Monday, January 06, 2020

नुवाकोटको बुनीवेंशीमा इन्धन भण्डारण हुने

विदुर/चीन सरकारको सहयोगमा निर्माण गरिने इन्धन भण्डारणगृह (डिपो) निर्माणस्थलका लागि नुवाकोटमा जग्गाको पहिचान गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवदेव जोशीको संयोजकत्वमा गठित ‘पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्न जग्गा पहिचान कार्यदलले विदुर नगरपालिका–५ स्थित बुनीबेँसीमा जग्गा पहिचान गरेको हो ।
कार्यदलले नुवाकोटको विभिन्न स्थानमा रहेका सार्वजनिक तथा सरकारी जग्गाको स्थलगत अवलोकन पपछि सो स्थानमा जिल्ला समन्वय समितिको नाममा रहेका ८९ रोपनी जग्गा इन्धन भण्डारणगृहका लागि उपयुक्त रहेको ठहर गरेको संयोजक जोशीले जानकारी दिए ।
नुवाकोटका सरोकारवालासँगको समन्वयमा विभिन्न पाँच स्थानको अवलोकन भएको थियो । अबलोकनको क्रममा बुनीबेँसीमा रहेको जग्गा तुलनात्मक रूपमा बढी सम्भाव्यता भएको पाएको कार्यदलले जनाएको छ । गल्छी–रसुवागढी सडक मार्गसँग जोडिएको, समथर भूभाग, सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेकाले छनोट गरी प्रतिवेदनमा समावेश गरिएको हो ।
जिल्ला मालपोत कार्यालयका अनुसार उक्त जग्गा हाल १७ परिवार मोहीले उपभोग गर्दै आएका छन् । दुई वर्षअघि चीन सरकारले नेपालमा तीन ठूला इन्धन भण्डारण गृह बनाउन जनाएको प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान पहल सुरु भएको छ । नेपाल आयल निगमसँग अहिले पेट्रोलियम पदार्थको भण्डारण क्षमता काठमाडौं केन्द्रीत ७१ हजार १९८ किलोलिटरको छ । निगमका अनुसार उक्त क्षमता करिब सात दिनका लागि मात्र पुग्नेछ । चीन सरकारको सहयोग अन्तर्गत भण्डारण क्षमता वृद्धि गराउन चाहेको निगमले संघीय संरचना अनुसार प्रत्येक प्रदेशमा एक–एक भण्डारण गृह निर्माण गर्न तयारी पनि अघि बढाएको छ ।

No comments:

Post a Comment