श दिइएको छ । उच्च शिक्षा अध्यायन र भबिष्यको योजनाको बिषयमा विद्यार्थीहरूसंग अन्तक्रिया र सहजिकरण गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिवाकर चापागाँईले बताए ।
विदुर नगरपालिकाका शिक्षा बिज्ञ तथा परामर्शदाता तुलध्वज खतिवडाले बिद्यार्थीहरूले आफु भित्र रहेको प्रतिभालाई उजागर गर्ने अबसर स्थानीय तह र बिद्यालयले दिनु पर्नेमा कार्यक्रम र अभियान केन्द्रित रहेको बताए । 

कविता

म भित्रको म
रामबहादुर सिंखडा
भिडमा भएर पनि,
एक्लै हिडिरहेको म
अट्टाहास हाँसो हाँसेर पनि,
आफैं भित्र चिच्याइरहेको म ।
आकाश चुम्न चाहेर पनि,
बादलुमै निस्सासिरहेको म
सागर बन्न चाहेर पनि,
खहरेमै विलाइरहेको म ।
आँखा भित्र रम्न चाहेर पनि,
आँशु बनेर टलपलाई रहेको म ।
जुन बनेर हाँस्न खोजे पनि,
आंैसी आउने रातमै हराईरहेको म ।
    (हाल अनुदान ब्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालय नुवाकोट,विदुर) 

‘फोहोरको कुरा प्रधानमन्त्रीसित गर्छु’

ककनी/सांसद हितबहादुर तामाङले काठमाडौको फोहोरबाट पिडित ककनी गाउँपालिका ओखरपौवा र सिसडोलबासीको समस्या प्रधानमन्त्री सम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।  संसदको विकास तथा प्रविधि समितिले केहि समय अघि गरेको अनुगमनको निष्कर्ष प्रधानमन्त्री कार्यालयसम्म पु¥याएको भएपनि कार्यान्वयन नभएपछि अब सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर जानकारी गराउने तामाङले बताए ।
शुक्रबार वास मिडिया फोरम नेपालले सिसडोलमा गरेको कार्यक्रममा सांसद तामाङले  सिसडोलमा फोहोर विसर्जन गर्ने स्थलबाट कति किलोमिटर टाढासम्म बस्ती बसाल्न मिल्ने भन्ने बारेमा बैज्ञानिक रुपमा प्रतिवेदन तयार हुनु आवश्यक रहेको बताए ।
सिसडोल ल्याण्डफिल साईडको विकल्पमा निर्माण सुरु गरिएको बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईड निर्माण समेत सुस्त भएकोमा सांसद तामाङको असन्तुष्टि रह्यो । ‘निर्माण सुरु भएको ८ महिनामा २५ प्रतिशत मात्रै काम ?, उनले प्रतिप्रश्न गरे–बाँकी रहेको ४ महिनाभित्र कसरी काम सम्पन्न हुन्छ होला त ?’ तामाङले तोकिएका समयमा उक्त निर्माण सम्पन्न नहुने भएकाले नागरिकलाई समेत खवरदारी गर्न आग्रह गरे । फोहोरमा वर्षैदेखि जीबन बिताउँदै आएका नागरिकहरू प्रति सरकार उदासिन रहेको उल्ल्ेख गर्दै उनले भने– ‘अब यसो हुन दिन्न ।’
सहरी तथा भवन निर्माण विभागले २०७६ बैशाख २२ बाट मा बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईड निर्माण थालेको छ । त्यसको जिम्मा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई दिएको छ । त्यसको म्याद सम्झौता भएका मिति देखि एक वर्ष मात्रै छ । काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले बञ्चरेडाँडा ल्याण्डफिल साईड समयमै निर्माण सम्पन्न गरी सिसडोल ल्याण्डफिल साईडमा फोहोर फाल्न बन्द गरिने प्रतिवद्धा कार्यक्रममै राखेका छन् । पहिलापनि महानगरले धेरै कुरामा झुक्याएको भन्दै यसमा स्थानीयहरूले शंका व्यक्त गरेका छन् । 
सिसडोल संघर्ष समितिका अध्यक्ष विश्वास डिसीले फोहोर र मान्छे एकै ठाउँमा राख्न नमिल्ने भन्दै यसलाई छुट्याउन आग्रह गरे । दुईबर्ष फोहोर फाल्ने सम्झौता गरेर १४ बर्षसम्म फोहोर फालेको प्रति उनले महानगरप्रति आक्रोश पोखे ।

