![]() |
अतिथि तथा सम्मानित÷पुरस्कृत पत्रकारहरू । तस्बिर : सरोज |
शुक्रवार विदुमा आयोजित सम्मान तथा पुरस्कार अर्पण समारोहमा केन्द्रिय अध्यक्ष गोविन्द आचार्यबाट सम्मान र पुस्कार प्रदान गरिएको हो । २०३८ सालबाट पत्रकारिता पेशामा सक्रिय माधवप्रसाद खनालदेखि सात वर्षअघि पत्रकारिता आरम्भ गरेका बसुधा केसीसम्म सम्मानित र पुरस्कृत भएका छन् । सम्मानित हुनेहरूलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत पत्रकारले ११ हजार १११ रुपैयाँ सहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ । सम्मानित पत्रकारमा नयाँ रुपरेखा साप्ताहिकका संस्थापक प्रकाशक÷सम्पादक माधवप्रसाद खनाल (सञ्चार उद्यमी सम्मान–२०७६) र सुन्दरादेवी सन्देश साप्ताहिकका कार्यकारी सम्पादक किरणप्रसाद अधिकारी (दिर्घ सेवा सम्मान–२०७६) छन् ।
यस्तै, पत्रकार मोहनविक्रम ध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७६ त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ, पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट गोरखापत्र दैनिक तथा न्युज २४ टिभिका जिल्ला सम्वाददाता रामहरि गजुरेल र महिला पत्रकारिता पुरस्कार–२०७६ बाट सगरमाथा टिभिका समाचार वाचिका बसुधा केसी पुरस्कृत भएका छन् ।
यि तीन वटै पुरस्कार नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पोहोर स्थापना गरेर प्रदान गर्न थालेको अध्यक्ष कपिलदेव खनालले जानकारी दिए । पुरस्कारको नगद राशी सौजन्य क्रमशः डबली खबर डट कम, नुवाकोट जेसिस र त्रिशुली प्रबाह साप्ताहिकले गर्दै आएको छ ।
कार्यक्रममा माधवप्रसाद खनालले आफुले जवानीमा यही पेशाका कारणले पाएको हैरानी र जेलनेललाई सम्मानले भुलाएको बताए । ‘नयाँ पुस्ताले यसरी मेरो कामको मुल्याङ्कन गर्दा र मेरा दुःखका गाथाहरूलाई सम्मानमा परिणत गर्लान् भन्ने सोचेको थिइन’ खनालले भने । यस्तै सम्मानित पत्रकार किरणप्रसाद अधिकारीले आफुले पहिलो पल्ट २०५५ सालमा त्रिशुली स्कुलमा आयोजित फुटबल प्रतियोगिताको समाचार लेखेर रुपरेखा साप्ताहिकमा प्रकाशन गराएको स्मरण गरे । ‘जीवनका उर्वर समय यही पेशामा खर्च भएछ, मेरो यो समय खर्चको पनि केही मुल्य छ भनेर सम्मान दिने पत्रकार महासंघ प्रति आभारी छु’ अधिकारीले भने ।
पुरस्कृत पत्रकार नवदीप श्रेष्ठले आफुले त्रिशुली प्रबाह साप्ताहिकमा गाउँ बस्दा ताकानै समाचार लेखेर पठाउने गरेको स्मरण गरे । ‘१८ वर्ष अघि समाचार लेखेर हुलाक मार्फत् पत्रिकालाई पठाउथें, श्रेष्ठले भने– अब त अहिलेको यो समयमा हामीले सुरु गरेको पत्रकारिताको अभ्यास पनि रुची पुर्वक सुनिने सामाग्री बनिसकेछ ।’
पुरस्कृत अर्का पत्रकार रामहरि गजुरलले आफु जन्मनुपुर्व पत्रकारितमा लागेका माधवप्रसाद खनाल सम्मानित भएको मञ्चमै आफु पुरस्कृत हुनु भाग्यको विषय रहेको बताए । ‘आज छाती फराकिलो मात्रै भएको छैन, जीवनभरि पत्रकारिता गर्ने गौरवपूर्ण भारी बोक्न पाएको छु’ गजुरलले भने । पत्रकार बसुधा केसीले आफुले प्राप्त गरेको पुरस्कारले पेशाप्रति थप जिम्मेवारी सुम्पेको महाशुस गरेको बताए ।
नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जीवनभरि नागरिकहरूको पक्ष र हकका लागि आग्रणी भूमिका निर्वाह गरिरहने पत्रकारहरूलाई नागरिक संस्थाबाटै सम्मान र आदारको खाँचो परिरहेको बताए । ‘त्यसैले पनि पत्रकार महासंघ जस्तो अग्रणी नागरिक संस्थाले समाजमा योगदान दिएका र दिइरहेका श्रमजिवीहरूको सम्मानमा हामी निरन्तर रहने छौं’ उनले भने ।
पत्रकारले सञ्चालन गरेको मिडिया लोकतन्त्रको जग
श्रमजिवी पत्रकार आफैले सञ्चालन गरेको मिडियालाई बलियो बनाउनु पर्ने पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताए । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले स्थानीय सञ्चार माध्यमहरूले स्थानीय नागरिकको बास्तविक जीवनलाई जस्ताको त्यस्तै प्रस्तुत गर्ने भएकोले राष्ट्रिय सञ्चार माध्यमसंग तुलना गर्न नमिल्ने बताए ।
पत्रकारले चलाउने र धनाढ्यले चलाउने मिडियामा फरक रहेको उनले बताए । ‘पत्रकारले नै सञ्चार गरेको मिडियाले जनताको कुरा बोल्छ, केही सञ्चार माध्याम छन्, जो अन्य श्रोत प्रयोग गरेर सञ्चालनमा छन्, तिनीहरू कर्तुत लुकाउन मात्रै मिडिया सञ्चालन गर्छन्, आचार्यले भने– त्यसैले पनि पत्रकार
आफै सञ्चालक रहेको मिडियाहरू वास्तवमै लोकतन्त्रको जग हो ।’
औपचारिकतामा आधारित भन्दा खोजी गरेर तयार पारिएको समाचारको महत्व धेरै भएकोले गुणस्तरीय समाचार उत्पादनको लागि महासंघले पत्रकारहरूलाई विभिन्न किसिमका तालिमहरूको आयोजना गरिने केन्द्रिय अध्यक्ष आचार्यले बताए । ‘हामीले आउँदो माघदेखि २०७७ को पुसम्को एक वर्षलाई नेपाल पत्रकार महासंघको तालिम वर्ष घोषणा गरेका छौं, त्यसको लाभ नुवाकोटका पत्रकारहरूले पनि पाउने छन् ।’ समाजमा कलह निम्ताउने खालको र गलत समाचार लेख्ने पत्राकार कोही छ भने सिधै पत्रकार महासंघमा जानकारी गराइदिन समेत उनले आग्रह गरेका छन् ।
विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले इमान्दारीताको साथ निष्पक्ष रुपमा रहेर आफ्नो ‘कलमी तागत’ देखाउन आग्रह गरे । मेयर पण्डितले जनप्रतिनिधि, कर्मचारी तथा संघसस्थाले गरेको राम्रा पक्षको बयान भन्दा पनि नागरिक हित विपरित कतै काम भइरहेको छ भने त्यस्ता विषयवस्तुप्रति खवरदारी गर्न पत्रकारलाई उनले आग्रह गरेका छन् । ‘हामी जनप्रतिनिधिले नदेखेका कुरालाई पत्रकारहरूले निर्भिकताका साथ औल्याउनु पर्छ, हामी सुधार गर्छौं’ पण्डितले भने ।
