Wednesday, January 22, 2020

धार्मिक पुस्तकालय बन्ने

बट्टार\शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सिमास्थल त्रिवेणी धाममा धार्मिक पुस्कतकालय निर्माण हुने भएको छ ।
त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाले शिवपुरी वडा नं. ६ र ७ तथा पञ्चकन्याको वडा नं. ५ मा यही माघ १६ गतेबाट श्रीमद्भागत् सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको छ । त्रिवेणी धामको प्रचारप्रसार, पुर्वाधार विकास तथा भ्रमण वर्ष २०२० को अवसरमा धार्मिक पर्यटक भित्र्याउनका लागि महायज्ञको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष लिलादेवी थापाले बताए ।
आइतवार बट्टारमा भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार माघ १६ देखि २४ गतेसम्म हुने महायज्ञमा एक लाख पर्यटक तथा भक्तजनको उपस्थिति रहने छ । कथा वाचक बाल व्यास विभूति ईश्वरकृष्ण महाराज रहनेछन् । त्यस्तै बौद्धधर्म गुरु खोम्पो कमल भण्डारीबाट समेत प्रवचन हुने आयोजक संस्थाका उपाध्यक्ष रामचन्द्र पाठकले बताए । महायज्ञबाट संकलन भएको रकमले उक्त स्थलमा वृद्धाश्रम, धार्मिक पुस्तकालय तथा पौराणिक संस्कृति अध्ययन केन्द्र बन्नेछ । विश्व प्रख्यात कथा वाचकको साथमा हुने महायज्ञमा सहभागि हुन आयोजक संस्थाले सम्पूर्ण हिन्दु तथा बौद्ध धर्मालम्बीलाई आग्रह गरेको छ । 
शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले धार्मिक पर्यटकका लागि आर्कषक स्थान रहेर पनि ओझेलमा परेको त्रिवेणी धामको प्रचार महायज्ञबाट हुने बताए । कार्यक्रममा नेकपा नुवाकोट क्षेत्र नं. २ का संयोजक पदम उप्रेती, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, पत्रकार शिव देवकोटाले बोलेका थिए । 

No comments:

Post a Comment