३५ सयमा परिवारकै उपचार

विदुर/स्वास्थ्य बीमा कार्यक्रम नुवाकोटमा पनि सुरु भएको छ । नुवाकोट सहित नेपालको ५० जिल्लामा यो कार्यक्रम लागू भएको हो । बीमा कार्यक्रममा सहभागी हुन ५ जनासम्म परिवार संख्या भएकाहरूले बार्षिक ३५ सय रुपैयाँ तिर्नु पर्ने प्राबधान छ । सबै नागरिकहरूको स्वास्थ्य सेवा सुनिश्चित गर्न २०७१ सालबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो । स्वास्थ्य सेवाका लागी पुर्ब भुक्तानी प्राप्त गरी जोखिम न्युनिकरणको ब्यबस्था, बित्तिय संरक्षण प्रदान गर्ने, स्वास्थ्य सेवा प्रबाहमा, गुणस्तर र प्रभाबाकरिता बनाउने उद्देश्य रहेको छ ।
बीमा कार्यक्रममा सहभागी भएकाहरूले तोकिएको स्वास्थ्य संस्थामा गएर उपचार गराएमा अधिकतम १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार हुने छ । यसका सथै ११३३ प्रकारका औषधिहरू निशुल्क पाउने छन् । ५ जना भन्दा बढि परिवार भएकाहरूको हकमा भने अधिकतम बार्षिक २ लाख रुपैयाँसम्मको उपचार सेवा पाउने बीमा बोर्डले जनाएको छ ।

घरघरमै क्षयरोगको औषधि लगिने

विदुर/विदुर नगरपालिका स्वास्थ्य शाखाले क्षयरोगको बिषयमा समीक्षा गरेको छ ।
नगर क्षेत्र सहित नुवाकोटमा क्षयरोगका बिरामीहरूको संख्या धेरै रहेको बताईएको छ । क्षयरोग लागेका बिरामीहरू रहेपनि अस्पतालसम्मको पँहुचमा पुग्न नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता ब्यक्त गरेका छन् ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले क्षयरोगको भयावह रहेकाले मासिक रुपमा स्थानीय समुदायमा नै गएर चेकजाँचको ब्यबस्था गर्नु पर्ने बताए । स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटसँग समन्वय गर्दै स्थानीय समुदायमा नै गएर रोगको पहिचान गर्ने काममा लाग्न उनले निर्देशन दिए । नगरवासीलाई स्वास्थ्य सेवा घरघरमै पु¥याउन स्थानीय सरकार तल्लिन रहेको नगर प्रमुख पण्डितको भनाई रहेको छ । 
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका उत्तम खनालले नुवाकोटमा ४०० बढीमा क्षयरोग देखिएको बताए । धेरै संख्यामा रोगीहरू रहेपनि अस्पतालको पँहुचमा भने २ सयको हाराहारीमा मात्रै आएको उनको भनाई छ ।
विदुर नगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई वडा÷वडामा वा ग्रामिण भेगमा नै पुगेर क्षयरोगको पहिचानको लागी आबाश्यक प्रकृया अगाडी बढाउन स्वास्थ्य शाखालाई निर्देशन दिएको छ ।

त्रिशुली थ्रि बीको ४० प्रतिशत काम

विदुर/नुवाकोटमा निर्माणाधीन जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको पहिलो योजना ‘माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत् आयोजना’को निर्माण ४० प्रतिशत काम सकिएको छ ।
आयोजनाको प्रवद्र्धक कम्पनी त्रिशुली जलविद्युत् कम्पनीका अनुसार आयोजनाको ३८ सय पाँच मिटर मुख्य सुरुङ मध्ये १४ सय मिटर खनिसकेको कम्पनीले जनायो । यो आयोजना इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा अघि बढाइएको हो ।  २०७४ फागुन मसान्तमा सुरु भएको ३७ मेगावाट क्षमताको यो आयोजना २०७७ फागुन मसान्तभित्रै पूरा गर्ने जिम्मेवारी दिइएको छ ।

भालुको आक्रमणबाट प्रहरी घाइते

विदुर/रसुवामा भालुको आक्रमणबाट दुई प्रहरी घाइते भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको सशस्त्र प्रहरी बल २१ नम्बर गुल्ममा कार्यरत उनीहरू खानेपानी पाइप मर्मतका लागि जंगल गएका थिए ।
घाइते हुनेहरूमा नुवाकोटको सूर्यगढी गाउँपालिका–१ का २५ वर्षीय प्रहरी जवान किरण तामाङ र रसुवा नौकुण्ड–४ का ३१ वर्षीय सहायक हवलदार बिरबहादुर थिङ छन् । थिङ गम्भीर घाइते भएका छन् । उनको टाउको गम्भीर चोट लागेको छ । घाइतेको रसुवागढी जलविद्युत आयोजनामा रहेको स्वास्थ्य क्याम्पमा प्राथमिक उपचार पछि काठमाडौं पठाइएको छ ।