प्रेस युनियनका केन्द्रिय महासचिव अजयबावु सिवाकोटीले आफ्नो पेशासँगै नागरिकको वाक स्वतन्त्रताको पक्षमा रहेको कानून मात्रै पत्रकारहरूलाई मान्य हुनेछ भनेर सरकारलाई घचघच्याइरहेको बताए । सरकार नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा उभिन खोजेको भन्दै सच्चिन उनले चेतावनी दिए । ‘पत्रकार महासंघ र प्रेस युनियन यस्ता कुराहरूको निरन्तर खवरदारीमा छ, उनले भने– पत्रकारले स्वतन्त्रता प्राप्त गरेर मात्रै हुँदैन, नागरिकहरूको स्वत्नत्रता खुम्चिएको छ भने पनि त्यो हाम्रा लागि साझा सवाल हो ।’
यस्तै नेपाल पत्रकार महासंघ प्रदेश नम्बरर ३ का महासचिव कृष्ण सारु मगरले पत्रकारिताप्रति सरकारको दृष्टिकोण साँघुरो हुदै गएको बताउनुभएको छ । सरकारको विपक्षमा पत्रकार लाग्यो भनेर नेताहरू आफ्नो झोलामा पत्रकार र मिडिया बोकेर हिडिरहेको उनले बताए । ‘पत्रकार महासंघमा नेतृत्व गर्नका लागि दलगत रुपमा संगठन खडा गरेर पत्रकारहरूमा ल्याइने विभाजन राम्रो होइन, यो भन्दा माथी उठेर हामी सबै पत्रकारले समाजका लागि, एक÷एक नागरिकका लागि पत्रकारिता गरौं’ उनले भने ।
कार्यक्रममा पर्यटन तथा होटल व्यवसायी संघ प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उप्रेतीले पेशामा निरन्तर लागिरहेका पत्रकारहरूको सम्मान र पुस्कारले जिल्लाको गरिमा बढेको बताए । उनले पर्यटनको क्षेत्रका कमल चलाउने जिल्लाका पत्रकारलाई पुरस्कार प्रदान गर्न आफुहरू तयार रहेको घोषणा गरे ।
नेपाल वार एशोसियसन नुवाकोटका जिल्ला अध्यक्ष देवराज कँडेलले अग्रर र क्रियाशिल पत्रकारहरूको जम्माले जिल्लाले नै सम्मान प्राप्त गरेको महशुस भएको बताए । गैर सरकारी सस्था महासंघ जिल्ला अध्यक्ष मिनकुमार केसीले नागरिक संस्था मध्येको अग्रणी संस्था पत्रकार महासंघले जिल्लामा सञ्चालन गरिरहेको नागरिक अभियान र पेशको संरक्षण र विकासका कार्य अन्य संस्थाहरूलाई समेत नमूना रहेको बताए ।
नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारी अझै पनि क्यामेरा देखाएर धम्याएको भरमा केही पत्रकारहरूलाई निर्णय व्यवसायीसंग रकमको मोलमोलाई गरिरहेको बताए । उनले केही पत्रकारहरूको त्यस्तो हर्कतका कारण प्रतिष्ठित पत्रकारिता पेशाको गरिमामा आँच आउन सक्ने भन्दै सुधार्न र सुध्रन आग्रह गरे ।
सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा नेपाल नागरिक समाज नुवाकोटका अध्यक्ष बाबुराम लामिछाने, प्रेस संगठनका केन्द्रीय सदस्य देवचन्द्र भट्ट, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य शिव देवकोटा, प्रेस संगठनका केन्द्रिय सदस्य विष्णु तारुके, नुवाकोट उद्योग बाणिज्य संघका प्रवक्ता सविन राजभण्डारी, जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख न्यायधीवक्ता गोपाल ढकाल, प्रेस संगठन नुवाकोटका अध्यक्ष भोलाराज पौडेल, पत्रकार महासंघका केन्द्रिय सभाषद्हरू ध्रुवकुमार रावल, बद्री प्याकुरेल, नुवाकोट जेसिसका अध्यक्ष दुर्गाराज पाठक लगायतले समयसँगै समाचार तथा सूचना सम्प्रेशण गर्ने माध्यमहरूमा भइरहेको विकासलाई आत्मसाथ गर्दै पत्रकारहरूले आफुलाई विकास गर्नुपर्ने तर्क राखे ।
No comments:
Post a Comment