Monday, January 13, 2020

नुवाकोटमा पृथ्वि जयन्ती, १२ वर्षपछि सरकारले मनायो

देविघाटस्थित शाहको पुर्णकदको शालिक
पृथ्वि जयन्तिको पुर्व सन्ध्यामा शनिवार दिउँसो
रंगरोगन गरेर टल्काईदै । तस्बिर: किरण लोहनी 
विदुर\राष्ट्र निर्माता तथा एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार नुवाकोट जिल्लामा औपचारिक कार्यक्रमहरू मात्रै भएनन्, १२ वर्ष अघि सरकारले हठात् उपेक्षा गरेको यो दिवसलाई फेरि स्थानीय सरकारहरूले हर्षोल्लासका साथ ग्रहण गरेका छन् । यो अवसरमा नुवाकोटमा २५४ वर्षसम्म राजधानी रहेको स्मरण गर्दै जिल्लावासीले ईतिहासप्रति गर्व गरेका छन् ।
नुवाकोटको दुई स्थानीय सरकराले आइतवार सार्वजनिक बिदा दिएको थियो । विदुर नगरपालिका र सुर्यगढी गाउँपालिकाले शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सार्वजनिक विदा दियो । यो संगै सरकराले १२ वर्षपछि शाहको जन्मजयन्ती र एकता दिवसलाई औपचारिक रुपमा ग्रहण गरेको पृष्टि गरेको छ । २०६२÷६३ को जनआन्दोलन सफल भएपछि नुवाकोटको साततले दरवार परिषरमा आयोजित कार्यक्रममा (२०६३ पुस २७) दिवस मनाईरहेका नागरिक र तत्कालिन राप्रपाका नेताहरू माथी आक्रमण भएको थियो । त्यस बेलाको नेकपा माओवादीले शाहको जन्मजयन्ती मनाउनेहरू गणतन्त्रको विरोध रहेको भन्दै कार्यक्रममा सहभागिहरूलाई कुटपिट गरेर लखेटेका थिए । १२ वर्षपछि खोला पनि फर्कन्छ भनेजस्तै गरी नुवाकोटमा राजनीतिक आस्था भन्दा माथी देखिएर सरकार, राजनीतिक दल र नागरिक समाजले राष्ट्र निर्माता तथा एकीकरणकर्ता पृथ्वीनारायण शाहको २९८ औं जन्म
जयन्ती तथा राष्ट्रिय एकता दिवस विदुर नगरपालिकाको कार्यालयले नुवाकोट दरवार परिषरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्यो । नुवाकोटको ऐतिहासिक गरिमा उजागर गर्नका लागि भब्य कार्यक्रमको आयोजना गरिएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । डुँडिखेलमा भएको कार्यक्रममा शोभायात्रा, पुरस्कार वितरण र शाहको योगदानको बारेमा चर्चा भएको छ । २९८ औं राष्ट्रिय एकिकरण दिवस मुल समारोह समिति गठन गरेर नगरपालिकाले औपचारिक कार्यक्रम गरेको हो । 
यस्तै, पृथ्वी स्मारक संरक्षण समितिले समेत शाहको देहवशान भएको देविघाटमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ । समितिले वर्षेनी पुस २७ मा कार्यक्रम गर्दै आएको छ । नेकपा मालले समय कार्यक्रमको आयोजना गरी शाहको राष्ट्र निर्माणको योगदानको चर्चा गरेको छ । माले नुवाकोटका अध्यक्ष कृष्णहरि गजुरेलले शाह र नुवाकोटको सम्वन्ध, नुवाकोटप्रति उनको योगदान अन्यत्र भन्दा अधिक रहेकोले नुवाकोटमा उनको जन्मोत्सव र एकता दिवसको अवसरमा विशेष हुनुपर्ने छ ।
विदुर नगरपालिकाले आइतवार आयोजना गरेको कार्यक्रमलाई केहि दिन अघि कुशबहादुर डंगोल अध्यक्ष रहेको मुल समारोह समितिले प्रचार गरेको थियो । सोही कार्यक्रमलाई विदुर नगरपालिकाले ग्रहण गर्दै यो सालबाट नियमित रुपमा गर्ने गरी नगर प्रमुखको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको थियो । 
पोहोरसम्म शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनेहरूलाई राजावादीको रुपमा उपेक्षा गरिन्थ्यो । नेकपा तथा काँग्रेसका नेताहरू कार्यक्रममा सहभागि भएपनि उनीहरू माथी नै आलोचना हुँदै आएको थियो । काँग्रेस नेता अर्जुननरसिंह केसी गणतन्त्र स्थापनापछि देविघाटनमा आयोजित एकता दिवसको कार्यक्रममा लगातार दुई वर्ष सहभागि भएपछि उनकै पार्टी भित्र र अन्य दलमा समेत आलोचना भएको थियो । उनले २०६४ सालदेखिनै शाहको योगदनाको चर्चा गर्न नेपालीहरूले कन्जुस्याई गर्न नहुने बताउदै आएका थिए ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले तत्कालिन बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो । नुवाकोटमा भएका औपचारिक कार्यक्रमहरू जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा चर्चा भएको छ । वि.सं. १८०० मा नुवाकोटमा पहिलो पटक आक्रमण गर्दा उनी पराजित हुनुपरेको थियो । उनी वि.सं. १८०१ मा नुवाकोटमा विजयी भएका थिए । उनी कीर्तिपुरमा पनि दुई पटक पराजित भएका थिए । विश्वमा विजयी भइ उपनिवेश चलाउन सफल अंग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो । अंग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले विसं १८१९ मा मकवानपुरमा पराजित गरेक ाथिए । यसपछि भारतमा उपनिवेश चलाइरहेका तत्कालिन अंग्रेज पनि उनीसँग डराएका थिए ।
शाहले ‘व्रतरत्न माला’ नामक कृति लेखेका छन् । यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको छ । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइहरू हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको थियो ।
शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भयो । शाहलाई राष्ट्र निर्माताको उपमा दिने गरिएको छ । आलोचकहरूले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका र्छन् ।

No comments:

Post a Comment