तारकेश्वर गाउँपालिकाका पर्यटकिय स्थल

कपिलदेव खनाल
तारकेश्वर/तस्बिरमा देखिएको यही मन्दिरको नामबाट यस गाउँपालिकाको नाम तारकेश्वर रहन गएको हो । राज्य पुर्नसंरचना अन्र्तगत स्थापना भएको नुवाकोटको १२ वटा स्थानीय तह मध्येको यो तारकेश्वर गाउँपालिकाको नामाकरण गर्ने तारकेश्वर मन्दिर वडा नं. २ मा पर्दछ । त्रिशुली नदीको किनारमा अवस्थित यो मन्दिरको उत्पत्ती र विकासक्रमका बारेमा प्रष्ट तथ्य भने भेटिएको छैन ।
देविघाट गल्छीखण्डको मुख्य सडक तारुकाघाटबाट ठिक वारीपट्टी त्रिशुली नदीको किनारमा रहेको यस स्थानलाई नुवाकोट र धादिङ्गका भक्तजनहरूले श्रद्धाका साथ लिदै आएका छन् । अन्तराष्ट्रिय सडक मार्गबाट गाउँपालिका प्रवेश गर्दा मुख्य नाकामा नै रहेको यो मन्दिरमा हरेक मंसिरको बालाचतुर्दशीमा बिशेष मेला लाग्दै आएको वडा नं. २ का अध्यक्ष समरबहादुर आले मगर बताउछन् ।
यस्तै, यस तारकेश्वर गाउँपालिका वडा नं. ५ को मानेडाडा आफैमा रमणिय स्थान रहेको छ । उचाईका हिसावले तारकेश्वर गाउँपालिकाको प्राय गाउँटोलको अवलोकन गर्न सकिने यहाँबाट नुवाकोट, रसुवा र धादिङ्ग जिल्लाको अधिकांश स्थान देख्न सकिन्छ । नुवाकोटको बट्टारबजारबाट १७ किलोमिटर सडक दुरीमा रहेको यो स्थान आन्तरिक पर्यटकहरूका लागि भ्रमण, अबलोकन र दिन बिताउने राम्रो गन्तब्यको रुपमा रहेको छ । तारकेश्वर गाउँपालिकाको मध्ये भागमा रहेको यहाँ नजिकै बज्र गुम्बा रहेको छ । २०६५ सालमा स्थापना भएको यो गुम्बा र आपसासको क्षेत्र पर्यटकका लागि उपयुक्त रहेको स्थानीय श्याम तामाङ सुनाउछन् ।
पुरानो गाविस भवनसंगै रहेको बज्र गुम्वाको प्रचिन ईतिहास रहेको छ । डाडाथोक नामले समेत चिनिने यहाँको गुम्बामा लामा ज्ञानको सिकाई हुँदै आएको छ । यस वडाको कुल जनसंख्या मध्ये ७५ प्रतिशत भन्दा बढी तामाङ समुदायको बसोवास रहेको यहाँ तामाङका पुरोहित लामा तथा तन्त्रमन्त्र विद्या प्राप्तीका लागि यस गुम्बा महत्वपूर्ण बन्दै गएको छ । लामा उत्पादनका लागि आशन बस्ने र साधना गर्ने स्थान बस्तीबाट निक्कै टाढा रहेको र त्यहाँसम्म आवश्यक पुर्वाधार तथा आधुनिक सुविधा पु¥याउन असम्भव देखिएपछि यहाँ गुम्बा तयार गरिएको हो । बज्र गुम्बाको नामले परिचित यो बौद्धधर्मालम्वीको आस्थाको केन्द्रलाई स्थानीय सरकार तारकेश्वर गाउँपालिका र वडा नं. ५ ले पनि विशेष रुपमा हेर्दै आएको छ । तारकेश्वर गाउँपालिका वडा नं. ५ का अध्यक्ष चुडामणिप्रसाद गजुरेल यस स्थानलाई धार्मिक पर्यटक भित्र्याउने सम्भावना भएको बताउछन् ।
त्यसो त, साविकको तारुका गाविसको शिरमा रहेको शिवालय मन्दिर पनि यहाँको ऐतिहासिक रहेको छ । यहाँका स्थानीय एक जाइफर सुब्बा अधिकारी नाम गरेका व्यक्तिले आमाको ईच्छा पुरा गर्नका लागि मन्दिर निर्माण गराएको इतिहास यहाँ सुनिन्छ । यो मन्दिरको संरक्षण र सञ्चालनका लागि उनले व्यक्तिगत गुठी तयार गरेका थिए । अहिलेपनि उक्त गुठी अन्र्तगत ८० रोपनी खेत र ९६ रोपनी बारी छ । यो शिवालय स्थापना र मन्दिर निर्माणको कार्य विक्रम सम्वत १८७२ मा सम्पन्न भएको यहाँ रहेको शिलालेखमा उल्लेख छ । जाईफर सुब्बा अधिकारीले राजा राजेन्द्र विरविक्रम शाहाको शासनकालमा यो मन्दिरको स्थापना गरेको तारकेश्वर गाउँपालिका वडा नं. ३ का सदस्य कुलदिप ढकाल बताउछन् ।
यसरी धार्मिक, ऐतिहासिक, पर्यटकिय स्थान, श्रोत साधन र नीधिले भरिपूर्ण तारकेश्वर गाउँपालिका नुवाकोटको अन्य गाउँपालिका भन्दा सम्पन्न देखिएको छ । कला, संस्कृति र परम्परालाई पर्यटनसंग जोड्दै यहाँका नागरिकहरूको आर्थिकस्तर वृद्धि र सम्मुनत विकासका लागि स्थानीय सरकारले कार्य आरम्भ गरेकोले पनि तारकेश्वर गाउँपालिका नमूना र अब्बल गाउँपालिकाको रुपमा स्थापना हुनेमा कुनै शंका छैन । त्यसका तारकेश्वर गाउँपालिकाले आवश्यक बजेट समेत विनियोजन गर्दै आएको र कला, संस्कृति अनि इतिहासको संरक्षण र प्रर्वद्धनका लागि काम भइरहेको छ ।
धार्मिक, ऐतिहासिक र पर्यटकिय पक्षलाई स्थानीय सरकारको आम्दानीको श्रोत बनाउने तर्फपनि गाउँपालिकाले योजना तयार गरेको छ । त्यसका लागि आवश्यक पुर्वाधारहरू तयार भइरहेको, पाहुनाको सहजताको लागि होमस्टेको काम गाउँपालिकामा अगाडी बढेको गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्ती बताउछन् ।
गाउँपालिकाको पहचिाननै बनिसकेको परम्परालाई संरक्षण गर्नका लागि यस गाउँपालिकाले नीतिगत रुपमै व्यवस्था गरेको छ । नागरिकहरूको मागको आधारमा मात्रै नभईकन जनप्रतिनिधिहरूले संरक्षण र प्रचारका लागि आवश्यक देखेका पक्षहरूमा काम हुँदै आएको उपाध्यक्ष तारादेवी रिमाल सुनाउछन् । त्यसैले पनि तारकेश्वर गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ की पर्यटनको माध्यमबाट विकासको गती छिटो बढाउन यस गाउँपालिका भित्रका पर्यटकीय सम्भावनाको पहिचान गरिने उपाध्यक्ष रिमालको तर्क छ । यस गाउँपालिका भित्रका मध्येपनि वडा नं. ६ को ऐतिहासिक फिर्केपकोट, भूमेस्थान मन्दिर, ढिंकीजाँतो चूली, जन्तरे गढी, काफलपानी, फलाटेडाँडा, तारुकाघाटको तारकेश्वर, गोरु जुधाई मेलालाई व्यवस्थित ढंगले विकास गरिने लक्ष्य गाउँपालिकाको रहेको छ । जसले सन् २०२० को पहिलो दिनबाटै सुरु हुने नेपाल भ्रमण बर्षमा नुवाकोटको गतिलो पर्यटकिय स्थानहरूको उजागर गरेको छ ।

गाउँपालिकाको घर दर्ता अभियान

घलेभञ्याङ्ग/पञ्चकन्या गाउँपालिकाले घर दर्ता कार्यलाई अघि बढाएको छ । वडामा कत्ति घर छन्, कत्ति परिवारको बसोवास रहन्छ भन्ने यकिन तथ्याङ्क नहुँदा गाउँपालिका र अन्य सेवा प्रदायकहरुलाई अप्ठ्यारो परेकोले गाउँपालिकामा घर दर्ता अभियान थालिएको हो । नुवाकोट जिल्लाका अन्य स्थानीय तहमा नभएको यस अभ्यासले पञ्चकन्या गाउँपालिकालाई नमूना बनाएको छ । यो कार्य अहिले अन्तिम अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।
साथै, पञ्चकन्या गाउँपालिकाले विभिन्न विषयमा २५ वटा कानून बनाएर कार्यान्वयनमा ल्याएको छ । यसमा आधा दर्जन भन्दा बढी ऐन, कार्यविधि तथा कानून मौलिक रहेको प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले जानकारी दिए । 

२०७६ मङ्सिर २३ गतेको सम्पादकिय

प्राविधिक शिक्षा दिऔं
कृषि प्रधान नेपालका अधिकांश स्थानीय तहहरूको मुख्य आम्दानीको श्रोत र नागरिकहरुको जीवन यापनको माध्याम कृषि रहेको छ । नुवाकोट जिल्लाका सबै स्थानीय तहमा कृषिलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम र विकासका बजेटमा पनि स्थानीय सरकारले कृषिलाई महत्व दिएको देखिएको छ । तर कृषिका कार्यक्रम र नीतिलाई कार्यान्वया गर्न, किसानसम्म पु¥याउनका लागि हुनुपर्ने संरचनाका कारण भने प्रक्षेपण भए अनुरुपको लक्ष्य प्राप्तिका लागि असहजता देखिएको छ । त्यसो त, पहिलाको जिल्ला कृषि विकास कार्यालयको संरचना खारेज भएर यतिबेला प्रत्येक स्थानीय तहमा कृषि शाखा स्थापना भएका छन् । स्थानीय तहमा अधिकार गए पनि कार्यबिधि अनुसारको स्रोत र जनशक्ति व्यवस्थापन नहुँदा कृषि क्षेत्रमा पर्याप्त काम हुनै सकेको छैन । पहिलेको संरचनाका आधारमा आफ्नो कार्यक्षेत्रमा खटिने प्राविधिकस्तरका कर्मचारीले नै स्थानीय तहको नेतृत्व गरिरहेका छन् । यो सबै नगरपालिका र गाउँपालिकाको अवस्था हो, नुवाकोटमा ।
कृषि भित्रका काम, स्थानीय सरकारले तय गर्ने नीति र कार्यक्रम अनि कृषि शाखा अन्तर्गत रहने विभिन्न शाखा र कार्यक्रमहरू लगभग अलपत्र जस्तै परेको देखिएको छ । कृषि शाखा अन्र्तगत नै नियमित रुपमा सञ्चालन हुनुपर्ने कृषि प्रसार, बाली विकास, बाली संरक्षण, मसला बाली लगायत क्षेत्रका विषय विज्ञ नहुँदा नुवाकोट जिल्लाको कृषि क्षेत्रमा उल्लेख्य काम हुन सकेको छैन । सबै स्थानिय तहमा कृषि शाखाको ब्यबस्था हुने र शाखा अधिकृत स्तरको कर्मचारी शाखा प्रमुख रहने नीतिगत ब्यबस्था नै छ ।
तर नुवाकोटमा रहेका कतिपय स्थानिय तहमा करारमा नियुक्त गरिएका ‘जेटिए’हरूले त्यसको जिम्मेवारी सम्हाल्दै आएका छन् । त्यसले गर्दा पनि कार्यक्रम र नीति कार्यान्वयमा समस्या उत्पन्न भएको हो । त्यसो त, गाउँपालिका तथा नगरपालिकाहरुको सबै वडामा जेटिए पु¥याउने नेपाल सरकारको कार्य योजना समेत सफल हुन सकेको छैन । शाखामा नै करारमा नियुक्त भएका कर्मचारीको हातमा सुम्पनु परेपछि वडासम्म कृषिको संरचनाको कल्पना गर्न कठिन भइरहेको छ । यस्तो परिस्थितिमा कृषिसंग सम्वन्धित जनशक्ति उत्पादनका लागि कृषि विषयको पढाईका लागि प्राविधिक शिक्षालयको आवश्यकता सबै स्थानीय तहमा देखिएको छ । त्यसका लागि प्रत्येक गाउँपालिकाले आफ्नो कुनै माविलाई प्राविधिक विषयको पठनपाठन गराउने केन्द्रका रुपमा विकास गर्नु आवश्यक छ ।
त्यसो गर्दा, १२ वटा स्थानीय तहले फरक फरक १२ विषयका जनशक्ति उत्पादन गर्न सक्नेछ । जसबाट कृषि बाहेकका क्षेत्र जस्तै, पशु, शिक्षा, स्वास्थ्य र अन्य प्राविधिक विषयका दक्ष जनशक्ति स्थानीय स्तरमै उपलब्ध हुनेछन् ।